जरा नखोतली पातमात्रै फाँड्ने ?
जरा नखोतली पातमात्रै फाँड्ने ?
राजेन्द्र महर्जन
rajendra_Maharjan
कुनै समयमा एडोल्फ हिटलर पनि कलाकार-मन भएका व्यक्ति थिए । समय क्रममा उनी त्यस्ता फासीवादी नेता भएर निस्के, जसले लाखौं यहुदीको संहार गरे । प्रथम विश्वयुद्धको आलो घाउ पुरिंँदा-नपुरिंँदै उनी किन र कसरी द्वितीय विश्वयुद्धका निमित्त नायक बने, हामीलाई कारण खोतल्ने कुनै चासो छैन ।
हाम्रो जमानाका एक खलनायक हुन्, ओसामा बिन लादेन । उनी पनि कवि-हृदयका युवा थिए, जो अन्तर्राष्ट्रिय आतंकवादी भएर निस्के । अमेरिकाले तेस्रो विश्वयुद्धकै स्तरमा लडेको 'आतंकवाद विरोधी युद्ध'को निम्ति कारकतत्त्व ठानिएका लादेन किन र कसरी जन्मिए, हामीलाई खोज गर्ने कुनै वास्ता छैन ।
हामी भेलुपिल्लाई प्रभाकरणलाई कुनै जातजाति, समुदाय र क्षेत्रविशेषको संघर्षलाई बदनाम गर्नमात्रै सम्झन्छौं । तमिल समुदायको अधिकारको नाममा लडिएको युद्धमा लिबरेसन टाइगर्स अफ तमिल इलम -लिट्टे) को समाप्तिपछि हामीले पनि माधव नेपाल शैलीमा 'तिमीलाई लिट्टे बनाइदिन्छौं, प्रभाकरणलाई जस्तै सखाप पारिदिन्छौं' मात्रै भन्न जानेका छौं । यस्तो उद्घोष गर्ने हामीले लिट्टे र प्रभाकरण जन्मिनुको वस्तुगत र आत्मगत कारणबारे अध्ययन गर्न जरुरी ठानेका छैनौं ।
हाम्रो राजनीतिक वृत्तमा मधेसलाई अलग्याउने अभियान चलाइरहेको मानिने डा. सीके राउतको प्रवेशपछि उनलाई पनि 'प्रभाकरण बनाउनुपर्ने' उद्घोष हुनथालेको छ । सार्वजनिक अपराध अन्तर्गत समातिएका राउतलाई राज्यविप्लव र राज्यद्रोहको मुद्दा लगाएर सजाय दिइनुपर्ने मागमा अखबारका पानादेखि सोसल मिडियाका भित्तासम्म रंगाउन हामी पछि परेका छैनौं । हामीमध्ये सबैजसोले यो प्रकरणमा 'भारत, अमेरिका वा अन्य देशको उक्साहट'लाई मात्रै कारकतत्त्वका रूपमा मानिरहेका छौं । कारकतत्त्व खोज्ने नाममा बाह्य भूमिकालाई मात्रै प्रमुखता दिने कुरा गर्दा हाम्रो 'नेपाली राष्ट्रवाद' मुखर र व्यापक भएको छ, तर त्यसले समाधान देला कि नदेला भन्ने हेक्का राख्न भने बिर्सेका छौं ।
हामीले एक जमानामा रत्नपार्कको एउटा भित्तो माग्ने डा. बाबुराम भट्टराई र उनका कार्यकर्तालाई खुकुरी नचाएर लखेटेका थियौं, 'जाबो गुलेली पनि नभएका तोरी-लाहुरेहरूले कसरी जनयुद्ध चलाउँछन्, हेर्छौं' भन्दै । हामीले नै भगाएको जनमोर्चा नेपाल नै दसवर्षे जनयुद्धको नेतृत्व गर्ने माओवादी भएर राज्यलाई तर्साएको पनि भोगिसकेका छौं । आज हामी डा.राउतलाई पनि सजाय दिने काममात्रै गर्दै बस्दा माओवादीजस्तै प्रकरण नयाँ ढंगले दोहोरिने त होइन, यसबारे सोच्ने फुर्सद हामीलाई छैन ।
एक जमानामा हिटलरसँग आर्थिक साझेदारी गर्ने अमेरिकाले उनीसँगै पछि युद्ध गरेको इतिहास बासी भएको छैन । रूससँग लड्न तालिवानदेखि लादेनसम्म निर्माण गरेको अमेरिकाले उनी भष्मासुर भएर निस्कँदा मारेको घटना ताजै छ । आफैले भष्मासुर जन्माउने र मार्ने क्रमबाट कुनै पनि समस्या समाधान नभएको तथ्यतिर ध्यान दिने हो भने हामी पनि समस्याको आन्तरिक कारणतिर पस्न बाध्य हुनेछौं । यस अर्थमा राउतलाई समातेर उनलाई मधेसको हिरो बनाउनुअघि हामीले उनीजस्ता मानिस किन जन्मिन्छन् भन्ने सोच्नु जरुरी थियो । हामीले आफैलाई इतिहासको कठघरामा उभ्याएर उनीजस्ता व्यक्तिमा पनि पृथकतावादी विचार कसरी निर्माण हुन्छ भन्ने तथ्य थाहा पाउनु आवश्यक छ ।
