बारका वकिल र कर्मकाण्डका पुरोहित

चुनावी सरकारमा प्रधानन्यायाधीशको नेतृत्व एउटा चुत्थो विकल्प हो । र, यो चुत्थो विकल्प राजनीतिको भण्डारमा रहेको निर्विकल्प विकल्प हो ।

मैले वकिल र पुरोहित उस्तै-उस्तै हुन् भनेँ भने वकिलहरूलाई जङ चल्ला र पुरोहितहरू दङ्ग पर्लान् । तिनको प्रतिक्रियामा रोष वा हर्ष जे भए पनि यो कुरो खसोखास साँचो हो ।  दृष्टि क्षितिजको घेरा, सूत्रभक्ति, अतीतमुखी मुद्रा, सोच्ने पारा, तर्क गर्ने काइदा र जिद्दी गर्ने मतिका दृष्टिले वकिल र पुरोहित उस्तै-उस्तै हुन् । यी दुबैथरी जीवात् आ-आपmना शास्त्रका सूत्रहरू प्रायः जीवन निरपेक्ष भाकामा एकै प्रकारले जप्छन् । जसरी वकिलहरू 'शक्ति पृथकीकरण र संविधानवाद'का सूत्र जप्छन्, उसैगरी पुरोहितहरू 'राम नाम सत्य हो' को सूत्र जप्छन् । यी दुबैथरीलाई बद्लिँदो समय र फेरिँदो जनचाहनाको पर्वाह हुँदैन । समय कुन हो, सन्दर्भ के हो, खाँचो केको छ, केमा लोकको हित छ— यस्ता प्रश्न यिनको रुढ अभिरुचिको पन्तुरोमा पर्दैनन् । यी त भक्तले भगवानको मूर्ति हेरेझैँ केवल आ-आपmना शास्त्रका सूत्रहरू ट्वाँ परेर हेर्छन्, ती सूत्रलाई फेर्न नमिल्ने ब्रह्मवाणी ठान्छन्, आफू ती सूत्रको पिञ्जराका कैदी बन्छन् र इतिहासको गति र नागरिकका सपनाहरूलाई त्यही पिञ्जराको कैदी बनाउन मरिमेट्छन् । यिनका दृष्टिमा शास्त्र मानिसका लागि होइन, मानिस शास्त्रका लागि हो । बरु रोकिए समयको गति रोकियोस्, बरु मरे मानिस मरोस्, यिनलाई शास्त्रको शुद्धताको रक्षा गर्नैपर्छ । आकाश खसोस्, धर्ती च्यातियोस्, सृष्टिमा पैरो जाओस्— यिनलाई चिन्ता हुँदैन । यिनलाई त केवल शास्त्रका निर्जीव सूत्रहरूको आँखा चिम्लेर रक्षा गर्नु र गरिरहनुको चिन्ता हुन्छ । वकिल र पुरोहितको एकनासेपनको यो चर्चाको स्रष्टा बार एसोसियसनका हस्तीहरूको कर्कश कोलाहल हो । बारका एकथरी सूत्रजीवी वीरहरू सर्वोच्च अदालतका प्रधानन्यायाधीशले चुनावी सरकारको बागडोर सम्हाल्दा शक्ति पृथकीकरण र संविधानवाद सत्यानाश हुन्छ भनेर तीन सहरमा धूलो उडाउँदै बेत्तोडले कुदिरहेका छन् । पुरोहितले अमानवीय गरुडपुराण बोकेझैँ यिनले हातहातमा मृतप्रायः अन्तरिम संविधान बोकेका छन् । सूत्रभक्तिको गाढा नशाले यिनका दिमाग टनाटन भरिएका छन् । यिनको हृदयका संवेदनाका सबै क्षिद्रहरू टालिएका छन् । यिनका धुमिल दृष्टि नेपाली इतिहासको संक्रमणकालीन संकटप्रति सर्वथा विमुख छन् । नेपाली बारको इतिहासमा जीवन निरपेक्ष सूत्रजीवी वीरहरूको यति नग्न तस्बिर सायद यसअघि कहिल्यै उजागर भएको थिएन । अन्तर्यमा जो जे हो, संकटको घडीमा ऊ त्यही स्वरूपमा सर्लक्कै प्रकट हुन्छ । बारमा आज हेरिनसक्नु रमिता छ !
