जलेश्वर क्षेत्रमा नाटक, मञ्चन र साहित्यिक कार्यक्रम ः एकादेशको कथा

संस्मरण
जलेश्वर क्षेत्रमा नाटक, मञ्चन र साहित्यिक कार्यक्रम ः एकादेशको कथा

नागेन्द्रकुमार कर्ण 
महोत्तरी 
यही मंसिरको पहिलो दिन । शनिबार भएकोले अबेर उठे । बिहान कुहिरोसँगै अलिकति चिसो थियो । चिसो मौसममा मलाई अबेरसम्म सुत्न मनपर्छ । त्यसमा पनि शनिबार भएकोले अलि अबेर नै उठे । उठेर फ्रेस भई चिया खाँदै फेसबुक खोले । तल स्क्रोल गदैं जाँदा जनकपुरका पत्रकार नित्यानन्द मण्डलको लेख “परवाहामा ओरिजनल काम” मा नजर गयो । शिर्षक न बुझेर खोले । त्यहाँ परवाहा गाउँमा ओरिजनल काम भन्ने नाटक तथा यसक्षेत्रको रँगकर्मको बारेमा लेखिएको थियो । पढदै जाँदा एक ठाउँमा “परवाहा जस्तै धनुषाको वभनगा (वभनगामा), वघचौडा, गंगुली, नगराईन, खजुरी, कुम्हरौडा, बहुअर्वा, नौवाखोर, प्रसाही, महोत्तरीको सुगा र अन्य केही ठाउँमा हरेक वर्ष नाटक मञ्चन हुने गरेको थियो । केही वर्षयता यसमा ह्रास आएको छ ।“ लेखिएको थियो । लेखको यो लाइनले मलाई एकदमै छोयो । मलाई पनि सानो छँदा मैले देखने गरेको नाटक मञ्चन, आफैले खेल्ने गरेको नाटक, नाटकको तयारीदेखि प्रर्दशनसम्मका कुराहरु तथा जलेश्वरको साहित्यिक गतिविधिहरुको झलझलि सम्झना आउन थाल्यो । सम्झनासंगसंगै सानोमा मैले देख्ने गरेको नाटकीय रङमञ्च तथा अहिले देख्ने गरेको रङमञ्चमा जमिन र आकाशको फरक पाए । जमिनबाट आकाशलाई हेर्दा निलो रङ्ग मात्रै होइन टाढा पनि होइन जस्तो लाग्छ तर जो जानकार छन्् त्यसलाई लाग्दो हुन्छ वास्तविकता के हो ? क्षितिज जति नजिक देखिन्छ, जाँदा त्यत्तिकै टाढा । हो, क्षितिज र आकाशको वास्तविकता झै अहिलेको यसक्षेत्रको रङ्गमञ्च देखिएको छ । यसक्षेत्रको साहित्यिक गतिविधि देखिएको छ । 
महोत्तरीको सुगा र नाटक 
महोत्तरीको सुगा यसक्षेत्रकै चर्चित गाउँ । विगतमा गाउँ विकास समिति तर अहिले जलेश्वर नगरपालिकाको एउटा वडा । नेपालको होचो सदरमुकामको रुपमा परिचय बनाएको जलेश्वरभन्दा पूर्व तथा नेपालकै सबभन्दा होचो ठाउँ धनुषाको मुसहरनिया भन्दा पश्चिम । बिचमा छ त्रेताकालिन महत्व बोकेको मृतखन्नी हुदै बनेको मटिहानी । जहाँ त्रेताकालमा माता सीताको विवाहोत्सवमा हुने मटकोर विधीको लागि माटो खनिएको थियो । सुगामा विगतमा के थिएन ? सबै थोक थियो । शिक्षा, अशिक्षा, भोक, रोग, व्याधि, मनोरञ्जन, खेल, खेलाडी सबै थोक थियो । अहिले पनि छ तर अस्तित्व खोज्दै छ । छ तर खाली । पहिला पनि थियो तर जे थियो गर्व गर्ने लायकको थियो । अहिले पनि छ तर मृत्युको घोषणा नगरिने धुकधुकी मात्रै । सोही धुकधुकीमा बाँचिरहेको अस्तित्वको खोजीमा छ यहाँको नाटक मञ्चन । नित्याजीले लेख्नुभए झै यसक्षेत्रमा नाटकको क्षेत्रमा सुगाको नाम अग्रंपक्तिमा छ । सुगामा धेरै कुरा छ, धेरै कुराबाट चिनिन्छ र बुझिन्छ । सोही बुझाई मध्येको एक हो कृष्णाष्टमी, नाटक र बाई । (बाईको चर्चा र वहस अद्यापी हुने गरेको छ । यस बारे अन्य