मधेशीको मुद्दा सम्बोधनमा एमाले बाधक ः लेखक
महोत्तरी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले एमाले मधेशी विरोधी रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल प्रेस युनियनको आयोजनामा आयोजित पत्रकार भेटधाट तथा मिडिया सेन्टरको उदघाटन गर्नुहुदै पूर्व यातायात मन्त्री समेत रहनुभएका लेखकले सो बताउनुभएको हो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशी सहित जनजाति, मुस्लिम लगायतकाले चाहेको संविधान संशोधनको विपक्षमा उभिने एमालेकै कारणले संविधान संशोधन हुन नसकेको चर्चा गर्नुहुदै एमालेलाई मधेश र मधेशीले चिन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । शंकाको दृष्टिकोणले मात्रै हेर्ने र निर्वाचनको समयमा भोट लिन उपयोग गर्ने रणनीतिमा मात्रै एमाले रहेकोले एमालेलाई पाखा लगाउन उहाँले सबैलाई आब्हान समेत गर्नुभयो ।
एमालेप्रति कटाक्ष गर्नुहुदै लेखकले पहाडमा गएर एउटा र तराईमा गएर एउटा कुरा भन्ने गरी सामाजिक द्वन्द्व फैलाउन लागेकोले यस्तो चरित्र भएको राजनीतिकदलहरुबाट सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशीको साझा एजेण्डा बोक्न ठुलो जनाधार भएको पार्टीको आवश्यकता भएको र त्यसमा नेपाली काँग्रेस सक्षम रहेको बताउनुहुदै मधेशबादी पार्टीहरुबाट यो सम्भव पनि नभएको दावी समेत गर्नुभयो । उहाँले हिजो माओवादीलाई राज्यको मूलाधारमा ल्याउन तथा निर्वाचनबाट टाढा रहेका पार्टीहरुलाई समेत निर्वाचनमा ल्याउन काँग्रेसले अहम भुमिका खेलेको बताउनुहुदै मधेशी जनताले मधेशको मुद्दा सम्बोधनको लागि काँग्रेसलाई बहुमत दिन आग्रह समेत गर्नुभयो ।
संविधान संशोधन र संविधान कार्यान्वयन दुईटा एजेण्डा अहिलेको समयमा काँग्रेससंग रहेको बताउनुहुदै लेखकले दुईवटै एजेण्डालाई पुरा गर्न काँग्रेस प्रतिवद्ध भएको धारणा समेत राख्नुभयो ।
बाढीको डुवानमा रहेको तराईक्षेत्रमा रहेको नदिहरुमा बाँध निर्माणको लागि हालै काँग्रेसका सभापति तथा प्रधानमन्त्रीले भारतसरकारसंग सहमति गरेको चर्चा गर्नुहुदै लेखकले यो क्षेत्रकै चिरप्रतिक्षित हुलाकी राजमार्ग बनाउन आफैले शिलान्यास गरेको चर्चा समेत गर्नुभयो । उहाँले काँग्रेस तराईको विकासमा सधै अग्रणी स्थानमा रहेर काम गरेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय, मिडिया सेन्टरका अनुगमनकत्र्ता गोपाल झासहित जिल्ला कार्यसमितिका सदस्यहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।