कानुन व्यवसायीहरू बाटो बिराउँदैछन् ?

निर्वाचनको नाममा जुनसुकै साधनको प्रयोग जायज हुन्छ भन्ने कुरामा वकिलहरु सहमत हुन सक्तैनन् ।
(7 Votes)
radheshyam
'न्यायदूत' नेपाल बार एसोसिएसन (नेबाए) को मुखपत्र हो । उसको प्रकाशनको सुरुमै तत्कालीन गृहमन्त्रीको कार्यकक्षमा त्यसबेलाका सम्पादक वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, गणेशराज शर्माले खप्की खानुपरेको कुरा स्मरणीय छ । यस्तै हो भने न्यायदूतमात्र हैन, कानुन व्यवसाय नै समेत बन्द हुनसक्छ भनी चेतावनी दिइएको थियो । त्यतिबेला पञ्चायत व्यवस्था आफ्नो उत्कर्षमा पुग्दै थियो । त्यसपछि वागमतीमा धेरै पानी बग्यो । २०३६ सालमा जनमत संग्रहको घोषणा हुँदा नेबाएका अधिकांश कानुन व्यवसायी खुलेरै बहुदलको पक्षमा लागे । पञ्चायतकालमै राजनीतिक संगठनको स्वतन्त्रता अनिवार्य छ भनेर घोषणा गर्ने एकमात्र वैध संस्थाको हैसियत नेबाए मात्रैले प्राप्त गर्नसकेको हो । पञ्चायतको अवसानपछि पनि समय-समयमा राजनीतिक दलका नेताहरूको तारो कहिले नेबाएले संस्थागत रूपमा, कहिले 'वकिल समुदाय'को नाममा बनिरहनुपर्‍यो । 'घाँस खाने वकिलहरू'को उपाधि अन्यथा सदैव सज्जन रहनुभएका मनमोहन अधिकारीले खुलामञ्चबाट नै दिनुभएको हो । पछि कानुन व्यवसायी भएर सघाउन आग्रह गर्दा गणेशराज शर्मासँंग उहाँले क्षमा माग्नुपरेको थियो । त्यसैगरी कुनै समारोहमा माधवकुमार नेपालले डाक्टर लुटेरा, वकिल महालुटेरा भनेर भनेको व्यवसायका साथीहरू अझै सम्झँदैछन् । तर उहाँले पनि आफ्नो भनाइप्रति खेद व्यक्त गरेर तत्कालै नेबाएको त्यतिबेलाको कार्यसमितिलाई लेखेर पठाउनुभएको हो । हेटौंडाको महाधिवेशनको उन्मादमा एनेकपा माओवादी अध्यक्ष पुष्मकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई दुवैले गएको फागुन १ गते कानुन व्यवसायीहरूसँंग संविधानको विषयमा आफूहरू बहस गर्न तयार रहेको भनेर चुनौतीको भाषा बोल्नुभएको थियो । हालैमात्र वागलुङमा एमाले नेता वामदेव गौतमले नेबाएप्रति कटाक्ष गर्दै आइन्दा नेबाएले नै निर्वाचन गरेर देखाओस् भन्नेसम्मको अभिव्यक्ति दिनुभएको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेका राजनीतिक दलका नेताहरूको काममा नेबाए विनाकारण हस्तक्षेप गर्दैछ भनी आरोप लगाउने क्रममा मधेसी मोर्चाका जितेन्द्र देवले वकिलहरूलाई 'लाल बुझक्कड' भन्ने पगरी गुँथाउनुभएको छ ।
नेपाली कांग्रेसका नेताहरू पनि यस कुरामा अछूता छैनन् । राजनीति कानुनद्वारा निर्देशित हँुदैन, हुनसक्तैन भनी पटक-पटक भन्ने गरेको पंक्तिकारले आफैले कैयनपटक सुनेको छु । समग्रमा भन्ने हो भने राजनीति गर्नेहरू आफ्नो अनुकूल भएन भने कानुन, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका सबैको आहुति दिन तत्पर रहन्छन् भन्ने कुरा हालैको तीन ठूला पार्टी र मधेसी मोर्चाको बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन उद्यत भएबाट स्पष्ट भएकै छ ।
