सूचनामा पहुँच कि निषेध

सूचनामा पहुँच कि निषेध
नागेन्द्रकुमार कर्ण
२०७४ मंसिर २३ गते
सूचना सबैलाई चाहिने तर त्यही सूचनामा आफुखुशी रोक लगाइदिने चलन गज्जब कै छ । यो चलन शासक (जोसंग शक्ति हुन्छ, वा जो उपयोग गर्न चाहन्छ) ले मात्रै होइन अन्यले पनि आफुखुशी गर्ने गरेका छन् । सूचनाको संकलनकत्र्ता पत्रकारहरुलाई वा सञ्चारक्षेत्रलाई भन्ने तर त्यही पत्रकारलाई सूचनामा पहुँच गर्नमा निषेध गरिदिने । ल जानुस् र अगाडी बढ्दा पछाडीबाट तानिदिने गज्जबको संस्कार छ । सूचना संकलनमा अवरोध मात्रै होइन माथिको आदेशावमोजिम आउन मिल्दैन भनेर जान नदिने । एकदमै सजिलो भएको छ । मञ्च भेटियो भने पत्रकार त चौथो अंग हो, पत्रकारले सूचनाको निर्वाध पहुँच पाउनुपर्छ भन्ने । कुरा सुन्दा त आँहा ! उहाँ जस्तो शासक, प्रशासक पाइयो भने त कल्याणै होला भनेर लाग्ने तर जब काम गराईको पालो आउँछ । त्यही जुन जोगी आए पनि कानै चिरेको । त्यहि चरित्र, त्यही माथिको आदेश । त्यत्ति बेला नेपालमा चौथो अंग पनि छ कि छैन याद नहुने । लाग्छ सबैभन्दा ठुलो कोही दुश्मन हो भने त्यही पत्रकार, त्यही संचारकर्मी । वाध्यता सबैसंग छ । हामीलाई पनि थाहा छ । हामी पनि यही समाजका हौं । हामी पनि कुनै बाहिरबाट आयातित होइनौं । हामीलाई पनि यो समाजका सबै गुण, अवगुणहरु थाहा छन् । तर पनि मर्यादित हुनु जरुरी छ । सबैको आ आफनो काम, अधिकार, कर्तव्य छ । त्यसको आफु सबैले ईमान्दारिताको साथ पालना गर्नु पनि त्यत्तिकै अनिवार्यता छ । यसैपनि देशमा ढुलमुले नीतिले भनौं वा शासकवर्गको वक्रदृष्टिले भनौ हरेक क्षेत्र वदनाम छन् । लाचार छन् । आन्दोलित छन् । सुधार होला भनेर आशान्वित छन् ।
सूचना संकलन निर्वाध रुपमा पाउनुको अर्थ पक्कै पनि निषेधित क्षेत्र भनौं वा कानुन भन्दा माथि गएर गर्नु वा गराउनु हो भनिएको होइन । कानुन सबैको लागि बराबर हो । सबैको लागि मान्नुपर्ने अनिवार्य श्रोत हो । कसैको लागि काखा र कसैको लागि पाखा हुँदै होइन । कतिपयले जानाजानी यसको घज्जिया उडाउँछन् र कतिपयले भुलवश फरक यत्ति मात्रै हो । भुलवश गरेकाहरु गल्ती सुधार्न तत्पर रहने सत्यता सुर्य पूर्वबाट उदाए झै झर्लङ्ग छ । तर जानाजानि गल्ती गर्नेहरु जो चोर उसैको ठुलो स्वर भन्ने सरह हो । एक त चोरी त्यसपछि सिनाजोरी झै उखान उनीहरुकै कर्तव्यपरायणताबाट आएको हो । होइन, भने प्रश्न, औला उठाउने ठाउँ कसैमाथि कहिल्यै पनि आउँदैन् । आयो भने त्यसको भागिदार आफु पनि हो भने बुझनु जरुरी छ । अरुमाथि मात्रै दोष थुपारेर उम्कने ठाउँ छैन् अब । सबैले सबैको ‘वाच’ गरिरहेका छन् ।
कुरा हो, प्रतिनिधिसभा र प्रदेशसभा मतगणनाको । महोत्तरीसहित ४५ जिल्लामा दोस्रो चरण अन्तर्गत बिहीबार अर्थात २०७४ मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरियो । हो वा होइन भनि ल्याएको यो संविधान कार्यान्वयनको महत्वपूर्ण विन्दु । महोत्तरीमा पनि बिहीबार मतदान सकेर अबेर रातिसम्म मतपेटिका राखियो । शुक्रबार १० बजेदेखि मतगणना हुने भनिए पनि विविध कारण खासगरेर सर्वदलिय बैठक बस्न नसकेर तथा सिसिटीभी क्यामरा जडानसहितको प्राविधिक कारणले मतगणना रोकिएको थियो । यद्यपी शुक्रबार साँझ ५ बजेतिर महोत्तरी क्षेत्रनं. ३ को प्रतिनिधिसभा र केही क्षणपछि प्रदेशसभाको गणना शुरु भयो । तर त्यसमा पत्रकार र पर्यवेक्षकहरुलाई जानबाट रोकियो । पत्रकार र पर्यवेक्षकहरुलाई किन रोकियो स्पष्ट जवाफ आएन वरु मिडिया सेन्टर स्थापना गरि सहजता गर्ने भनेर सहमति भएको जवाफ आयो । महासंघ महोत्तरी शाखाले पनि मिडिया सेन्टर स्थापनाको मौखिक सहमति भएको भन्दै आजको लागि प्रहरीको सुचना केन्द्र ९८५४०३००९९ मा सम्पर्क गरेर परिचय दिएर लिन सकिने गरि भनियो । तर जुन बेला पनि कुनै साथीले सो सुचना केन्द्रमा सम्पर्क गर्यो त्यहाँ जानकारी छैन् भनेर एकमुष्ट जवाफ दिएको थाहा पायौ ।
म आफै एक चोटी झडप भएको भन्दै परिचय सहित सर के छ अपडेट भन्दा हामीलाई थाहा छैन् भन्दै फोन काटियो । एकदमै रुखो स्वरमा । उहाँलाई  पटक पटक आएको फोनले हैरान बनाएर हो कि उहाँको व्यवहार नै त्यस्तो थियो थाहा भएन तर सरकारले मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी कार्यक्रम जिल्लामा पनि रहेछ याद आयो । खुशी पनि भए, महोत्तरीको प्रहरीहरुले कार्यक्रमको राम्रै फायदा उठाउनु भा छ भनेर । व्यक्तिगत रुपमा अहिलेसम्म सयौंपल्ट बेला कुबेला एसपीलाई फोन गरेको हुँ तर अहिलेसम्म त्यस्तो रुखो जवाफ पाएको थिएन बरु सर अहिलेसम्म हामीलाई अपडेट छैन् वा हामीसंग छैन भन्ने गर्नुहुन्थ्यो । तर मैले माथि भनेको सेवा माथिल्लो पदबालाको लागि मात्रै हो कि तलको पदको लागि पनि हो छुटयाउन बरु गाह्रो भयो । जे होस् भनिन्छ नि ‘जे जिबे से खेले फागु’ के के हेरिन अहिले बाँकि छ । हेर्दे जाउँ ।

मतदान महादान हो, माटोको लागि योगदान गरेको व्यक्तिलाई मतदान गर्नुस् ः रंजितराज मधेशी मधेशानन्द

मतदान महादान हो, माटोको लागि योगदान गरेको व्यक्तिलाई मतदान गर्नुस् ः रंजितराज मधेशी मधेशानन्द
प्रतिनिधिसभा र  प्रदेशसभाको निर्वाचन अन्तिम चरणमा रहेको छ । सबै उम्मेदबारहरु अहिले प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । प्रचारप्रसारकै क्रममा भेटिनुभएका रंजित पाण्डेय उर्फ रंजितराज मधेशी मधेशानन्दसंग केही कुराकानी गरियो । उहाँ महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र ३ को ख बाट प्रदेश सभामा नेपाली जनता दलबाट उम्मेदवारी दिनुभएको छ । जलेश्वर नगरपालिका वडानं. ४ सुगामा जितेन्द्र पाण्डेय र प्रेम पाण्डेयको छोराको रुपमा २०४८ असोज १ गते जन्मनु भएका रंजित मधेश आन्दोलनमा पटक पटक लाग्नुपरेको कारण एसएलसी भन्दा माथि अध्ययन गर्न सक्नुभएन । तर आन्दोलनको कारणले धेरै अनुभव बटल्नुभएका उहाँसंग गरिएको कुराकानीको सम्पादित अंश ।
∆ कुन कारणले तपाई राजनीतिमा लाग्नुभयो ?उत्तर ः सो समयमा म विद्यार्थी लाइफमा थिएँ । कक्षा ९मा अध्ययनरत थिँए । सो समयमा फोरमले २०६३ सालमा पर्सा विद्यालयमा एक कार्यक्रमको आयोजना गरेको थियो । सो समयमा फोरमको महामन्त्री रामकुमार शर्माले आएर पहाडी र मधेशीको कुराहरु भन्नुभएको थियो । मेरो बुबा नेपाल पुलिसमा कार्यरत रहनुभएको कारणले म सानैदेखि पहाडी र मधेशीको फिलिँगबारे जानकार थिएँ । उहाँले पहाडी मधेशीको फिलिँग रहेको र नेपालमा मधेशीको कुनै सम्मान नरहेको कुरा जानकारी पाएर सो प्रति अगाडी बढे । र मधेशीको मुद्दा उठाएर लागि परे ।
∆ धेरै मधेशवादी पार्टीहरु मिलेर एउटा बनेको छ तर अहिले तपाई अर्के पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ किन त ?
उत्तर ः म राजपासंग आवद्ध थिए । राजपालाई सपोर्ट गर्थे । तर पार्टीले आफुहरुको योगदानको कदर नगरेको कारणले तथा मजदुरहरुको हकहितमा लागेको नेपाली जनता दलसंग आवद्ध भएर महोत्तरी निर्वाचन क्षेत्रनं. ३ अन्तर्गत प्रदेशसभा (ख)बाट प्रत्यक्ष तर्फ चुनाव लडदै छु । मेरो छाप चक्का छाप हो ।
∆ राजपा नेपाल किन छाडनु भयो त ?
उत्तर ः तपाईले भन्नु भए झै यो राजपा पार्टी हुँदै होइन । वर्तमानमा जुन निर्वाचन आयोगले पार्टीमा थे्रसहोल्ड लागु गरेको छ । त्यो थ्रेस होल्ड सिस्टममा अनिल झाजी पर्नु हुन्थ्यो, राजेन्द्र महतोजी पर्नुहुन्थ्यो, शरतसिंह भण्डारीजी पर्नुहुन्थ्यो, उपेन्द्र यादवजी, महन्थ ठाकुरजी पनि पर्नुहुन्थ्यो । उहाँहरुले आफुमा यो महसुस गर्नुभयो कि आउने थ्रेसहोल्ड सिस्टममा हामी पनि पर्छौ । कोही बच्न सक्थ्यो कोही जान्थ्यो । सोही थ्रेसहोल्डबाट बच्नको लागि मात्रै राजपाको एकिकरण भएको हो । यो राजपाको लामो आयु छैन् । म राजपाको भविष्य लामो देख्दिन् । यो चुनाव पछि कहाँ जान्छ् भन्न सकिँदन् । चुनावी तालमेल मिलाउन मात्रै एकिकरण गरिएको हो । यसमा मेरो सम्मान नदेखेको र शहिदहरुको पनि सम्मान नदिएको देखिएकोले मैले पार्टी छाडेको हुँ ।
∆ मधेशीको माँग र मधेश मुद्दाको कारणले मिलेको भनिन्छ नि ?
उत्तर ः होइन, उहाँहरु मधेश मुद्दाको लागि नभई थ्रेस होल्डको लागि मात्रै मिल्नुभएको छ । कसैलाई त्यस्तो लाग्छ भने म केही भन्दिन् तर मलाई त्यस्तो लाग्दैन् । त्यस्तो भएको भए मधेश र मधेशीको मुद्दामा साथ दिनेहरुको योगदानको कदर हुन्थ्यो । मधेशी शहिदका परिवारको कदर हुन्थ्यो त्यस्तो भएको म देख्दिन् ।
∆ नेपाली जनता दलले मधेशको मुद्दा उठाएको छ त ?
उत्तर ः यो पार्टीका अध्यक्ष हरिचरण साहजी शुद्द मधेशवादी हुनुहुन्छ । मधेश आन्दोलन ३ हुँदा मलाई याद छ उहाँ आफनो गृहजिल्ला सर्लाहीको मलगंवा आउनुभएको थियो । उहाँले त्यहाँको रुद्राक्ष एफएमबाट अन्तर्वाता दिनुभएको थियो । मैले पुरै सुनेको थिँए । उहाँले सो आन्दोलनको समयमा संविधानसभा भवन छोडेर भएपनि आफनो गृह जिल्लामा बस्नुभयो । मधेश आन्दोलनको पक्षमा बोल्नुभयो । एक हरिचरण साह मधेशी हो भने उनलाई किन अपमान गर्ने बरु उहाँसंग काँधमा काँध मिलाएर जाँदा मधेश मुद्दा पनि बलियो बन्छ भने किन साथ नदिने ? उहाँलाई साथ दिएर जय जनता जय मधेश किन नभन्ने हामी ? महन्थ ठाकुर मधेश आन्दोलनमा आउनुभन्दा अगाडी नै हरिचरण साहजीले दुई प्रदेश एक सीताराम र एक विराट प्रदेशको वकालत गर्नुभएको थियो । महन्थ ठाकुरलाई हामीले सम्मान दिने तर हरिचरण साहलाई सम्मान नदिने यो त भएन नि ? यो पार्टी विशुद्ध मधेशवादको वकालत गर्दछ ।
∆ तपाईको एजेण्डा के ?
उत्तर ः मेरो एजेण्डा भन्नुपर्दा केही महिना अगाडी मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हामीले मधेश आन्दोलनमा शहादत दिनुभएका शहिदहरुको सम्झना र सम्मानमा राजपालाई भोट दियौं । तर असोज ३ गते शहादत दिनुभएका शहिदहरुको सम्झनामा र सम्मानमा कालो दिन मनाउने घोषणा भए पनि सो मनाउने, ब्लेक आउट गर्ने कुरा थियो तर सो समयमा राजपाले त्यस्तो केही गरेन । ब्लेक आउट गरेन । कालो दिन मनाएन । सो समयमा राजपाका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्मालाई पार्टी कार्यालयमा गएर भन्दा कुनै सन्तोषजनक जवाफ नपाउँदा हंगामा गरेको थिँए । तपाई मिडियाकर्मी त्यहाँ गएर सोध्नुस रंजितराज मधेशीले कालो दिवस नमनाउनुको कारणबारे सोधेर हंगामा ग¥या थियो कि थिएन । सो समयमा राजपाको धेरै मित्रहरु मसंगै थियो । सो समयमा राजपाको शहिदप्रतिको यस्तो अवस्था हेर्दा मलाई दुई तिन राति निद्रा लागेन । त्यसपछि मैले सोचे उनीहरु मधेश मुद्दाको लागि होइन रहेछ । मैले मधेशको विगतको इतिहास सम्झे । आन्दोलनकारी मरिरहेको समयमा उपेन्द्र यादवजी मधेश आन्दोलनको विरुद्ध २२ बुँदे सम्झौता गर्नुभयो । हामी आन्दोलनकारीहरु मधेश मुद्दामा आफनो स्टे«न्थ देखेनौं । त्यसपछि २०६४ पुस १३ गते काँग्रेस छोडेर महन्थ ठाकुरजी आउनुभयो । महेन्द्र राय यादव एमाले छोडेर आउनुभयो । सर्वेन्द्रनाथ शुक्लाजी राप्रपा छोडेर आउनुभयो । हृदयेश त्रिपाठी सदभावना छोडेर आउनुभयो । हाम्रा आन्दोलनकारी साथीहरुलाई के भन्नुभयो भने हामी सबै मधेशका छोरा हौ । हामी अब राज्यस्तरका नेता हौ । हामी अब मधेशको मुद्दाको समाधान गराउन लागि पर्छौ । मघेशको मुद्दालाई लिएर अगाडी बढछौ । हामी आन्दोलनकारीहरु सबैजना उहाँ सबैलाई सम्मान गर्यौ । हामी के बुझयौ भने उहाँहरु सबैलाई समेटेर जाँदा हामी अझ बलियो हुन्छौं । उहाँहरु पनि मधेशकै सपुत हुनुहुन्छ ।
∆ हैन तपाईको एजेण्डा के छ त्यो भन्नुस् न ?
उत्तर ः सर्बप्रथम मेरो चुनावी मुद्दा हो जनमत संग्रह । राजनीतिकदलहरु जनादेशलाई विभिन्न तरहले व्याख्या गर्छन । राप्रपाले हिन्दु राज्य, एमाले, माओवादी काँग्रेसले देशलाई ७ टुक्रामा बाँड्यो । उपेन्द्र यादवजी, महन्थ ठाकुरजीहरु मधेश एक स्वायत्त प्रदेश हुँदै दुई प्रदेशमा र अहिले झन ८ जिल्लामा सिमित हुनपुग्यो । सिके राउत उता आफै हैरान हुनुहुन्छ मलाई सिंगो मधेश स्वराज चाहियो । सबै नेताले जे भन्छ त्यही यो देशमा चाहियो कि जनता के चाहन्छ भन्ने सोच्नुपर्यो नि ? सम्पूर्ण मधेशी जनता सडकमा आएको थियो नि ? किन ? जनताले किन आन्दोलन गरेको हो त ? जनता के भन्छ त्यो हुनुपर्यो नि ? त्यस विषयमा जनमतसंग्रह गराउने । त्यसपछि अर्को एजेण्डा जुन मधेशको सबै बर्गको चाहना थियो खेत खेतमा पानी, हात हातमा काम, यो देश कसैको पैतृक सम्पत्ति होइन, सम्पूर्ण नेपालीको साझा भएकोले हरेक अंगमा आधा आधाको हिस्सेदारी लिने । यो नारा अहिले मधेशवादीहरुको कृयाक्लापले कहावतमा मात्रै सिमित भएको देखिएको छ । अहिले मधेशीलाई आधा के एक हिस्सा पनि मिलेको छैन् । पहिला हाम्रो बाजे, बुबाको भारतमा बिहे हुन्थ्यो भने हामी वंशजको नागरिकता पाउँथ्यौ तर अहिले हामी छोराको बिहे भारतमा गर्छौ भने नाति नातिनालाई वंशजको नागरिकता नपाउने ? कस्तो सिस्टम हो, कहाँको सिस्टम हो । हाम्रो पार्टीका अध्यक्षले यो प्रदेशलाई सीताराम प्रदेश र बिराट प्रदेश नामाकरण गर्नुभएको छ । अरु चुनावी मुद्दामा यो क्षेत्रका जनताको विकास हो । सबैको साथ, सबैको बिकास नै मेरो नारा हो । यो क्षेत्रबाट जातिबाद, नातावाद खत्तम गरेर जनतावाद, मानवतावाद र विकासवादको स्थापना गर्नेछु । यो नै मेरो चुनावी एजेण्डा हो ।
∆ तपाईको क्षेत्रमा परिस्थिती कस्तो छ ?
उत्तर ः हेर्नुस (हाँस्दै) परिस्थिती हेर्दा अरु क्षेत्रमा कम उम्मेदवारबीच प्रतिष्पर्धा हुन्छ र रोचक पनि हुन्छ तर यो क्षेत्रनं. ३ को (ख) मा कतिको आत्मालाई पार्टीले सन्तुष्ट गर्न सक्या छैन् कि के गरेको हो ? राजपाबाट मात्रै होइन विभिन्न पार्टीबाट बागी भएर स्वतन्त्र भएर यहाँ ३२ जना उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ । जसमध्ये २०÷२२ उम्मेदवार कसरत गदैछन् । जसमध्ये ५÷६ जनाबीच प्रतिष्पर्धा हुन्छ भन्ने लागेको छ ।
∆ को को हुनुहुन्छ प्रतिष्पर्धामा ?
उत्तर ः जसमा पार्टीगत रुपमा भन्नुपर्दा राजपा, काँग्रेस र जनता दल तथा स्वतन्त्रमा खसी, फुटबल खेलाडी र बेना छापबीच प्रतिष्पर्धा हुने देख्छु । म त्रिकोणीय प्रतिष्पर्धा देख्छु । प्रतिनिधिसभामा महन्थ ठाकुरको चर्चा रहेपनि प्रदेश सभामा भने काँग्रेस, जनता दल तथा स्वतन्त्र उम्मेदवारको खसी छापबीच प्रतिष्पर्धा हुने म देख्छु ।
∆ अन्त्यमा के भन्नुहुन्छ ?
उत्तर ः अन्त्यमा यो क्षेत्रका जनतालाई म के भन्न चाहन्छु भने यो क्षेत्रमा ३२ जना उम्मेदवारहरु उम्मेदवारी दिनुभएको छ । पैसाबाला पनि छन् तर ओरिजनल हकदार को छन् । यो माटोमा कसको लगानी छ, कसको योगदान छ । मधेश मुद्दामा कसले योगदान गरेको छ । त्यस्तो व्यक्ति वा उम्मेदवारलाई छान्नुस किनकी मतदान भनेको धेरै ठुलो दान हो । कन्यादान बराबरको दान हो । त्यसैले मतको दुरुपयोग नगरी विवेक प्रयोग गर्न म अनुरोध गर्दछु ।