परिक्षा समयमै विद्यालयमा भोज

परिक्षा समयमै विद्यालयमा भोज
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३० गते । महोत्तरी जिल्लाको औरही नगरपालिका वडानं. ८ मा रहेको सोनामाई आधारभूत बिधालया टिम्कियामा शुक्रबार एकातर्फ परिक्षा भइरहेको थियो भने एकातर्फ गाउँलेहरु भोज खान व्यस्त थिए ।
विदाको दिन विद्यालयमा कार्यक्रम गर्नुपर्नेमा परिक्षाको समयमा नै त्यहाँ भोज भइरहेकोमा स्थानीयहरु आश्चर्यचकित भएका थिए । सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवको छोराको बिहेभोज सो विद्यालयमा चल्दै थियो भने विद्यार्थीहरु वार्षिक परीक्षाको पहिलो दिन परिक्षा दिइरहेका थिए ।

सोही ठाउँका स्थानीय तथा नेपाली काँग्रेसका नेता रामआश्रय यादवले विदाको समयमा विद्यालयको प्रयोग गर्नुपर्नेमा परिक्षाको समयमा भोजभात तथा अन्य कार्यक्रम गर्नु गलत भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई नीजिकरण गरेको आरोप लगाउनुहुदै यसमा सुधारको खाँचो रहेको बताउनुभयो । वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएको कारणले विद्यालयमा भोजभात गरेको हुनसक्ने वताउनुहुदै उहाँले विद्यालय नचलेको समयमा भोजभात गरेको भए राम्रो हुने सुझाव दिनुभयो ।
यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यससम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा विद्यालय चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताउनुभयो । 
स्थानीय युवा धर्वेन्द्रकुमार यादव यदुवन्शीले आफुले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउनुहुदै गलतलाई गलत भन्दा दवाव झेल्नुपरेको बताउनुभयो । उहाँले समाजमा गलत भनेर विरोध नै गर्न नसकिएको बताउनुहुदै सुधार गर्नुका साटो दवाव दिनु उचित नभएको सुझाव दिनुभयो ।
यससम्बन्धमा औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवलाई मोबाइलबाट सम्पर्क गर्दा उहाँको फोन रिसिभ भएन । 
शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक विद्यालयहरुले आफना नियम बनाएका हुन्छन् ति नियमहरुमा विद्यालय समयमा कुनै कार्यक्रम गर्न नदिने रणनीति बनाएपनि कार्यान्वयनको अभावको कारणले यस्तो गतिविधि हुने गरेको पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुहुदै विद्यालयहरुले आफैले बनाएका नियमहरुलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गते भित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।

उपचार अभावमा समस्या झेल्दै एक किशोरी

उपचार अभावमा समस्या झेल्दै एक किशोरी
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २९ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. १२ नैन्ही बस्ने शिवजी ठाकुर बरहीको १७ वर्षिया छोरी मन्जु बरहीको दैनिकी तिनवर्षदेखि ओछयानमै बितिरहेको छ । उनी दैनिक कार्य समेत गर्न नसक्ने स्थितीमा छन् । उपचार अभावमा उनको कम्मरदेखि मुनिको भाग नचल्ने अवस्थामा रहेको कारणले यस्तो नियती बनेको बताउँदै उपचार गराउन सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन् ।

तिन वर्ष अगाडी धनुषा जिल्लाको मुजेलियास्थित मामाघर पुगेका उनी छठको लागि घर लिपपोत गर्न माटो ल्याउने क्रममा माटोको ढिस्को उनको कम्मरमा खसेको थियो । ढिस्कोेले घाइते भएकी उनलाई उपचारको लागि लगिएको र चिकित्सकले तत्काल बेल्ट लगाउनुपर्ने बताएपनि रकम अभावमा उपचार नहुँदा अहिले उनी पुरै थला परेकी छिन् । आमाको स्याहार, सुसार र व्यवहारले अहिलेसम्म आफ्नो दैनिक कृयाक्लाप भइरहेको बताउँदै आफुु पहिलाजस्तै आफ्नो काम गर्न चाहेको बताइन ।


पैसा अभावमा उपचार हुन नसक्दा अहिले उनको खुट्टामा घाउ फैलिएको छ । मन्जुकी आमा शैल देवीले भगवानले चाहने हो र मनकारी व्यक्तिहरुले सहयोग गर्ने हो भने मेरी छोरी ठिक भएर हिडन सक्ने बताउनुहुदै सबैलाई सहयोगको अपिल गरिन । छोरीलाई बिहे गर्ने सपना देखेकी उनले ति सपना तुहिएको बताउनुहुदै सपनालाई पुरा गरिदिन सबैसंग आग्रह गरिन् ।

एक छोरा र एक छोरीकी आमा शैलदेवीले पति र छोरा राम्रो नभएकै कारणले छोरीले उपचार नपाएको गुनासो गर्दै आफुले मात्रै अहिलेसम्म छोरीको हेरचाह गरेको बताइन । पतिले फर्निचरको काम गर्ने गरेको तर सबै पैसो रक्सीमा उडाउने गरेकोले छोरीको उपचार नभएको बताउँदै आफु कसरी उनको उपचार गराउने भन्दै उपचारको लागि सहयोग गरिदिन आग्रह गरिन् ।

