महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, माघ ८ गते । महोत्तरी जिल्लामा प्रतिनिधिसभा निर्वाचन २०८२ मा वागी उम्मेदवारको संख्या थोरै देखिएको छ । वागी उम्मेदवार थोरै देखिएपनि उनीहरु नतिजाको दिशा मोड्न सक्ने बताइएको छ ।
जिल्लामा रहेको चारवटा क्षेत्रहरु मध्ये क्षेत्रनं. १ र क्षेत्रनं. ३ मा मात्रै हेविभेट वागी उम्मेदवार देखिएको छ । क्षेत्रनं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको चर्चा चलेका विजय पोखरेल अन्तिम समयमा आएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा सो क्षेत्रमा जेनजी पुस्तावीच रुचाइएका पोखरेललाई पार्टीले अन्तिम समयमा उम्मेदवारीको लागि टिकट नदिएपछि उहाँले वागी भएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रनं. १ मा प्रमोद कुमार महतोलाई उम्मेदवार बनाएको हो ।
त्यसैगरी क्षेत्रनं. ३ मा वागी भएर दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाबाट मुख्य उम्मेदवारको रुपमा रहनुभएका तथा पार्टीले प्रत्यक्षतर्फ सिफारिस समेत गर्नुभएका पूर्व कृषि मन्त्री हरिनारायण यादवले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपा र लोसपाको मिलनपछि बनेको जसपा पार्टीले यसक्षेत्रमा महन्थ ठाकुरकी पुत्री मिनाक्षीलाई उम्मेदवार बनाएपछि हरिनारायण यादवले पार्टीबाट राजिनामा गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उहाँ महन्थ ठाकुरसँग दुई हजार मतले मात्रै पराजित हुनुभएको थियो ।
उहाँले जसपा नेपालको स्थापनादेखि नै (फोरमदेखि) आफु सो पार्टीमा संलग्न रहेपनि पार्टीले उचित मूल्याँकन नगरेको कारणले आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको जानकारी दिनुभयो । पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले साथ दिएपछि आफु निर्वाचनमा उम्मेदवारी दिएको उहाँको कथन थियो ।
त्यसैगरी नेकपा एमालेबाट प्रत्यक्ष तर्फ एकल सिफारिसमा पर्नुभएका रामआधार कापर पनि अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि पार्टीबाट वागी भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शुरुदेखि नै आफु उम्मेदवार भई चुनावको तयारीमा रहेपनि पार्टीले अन्तिम समयमा आएर मनोज सिंहलाई पार्टीको टिकट उपलब्ध गराएपछि आफु वागी भएर स्वतन्त्र उम्मेदवारी दिएको रामआधार कापरले बताउनुभयो ।
क्षेत्रनं. ३ मा दुवैको उम्मेदवारीले एमाले तथा जसपा नेपालका उम्मेदवारलाई जितमा संकट देखिन्छ ।
क्षेत्रनं. ४ मा एमालेबाट मुख्य उम्मेदवारको रुपमा रहनुभएका मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई पार्टीले टिकट नदिएर निलम अधिकारीलाई टिकट दिएको छ । कार्यकर्ताहरुले पार्टीले अन्याय गरेको भन्दै आएपनि सरोज कुमार यादवले आफु प्रदेशसभामै अहिले रहेको र आफ्नो सहमति रहेकोले निलम अधिकारीलाई उम्मेदवारी दिन लगाएको जानकारी दिनुभएको छ ।
महोत्तरी जिल्लामा माघ ६ गते मंगलबार भएको प्रतिनिधिसभा निर्वाचनको लागि महोत्तरीमा रहेको चारवटै क्षेत्रमा १४३ जनाले मनोनयन गराएका छन् । जसमा १९ जना महिला तथा १२४ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ ।
महोत्तरी क्षेत्र १ बर्दीबासस्थित निर्वाचन कार्यालयमा दलबाट १३ र स्वतन्त्र १४ गरी २७ उम्मेदवारी दर्ता गराएकोमा २२ पुरुष र पाँच महिला छन् । त्यस्तै क्षेत्र २ बाट १५ दलगत र २२ स्वतन्त्र गरी कुल ३७ जनाको उम्मेदवारी परेकोमा सोमध्ये ३२ पुरुष र पाँच महिला छन् । यता क्षेत्र ३ मा दलबाट १५ र स्वतन्त्र २७ गरी कुल ४२ जनाको उम्मेदवारी परेकोमा ४० पुरुष र दुई महिला छन् । त्यस्तै, क्षेत्र ४ मा दलबाट १३ र स्वतन्त्र उम्मेदवारी २४ गरि ३७ जनाले उम्मेदवारी दर्ता गराएको छ ।
जलेश्वर नगरपालिका वडानं. २ का युवा जितेन्द्र पासवानले महोत्तरीमा वागी उम्मेदवारहरुको संख्या थोरै देखिएपनि नतिजा उलटफेर गर्न सक्ने देखिएको बताउनुभयो । उहाँले वागी उम्मेदवारहरुलाई पार्टीगत रुपमा तथा अन्य रुपमा समेत निष्क्रीयको प्रयासको भइरहेको आफुले बुझेको बताउनुभयो ।
महोत्तरीमा तीन जना बागी उम्मेदवार
.png)
.jpg)








.jpg)
_ZX1HLW75q8.jpg)






