राउतका पछिल्ला निष्कर्षबारे भिन्न मत राख्दै, उनले चलाएको अभियानको नियतबारे प्रश्न उठाउँदै बहस गर्न सकिन्छ । तर हाम्रो राज्यको चरित्र र व्यवहारबारे उनले गरेको टिप्पणी भने नयाँ होइन, यो त राजनीतिक नेता बीपी कोइरालादेखि आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीले उहिल्यै गरेको विश्लेषणमा आधारित छ । बीपीले भनेका छन्, 'पृथ्वीनारायण शाह र उनका तुरुन्तैका उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन । राष्ट्रिय एकताको अभियान त्यो थियो भनेर त्यसलाई ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ ।'
कोइरालाको विश्लेषणको व्याख्या महेशचन्द्र रेग्मीको विचारमा पाइन्छ । उनी लेख्छन्, 'तराई क्षेत्रलाई भर्खरै स्थापित अधिराज्यको वैधानिक इकाइ -कन्स्िटच्युयन्ट युनिट) का रूपमा अँगाल्नुको साटो काठमाडौंमा बस्ने त्यस्ता कुलिन र भारदार आर्थिक तथा अन्य किसिमको लाभ पुर्याउने उपनिवेशका रूपमा लिइएको थियो, जो पहिलेदेखि नै मूलतः पहाडी मूलका थिए ।'
अर्थशास्त्री डा. नन्द आर. श्रेष्ठदेखि भूगोलविद् डा. पीताम्बर शर्मा, समाजशास्त्री डा. चैतन्य मिश्रको विश्लेषणअनुसार नेपालमा पहाड र तराईबीच, केन्द्रमा रहेको काठमाडौं र मोफसलमा रहेको मधेसबीच, पहाडका कुलिन र अन्य क्षेत्रका जनता अन्तरविरोधको जरा निकै गहिरो र व्यापक छ । पहाड नेपालको राजनीतिक शक्तिको भौगोलिक केन्द्रका रूपमा रहेको र पहाडी वर्चस्व भएको सत्ता संरचनामा तराईलाई सधैजसो मोफसलले खुम्च्याउने काम गर्दै आएको डा. श्रेष्ठको विश्लेषण छ ।
डा. शर्माका अनुसार पहाडी प्रदेशलाई नेपालको 'मुटु प्रदेश' र 'मियो' हो भन्ने तथा तराई र हिमाली प्रदेश यसका परिधि वा अवयवमात्रै हुन् भन्ने गहिरो छाप नेपालका शासकहरूले निरन्तर रूपले अवलम्बन गरेका नीतिहरूमा पाइन्छ । क्षेत्रीय रूपमा विभेद गर्ने केन्द्र र मोफसलको सोचाइको नेपथ्यमा पहाडे रजौटाहरूको भौगोलिक-राजनीतिक एकीकरणको गाथाको प्रचार, एकीकरणको क्रममा विजित तराई र हिमाली प्रदेशका स्रोत-साधनले पहाडमा केन्दि्रत राजनीतिक शक्तिलाई बल पुर्याउनुपर्छ भन्ने सोच अनि पहाडी प्रदेशलाई नै नेपालको सांस्कृतिक, जातीय अनि राष्ट्रिय पहिचानको मेरुदण्ड हो भन्ने विचारको विस्तारले काम गरेको देखिन्छ ।
अध्येता डा. श्रेष्ठका अनुसार राजनीतिक दृष्टिकोणबाट हेर्दा पहाडीहरू, मूलतः शासक वर्गका सदस्यहरू आफूलाई नेपालको आवादीको सबैभन्दा सुसंस्कृत र राष्ट्रवादी तप्का ठान्छन् । पहाडी सत्ताधारी धनी वर्गले आफूलाई सांस्कृतिक रूपमा उच्च र अत्यधिक सुसभ्य ठान्ने भएकाले नै मोफसलको रूपमा रहेको तराईका मधेसीलाई असभ्य, हीन र दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्ने गरेका हुन् । डा. मिश्रले प्राज्ञिक तप्काको मानसिकतामा परेको त्यसको प्रभावबारे रेखांकन गर्दै लेखेका छन्, 'कतिपय प्राज्ञले समेत नेपालवासी भनेको खासमा हिमाल र पहाडका असमतल भूभागमा छरिएर रहेका, जातीय रूपमा पृथक्, अपरिवर्तनीय र भिन्नै जातीय नातेदारी समूहमा विभाजित जाति-समुदाय हुन् भन्ने ठानेका छन् ।'