संविधानसभामा न्यायप्रणाली समितिमा व्यवस्थापिका -जनप्रतिनिधि) मातहत न्यायपालिकालाई राख्नुपर्ने आशयको प्रस्तावको विपक्षमा उभिनुको सार्थकता आज आफै खोज्नुपर्दा उदेक लाग्दैछ । त्यहाँ लेखिएका फरक मतहरू उल्टाएर हेर्दा त्यसको आवश्यकताबोध गर्न कठिनाइ भइरहेको छ । संवैधानिक अदालतको आवश्यकतासम्मलाई इन्कार गर्ने र त्यस विषयमा लामो प्रस्तुति दिने माननीय न्यायाधीशहरूलाई नै शक्ति पृथकीकरणको कुरा, शक्ति सन्तुलनको कुरा सम्झाउँदा कर्णपि्रय नभएको अनुभूति हुन्छ । माओवादीले जे कुरा संविधानसभाबाट प्राप्त गर्न सकेनन्, ती कुरा अविश्वसनीय रूपमा व्यक्तिगत महत्त्वाकांक्षाका कारण न्यायपालिकाबाट प्राप्त गरी छाडे । अलिकति पनि संवेदनशीलता हुन्थ्यो भने सर्वोच्च अदालतमा न्यायाधीशहरूको अभाव हुने थिएन ।
जसरी पनि निर्वाचन गराउने नाममा कूटनीतिक नियोगहरूमार्फत पनि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने काममा बाधा नदिन नेबाएमाथि दबाब हालिँदैछ । कानुन व्यवसायीहरू २००७ सालदेखि शक्ति पृथकीकरणका लागि निरन्तर प्रयत्नशील छन् । यसको जग अझै बलियो गरी बस्नसकेको छैन । २०३४ सालमा अख्तियार दुरुपयोग निवारण आयोगलाई अभियोजन गर्ने र मुद्दा छिन्ने दुवै जिम्मेवारी दिँदा पनि यो सिद्धान्तलाई अस्वीकार गरिएकै हो । राजा ज्ञानेन्द्रको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निषेध गरी शाही आदेशमार्फत शाही आयोग बनाएर मुद्दा चलाउने, मुद्दा छिन्ने अधिकार दिएकै हो । कतिपय राजनीतिक नेताहरू यही आयोगबाट प्रताडित भएका पनि हुन् । रमाइलो के छ भने यस्तो हुँदाहँुदै पनि तिनै राजनीतिज्ञहरू आज शक्ति पृथकीकरणको मूल्य-मान्यता भत्काउन उद्यत भएका छन् । हामीले कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि हामी झस्किनुपर्ने कारण सम्झाउनुपरेको छ ।
कानुन व्यवसायीहरू र यसको मूल संगठन नेबाएलाई राम्ररी थाहा छ कि संविधानसभाको अवसानपछि लोकतन्त्र धरापमा परेको छ । यसलाई निकास दिने बाटो निर्वाचनमात्रै हो । निर्वाचन नहुँदा उत्तरदायी शासन व्यवस्था नै मुलुकबाट गायव भएको छ । निर्वाचन नहुँदा वकिल लाभान्वित हुँदैनन् । लोकतन्त्र मासिँदा वकिल फाइदामा पर्दैनन् । कानुनको राज्य लोकतन्त्रमा मात्र सम्भव हुन्छ । त्यसैले लोकतन्त्र, संविधानवाद र सीमित सरकारको अवधारणाका लागि कानुन व्यवसायीहरू लागिपरेका हुन् । तर निर्वाचनको नाममा जुनसुकै साधनको प्रयोग जायज हुन्छ भन्ने कुरामा वकिलहरू सहमत हुनसक्तैनन् । विधि र प्रक्रिया  पनि कानुन व्यवसायीका लागि अत्यन्तै पि्रयकर छ भन्ने सम्झाउन नेबाएलाई कठिनाइ  परिरहेछ ।
