الاثنين، 19 ديسمبر 2016

शंकाको भरमा २० वर्ष जेल

शंकाको भरमा २० वर्ष जेल

- मुकेश पोखरेल, काठमाडौं
जेष्ठ १, २०७३- माछा बेच्ने र साइकल मर्मत गर्ने काम गरेर गुजारा गर्थे मकवानपुर पदमपोखरीका शशिकुमार तितुङ । १२ वैशाख २०६९ को दिन एकाबिहानै उनलाई प्रहरीले घरबाट पक्रेर जिल्ला प्रहरी कार्यालय हेटौंडा पुर्‍यायो । उनले ‘करेन्ट लगाएर माछा मार्नेसँग माछा खरिद गरेकाले पक्राउ गरिएको होला’ भन्ने अनुमान लगाए ।
भोलिपल्ट प्रहरीले म्याद थप गर्न अदालत पुर्‍यायो । अनि मात्रै उनले आफूलाई ‘मानव बेचबिखन’ अभियोगमा समातिएको थाहा पाए । ‘सोच्दै नसोचेको अभियोग सुन्दा पृथ्वीले थिचेजस्तै भयो,’ उनले भने, ‘म माछा व्यापारी हुँ, कसरी मान्छे बेच्न सक्थें ?’
कानुनका अगाडि उनको यो मानवीय याचनाको के अर्थ ? मानव बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत मकवानपुरले २३ असोज २०६९ मा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला गर्‍यो । अहिले उनी भीमफेदी कारागारमा छन् ।
उनी मानव बेचबिखन अपराधमा जेल पर्नुको कथा अचम्मलाग्दो छ । २०४६ भदौको घटना हो, मकवानपुर मनहरी गाविसका सीताराम थिङ, उनकी श्रीमती विन्दिया र विन्दियाकी फुपू काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दा रहेछन् ।

