साम्प्रदायिक सद्भावका प्रतीक पिरबाबाको मजार


साम्प्रदायिक सद्भावका प्रतीक पिरबाबाको मजार

Share this post
FaceBook  Twitter  Mixx.mn     
गौशाला,  जेठ २८ गते । महोत्तरीको मटिहानी पुग्ने जो सुकै पनि एक पटक पिरबाबाको मजार दर्शन गर्न खोज्छन् ।
स्थानीय बासिन्दामा पिरबाबाप्रति ठुलो श्रद्धा र सम्मान छ । हिन्दू होउन वा मुसलमान पिरबाबाका दुवै थरी भक्त उत्तिकै आस्थावान छन् तर पिरबाबा र उनको (मजार)मन्दिरको स्थितिप्रति कोही संवेदनशील भएको पाइँदैन । मन्दिरको जीर्ण अवस्थाले यही दर्शाउँछ ।

जलेश्वरबाट सात किलोमिटर पूर्वमा रहेको मटिहानी गाविस– ६ स्थित अवस्थित पिरबाबाको मजारमा बकरिद, मोहरम, इदका बेला भव्य मेला लाग्दछन् । पिरबाबाको मजारले यस क्षेत्रमा साम्प्रदायिक सद्भाव कायम गर्ने कार्यमा महत्वपूर्ण योगदान निर्वाह गरेको छ ।
मटिहानीको सबैभन्दा चाखलाग्दो विषय पिर बाबाको मजार हो । भनिन्छ, आजभन्दा करिब ४०० वर्षअघि भारतको अजमेर सरिफबाट एक जना तपस्वी मटिहानी पुगेका थिए । उनले मटिहानीको मध्यभागमा आफ्नो स्थान निर्माण गरेर तपस्यामा बसेका थिए । त्यसैबेला दक्षिणबाटै आएका तस्मैया बाबालाई उनले देखाइदिएको बाटोमा हिँडेपछि मटिहानी मठको जन्म भएको हो ।
हिन्दू धर्मग्रन्थको अनुसार पिरबाबाले तस्मैया बाबालाई भनेका थिए यहाँबाट जानुहोस् र जहाँ मुसा बिरालोबीच झगडा भइरहेको हुन्छ र जित मुसाको हुन्छ त्यो ठाउँमा तपस्या थाल्नु । तस्मैया बाबाले भेटाएको सोही ठाउँ हो अहिलेको मटिहानी मठ ।
मुसाले बिरालोलाई जितेपछि तस्मैया बाबाले हातमा रहेको खन्ती गाडेको ठाउँ अहिले पनि सुरक्षित राखिएको छ मठभित्रको एउटा कोठामा ।  महन्थका अनुसार प्रत्येक साँझ सफा गरी मिलाइने उक्त ओछ्यानमा बिहान गएर हेर्दा राति कोही सुतेको जस्तो देखिन्छ ।
पिरबाबाको मजार मुस्लिम धर्मावलम्बीको पूज्य स्थल रहेपनि त्यसको संरक्षण र संवद्र्धन हिन्दू र मुस्लिम दुवैले मिलेर गरेका छन् । स्थानको आकार स्वरुप र रङ मुस्लिम समुदायको धर्मस्थल जस्तो देखिए पनि मटिहानीमा हिन्दू समुदायमा पनि कुनै धार्मिक काम किरिया हुँदा पहिलो सलामी मजारमा दिने चलन छ ।
स्थानीय श्यामकुमार मण्डलका अनुसार गाउँमा कसैको विवाह, व्रतबन्ध हुँदा पनि मैथिली परम्पराअनुसार महिलाले गाइने गीतमा पहिलो स्तुति पिरबाबाकै सम्बोधनले गरिन्छ । उनका अनुसार मटिहानीमा हिन्दू र मुस्लिम समुदाय जोड्ने सेतुको काम पिरबाबाको मजारले गरेको छ ।
अहिलेको मटिहानी बजारको स्थापनासँग जोडिएको महापुरुष तस्मैया बाबा र पिरबाबा अलगअलग धर्म मान्ने भए पनि उहाँहरुले कायम गर्नुभएको घनिष्ठ सम्बन्ध शताब्दि पछि पनि हिन्दू मुस्लमानका लागि आदर्श बनेको धारणा राम उच्च मावि मटिहानी प्रधानाध्यापक अमिरीलाल मण्डलको छ ।
पिरबाबा स्थानलाई नेपालको एक महत्वपूर्ण धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको स्थानीय नागेश्वर गुप्ता बताउनु हुन्छ ।  रासस