यस्तो हेराइ र व्यवहार कति खतरनाक हुन्छ, हामीले अनुमानसमेत गर्नसकेका छैनौं, चाहे शाहकालमा होस् या गणतन्त्रकालमा । आफूलाई मात्रै नेपालवासी, राष्ट्रवादी र देशभक्त ठान्ने कामका दुष्परिणामबारे हामीले सोचेका समेत छैनौं । हाम्रो पहाडी दृष्टिबारे डा. श्रेष्ठको टिप्पणी छ, पहाडी दृष्टिमा नेपालका केन्द्रीय प्राधिकारप्रति मधेसीहरूको बफादारिता सधैं शंकास्पद छ, किनभने मधेसीहरूबाट उनीहरूले आशा गरेजति बफादारिता पाउनसकेका छैनन् । डा. मिश्रको शब्दमा, लामो समयदेखि पहाडको पृष्ठभागको समाजको रूपमा हेरिएको मधेसका भाषा र संस्कृतिलाई पहाडी आँखाले विजातिमात्रै होइन, सिमानासँग जोडिएका हुनाले भारतसँग भौगोलिक र प्रगाढ सम्बन्ध राख्ने देशद्रोहीकै रूपमा देख्ने-देखाउने पनि भएको पाइन्छ ।
हाम्रा यस्तै विचार र व्यवहारको जगमा राउतहरू जन्मिएको तथ्य जगजाहेर भइसकेको छ, तर आँखामा लागेको पहाडी राष्ट्रवादको मोतीविन्दुले गर्दा हामी तथ्य हेर्नसक्ने स्थितिमा पुगेका छैनौं । तर यस्तो तथ्य देखेका डा. पीताम्बर शर्माले लेखेका छन्, 'पहाडे पहिचान नै नेपाली पहिचान हो भन्ने प्रवृत्तिको विकासले पहाडेहरूले मधेसी र हिमाली भेगका जातिहरूका तुलनामा आफूलाई नेपालका वास्तविक र खास वासिन्दाका रूपमा हेर्ने र मधेसी तथा हिमालीहरूको नेपालीपनप्रति सशंकित हुने मानसिकताको विकास हुनपुग्यो । पहाडेहरूको सापेक्षिक श्रेष्ठताभास र मधेसी तथा हिमालीहरूको सापेक्षिक लघुताभास नेपाली राष्ट्रियताको सम्बर्द्धन र नेपाली राष्ट्रिय एकीकरणको पुनर्खोजको क्रममा तगाराका रूपमा अहिले पनि विद्यमान छ ।'
हामीले हेक्का नराखे पनि २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनअघि नै विकासविद् डा. हर्क गुरुङले कडा चेतावनी दिएका थिए, 'अहिलेसम्म उठाइएका जातीयता र क्षेत्रीयतासम्बन्धी माग प्रचलित व्यवस्था अन्तर्गतका साधनको उपयोग गर्न पाउने वातावरणमा भद्र खालका छन् ।... तर शासक वर्गले सामाजिक न्याय र राजनीतिक समानताका उपेक्षित समूहहरूले उठाएका वैधानिक मागहरू पुरा नगर्ने हो भने उनीहरू आक्रामक र अझ विद्रोहात्मक पनि हुनसक्छन् र आत्मनिर्णयको अधिकारको नारा उठ्ने सम्भावना पनि हुन्छ । नेपालले अहिले अनेकतामा आधारित राष्ट्रियता -पोलिसेन्टि्रक नेसनालिजम) को अवधारणा अगाडि सार्नुपरेको छ, जसले राष्ट्रिय एकता अभिवृद्धि गर्छ ।'
त्यसो त हामी मधेस आन्दोलनपछि मधेसीहरूले राष्ट्रपति, उपराष्ट्रपतिदेखि उपप्रधानमन्त्री र मन्त्रीहरूसमेत पाइसकेको भन्दै दंगदास छौं । तर उनीहरू यस्ता सांकेतिक र समारोही प्रतिनिधित्वबाट खुस नभएको तथा वास्तविक नेपाली नागरिकको दर्जा, सम्मान र प्रतिनिधित्व पाउन प्रयत्नरत रहेको तथ्य हामीले बुझ्नसकेका छैनौं । यसकै भौतिक र मानसिक जगमा जन्मिएका राउतले चलाएको पृथक्तावादी अभियानको जरो नखोतली हामीचाहिंँ पातमात्रै फाँड्ने अभियान चलाउँदैछौं, कानुनी डन्डा चलाउँदै । सशस्त्र संघर्ष गरेका माओवादी र मधेसी समूहलाई समेत शान्तिपूर्ण मार्गमा ल्याएको दाबी गर्ने हाम्रा नेताहरूले राउतलाई मूलधारमा ल्याउन भूमिका खेल्छन् कि खेल्दैनन्, हाम्रै बुद्धिमत्ता र दबाबमा भरपर्ने देखिन्छ ।
Subscribe to:
Posts (Atom)