त्यसबेला आफ्ना श्रीमान्का साथी मकवानपुर पदमपोखरी–१ बस्ने श्यामकुमार बम्जन र मकवानपुरकै अर्को एक जना ‘सत्य’ नाम गरेको व्यक्तिले ‘भारतमा राम्रो तलब पाइन्छ काम गर्न जाऊँ’ भनेर उनीहरूलाई मुम्बई पुर्‍याएका रहेछन् । विन्दिया र उनकी फुपूलाई मुम्बई पुर्‍याइएको मामिला २२ वर्षसम्म कतै चर्चामा आएन ।
२२ वर्षपछि विन्दिया नेपाल फर्किइन् । उनकी फुपूको चाहिँ अहिलेसम्म अत्तोपत्तो छैन । नेपाल फर्केपछि विन्दियाले २०६८ मा आफूलाई मुम्बई लगेर बेचेको भनेर श्रीमान् सीताराम थिङ, उनका साथीहरू श्यामबहादुर बम्जन र ‘सत्य’ भन्ने एक व्यक्तिविरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दा हालिन् ।
यी व्यक्तिहरूले ५० हजार रुपैयाँमा आफूलाई बिक्री गरेको भन्ने विन्दियाको उजुरी थियो । उजुरीका आधारमा प्रहरीले विन्दियाका श्रीमान् सीताराम थिङ, सीतारामका साथी श्यामबहादुर बम्जन र ‘सत्य’ भन्ने व्यक्तिको खोजी गर्न थाल्यो ।
 सीताराम र श्यामबहादुरलाई पक्राउ गरेपछि ‘सत्य’ भन्ने व्यक्ति खोजिरहेको प्रहरीले १२ वैशाख २०६९ मा मकवानपुरको साविक पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ बस्ने शशिकुमार तितुङलाई पक्राउ गर्‍यो । गाउँमा ‘शक्ते’ भनेर चिनिन्थे शशिकुमार तितुङ ।
पक्राउ परेपछि उनले आफू ‘सत्य’ नभएर ‘शक्ते’ भएको बताए । प्रहरीले उनको कुरा सुनेन । तीन पृष्ठ लामो हातले लेखेको कागजमा ल्याप्चे हान्न लगायो । मुस्किलले नाम लेख्न सक्ने ‘शक्ते’ ले त्यसमा ल्याप्चे हानेर शशिकुमार भनेर सही गरे । यसपछि तयार भए कागजात ।
बयानमा प्रहरीले जे लेख्यो त्यसमा उनले सही गरे । अनि सुरु भयो कानुनी प्रक्रिया । त्यस क्रममा तयार भएका सबै दस्तावेजमा ‘सत्य’ भनिने शशिकुमार तितुङ लेखियो ।
अदालतमा पुगेपछि कसैले उनलाई सुनाउँदा थाहा पाए प्रहरीमा उनले हस्ताक्षर गरेको भनिएको कागजमा ‘सीताराम थिङ, सीतारामका साथी श्यामबहादुर बम्जन र शशिकुमार मिलेर विन्दिया र उनकी फुपूलाई मुम्बई लगेर बिक्री गरेको’ बेहोरा लेखिएको थियो ।
मुद्दा अदालत पुग्यो । अदालतमा शक्तेले आफू २०४६ आसपासमा काठमाडौं नगएको, गाउँमै माछा बेचेर बसेको, विन्दिया नाम गरेकी महिलालाई नचिनेको, त्यसबेलासम्म भारत नगएको, प्रहरीले डर त्रासमा हस्ताक्षर गराएको बयान दिए । उनले ‘विन्दिया र उनकी फुपूलाई बिक्री गर्ने काममा म संलग्न छैन, जाहेरवाली विन्दियालाई सोधे हुन्छ’ भने । उनको भनाइमा विश्वास गरिएन ।
जीउ मास्ने–बेच्ने काम गम्भीर अपराध भएको लामो विधिशास्त्रीय व्याख्या गर्दै मकवानपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश टेकनारायण कुँवरले प्रहरी मागदाबी आधारमा शशिकुमार तितुङलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना हुने फैसला गरे ।
जिल्ला अदालत मकवानपुरको फैसलाविरुद्ध तितुङ पुनरावेदन गए । पुनरावेदन अदालत हेटौंडाले १६ वैशाख २०७१ मा जिल्ला अदालतको फैसला सदर गर्‍यो ।
पुनरावेदन अदालतको निर्णय सुनेपछि ‘यो त अत्ति भो’ भनेर शक्तेका गाउँलेहरू कस्सिए । उनीहरूले प्रहरीले ‘सत्य’ भन्ने मान्छे खोज्न अल्छी मानेर ‘शक्ते’ लाई फसाउँदैछ भन्ने आवाज उठाए । हूल बाँधेर पुनरावेदन अदालत मकवानपुर पुगे ।
उनीहरूको जोड ‘सत्य’ भन्ने मान्छे नै अर्कै छ, यो निर्दोष थुनिएको हो भन्ने थियो । गाउँलेको कुरा सुनेर पुनरावेदन अदालत हेटौंडाका एक न्यायाधीशले ‘प्रक्रिया अघि बढिसकेको हुँदा अब सम्बन्धित निकायले बाहेक अरूले ‘सत्य’लाई पक्राउ गर्न नमिल्ने’ जानकारी दिए ।
तर श्रीमती बिक्रीको अभियोगमा भीमफेदी कारागारमा थुनिएका विन्दियाका श्रीमान् सीतारामले भने, ‘त्यतिबेला मुम्बई जाने टोलीमा शशिकुमार तितुङ हुनुहुन्थेन । उहाँलाई मैले पहिलो पटक जिल्ला प्रहरी कार्यालय, हेटौंडामा भेटेको हुँ ।’
विन्दियालाई मुम्बई पुर्‍याउने काममा संलग्न भएको सत्य भन्ने मानिस अग्लो र हट्टाकट्टा रहेको उनले बताए । ‘प्रहरीमा बयान दिँदा नै मैले यी व्यक्ति दोषी होइनन् भनें, तर प्रहरीले यही हो तैंले भुलिस् भन्यो, किन हो निर्दोषलाई फसाए,’ उनले भने ।
बेचिएकी विन्दियाको तीन वर्षअघि नै निधन भइसकेको छ । जीवित छँदा विन्दियाले १४ असार २०६९ मा मकवानपुर जिल्ला अदालतका न्यायाधीशसामु बयान दिँदै ‘निज शशिकुमारको मलाई बिक्री गर्ने कार्यमा संलग्नता छैन, मेरो श्रीमान् सीताराम थिङले गरेको हो, निज शशिकुमारले बिक्री गरेको अपराध नगरेको हुँदा निज निर्दोष छ’ भनेकी थिइन् । बयानको ६ महिनापछि उनको मृत्यु भएको थियो ।
पुनरावेदन अदालतको फैसलापछि शशिकुमार तितुङ ‘शक्ते’ लाई कसैले ‘संसद्ले अन्यायविरुद्ध सुनुवाइ गर्छ’ भनेर सिकाएछ ।
उनले ६ फागुन २०७१ मा जेलबाटै संसदीय सुनुवाइ समितिमा निवेदन दिए । त्यसमा भनिएको छ, ‘घटनामा संलग्न भएको भनिएको सत्य भन्ने व्यक्ति साविक चुरियामाई गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ बस्ने मोतीलाल भोलानको छोरा रामबहादुर भोलान हुन्, म होइन ।’
सर्वोच्च अदालतको अन्तिम निर्णय पर्खंदै हाल भीमफेदी कारागारमा रहेका शशिकुमार तितुङ ‘शक्ते’ ले ४ चैत २०७२ मा
आफ्ना छोराछोरीको नाममा कसम खाँदै भने, ‘नखाएको विष लाग्यो, अब मलाई दैवले मात्रै न्याय दिन सक्छन् ।’
शंकाका भरमा निर्दोष व्यक्तिले सजाय पाउन नहुने महान्यायाधिवक्ता हरि फुयालले बताए । ‘नेपालको अभियोजन प्रणालीमा पर्याप्त मात्रामा खराबी छन् ।
जेलमा रहेका अधिकांश बन्दीहरू गरिब, ग्रामीण, सीमान्तकृत र पिछडिएको वर्गका छन् । सहरिया, सम्भ्रान्त र अति उच्च परिवारका व्यक्तिहरू या त अपराध नै गर्दैनन्, या त उनीहरू फौजदारी अभियोजनबाट छुटकारा लिन्छन्,’ उनले भने, ‘हाम्रो अभियोजन नीति पुन:परिभाषित गर्नुपर्छ ।’
प्रकाशित: जेष्ठ १, २०७३

