बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । जिल्लाको सदरमुकाम जलेश्वरमा पत्रिका पसल सञ्चालन गर्दै आउनुभएका महादेव दास अहिले आफुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने पिरले सताएको बताउनुभएको छ । उहाँ जस्ता सयौं जना आफुहरुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने भन्दै निराश हुन थालेका छन् । 
बचतकर्ताबाट संकलन गरिएको ४ करोड ८३ लाख रुपियाँ अपचलन गरेको आरोपी पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था जलेश्वरका सञ्चालक समितिका पदाधिकारीलाई जिल्ला अदालत महोत्तरीले धमाधम धरौटीमा रिहा गर्न थालेपछि बचतकर्ताहरु निरास भएका हुन् । 
पक्राउ पूर्जी जारी भएपछि अदालतमै हाजिर भइ बयान दिएर उनीहरुको थुनछेकको बहस सकिएपछि अदालतको आदेशमा धरौटीमा छुटेकाका कारण सो सहकारी संस्थामा आवद्ध १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ निक्षेप पनि जोखिममा परेको छ ।   
महोत्तरी जिल्ला अदालतले पिपुल्स हेल्पफुल बचतका तत्कालिन अध्यक्ष विमल आचार्यलाई ७ लाख रुपैयामा धरौटीमा छाडेका छन । उनलाई साउन ३१ गते अदालतले छाडेका थिए ।
त्यस्तै कात्तिक १४ गते बिजय ठाकुरलाई ७० हजार, कात्तिक १५ गते रामकिशोर साहलाई १ लाख, संगिता देवीलाई १ लाख, कात्तिक १६ गते चन्दन कुमार साहलाई १ लाख, सकुन्तला देवीलाई ५० हजार, कात्तिक १८ गते दुर्गा देवी स्वर्णकार, अर्जुन कुमार पाण्डे, पिताम्बर झालाई जनही १ लाख, संगिता मिश्रलाई ५० हजार, कात्तिक १९ गते अलि राजा खाँ, प्रमोद लाल कर्ण, अब्दुल कादिर खाँ, संगिता पासवान लाई जनही ५० हजार, कात्तिक २९ गते मञ्जु महासेठलाई ५० हजार, मंसिर २ गते राजु बहादुर पन्त, कान्ता पन्त, उषा पन्त, जिवछी देवीलाई जनही १० हजार, मंसिर ३ गते अम्बिका कुमारी, कविता कुमारीलाई जनही १० हजार, सुलेखा रोक्का क्षेत्रीलाई ५० हजार, श्रवण चौधरीलाई ३० हजार धरौटीमा छाडेका छन् । 
त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयले जलेश्वर नगरपालिका–२ का रविन्द्रनाथ मल्लिक र वडा नम्बर ११ का राघवेन्द्र पाण्डेलाई हाजिरी गराई जमानीमा छोडेको थियो ।
४ करोड ८३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा  २० एजेन्ट, सञ्चालक समितिका पदाधिकारी, ३ प्रबन्धक र क्यासियर गरि ३७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दायर गरेको थिए । कतिपय सञ्चालकहरु पहिला नै सहकारी छोडेपनि उनीहरुले फरक फारक नगर्दा उनीहरु पनि यसमा मुछिन पुगेका थिए ।  
०७१ माघ १० गतेपछि साधारणसभा पनि नगरेपछि सहकारी शंकाको घेरामा परेको थियो ।  सहकारीले एजेन्ट परिचालन गरेर दैनिक रकम संकलन गरेको थियो । यसमा बचतकर्ताले ५० देखि २ सय रुपैयाँसम्म दैनिक बचत गर्दै आएका थिए । 
जलेश्वर–२ का पत्रिका व्यवसायी दासले पनि ०७३ चैतदेखि बचत गर्दै आएको बताउनुहुदै छोरीको बिहेमा सहज होस् भनी दैनिक रुपमा २ सय रुपैया वचत गरेका थिएँ तर बैंकका पदाधिकारीहरुलाई अदालतले धमाधम धरौटीमा रिहा गर्न थालेपछि रकम फिर्ता होला कि नहोला प्रश्न गर्नुभयो ? उहाँले भन्नुभयो, ‘मेरो सावाँ मात्र २३ हजार डुब्यो ।’ सहकारीले एक वर्षे बचतमा ४ प्रतिशत दुई वर्षेमा ७ प्रतिशत, ३ वर्षेमा ९ र ७ वर्षेमा बचतको दोब्बर दिनेजस्ता योजना अघि सारेर आफूहरूलाई फसाएको वचतकर्ताको गुनासो छ ।