चुनावी सरकारमा प्रधानन्यायाधीशको नेतृत्व एउटा चुत्थो विकल्प हो । म पनि मान्छु । तर यो इतिहासले हामीमाथि थोपरेको कठोर नियति हो । र यो चुत्थो विकल्प राजनीतिको भण्डारमा रहेको निर्विकल्प विकल्प हो । विप्लवी गर्जनसाथ परिवर्तनको आँधी बोकेर आएका, नागरिकहरूका आशाका केन्द्र बनेका र संविधानमा तिनको भाग्य लेख्ने जिम्मा पाएका राजनीतिक नेताहरूले दलीय वृत्तबाट प्रधानमन्त्री रोज्न सकेनन् । प्रतिपक्षका छूतहरूका नजरमा डाक्टर बाबुराम भट्टराई अछूत मानिए । र ती बदर भए । अनि इतिहासको जोक्कर बन्ने पालो आयो, सुशील कोइरालाको । बडो नाटकीय रूपले तिनको नाउँ प्रचण्डले अघि सारे । कुन्नि, तिनको नाउँ प्रधानमन्त्री बनाउन होइन, नबनाउन पो अघि सारिएको थियो कि ! बिजुलीको तारमा बसेर चतुर कागले मलाई सुटुक्क सुनायो— कांग्रेसका हालका नेतात्रय मध्येका दुई नेताले सुशीललाई प्रधानमन्त्री बनाउन होइन, नबाउन समर्थन गरेका थिए । थाहा छ, यी पाल्सीभाषी नेताद्वयले आफैँ प्रधानमन्त्री बन्न खुट्टा उचालेका थिए । आपmनो कुण्ठित चित्तमा यत्रो तिर्सना छ, अनि केको सुशील दा ? त्यागी सुशील दा बित्थामा लोभी र भोगी देखिए । र तिनको उम्मेदवारी ख्याल-ख्यालमै गोपीक्याँच भयो ।
आयो कुरा अब समानुपातिकको बाली उठाएर निर्वाह चलाउने झिना-मसिना दलहरूको च्याँखे दाउको । ठूला नभए हामी साना छौँ भनेर तिनले प्रधानमन्त्रीको गद्दी हात थापे । तर अलि दिनमै तिनका हात थाकेर रित्तै लत्रिए । उम्मेदवारीको यो रिक्ततामा मौकामा चौका हान्न डा. केपी शर्मा ओली रसिला टुक्काको झोली बोकेर गुफाबाट फुत्त बाहिर निस्के । तर तिनलाई कसैले टेरपुच्छर लगाएन । अनि फुस्रा ओठ लिएर ती गुफामै लुत्त अन्तरध्यान भए । त्यसपछि जाल नागरिक समाजतिर फालियो । जालमा सबैले मान्ने साझा माछो फेला परेन । अनि कोही नभए म छु भनेर अमर्यादित स्वरमा विजय गच्छदार कुर्लिए । तिनको कुर्लाइ आकाशले सुन्यो र आकाशमै बिलायो । हो, यही विराट रिक्ततालाई भर्न प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम रोजिएको हो ।
रेग्मी महोदयले म प्रधानमन्त्रीको गद्दी पाउँ भनेर हात थापेका होइनन् । बडे दलका बडाबडा नेताहरू आफैँ निहुरिँदै भिखारीको भेषमा तिनको द्वारमा विन्ती बिसाउन र गुहार माग्न धाएका हुन् । रेग्मी महोदयका तालुमा चिताउँदै नचिताएको आलु फलेको हो । फल्यो त अब कसको के लाग्छ ? रेग्मी महोदय पनि त सामान्य मानिसजस्तै जीवनमा कीर्ति रच्न रहर गर्ने मानिस हुन् । प्रस्ताव जब आयो, तिनलाई लाग्यो होला, कत्राकत्रा मै हुँ भन्नेहरूले पार लगाउन नसकेको संक्रमणकालीन डुङ्गा पार लगाउने मौका म किन छाडुँ ? सके तारिएला, नसके डुबिएला । आखिर जीवन भन्नु नै प्रयोग र परीक्षणको जोखिमपूर्ण खेल न हो । यस्तो तर्कना गर्दै तिनले भने— विधि मिलाएर नीति र व्यवहारका गाँठा फुकाओ, म तिमीहरूलाई संक्रमणकालको भेल पारि पुर्‍याउन यत्न
गर्छु । नतिजा जे होला, देखा जायेगा ।