कुनै दिन लेखिने छ ।) सुगामा विगतदेखि नै कृष्णाष्टमी तथा संतोषीपुजामा नाटक मञ्चन हुदै आएको थियो । अहिले संतोषीपुजामा नाटक खेलिन बन्द भएको छ । त्यसको साटो बाहिरबाट कलाकारहरु ल्याई अल्हा रुदल, राजा सलहेस, कुँवर वृजवानलगायतका नाटकहरु मञ्चन हुने गरेको छ । म जन्मेको भूमि भएकोले यहाँको नाटक र रङ्गमञ्चलाई नजिकबाट हेरेको छु, बुझेको छु, छामेको छु र अहिले पनि देखिरहेको छु । आठदशक भन्दा बढी समयदेखि सुगामा नाटक हुदै आएको छ । यहाँ स्थानीय कलाकारहरु सम्मिलित भएर महिनौंको रिहर्सल (पूर्वाभ्यास) गरेर नाटक मञ्चन हुदै आएको छ । कृष्णजन्माष्टीको अवसरमा सुगामा तिन दिवसीय मेला तथा कार्यक्रमहरु आयोजना गरिन्छ । कृष्णजन्माष्टीको दिन तथा सो को एक दिन अगाडी र एक दिन पछाडी गरि तिन दिवसीय कार्यक्रम आयोजनामा राती नाचसहित नाटक समेत मञ्चन हुन्थ्यो । सुगाको नाटक मञ्चन यति प्रख्यात थियो कि साँझ नपर्दे दर्शकको ओइरो लाग्थ्यो । बाढीको समयमा समेत पानी हेलेर (बाढीको पानी तरेर) दर्शक नाटक हेर्न आउँथ्यो । दुई दिन सामान्य मानिसहरुले भोग्ने गरेको कथाहरुसहितको सामाजिक नाटक प्रर्दशन गरिन्थ्यो । जसमा मुख्यतः सामाजिक अन्याय, हिंसा, दहेज र सोबाट प्रताडित घटना, शक्तिको दुरुपयोग, अपराधलगायतका घटनाहरु हुने गरेको थियो । भारतको सुरसण्ड, भिठामोड, मधवापुर, साहरघाटलगायतका ठाउँहरुको पुस्तक पसलहरुमा पुगेर नाटकहरुको पुस्तक छनौट गरेर सोही अनुसार कलाकार र पात्रहरुको छनौट गरेर नाटक मञ्चनको पूर्वाभ्यास हुने गर्दथ्यो । नाटकहरु मध्ये कृष्ण जन्म र कंस वध नाटकको कलाकारहरुले गर्ने अभिनय जिवन्त लाग्थ्यो । अहिलेसम्म पनि कृष्ण जन्म र कंस वध नाटकले परम्परा धानेको छ । कंसको भूमिका निर्वाह गर्ने स्व.गणेश पाण्डेय, कामेश्वर झा, कृष्णको भूमिकामा कृष्णचन्द्र झा, लालबाबु राय, धिरेन्द्र राय, राधाको भूमिकामा शशिनाथ राय, मुक्ति राय, सुनिल ठाकुर, नारद (विदेश्वर राय), देवकी (पप्पु प्रतिहस्त), अक्रुरको भूमिकामा शुभकरण चौधरी, सुदामा (धिरो तिवारी) लगायतका कलाकारहरुको अभिनय हेर्न लायक हुन्थ्यो । जसको चर्चा अद्यापी हुने गरेको छ । कतिपयको भूमिका हामीले हेरेकै छैनौं । म जन्मनुभन्दा झण्डै चारदशकभन्दा बढी समयदेखि सो नाटक हुदै आएकोले पनि पुरानो पुस्ताको (नाटकमा अभिनय गर्ने) नामावली थाहा नै छैन । पुरोहितको काम गर्नुहुने कामेश्वर झाको नाम हामीलाई धेरै वर्ष पछि थाहा भएको हो । उहाँको जीवन्त अभिनयकै कारण हामी सबै उहाँलाई कंस महाराज नै भनेर चिन्थ्यौ । तर विगत भन्दा अहिलेको कलाकारले गर्ने मञ्चन उदेक लाग्दो अवस्था छ । लाग्छ, नाटक मञ्चन होइन, मञ्चमै रिहर्सल भइरहेको छ । न त पाठ (स्क्रीपट) याद रहेको हुन्छ न त हाउ भाउ मिलेको हुन्छ । नाटकको एउटा मात्रै सिन (दृश्य) हेरेपछि आधा दर्शक प्रोग्राम छोडेर निस्कन्छ । विगतदेखि नै वाई (नर्तकी, कलाकार) बोलाएर दर्शकलाई मनोरञ्जन दिइन्थ्यो भने नाटकले दर्शकहरुलाई