
पुरानो र मौलिक पर्व जुडशितल
नागेन्द्र कुमार कर्ण
हरेक दिनको बिहानीले पर्वैे पर्व निमत्याउने जगतजननी माँ जानकीको पवित्रभुमि मिथिलाञ्चलमा हरेक दिन कुनै न कुनै पर्व रहने गरेको छ । नववर्षको आरम्भ संगै मिथिलाञ्चलमा पर्वको शुरुवात हुन्छ र सो पर्व सालभरि चलि नै रहन्छ । मिथिलाञ्चलमा मनाईने हरेक पर्व त्योहारले कुनै न कुनै रुपमा गहन सन्देश दिने गरेको पाईन्छ । यस्तै गहन सन्देश दिने पर्वको रुपमा नयाँ वर्ष आरम्भमै मिथिलाञ्चलबासीले सतुवाईन पर्व मनाउने गर्छन भने सो को भोलीपल्ट अर्थात वैशाख २ गते जुडशितल पर्व मनाउने गर्छन । परापूर्वकालदेखि नै मनाईदै आएको यो पर्व मिथिलाञ्चलको मौलिक र पुरानो पर्व मानिन्छ । जुडशितललाई शाब्दिक अर्थमा हेर्ने हो भने “ शितल जलले जुडाउनु” हुन जान्छ । तर यसको लाक्षणिक अर्थ त्यत्तिकैमा मात्रै सिमित छैन । नववर्षको प्रारम्भमा एक अर्काको उत्तरोत्तर प्रगतीको कामना गदै ग्रिटिंग्स बाँडने अत्याधुनिक पश्चिमी सभ्यतालाई मुँहतोड जवाफ दिने शक्ति राखेको छ हाम्रो यो मौलिक एवै प्राचिनतम पर्वले । आरम्भ राम्रो भएको कामको अन्त्य पनि राम्रो हुने मान्यता रहेको हाम्रो समाजमा नववर्षको आरम्भमै मिठो—मिठो खानेकुरा खाने, खुवाउने, राम्रो लुगा लगाउने अनि खराब बानी सुधार्ने संयोगको रुपमा यो पर्व रहेको पाईन्छ । यी सबै कुराको पूनरावृत्ति दर्शाउने संयोग भएको यो पर्वको आफ्नै मौलिक पहिचान र विशिष्टता रहेको छ ।
जुडशितल पर्वका दिन अर्थात वैशाख २ गते सुर्योदय भन्दा धेरै अगावै घरका मान्यजनहरुले आफु भन्दा सानालाई टाउकोमा पानी हाली (जुडाईं) दिर्घायु एवं स्वस्थ्य रहने आर्शिवाद दिने गर्छन । टाउकोमा पानी जुडाउनुको अर्थ टाउको शितल रही राम्रो राम्रो काम गर्नु हो । अर्थात टाउको शितल भएपछि मान्छेको कम्प्युटर रहेको दिमाग पनि शितल हुन्छ र शितल दिमागले गराएको काम जहिले पनि राम्रो र विकाशसिल काम हुन्छ । के गरम दिमागले झै—झगडा र विनाश मात्रै निम्त्याउदैनन् र ? अति क्षति हुने एवं मानव सभ्यता नै सखाप पार्न तम्तयार हुने युद्ध गरम दिमागकै उपज होईन र ? त्यसैकारणले मान्यजनले त्यस्तो विनाश नमित्याउन भन्ने हेतुले टाउकोमा शितल जल जुडाउने गरेको पाईन्छ । त्यो पनि सुर्योदय भन्दा धेरै अगाडी भन्नुको तात्पर्य विहानको हावा निर्मल र स्वच्छ हुने गर्छ जसका कारण मानिस स्वस्थ र निरोगी रहने गर्दछ । त्यसैले होला चिकित्सकहरुले विरामीहरुलाई विहान केही क्षण हिडडुल गर्नै सल्लाह दिने गर्छन । यो स्वस्थय, दिर्घजीवि र निरोगी रहने सन्देश समेत यो पर्वले दिने गरेको पाईन्छ । त्यसपश्चात घरका सदस्यहरुले पानी लिई आफुले लगाएको वा आफ्नो स्वामित्वमा भएको वोटविरुवाको जरामा पनि पानी हाली वोटविरुवालाई स्वस्थ्य राख्ने गर्छन । जसका कारण वोटले फल संगै शुद्ध अक्सिजन समेत दिने गर्छन भन्ने मान्यता रहेको छ । त्यसैगरी दिवंगत भएका आफ्ना कुटुम्ब र आफन्तजनहरुको समाधिस्थलमा समेत पुगी आर्शिवाद लिने चलन रहेको छ । यसैदिन पिउने कुवाको पानी र हिलोलाई समेत सफा गरी शुद्ध बनाईने गरिन्छ । यसदिन मिथिलाञ्चलबासीले दाल,भात,वरी,कठी,आँपको चटनी लगायतका परिकारहरु खाई रमाईलो गर्ने गर्छन । यसैदिन सल्हेश मन्दिर भएको ठाउँमा भव्य मेलाको आयोजना तथा पुजापाठ गरिने गरिन्छ ।
विगतको तुलनामा यो पर्व अहिले संकुचित हुदै गएका छन । जथाभावी हिलो लछारपछार गर्ने गर्छन भने आफ्नो मौलिकता भन्दा भिन्नरुपमा यो पर्व मनाउने गर्छन तर अहिले पनि मिथिलाञ्चलका गाउँहरुमा यो पर्वको रौनकता हेर्न सकिन्छ । नयाँवर्षको आरम्भमै मनाईने ई पर्वहरु वास्तवमा मिथिलाञ्चलको गहनाको रुपमा मानिने गरिन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق