सूचनामा पहुँच कि निषेध

सूचनामा पहुँच कि निषेध
नागेन्द्रकुमार कर्ण
२०७४ मंसिर २३ गते
सूचना सबैलाई चाहिने तर त्यही सूचनामा आफुखुशी रोक लगाइदिने चलन गज्जब कै छ । यो चलन शासक (जोसंग शक्ति हुन्छ, वा जो उपयोग गर्न चाहन्छ) ले मात्रै होइन अन्यले पनि आफुखुशी गर्ने गरेका छन् । सूचनाको संकलनकत्र्ता पत्रकारहरुलाई वा सञ्चारक्षेत्रलाई भन्ने तर त्यही पत्रकारलाई सूचनामा पहुँच गर्नमा निषेध गरिदिने । ल जानुस् र अगाडी बढ्दा पछाडीबाट तानिदिने गज्जबको संस्कार छ । सूचना संकलनमा अवरोध मात्रै होइन माथिको आदेशावमोजिम आउन मिल्दैन भनेर जान नदिने । एकदमै सजिलो भएको छ । मञ्च भेटियो भने पत्रकार त चौथो अंग हो, पत्रकारले सूचनाको निर्वाध पहुँच पाउनुपर्छ भन्ने । कुरा सुन्दा त आँहा ! उहाँ जस्तो शासक, प्रशासक पाइयो भने त कल्याणै होला भनेर लाग्ने तर जब काम गराईको पालो आउँछ । त्यही जुन जोगी आए पनि कानै चिरेको । त्यहि चरित्र, त्यही माथिको आदेश । त्यत्ति बेला नेपालमा चौथो अंग पनि छ कि छैन याद नहुने । लाग्छ सबैभन्दा ठुलो कोही दुश्मन हो भने त्यही पत्रकार, त्यही संचारकर्मी । वाध्यता सबैसंग छ । हामीलाई पनि थाहा छ । हामी पनि यही समाजका हौं । हामी पनि कुनै बाहिरबाट आयातित होइनौं । हामीलाई पनि यो समाजका सबै गुण, अवगुणहरु थाहा छन् । तर पनि मर्यादित हुनु जरुरी छ । सबैको आ आफनो काम, अधिकार, कर्तव्य छ । त्यसको आफु सबैले ईमान्दारिताको साथ पालना गर्नु पनि त्यत्तिकै अनिवार्यता छ । यसैपनि देशमा ढुलमुले नीतिले भनौं वा शासकवर्गको वक्रदृष्टिले भनौ हरेक क्षेत्र वदनाम छन् । लाचार छन् । आन्दोलित छन् । सुधार होला भनेर आशान्वित छन् ।
सूचना संकलन निर्वाध रुपमा पाउनुको अर्थ पक्कै पनि निषेधित क्षेत्र भनौं वा कानुन भन्दा माथि गएर गर्नु वा गराउनु हो भनिएको होइन । कानुन सबैको लागि बराबर हो । सबैको लागि मान्नुपर्ने अनिवार्य श्रोत हो । कसैको लागि काखा र कसैको लागि पाखा हुँदै होइन । कतिपयले जानाजानी यसको घज्जिया उडाउँछन् र कतिपयले भुलवश फरक यत्ति मात्रै हो । भुलवश गरेकाहरु गल्ती सुधार्न तत्पर रहने सत्यता सुर्य पूर्वबाट उदाए झै झर्लङ्ग छ । तर जानाजानि गल्ती गर्नेहरु जो चोर उसैको ठुलो स्वर भन्ने सरह हो । एक त चोरी त्यसपछि सिनाजोरी झै उखान उनीहरुकै कर्तव्यपरायणताबाट आएको हो । होइन, भने प्रश्न, औला उठाउने ठाउँ कसैमाथि कहिल्यै पनि आउँदैन् । आयो भने त्यसको भागिदार आफु पनि हो भने बुझनु जरुरी छ । अरुमाथि मात्रै दोष थुपारेर उम्कने ठाउँ छैन् अब । सबैले सबैको ‘वाच’ गरिरहेका छन् ।
कुरा हो, प्रतिनिधिसभा र प्रदेशसभा मतगणनाको । महोत्तरीसहित ४५ जिल्लामा दोस्रो चरण अन्तर्गत बिहीबार अर्थात २०७४ मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरियो । हो वा होइन भनि ल्याएको यो संविधान कार्यान्वयनको महत्वपूर्ण विन्दु । महोत्तरीमा पनि बिहीबार मतदान सकेर अबेर रातिसम्म मतपेटिका राखियो । शुक्रबार १० बजेदेखि मतगणना हुने भनिए पनि विविध कारण खासगरेर सर्वदलिय बैठक बस्न नसकेर तथा सिसिटीभी क्यामरा जडानसहितको प्राविधिक कारणले मतगणना रोकिएको थियो । यद्यपी शुक्रबार साँझ ५ बजेतिर महोत्तरी क्षेत्रनं. ३ को प्रतिनिधिसभा र केही क्षणपछि प्रदेशसभाको गणना शुरु भयो । तर त्यसमा पत्रकार र पर्यवेक्षकहरुलाई जानबाट रोकियो । पत्रकार र पर्यवेक्षकहरुलाई किन रोकियो स्पष्ट जवाफ आएन वरु मिडिया सेन्टर स्थापना गरि सहजता गर्ने भनेर सहमति भएको जवाफ आयो । महासंघ महोत्तरी शाखाले पनि मिडिया सेन्टर स्थापनाको मौखिक सहमति भएको भन्दै आजको लागि प्रहरीको सुचना केन्द्र ९८५४०३००९९ मा सम्पर्क गरेर परिचय दिएर लिन सकिने गरि भनियो । तर जुन बेला पनि कुनै साथीले सो सुचना केन्द्रमा सम्पर्क गर्यो त्यहाँ जानकारी छैन् भनेर एकमुष्ट जवाफ दिएको थाहा पायौ ।
म आफै एक चोटी झडप भएको भन्दै परिचय सहित सर के छ अपडेट भन्दा हामीलाई थाहा छैन् भन्दै फोन काटियो । एकदमै रुखो स्वरमा । उहाँलाई  पटक पटक आएको फोनले हैरान बनाएर हो कि उहाँको व्यवहार नै त्यस्तो थियो थाहा भएन तर सरकारले मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी कार्यक्रम जिल्लामा पनि रहेछ याद आयो । खुशी पनि भए, महोत्तरीको प्रहरीहरुले कार्यक्रमको राम्रै फायदा उठाउनु भा छ भनेर । व्यक्तिगत रुपमा अहिलेसम्म सयौंपल्ट बेला कुबेला एसपीलाई फोन गरेको हुँ तर अहिलेसम्म त्यस्तो रुखो जवाफ पाएको थिएन बरु सर अहिलेसम्म हामीलाई अपडेट छैन् वा हामीसंग छैन भन्ने गर्नुहुन्थ्यो । तर मैले माथि भनेको सेवा माथिल्लो पदबालाको लागि मात्रै हो कि तलको पदको लागि पनि हो छुटयाउन बरु गाह्रो भयो । जे होस् भनिन्छ नि ‘जे जिबे से खेले फागु’ के के हेरिन अहिले बाँकि छ । हेर्दे जाउँ ।