الخميس، 11 أبريل 2013

कारागारका तीनजना कैदी आमाहरु फुरुङ्ग

महोत्तरी २९ चैत २०६९ ।
आफ्ना नानीलाई सीआईएन हीरो पुष्पा बस्नेतले जिम्मा लिएपछि महोत्तरी कारागारका तीनजना कैदी आमाहरु फुरुङ्ग परेका छन् । बस्नेतको संस्था प्रारम्भिक बाल बिकास केन्द्र काठमाण्डौले आफ्ना नानीको लालनपालन र पठनपाठनको भार उठाएपछि कारागारका कैदी महिलाहरु सुभद्रा चौधरी, पार्वती सादा मुसहर र रेणु मण्डल खुशीले दङ्ग भएका हुन् ।
केन्द्रले हिजो बुधबार सुभद्राको पाँच बर्षीय छोरा कुणाल चौधरी, रेणुको चार बर्षीय छोरा सन्नी मण्डल र पार्वतीका दुईवटा नानीहरु जिम्मा लिएपछि अब आफ्ना नानीहरु योग्य बन्ने सपना सँगाल्दै कैदी आमाहरु खुशीले फुरुङ्ग छन् । केन्द्रले आफ्ना दुईवटा सन्तान छ बर्षीया छोरी मञ्जु सादा र पाँच बर्र्षीय छोरा सुरज सादालाई लालनपालन र पठनपाठनको जिम्मा लिएर लगेपछि पार्वती अब अभाब, गरिबी र अवसरबाट पछि परेको मुसहर जातिको दलित परिवारमा शिक्षाको दियो बल्ने आसले रोमाञ्चित भएकी छन् ।
‘‘हाम्रो जातमा छोराछोरी पढ्नु, पढाउनु भनेको बिरलै कुरा हो’’ पार्वतीले आफ्ना दुबै सन्तान केन्द्रलाई जिम्मा लगाएपछि पत्रकारहरुसँग भनिन्—‘‘तर,मेरा छोराछोरी अब पढेलेखेका बिद्वान हुनेछन् ।’’
सीआईएन् हीरो भएर बिश्वमै चर्चा पाएकी बस्नेतको सामिप्यमा आफ्ना नानीहरु सुसंस्कृत, शिक्षित र इमान्दार हुने कारागारका महिला कैदीको बिश्वास छ । आफूहरु आवेग, परिबन्द र घटनाक्रमले ज्यानकर्तब्य मुद्दामा कैद बस्नु परेको भएपनि भविष्यमा आफ्ना सन्तान योग्य र सक्षम भएपछि आफ्नो बिगत (मुद्दामा सजाय भोगेकोभन्ने) समाजले बिर्सने कैदी महिलाले आसा सँगालेका छन् ।
केन्द्रले जिम्मा लिएका बालबालिकाका तीनवटै आमाहरु ज्यानकर्तब्य मुद्दामा अदालतको फैसलाअनुसार सजाय भोगीरहेका कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त प्रमुख शोभेन्द्र ठाकुरले केन्द्रका प्रतिनिधि शान्ता तामाङ्ले कारागार प्रशासन, स्थानीय प्रशासन, प्रहरी र कैदी आमाहरुको रोहबरमा चारजना बालबालिका जिम्मा लिनुभएको जानकारी दिनुभयो । केन्द्रले जिम्मा लिएका बालबालिकामध्ये कुणाल एबम् मञ्जु र सुरजका बाबुहरु बिमलेश चौधरी र भुट्का सादापनि आफ्ना पत्नीसँगैको मुद्दामा जलेश्वर कारागारकै पुरुषकक्षमा कैद भुक्तान गरिरहेका छन् ।
आफ्ना नानीलाई काखबाट बिदा गर्दा नरमाइलो लागेपनि उनीहरुको राम्रो भविष्यको मिठो कल्पनाले चित्त बुझाइएको कैदी आमाहरुको भनाई छ । केन्द्रले जिम्मा लिएका बालबालिका आफ्नी आमासँगै आश्रितका रुपमा कारागारमा रहदै आएका थिए ।
कारगारमा अझै पाँचजना आश्रित बालबालिका रहेका र उनीहरुलाईसमेत भरपर्दो संस्थाले लालनपालन र पठनपाठनको जिम्मा लिए दिन सकिने उनीहरुका आमाबाबुको भनाई उद्घृत गर्दै कारागारका निमित्त प्रमुख ठाकुरले बताउनुभयो

ليست هناك تعليقات:

إرسال تعليق