यति के भएको थियो, बारका एक झुन्ड सूत्रपन्थी वीरहरूमाझ उच्चाटलाग्दो कोलाहल सुरु भइहाल्यो । ती जिउँदो फट्याङ्ग्रोमाथि कमिलाको गोलो खनिएझैँ रेग्मी महोदयमाथि खनिए । हे भगवान् ! शक्ति पृथकीकरण सर्वनाश हुने भो ! स्वतन्त्र न्यायपालिकाको मानमनितो मासिने भो ! तानाशाहीले मुन्टो उठाउने भो ! लोकतन्त्र लोप हुने भो ! हो यसरी तिनले समवेत् स्वरमा गनगन गरे । बारका हाम्रा यी वीरहरू अजीवका जीव हुन् । यी स्रेस्ताका निर्जीव अक्षर पढ्छन्, गतिमान जीवन पढ्दैनन् । यी समयको अटुट गतिमा कतै छुट्छन् र जीवनको स्पन्दनशील लयबाट बेखबर हुन्छन् । बारको अवरोधकारी खैलाबैलाले आखिर त्यसै त भन्छ । राजनीतिको संक्रमणकाल आफैँमा एउटा संकटकाल पनि हो । यो सबै कुरामा स्थापित परम्परा, विधि र रीतिको गोरेटोमा सुमुसुमु हिँड्दैन । संक्रमणकाल इतिहासको अपवादजन्य काल हो । यो यदाकदा चालु परम्परा र विधिको मूल बाटो छाडेर चोर बाटो पनि हिँड्छ । तर यो चोर बाटो हिँड्ने पनि मूल बनाउनलाई नै हो । राजतन्त्र कुनै विधि र परम्पराको पुच्छर समातेर फालिएको
होइन । संघीयता र समावेशन कुनै विधि र परम्पराको आदेश मानेर उद्घोष गरिएको होइन । यो त पुरानो विधि र परम्पराका मिति गुजि्रएका कुरालाई मिल्काउँदै नयाँको अन्वेषण र स्थापना गर्ने यात्राको नवीन कथ्य पो हो । अहिले प्रधानन्यायाधीशको चुनावी नेतृत्वको प्रसङ्ग उठेको पनि यसै संकटकालको मेसोमा हो । जब समय सन्दर्भ बुझिँदैन, तब कुहिराको काग भइन्छ । हाम्रा कोलाहलकर्मीहरूमाझ अहिले भएको त्यही हो ।
अहिले सग्लो र पूर्ण संविधान छैन । राष्ट्रपतिको भाषामा सरकार कामचलाउ छ । जसरी हुन्छ, संविधान लेख्न चुनाव त गर्नु नै छ । छनलाई प्रधानमन्त्री बन्न जुँगामा ताउ लगाउँदै उभिनेहरूको लस्करै छ । तर चुनावी सरकारको नेतृत्व गर्ने साझा पात्रको भने संकट छ । बारका सूत्रभक्त वीरहरूलाई म सोध्छु— यो संकट टारिदिने पात्र खिलराज महोदय नभए अरु को हो त ? बारका विधिविज्ञ भनिने वीरहरू यसमा मौन छन् । मानौँ तिनलाई चुनाव चाहिएको छैन । मानौँ तिनलाई संविधान चाहिएको छैन । मानौँ ती रकमी सूत्रहरूको नशामा लठ्ठ छन् ।  चुनाव संघीय लोकतन्त्रका लागि हो । शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको ग्यारेन्टी गर्ने पनि त आखिर चुनावपछि बनाइने संविधानले नै हो । तर बारका वीरहरू भने इतिहासको बाटोमा बार भएर उभिन जिद्दी गरिरहेका छन् ।
उसो त उदेकलाग्दो कुरा अर्को पनि छ । वृद्ध पार्टीहरूका कतिपय वृद्ध र युवा नेताहरू बारका वीरहरूका पछि लागेर तिनैको लोलीमा बोली मिलाउँदैछन् । मानौँ ती तिनका पिञ्जरावासी सुगा हुन् । मानौँ तिनलाई पनि चुनाव चाहिएको छैन । मानौँ तिनलाई सहस्र बलिदानबाट उठेका परिवर्तनका मुद्दाहरूलाई संस्थागत गर्नु छैन । मानौँ तिनलाई रकमी सूत्रहरू जपेर इतिहासको बाटो छेक्नुमै आनन्द छ ।
नेपाली राजनीति संकटको विशाल भेलवारि रनभुल्ल भएर उभिएको छ । पछाडिबाट इतिहासका प्रेतहरूले तर्साइरहेका छन् । अगाडि भेल तर्न न पुल छ न नाउ छ । रेग्मी महोदयरूपी विकल्प एउटा उत्तिसको मुढो हो, जसको सहाराले भेल तर्नुछ । भेल तर्ने साधन केही नहुनुभन्दा उत्तिसको मुढोसम्म हुनु पनि त राम्रै हो । जो यो चुत्थो तर निर्विकल्प विकल्प विरुद्ध उभिन्छ, त्यसको नाम इतिहासको पश्चगामी महलमा लेखिएला कि भन्ने मलाई डर छ । आगे पुरोहितपथका वकिलहरूको जो मर्जी ।