यतिबेला वीपी कोइरालालाई स्मरण गर्न मन लागिरहेछ- जसले जनमत संग्रहको दौरानमा देश दौडाहा गर्दा विभिन्न स्थानीय बार इकाइमा गएर सविधानवादको पक्षमा बोल्नुभएको थियो र यसले समग्र कानुन व्यवसायीलाई ऊर्जा प्रदान गरेको थियो । २०३६ सालमा वीपीमा रहेको त्यो सोच तीन दशकपछिका उहाँका अनुयायीहरूमा देखानपर्नु विस्मयकारी लाग्छ ।
सँंगसंँगै न्यायपालिकाको अर्को पाटो अदालतले पनि ठूलो संघर्ष गर्नुपरेको विगतको इतिहास  छ । २००७ सालपछि शक्ति पृथकीकरणको भावना मुखरित गर्नसक्ने व्यक्तिका रूपमा हरिप्रसाद प्रधानलाई न्यायपालिकाको नेतृत्वमा ल्याइएको थियो । उहाँका निर्णयहरूबाट आजित राजाले उनलाई हटाउन आवश्यक ठाने । २०१६ सालमा तत्कालीन मजिष्टे्रटले अपिलमा हाजिरी छड्के गर्दा तत्कालीन अपिलका हाकिम -न्यायाधीश) रुद्रबहादुर सिंहले लिएको अडानकै कारण कार्यपालिकाको मातहतमा न्यायपालिका रहन्न भन्ने कुराको उदघोष भएको त्यतिबेलाका छापा उल्टाएर हेर्दा स्पष्ट हुन्छ । राष्ट्रिय पञ्चायतमा बोल्दै न्यायपालिकामाथि हस्तक्षेप गर्दा नेबाए अध्यक्ष सर्वज्ञरत्न तुलाधरले दिएको निवेदनमाथि सुनवाइ हँुदा न्यायपालिकाको गरिमा बढाउने सर्वोच्च अदालतबाट भएको फैसला कोशेढुंगा भएर बसेको छ । तत्कालीन क्षेत्रीय अदालतका न्यायाधीश प्रचण्डराज अनिलको इजलाशमा विशेष प्रहरी विभागले छापा मारी राय किताबमा सिल गर्दा अवहेलनामा विशेष प्रहरी प्रमुख मनमोहन सिंहमाथि कारबाही भएकै हो । संविधानसभामा अदालतलाई जनप्रतिनिधि संस्था मातहत राख्ने भनेर लामो कसरत भएकै हो, जसलाई अदालत र बार मिलेर निस्तेज पारेकै हुन् ।
यी सबै दृष्टान्त यतिबेला किन स्मरणयोग्य छ भने न्यायपालिकामा हस्तक्षेप गर्ने कुरा अरुले बाहिरबाट गर्न खोज्दा न्यायपालिका -बेञ्च/बार दुवै मिलेर) एक ठाउँमा उभियौं र एक हदसम्म स्वतन्त्र न्यायपालिका रक्षा गर्न सफल भयौं । तर आज न्यायपालिकाको नेतृत्व एकातिर नेबाए अर्कोतिर हुनसाथ यो शक्तिमा क्षय भएको छ । न्यायपालिकाको नेतृत्व र नेबाएबीच लगभग संवादहीनताको स्थिति छ । जति यो लम्बिन्छ, यो हानिकारक हुन्छ नै ।  झट्ट हेर्दा यो कुरो न्यायपालिका बीचको असमझदारीसम्म देखिन्छ, तर यसको प्रभाव समग्र मुलुकको लोकतन्त्र, कानुनी राज्य, विधिको शासन र स्वतन्त्र न्यायपालिकामाथि नै पर्दैछ । यसको सचेतना सबै सरोकारवालामा हुनुपर्‍यो, सार्थक संवाद थाल्नुपर्‍यो । सायद आजको पहिलो आवश्यकता यही हो ।
कानुन व्यवसायीहरूले शक्ति पृथकीकरणको कुरो गर्दा आफ्ना ज्ञान, विश्वास र अनुभव तीनै कुरालाई एकसाथ महत्त्व दिएका हुन् । बहालवाला प्रधानन्यायाधीश काजमा जाने र प्रधानमन्त्रीको हैसियत ग्रहण गर्ने कुरा अन्तरिम संविधानको मर्म र भावना अनुकूल हुँदैन । निर्वाचन त चाहिन्छ नै,  तर निर्वाचन गराउनका लागि संविधानकै मर्ममा चोट नपुर्‍याई सम्भव छैन भन्ने हठ राजनीतिक दल, नेता लगायतले तत्कालै त्यागेर अन्य विकल्पमार्फत निर्वाचनमा जानुपर्‍यो भन्नु कानुन व्यवसायीले बाटो बिराएको ठहर्दैन ।