बाँधेर राख्थ्यो । (अहिलेको आधुनिक समयमा धेरैलाई वाईको उपस्थिती नराम्रो लाग्छ, तर विगतदेखि नै सुगामा वाईसँग गरिने व्यवहार थाहा पाउँदा तपाईलाई त्यस्तो उपस्थितीबारे सोच्न वाध्य बनाउँछ ।) ठयाक्कै तोकिएकै समयमा शुरु हुने, अनुशासनले भरिएको मञ्च तथा कलाकार, सभ्य तथा ओजपूर्ण व्यक्तित्व भएका समितिका पदाधिकारीहरुले गर्दा नाटकको प्रस्तुतीकरण जिवन्त हुन्थ्यो तर अचेल केही पनि छैन । परम्परा धान्ने नाममा कर्मकाण्डीय मात्रै भइरहेको छ । न त अनुशासनमा कलाकार छन् न त मञ्च । पहिला पहिला मञ्चको पुजापाठ मात्रै होइन त्यसमा चढने व्यक्तिलाई धेरै सम्मान हुन्थ्यो तर अहिले कलयुगी प्रभाव देखिएको छ । सबै उल्टो । गाउँ घरमा अहिले नाटक बन्द नै छ भन्दा उपयुक्त हुन्छ । दर्शकलाई वाँध्न र राख्न हरेकको आफनो भूमिका हुन्छ । नाटक मञ्चन एकल विषय होइन यो सामूहिक रुपमा गरिने टिम वर्क भएकोले एउटा पक्ष कमजोर भयो भने सबै कमजोर हुने भएकोले सबैको भूमिका महत्वपूर्ण मानिन्छ । नाटक मञ्चनको लागि बनाइने मञ्चदेखि लिएर लाइट, बाजागाजा, मेकअप, प्रस्तुतिकरण सबै महत्वपूर्ण हुन्छ र यसको लागि तयारी गर्ने पक्षको भूमिका समेत गौरवान्वित गर्ने हुन्छ । जिल्ला शिक्षा अधिकारीबाट अवकाशप्राप्त वयोवृद्ध कृष्णचन्द्र झाले आफु कृष्णजन्म र कंस वध नाटकमा केही वर्षसम्म कृष्णको भूमिकामा देखिएको बताउनुहुदै एक महिना अगाडीसम्म रिहर्सल हुने, रिहर्सलमा कलाकार बाहेक बाहिरका व्यक्तिहरुलाई सहभागी नगराउने, एकहप्तासम्म निर्देशकले सिकाउने र गराउने र त्यसपछि त्रुटी भएमा लठ्ठीले हान्ने, गाली गर्ने, नाटक मञ्चनपूर्व दिनमा निर्देशकको अगाडी नाटक प्रर्दशन गर्ने लगायतका कार्यहरु हुने गरेको सम्झनुहुदै सबैको मिहिनेतले सुगाको नाटकको क्रेज बनेको सम्झिनुभयो । अहिले कुनै क्रेज छैन, राम्रो निर्देशक छैन, भएकोलाई समेत अनुशासनहीन कलाकारले नटेर्ने गतिविधि छ अनी कसरी राम्रो नाटक प्रर्दशन हुन्छ ? उहाँको बुझाई थियो । उहाँले एउटा मात्रै होइन तिन दिवसिय नाटक हुन्थ्यो र तिनवटै नाटकका कलाकारहरुलाई राम्रो गर्ने प्रतिष्पर्धा चल्थ्यो । त्यसैले त नाटकको क्षेत्रमा गाउँको नाम चलेको र दर्शकको भिड थामिनसक्नु हुने गरेको बुझाई थियो । नाटक खेल्न मात्रै होइन नाटकको लागि आवश्यक पर्ने सरसामग्रीहरु जोरजाम गर्न समेत सबैलाई उत्तिकै सकस थियो । नाटकको लागि स्टेजमा (मञ्च) आवश्यक पर्ने पर्दा, कपडा, बन्दुक, डे«सहरु भारतको सुरसण्डबाट भाडामा मगाइन्थ्यो । कतिपय सामग्रीहरु समितिले नै जोहो गरेर राखेको हुन्थ्यो । महिला कलाकारहरुमा पुरुषहरु नै खेल्ने चलन थियो । उनीहरुलाई मेकअप गर्न बाहिरका व्यक्तिहरु आउँथ्यो । जसको पनि आफनै महत्व र सम्मान थियो । कलाकारहरुलाई मेकअप गर्न मटिहानी र भारतीय चोरौतबाट आउँथ्यो पछि गाउँकै चन्द्रशेखर चौधरी तथा दिगम्बर झा सरहरुको मेकअपमा भूमिका हुन्थ्यो । अहिले समयाभाव र कमाउने उद्देश्यले घर बाहिर जानुपर्ने वाध्यताले यसक्षेत्रमा कमि देखिएको यर्थात हो । तर यो कारणलाई मात्रै पर्याप्त मान्न सकिन्न् । प्रविधिको विकासले युवाहरुलाई बाहिरी वातावरणसँग खासै लगाव छैन । अहिलेका पुस्ता आफैमा मस्त हुन चाहन्छन् । सबैभन्दा ठुलो कुरा अहिलेका युवापुस्ताहरुमा आफु पनि नगर्ने, अरु गर्न अगाडी आयो भने गर्न पनि नदिने सोच छ । आफु मात्रै सक्षम रहेको अहमता बढदै गएको छ । जसको कारणले व्यवस्थित रुपमा नाटक मञ्चनमा अवरोध छ । नाटकको ठाउँमा अहिले आर्केष्ट्रा चलेको छ । विगतमा आर्केष्ट्राको नाम नै सुनिएको थिएन तर अचेल पुजापाठहरुमा आर्केष्ट्रा नभई हुदैन । सुरक्षा निकायले परमिशन दिने हो भने यसक्षेत्रमा हरेक पुजापाठमा मनोरञ्जनको नाममा आर्केष्ट्राको भरमार हुन्छ । 

फोटो ः जलेश्वरको सुगामा हुने गरेको नाटक कृष्ण जन्म र कंस बधमा कृष्णको भूमिकामा रहेका एक कलाकार ।

साहित्यिक गतिविधि 
दुई दशक अगाडीसम्म जलेश्वर वरिपरिको क्षेत्रमा विभिन्न साहित्यिक गतिविधि हुने गरेको थियो । सरकारी विद्यालयहरुमा समेत शुक्रबार अतिरिक्त क्रियाक्लाप अन्तर्गत साहित्यिक कार्यक्रम हुने गरेको थियो । जलेश्वरमा दर्ता विहिन रहेका मिथिला युवा कवि समाजको व्यानरमा धेरै वर्षसम्म यो पंक्तिकारसहित राकेशप्रसाद चौधरी, राकेश ठाकुरलगायतका थुप्रै युवाहरुले साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएका थिए । जसमा सहभागिहरुको उल्लेख्य सहभागिता हुने गरेको थियो । युवाहरुको संलग्नतामा रहेको संस्थालाई आवश्यक पर्ने साउण्ड, कुर्सी, चियालगायतका सामग्रीहरु स्वस्पूर्mत रुपमा समेत सहयोग प्राप्त भइरहेको थियो । नयाँ नयाँ युवा, युवतीहरु समेत यसक्षेत्रमा कविता, मुक्तक, गजलहरु लेख्ने र साहित्यिक कार्यक्रममा सहभागी भएर आफनो क्षमता प्रस्तुत गर्ने गरेका थिए । हरेक महिना कविता वाचन गरिन्थ्यो भने कहिलेकाँही समय सान्दर्भिक विचार गोष्ठीको समेत आयोजना हुदै आएको थियो । जलेश्वरमा रहेको एकमात्र क्याम्पससहित विभिन्न विद्यालयहरुमा समेत शुक्रबारको दिन पारेर विभिन्न साहित्यिक कार्यक्रमहरु हुदै आएको थियो । जलेश्वर क्षेत्रमा दुई दशक अगाडी कला संस्कृति क्षेत्रमा काम गर्ने अभिप्रायले नङ्गरु काकाको नेतृत्वमा नटराज मिथिला कला केन्द्र समेत खोलिएको थियो । जसले मधेश आन्दोलनताका सडक नाटक खेलेर आन्दोलनमा टेवा दिनु बाहेक उल्लेख्य काम गरेको जानकारी छैन । अहिले सो संस्था समेत अस्तित्वमा रहेको देखिन्न् । अहिले यसक्षेत्रमा साहित्यिक गतिविधिहरु ठप्प नै छ । कहिँपनि साहित्यिक कार्यक्रमहरु यसक्षेत्रमा हुदैन । अहिले बर्दिबास, जनकपुरधामहरुमा भने विभिन्न कार्यक्रमहरु आयोजना हुदै आएपनि साहित्यिक गतिविधिको क्षेत्रमा यो क्षेत्र सुख्खाग्रस्त नै बनेको छ । साहित्यकारहरु वा साहित्यक्षेत्रमा चाहना नभएका व्यक्तिहरु नभएको होइन तर गतिविधि नहुदाँ सबैको गन्तव्य जनकपुर बनेको छ । 
@SUGA @Natak @Krishnastami @Nagenda Kumar Karna @Drama @Bai