الأربعاء، 10 سبتمبر 2025

निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई लेखेको पत्र

 


काठमाडौं, भदौ २५

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना लागि पद प्रतिष्ठाभन्दा अहिलेको व्यवस्था जोगाउनु आफ्ना लागि महत्वपूर्ण भएको दाबी गरेका छन्। 

एमाले निकट प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले ओलीले राजधानीको शिवपुरीबाट जेनजी पुस्तालाई लेखेको पत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन्। पत्रमा ओलीले व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने विश्वास राखेको बताएका छन्।

सामाजिक सन्जाल बन्द गर्ने ओली नेतृत्वको सरकारको निर्णयले 'ट्रिगर' गरेर सुरू भएको आन्दोलन भ्रष्टाचार विरोधी आन्दोलनमा रूपान्तरण भएको थियो। सोमबार सुरू भएको प्रदर्शन देशव्यापी बनेपछि हालसम्म दुई दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

मंगलबार जेनजी आन्दोलन चर्किएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। लगत्तै उनलाई बालुवाटारबाट नेपाली सेनाले हेलिकप्टरमार्फत सुरक्षित स्थलमा लगेको थियो।

बुधबार भने 'प्रिय जेनजी बाबुनानीहरू' भन्दै पत्र लेखेका ओलीले आफू शिवपुरीमा रहेको पनि खुलाएका छन्। 

ओलीले पत्रमा आफूले निजी सम्पत्ति सबै राष्ट्रका नाममा दिएको उल्लेख गर्दै भनेका छन्, 'मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।

यस्तो छ ओलीले जेनजीलाई लेखेको पत्र 

प्रिय जेनजी बाबुनानीहरू

आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। 

तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, 'बाबन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।

जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।

तैपनि, मैले सधैं समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ।

तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैं शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रुरता भोगेको छु।

त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन। 

तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्।

यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौं, त्यो बेला हामी बोल्न पाउँदैन थियौं, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैन थियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौं।

आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरूरी छ। 

नानीबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला।

हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भए अनुसार भगवान श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ मा नपठाएको भए या अरूले मलाई चलाउन चाहे अनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।

तर मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु।

मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन।

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु। 

तिमीहरूको केपी शर्मा ओली, शिवपुरी

 

ليست هناك تعليقات:

إرسال تعليق