महिला हिंसाको पाटो
योभन्दा पीडाको घटना के हुन सक्छ? एक जना त्यति वृद्ध महिलासमेत सुरक्षित हुने अवस्था छैन भने को सुरक्षित होला? यो घटनाले धेरैलाई विक्षिप्त पनि बनायो। त्यतिमात्र होइन, आफन्त वा आफ्नै परिवारका सदस्यहरूबाट हुने यस्ता घटना पनि अहिले बाहिर आउन थालेका छन्। आफ्नै काका तथा आफूलाई पढाउने शिक्षकसमेत रहेका व्यक्तिले १४ वर्षिया बालिकालाई निरन्तर यौन शोषण गरेको र पछि गर्भपतन गराएको घटना पनि बाहिर आयो। तर यस्तो घटनामा राजनीतिक दबाब र हदम्यादका कारण पीडकलाई कुनै सजाय हुन सकेन। त्यतिमात्र होइन, हत्या गरेपछि बलात्कार गरिएका सुन्दै आङ सिरिङ्ग हुने घटना पनि नेपाली समाजमा सार्वजानिक हुने गरेका छन्। जे होस्, पछिल्लो समय प्रहरीमा दर्ता भएका बलात्कारका घटना केलाउने हो भने यस्ता घटना वृद्धि हुँदै गएको पाइन्छ। अझ कतिपय यस्ता घटना बाहिर आउने नै गर्दैनन्, समाजमा मिलाइएको हुन्छ। कानुनी दायरामा यस्ता घटना आउँदै आउँदैनन्। अझ कतिपय घटना लोकलाजका कारण परिवारभित्रै सीमित हुने गर्छन्।
किन यसरी बलात्कारका घटना दिन/प्रतिदिन बढिरहेका छन्? यो एउटा खोजीको विषय बनेको छ। त्यतिमात्र होइन, बलात्कृत भएपछि न्यायका लागि हारगुहार गरेका महिलाले पनि न्याय महसुस गर्न सकेका छैनन्। कारण, कानुनहरू पीडितमुखी सिद्धान्तमा आधारित छैनन्। जस्तो कुनै महिला बलात्कृत भएपछि उनले उजुरी गरे पनि पीडकलाई मुस्किलले सजाय हुन्छ। पीडकलाई सजाय नै भए पनि पीडित महिलाबारे भने सोच्ने गरेको हुँदैन। त्यसैका कारण यस्ता पीडित महिला समाजबाटै विस्थापित हुनुपर्ने अवस्था आउने गरेको छ। एक अध्ययनअनुसार बलात्कारको घटनाका पीडितहरु ९ जनामध्ये ५ जना समाजबाट विस्थापित हुने गरेका छन्। यस्तो अवस्था आउनुको मुख्य कारण सामाजिक संरचना नै हो। जबकि समाजमा बलात्कार गर्ने पीडकचाहिँ शानका साथ हिँड्छ तर बलात्कृत महिलाचाहिँ गाउँबाटै बहिष्कृत हुन्छिन्। योभन्दा दुर्भाग्य के हुन सक्छ? आफ्नो इज्जत जाने र समाजबाट विस्थापित हुनुपर्ने डरले कति घटना बाहिर आउनै सकेका छैनन्।
संक्रमणकालीन अवस्थाको नाममा महिलामाथि बलात्कार जस्ता जघन्य घटना बढिरहेका छन्। अपराध गर्नेलाई स्वयं राजनीतिक दलहरुले संरक्षण गर्ने गरेका कारण पनि अपराध गर्नेहरूको मनोबल बढेको र यस्ता घटना बारम्बार दोहोरिने गरेको पाइन्छ। पछिल्लो समय बढ्दै गएका महिला हिंसाका घटनाले पनि यही कुरो पुष्टि गर्छ। जब समाजमा दण्डहीनता बढ्छ, अर्थात् अपराध गर्ने व्यक्तिले सजाय पाउँदैन, तब उसले झन् त्योभन्दा ठूलो अपराध गर्छ। उसलाई त्यस्ता कुराले प्रोत्साहन गर्छ। त्यसैले महिलामाथि हुने हिंसाका घटना कम गराउन कडाभन्दा कडा कानुन व्यवस्था गर्नुपर्छ। साथै पीडितमुखी न्याय प्रणाली स्थापित गराउन सक्नुपर्छ। त्यसो भएमात्रै पीडितले न्याय महसुस गर्न सक्छन्। त्यस्तो नहुने हो भने महिला हिंसाका यस्ता घटना समाजमा अझै लुकिरहने छन्। र, महिला र बालिका अझै पीडित भइरहनेछन्।