स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती

स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती
नागेन्द्रकुमार कर्ण 

हालै जलेश्वर नगरपालिका वडानं. ४ सुगामा रहेको शुक्देव माध्यमिक विद्यालयले स्वर्ण जयन्ती समारोह मनाएको छ । सो जयन्तीको सेरोफेरोमा धेरै कुरा भयो धेरै कुरा गर्न पनि बाँकी छ । वास्तविकतामा हेर्दा स्वर्ण जयन्तीको अवधिभन्दा ढिलो १३ वर्षमा मनाउन कुन ‘शक्ति’ले त्यत्रो विधि ‘शक्ति’ दिएको हो जो दश दिनमै मनाउन सक्नुपर्ने ‘माइण्डेड’ दियो त्यो खोतल्न भने आवश्यक छ । स्वर्ण जयन्ती कुनै उपभोक्ता समिति गठन गरे झै कोठामा गर्ने विषय होइन भन्ने जानकारी सामान्यजनलाई पनि छ भने प्रधानाध्यापक र वडाध्यक्षलाई सिकाउनुपर्ने कुरा त पक्कै होइन होला । यद्यपी सबैको बुझाई अलग अलग हुन सक्छ तर यो आलेखमा मलाई लागेको कुराहरु भन्न चाहन्छु । भनिन्छ,‘मुण्डे मुण्डे मतिर्भिन्ना, कुंडे कुंडे नवं पयः, जातौ जातौ नवाचाराः नवा वाणी मुखे मुखे ।’
यस क्षेत्रमा पुरानो कुरालाई दोहोरयाउनु अक्षम्य मानिन्छ । पुरानो कुरा कोटयाउनुको कुनै तुक हुन्न भनिन्छ । कार्यक्रम सकियो, भयो । अरुलाई मतलव हुन्न खाली तिम्रै टाउको दुखाई किन । छोडिदेउ ति कुरा । खाटा बसेको घाउलाई किन कुरेदनुपर्यो । यावत कुराहरु सबै जनको मुखमा अर्ति झै झुण्डिएको हुन्छ । तर कतिपय कुराहरुमा भन्नुपर्छ, भन्न सक्नुपर्छ । होइन भने, सुन्नुपर्ने कुरा कसैले सुन्न पाउदैनन्, जान्न पाउने अधिकार कुण्ठित हुन्छ, भन्नुपर्ने कुरा भन्न छुटछ र त्यही भएर यो समाज पछाडि छ । हामी पछाडी छौं र यसरी नै हामी पछाडी पछौं र पारिन्छौं ।
जसरी हिरा बन्न वर्षो लाग्छ त्यसरी नै बितेको कुराहरु नयाँ पुस्ताका लागि हिरा हुन् । अब हामीलाई बुझनुपर्छ हामी हिरा खोज्ने की प्लाष्टिकमै चित्त बुझाउने । त्यही भएर नै बितेको कुरासंग केही न केही लिन सक्नुपर्छ । पहिला के ठिक थियो । कहाँ ठिक थियो । कहाँ गलत थियो । गलत थियो भने कसरी थियो । राम्रो के थियो र ति राम्रो किन नराम्रो भयो कहाँ हरायो त्यसको खोजी हुनुपर्छ । त्यसको लागि चुप भएर हुदैन् बोल्नुपर्छ । गलत भएपनि भाषा मिलाएर बोल्नुपर्छ । झक्झकाउनुपर्छ र अरुलाई यस विषयमा थप बोल्न लगाउनुपर्छ । भनिन्छ, गलतलाई गलत र सहीलाई सही भन्ने क्षमता छैन् भने तपाईको प्रतिभा र शिक्षाको हकमा प्रश्न गर्ने ठाउँ हुन्छ । अहिलेको प्राविधिक शिक्षालयको रुपमा रहेको शुक्देव माविको स्वर्ण जयन्तीलाई यही सेरोफेरोमा हेर्ने, बोल्ने र वहस गर्नु जरुरी छ ।
शुरुवातको कुरा एउटा प्रसंगबाट शुरु गरौं । स्वर्ण जयन्तीको दुई दिन अगाडी अर्थात माघ १२ गते बेलुका । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले मलाई वधाई दिनुभयो । ल बधाई छ तिमीहरुले पढेको विद्यालयले स्वर्ण जयन्ती मनाइरहेको छ । मैले प्रतिप्रश्न गरे, स्वर्ण जयन्ती मनाउने वर्ष त धर्किएको धेरै भयो अब त हिरक जयन्ती मनाउने समय आउन लाग्न थालिसक्यो । उहाँले होइन १४ गते सोमबार शुक्देव माविले स्वर्ण जयन्ती मनाउन लागेको पत्र पठाएको छ तिमीलाई जानकारी छैन् । मैले भने मलाई त केही पनि जानकारी छैन् । उहाँले गाउँको यति ठुलो कार्यक्रम अनि तिमीलाई जानकारी छैन् । मैले पनि प्रतिकार गरे मटिहानीमा सानो कम्बल वितरण हुन्छ भने मलाई जानकारी हुन्छ तपाईलाई हुन्छ । कुराहरु यत्तिकै सिमित थियो । तर यो प्रसंगले मलाई किन किन हाँसो, आश्चर्य र दुःख तिनटै लागिरहेको थियो । म सोच्न वाध्य भए । स्वर्ण जयन्ती त महोत्सव जस्तो मनाइनुपर्नेमा चोरी चोरी किन मनाइरहेको छ । यस्तो त नहुनुपर्ने हो तर बढी सोचेर आफुले आफैलाई गलाउनुभन्दा ‘बत्ति मुनि अँध्यारो हुन्छ’ भनेर सोच्दै चित्त बुझाए ।
मलाई ठयाक्कै सम्झना त छैन् तर विद्यालय उच्च मावि भएको समयमा हुनुपर्ने हो गाउँमा स्वर्ण जयन्ती मनाउनुपर्ने भनेर हल्ला चलेको थियो । धेरैले यो विषयमा मसंग सरसल्लाह पनि गर्नुभएको थियो । सो समयमा मैले यो गर्न कम्तीमा पनि ६ महिनाको समय लगाएर वृहत रुपमा गर्न सक्नुभयो भने धेरै कुरा छुट्छ तर पनि टिम वर्क गरेर एउटा वृहत मूल समारोह समिति र त्यसको मातहतमा छुट्टाछुट्टै अन्य समितिहरु बनाएर गर्ने हो भने नसकिने होइन भनेर सल्लाह, सुझाव दिएको थिएँ । किनकी, स्वर्ण जयन्ती समारोह जत्तिको महत्वपूर्ण छ बजेटको दृष्टिकोणले त्यत्तिकै खर्चिलो पनि छ । सबैले बुझेकै हुनुपर्छ स्वर्ण जयन्ती समारोह कुनै बाजा बजार अन्तरक्रिया गरे जस्तो होइन । यो त पुस्तान्तरण जोडने एउटा ‘यज्ञ’ हो जो पूर्णाहुतिपछि पनि कालान्तरसम्म त्यसको धुँवाले समाजलाई आलोकित र पुलकित गरिरहन्छ र समाजलाई सधै ऊर्जावान भइरहन मद्दत पु¥याउँछ । तर, दुर्भाग्य भन्नुपर्छ हामीहरु विकासी बिचारधाराबाट अभिप्रेरित छौं । काम भयो सक्कियो । काम पनि कर्मकाण्डी मात्रै । झारा टार्ने उद्देश्यले । कुनै स्वार्थबाट अभिप्रेरित भएर । आफुलाई फाइदा पुग्ने मात्रै । कुनै पनि समिक्षा गदैनौं । समिक्षा त के त्रुटी पनि सुन्न चाहदैनौ । ‘मैं खाऊँ, मै लाऊ, सुखसयल वा मोज....।’
सबैले बुझेका छन् ५० वर्षमा स्वर्ण जयन्ती मनाइन्छ । ५÷६ वर्ष ढिलो हुनुलाई सामान्य मान्न सकिन्छ तर १३ वर्ष ढिलो गरी मनाइनुलाई सामान्य मान्न सकिन्न् । वरु यत्तिकै वर्ष अझ रुकेको भए ‘हीरक’ जयन्ती मनाउन सकिन्थ्यो । तर खै के कारणले हो यत्तिको वर्षपछि सो पनि हतार हतारमा मनाउनुको के अर्थ छ र ? भनिन्छ,‘मुख’ मिलेपछि जे पनि गर्न सकिन्छ ।’ ‘मुख’ मिलाई कुनै नयाँ शब्द होइन जसरी शब्दमा ‘सेटिँग’, औजारमा ‘सलाइरिन्च’ झै यो पनि प्रचलित शब्द हो । जहाँसम्म विद्यालयको स्वर्ण जयन्ती समारोहको कुरा छ तयारीदेखि लिएर कार्यक्रमसम्म हेर्दा भद्रगोल र हतार हतारमा गरिएको त्यसै देखिन्थ्यो । स्मारिका पनि स्वर्ण जयन्ती स्मारिका हो कि विद्यालयको प्रकाशन हो भन्न कठिन । तर, भन्नैपर्छ त्यो स्वर्ण जयन्ती स्मारिका कुनै पनि कदले, कुनै पनि मतले र कुनै पनि वादले हुदै होइन । यो त विशुद्ध विद्यालयको प्रकाशन हो । जसमा शिक्षकहरु र विद्यार्थीहरु आफना कुरा, गाथा राख्छन् सक्कियो । स्वर्ण जयन्ती स्मारिका भनेको सो क्षेत्रको लागि एउटा यस्तो ‘गीता, कुरान, वाइवल’ हो जो यो विद्यालयबाट पुष्पित, पल्लिवत भइ आ–आफ्ना ठाउँमा जमेको ‘धु्रवतारा’हरुको विगतको भोगाइ, वर्तमानको सोचाई र भविष्यको दिशा बदल्ने सोचले अभिप्रेरित पुष्पगुच्छा हो । पुस्ता दर पुस्ताको अध्ययनबाट, आत्माको प्रष्फुटनबाट निस्केको, आल्हादित भएको र भविष्य, वर्तमान र भूतको पनि समिश्रण हो । जो जुन क्षेत्रमा जमेको होस् सबैको साझा फुलबारी हो । यो विद्यालयबाट पढेर देश चलाउन हैसियत राख्नेदेखि लिएर गाउँमै रिक्सा चलाउनेहरुको भोगाइ हो र अहिलेको पुस्तासंग जोडिनसक्ने कडि हो । तर यसमा कहिँ पनि ति व्यक्तित्वहरुको न त आलेख छ, न त टिप्पणी छ न त कुनै कुरा नै । यो कुरा भन्दा मलाई लाग्दैन् कि मैले जुन शिक्षक, शिक्षिकाहरुबाट शिक्षा ग्रहण गरेर यहाँसम्म आइपुगे उहाँहरुलाई थाहा नहोला । स्मारिकाको के कुरा विद्यालयको प्रकाशनभन्दा पनि विद्यालय प्रशासनको यत्तिको लाचारीपन देखिएको छ कि जिवित व्यक्तिहरु एउटा सानो फोटो पनि राख्न सकिएको छैन् । मैले नबुझेको कुरा के हो भने यत्ति छिटो कार्यक्रम गर्नुपर्ने विवशता किन थियो ? के को लागि थियो ? कमाई गर्ने थुप्रै बाटाहरु हुँदाहुदै सुगाको माटोलाई नै अपमान गर्ने गरी गरिएको यस्तो ‘यज्ञ’ अनुष्ठानलाई वदनाम गर्नेहरुको फलिफाप कहिल्यै नहोला भन्नेमा म ढुक्क छु । आमिन् ।
प्रधानाध्यापक वा वडाध्यक्षलाई स्वर्ण जयन्ती सम्पन्न गराएको ‘यश’ लिनु थियो भने सोही समयमा गराएको भए पनि हुन्थयो नि । सो समयमा पनि प्रधानाध्यापक उहाँ नै हुनुहुन्थयो र एउटा पार्टीको सर्वेसर्वा वडाध्यक्ष । तर सो समयमा गराएको भएँ ‘भाग’ बढी लगाउनुपर्ने विवशता थियो होला र अहिले सर्वेसर्वाको दम्भ भएपछि पुगियो । एक पन्थ दुई काज । तर मलाई दुःख छ प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई के सोचले यस्तो अशोभनिय कार्यक्रममा ल्याइपु¥यायो भन्ने प्रश्न । उहाँका सल्लाहकारहरु खाली तलव लिएर बसेका छन् कि केही सल्लाह पनि दिइरहेका छन् बुझनै कठिन भयो । देशका पहिलो राष्ट्रपति डा.रामवरण यादव कुनै पनि कार्यक्रमको निम्तो स्विकार्नुभएँ पनि विवादको हल्का गन्ध आउने वित्तिकै क्यान्सिल गर्नुहुन्थ्यो तर हाम्रै गाउँका प्रदेश २ का राष्ट्रपतिलाई त्यस्तो गन्ध थाहा नभएको होला मेरो मानसपटलले मान्न तयार छैन् । उहाँ आफैले आउने ढिपी लिनुभएको हो भन्ने अर्के कुरा हो तर कार्यक्रमको अव्यवस्था र अक्षमयतालाई हेर्दा मजस्तो सानो सञ्चारकर्मीले लज्जित महसुस गर्नुपर्यो भने झन उहाँलाई कस्तो भयो होला । गाउँघरको कुरा हो भनेर उहाँले चित्त बुझाउनुभएको छ भने उहाँको त्यो महानता होला तर आगामी दिनहरुमा प्रदेशमा कुनै पनि यस्ता कार्यक्रमहरुमा उहाँको गरिमालाई ख्याल गरेर उपस्थिती गराइदिन म उहाँका सल्लाहकारहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु । म पनि यही माटोमै हुर्केको, बढेकोले उहाँको इज्जत, गरिमासंग मेरो र यस समाजको पनि सरोकार भएकोले उहाँबारे म यत्तिकै भन्न चाहन्छु । पक्कै पनि उहाँको लागि मूल्याँकन गर्ने समय यो होइन तर समिक्षा गर्ने यो उपयुक्त समय हो ।
शिक्षा विनाको समाजको परिकल्पना निरर्थक छ । भनिन्छ, कि पढेर जानिन्छ कि गरेर जानिन्छ । दुवै एक अर्काका परिपूरक हुन् । केही वर्ष अगाडी यही विद्यालयमा आयोजित एक कार्यक्रममा राजनीतिक विष्लेषक सीके लालले शिक्षाको अर्थ व्यक्ति व्यक्तिबीचको सम्बन्ध, व्यक्ति र समाजबीचको सम्बन्ध, वितेको र आउने पुस्ताबीचको सम्बन्ध, यी तिनटैको मापक गर्ने र तिनटैबीचको सम्बन्ध स्थापित गर्न सक्नेलाई शिक्षा भनेर औंल्याउनुभएको थियो । उहाँको यो शिक्षाको मापक सिद्धान्तमा स्वर्ण जयन्तीको सफलता र असफलता देखाएको छ । म भन्दिन् यो स्वर्ण जयन्ती कत्तिको फलिफाप भयो तर यत्तिको मात्रै भन्छु,‘हडवडीके विवाह कनपट्टीमे सिन्दुर ।’
अन्तिममा भन्नुपर्ने धेरै कुराहरु थियो । मन भित्र धेरै उकुसमुकुस थियो । म जान्न इच्छुक छु र थिएँ आखिर सुगाको यो माटोमा त्यस्तो के छ ? यहाँको पानी र हावामा के छ ? यहाँका अभिभावक र विद्यार्थीमा के त्यस्तो क्षमता छ ? यहाँको विद्यालय, शिक्षक र शिक्षिकामा के त्यस्तो गुण छ ? र यहाँको सम्पूर्ण वातावरणमा कहाँ त्यो शक्ति लुकेको छ, जो देशको हरेक कुनाकाप्चामा यस विद्यालयका विद्यार्थीहरु आ–आफ्नो ठाउँमा आलोकित, पुष्वित र धु्रवतारा बनेर बसेका छन् । तर निरुत्तर पनि छु । यो स्मारिका र जयन्तीबाट केही पनि पाउन सकिएन । तर पनि आशावादी भने अवश्य छु । अहिले पनि हीरक जयन्ती बाँकी छ । त्यसबेला मेरो प्रश्नको जवाफ आउँला कि ? मैले यही विद्यालयबाट शिक्षा आर्जन गरेकोले नतमतस्तक भएर यो भूमिलाई, यो विद्यालयलाई र यहाँको सम्पूर्ण शिक्षक, शिक्षिकाहरुलाई .....गुरुवे नमः सहित ढोग्न चाहन्छु । मैले प्रश्न गर्ने हिम्मत गरें किनकी आज म जुन स्थानमा छु, त्यहाँ बसेर प्रश्न गरिँन् भने मलाई शिक्षा दिनुहुने गुरु, गुरुआमाहरुको अपमान हुन्थ्यो र ति अपमानवोध सहेर बस्नुभन्दा हिम्मत गर्नु वेश ठानेर प्रश्न गरेको छु । अस्तु ।

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २१ गते । पटक पटक आफुखुशी एजेण्डा र निर्णयहरु राखेर आफुलाई गुमराहमा राख्दै बदनाम गर्न खोजेको भन्दै जलेश्वर नगरपालिकाका उपमेयरले बैठकको उपस्थिती पुस्तिका (माइन्यूट) नियन्त्रणमा लिएर बैठक रोकेकी छिन् ।
जलेश्वर नगरपालिकाका उपमेयर मुनचुन देवीले मेयर र कार्यकारी अधिकृत पटक पटक आफुलाई जानकारी नै नदिई माइन्यूट लेख्ने र सहिछाप गराउन थालेपछि शनिबार बसेको बैठकको माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र कार्यकारी अधिकृत अधिकृत रामुराज कडरियाले मिलेमतो गरी पटक पटक बिना एजेण्डा बैठक बोलाउने र कम्प्युटराइज्ड नामावलीमा सबैको उपस्थिती गराउने र त्यसपछि आफै प्रस्ताव निर्णय लेख्ने गरेको बताउनुहुदै आफुले सम्झाउँदा पनि अटेरी गरिएपछि माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।


पटक पटक सुधार्नको लागि प्रयास गरेपनि यहि रवैया दोहोरिएपछि र वदनाममा आफु पनि जिम्मेवार बन्दै गएपछि यस्तो गर्नुपरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले अब सह्रय नहुने वताउनुभयो ।
गाउँ नगरपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को छलफल सम्बन्धी विषयमा स्पष्टमा कार्यपालिकाको बैठकमा छलफल गरिने विषयवस्तु स्पष्ट रुपले किटान गरी बैठक बस्ने मिति भन्दा २४ घण्टा अगावै छलफल गरिने एजेण्डा सहितको सूचना दिनुपर्ने प्रावधान छ । तर सो कार्यविधि अनुसार पनि आफुहरुलाई कुनै जानकारी नदिने गरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले भन्नुभयो,‘आफुहरु यहाँ मात्रै मेयर र कार्यकारीको साझी बन्न आएका होइनौं, जनताप्रति उत्तरदायित्व पनि रहेकोले सोही अनुसार मैले गरेको हुँ ।’
उहाँले भन्नुभयो, ‘शनिबार ११ बजे हुने बैठकको लागि शुक्रबार दिउँसो १ बजे मोबाइलमा म्यासेज आउँछ तर त्यो म्यासेजमा कुनै छलफलको विषय हुदैनन् ।’ त्यसैगरी माइन्यूट रजिष्टरमा माइन्यूट लेख्नुपर्नेमा फोटोकाँपी पन्नामा सबैको उपस्थितीको हस्ताक्षर गराई कोठामा माइन्यूट लेख्ने चलन यहाँ चलाइएको छ जो आपत्तिपूर्ण रहेको उहाँको स्पष्ट गर्नुभयो ।

उपमेयर मुनचुन देवीले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफुलाई दिएको दायित्वबाट समेत मेयर र कार्यकारी अधिकृत मिलेर पन्छाएको छ ।’ आगामी दिनहरुमा समेत यस विषयमा आफुले बोल्ने बताउनुहुदै उहाँले नियत उनीहरुको खराब हुने र वदनाम हामी हुनुपर्ने यस्तो काम अब हुँदैन् ।
तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले कुनै पनि माइन्यूट उपप्रमुखले नियन्त्रणमा लिनु नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यविधि अनुसार नै बैठक बोलाउने गरेको छु । उपमेयर ज्युले भनेपछि बैठक नबसेको हो ।’
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तिर्थयात्राको क्रममा बाहिर रहनुभएकोले उहाँसंग सम्पर्क हुन सकेन । 

फोटो क्याप्सन ः उपमेयरलाई बैठकको लागि पठाइएको म्यासेज पत्र तथा माइन्यूटको लागि राखिएको उपस्थिती पुस्तिका ।