الثلاثاء، 24 نوفمبر 2015

आचारसंहिता पालना गर्नुपर्ने अनुगमन टोलीको निर्देशन

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ८ गते । महोत्तरी जिल्लाको बर्दिबासमा पत्रकारहरुको समस्या वुझन आउनुभएका प्रेस काउन्सिलका अनुगमन टोलीले पत्रकारहरुले आचारसंहितालाई पालना गरेर काम गर्नुपर्ने निर्देशन दिनुभएको छ ।
पत्रकारहरुले स्वच्छ, निष्पक्ष एवं जिम्मेवारी जस्ता मुलमन्त्रलाई विर्सन नहुनुका साथै पत्रकारिता आचारसंहिताको पनि पालना गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ ।
मधेस आन्दोलनको क्रममा स्थानिय सञ्चारमाध्यम र पत्रकारहरुले भोग्नु परेको समस्या तथा चूनौतीका बारेमा जानकारी लिन सोमबार साँझ महोत्तरी आउनुभएका टोलीले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।
वर्दिबासस्थित गौतम होटलमा आयोजित भेटघाट समारोहमा टोलीका संयोजक चन्द्रदेव कामतीले भन्नुभयो, ‘पत्रकार समाजको ऐना हो । पत्रकारहरुले काम गर्दा गम्भिरतापूर्वक काम गर्नुपर्छ ।’
पत्रकारहरु अहिले मधेशमा जारी युद्ध जस्तै भूमिबाट काम गरिरहेको बताउनुहुँदै संयोजक कामतीले  पत्रकारहरुको ठूलो हतियार नै आचारसंहिता रहेकोले यसलाई पछ्याएर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले पत्रकार समाजको सिपाही भएको वताउनुहुदै ‘पत्रकारको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आचारसंहिता भित्र काम नगर्दा पत्रकारहरु समस्यामा पर्ने गरेको स्पष्ट गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितलप्रसाद साहले पत्रकारहरुलाई दाह्री काट्ने ब्लेडको संज्ञा दिनुहुदै भन्नुभयो, ‘ब्लेडलाई हामीले राम्रोसंग प्रयोग ग¥यो भने दाह्री काटेर सुन्दर देखिन्छ । यदि ब्लेडलाई राम्रोसंग प्रयोग गर्न जानिएन भने त्यसले गाला काटिने डर हुन्छ । हो त्यस्तै पत्रकार पनि हो ।’
पत्रकारिताको आचारसंहिता भित्र काम गरेन भने पत्रकार आफै हराएर जाने वताउनुहुदै उहाँले आचारसंहिता रुपी हतियारलाई छाडन नहुनेमा पत्रकारहरुलाई सचेत गराउनुभयो ।
जिल्लाका पत्रकारको सहभागी रहेको सो भेटमा यस क्षेत्रका मिडियाहरुलाई समेत समय समयमा आवश्यक परामर्श दिनुपर्नेमा जोड दिनुभएको थियो । विगत लामो समयदेखि जारी रहेको मधेशी मोर्चाको आन्दोलनको कारण संचारकर्मीहरुलाई आर्थिक अभाव हुनको साथै जिल्लाभरिमा सञ्चालित रेडियोहरुलाई डिजल र जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुलाई कागज अभाव भएको सहभागीहरुले अनुगमन टोलीलाई जानकारी गराउनुभएको थियो ।
काउन्सिलका केन्द्रीय सदस्य चन्द्रदेव कामतीको नेतृत्वमा आएको अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शीतलप्रसाद साह, सामुदायिक रेडियो प्रशारक संघ (एको¥याब) का महासचिव गोविन्द देवकोटा, ब्रोडकाष्टिङ एसोशिएन नेपाल (बान) का महासचिव चन्द्र न्यौपाने लगायत रहनुभएको थियो ।

ليست هناك تعليقات:

إرسال تعليق