यस कथामा थप

म २०४३ देखि २०४६ सम्म पदमपोखरी गाउँ पञ्चायतको अध्यक्ष थिएँ। ‘शक्ते’ भन्ने शशिकुमार तितुङलाई सानैदेखि चिन्छु। उमेरमा ऊ मेरो भाइ हो। सधैं यही गाउँमा छ। जुन बेला बेचबिखनका लागि मुम्बई गयो भनिएको छ, त्यसबेला गाउँमा तास खेलेर हल्लिएर बसेको थियो। धेरै वर्ष साइकल मर्मत गर्ने काम गर्‍यो।
त्यसबाहेक माछा मार्ने र साइकलमा राखेर गाउँ–गाउँमा डुलाउँदै बेच्ने काम गर्दथ्यो। मानव बेचबिखन मुद्दामा जेल हालिएको छ। ऊ केटी बेचबिखन गर्न सक्ने मान्छे नै होइन। यो मान्छे अहिलेसम्म मुम्बई गएकै छैन। अदालतमा गएर मैले बयान पनि दिएँ। म अहिले पनि ग्यारेन्टीका साथ भन्छु, ‘शक्ते’ ले यो काम गरेकै होइन। निर्दोष मान्छे थुनिएको छ।
सुदर्शन लामा
पूर्वप्रधानपञ्च
पदमपोखरी गाविस, मकवानपुर

ليست هناك تعليقات:

إرسال تعليق