स्थानीय पार्वती देवीले राम्रो र काम गर्ने छोरी पाए पनि उपचार अभावमा उनी तिनवर्षदेखि ओछयानमै विताउनु परिरहेको बताउनुहुदै उनलाई उपचारको लागि नगरप्रमुख, वडाध्यक्ष सबैलाई गुहारे पनि कोही पनि सहयोग नगरेको बताइन । उनले आफुहरुले चन्दा उठाएर पनि सहयोग गर्ने वताएपनि त्यसले उनको उपचार सम्भव हुने÷नहुने वताउनुहुदै उनको उपचार हुने हो भने ठिक हुने विश्वास गरिन् । उनले भनिन्,‘उनको बुबाले उनको जिन्दगी खराब गरेको छ, शुरुमै कहिँकतैबाट उपचार गरेको भए हुन्थ्यो तर सबै पैसा रक्सीमा उडाउँछ तर छोरीको उपचार गराउँदैन ।’

सोही ठाउँकी इन्द्रकला देवीले पतिले रक्सी खाने, मारपिट गर्ने तर छोरीको उपचार नगराउने गरेको बताउँदै एक्लै महिलाले कसरी उनको उपचार गराउने भन्दै उपचारमा सबैलाई सहयोग गरिदिन आग्रह गरिन् ।

सो वडाका वडाध्यक्ष रामतपेश्वर ठाकुरले आफुले उनको उपचारमा सहयोग हेतुले नगरप्रमुखदेखि अन्यलाई पनि अवगत गराइसकेको जानकारी गराउनुहुदै पहिलाको मुखियाभन्दा पनि कम आफुहरुको अधिकार भएकोले सहयोग गर्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले कम्बललगायतका सानो सानो सहयोग गरे पनि उनलाई उपचार चाहिएकोले उनको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।


ओरेक नेपालका महोत्तरी अधिकृत लिला दियालीले आफुहरुलाई पनि जानकारी भएको बताउनुहुदै उनलाई सहयोगको लागि आफुहरुले पहल गर्ने बताउनुभयो । स्वास्थ्य उपचार पाउनुपर्ने संविधानले मौलिक हकमा व्यवस्था गरेपनि रकम अभावमा उपचार नपाउनु दुर्भाग्य भएको बताउनुहुदै यसमा सबैले हातोमाले गरेर अगाडी बढनुपर्ने उहाँको भनाई थियो ।

दलित अधिकारप्रति प्रदेश सरकार गम्भिर ः सामाजिक विकास राज्यमन्त्री शर्मा

दलित अधिकारप्रति प्रदेश सरकार गम्भिर ः सामाजिक विकास राज्यमन्त्री शर्मा
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २९ गते । प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रदेश सरकार दलितहरु प्रति जिम्मेवार र गम्भिर रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल राष्ट्रिय दलित कल्याण संघ महोत्तरी शाखाले नेपालमा जातीय विभेद विरुद्ध विश्वव्यापी आवधिक समिक्षा सिफारिसको कार्यान्वयन अवस्थाको बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश नं. २ सरकारले अन्य प्रदेशले कल्पना पनि नगरेको समयमा दलित सशक्तिकरण ऐन, प्रहरी प्रदेश ऐन तथा महिलाहरुलाई ५० प्रतिशतको आरक्षणको व्यवस्था दिने गरी कानुन ल्याएको बताउनुहुदै प्रदेश सरकार यसप्रति गम्भिर रहेको बताउनुभयो ।
उहाँले संघीय सरकारले ल्याउने गरेको राष्ट्रिय अभियानहरु प्रदेश सरकारलाई कमजोर गर्ने गरी ल्याइने गरिएको दावी गर्नुहुदै सबैलाई एकजुट भएर लाग्नुपर्ने वताउनुभयो । उहाँले यो प्रदेशमा नै सबभन्दा गरिबी, शिक्षामा कमजोर, स्वास्थ्य तथा विकासको क्षेत्रमा कमजोर रहेपनि संघीय सरकारको राष्ट्रिय अभियानले समस्या ल्याउने गरेको बताउनुभयो । उहाँले सरकारले केही दिन भित्रै नेपाल साक्षर घोषणा गदैछ तर प्रदेश २ का दलितहरु ८ प्रतिशत मात्रै साक्षर रहेको यसको उदाहरण रहेको प्रष्ट गर्नुभयो ।

उहाँले आफुले एकपल्ट शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई मोबाइल चलाउन जान्ने, उठाउन जान्ने साक्षर हो भने प्रदेश २ का मानसिक स्थिती विग्रेका बाहेक सबै साक्षर रहेको भन्दिए पुग्ने बताउनुहुदै साक्षर भए÷नभएको उदाहरण बैंकमा पुग्दा थाहा हुने दावी गर्नुभयो । प्रदेश सरकार शिक्षामा बढोत्तरीकै लागि छोरी बचाउ, छोरी पढाउ जस्ता अभियान ल्याएको बताउनुहुदै उहाँले सामाजिक स्तर उठान नभएसम्म राष्ट्रिय अभियानहरु कागजमा मात्रै सिमित हुने वताउनुभयो ।
सामाजिक रुपान्तरणको दिशामा प्रदेश सरकार लागिपरेको बताउनुहुदै उहाँले दलितको सवालमा मात्रै नभए नेपाल सरकारले गरिरहेको विभेदको कुरामा पनि आवाज उठाउन सबैसंग आग्रह गर्नुभयो ।
उहाँले संघीय सरकारले समग्र बजेटको ७० प्रतिशत आफुसंग राख्ने तथा १७ प्रतिशत स्थानीयतहलाई र १३ प्रतिशत मात्रै प्रदेश सरकारलाई दिने गरेको बताउनुहुदै अहिले नै यससम्बन्धमा आवाज नउठाइए संघीयता कमजोर भएर जाने दावी समेत गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता विकरु यादवले संविधानको धारा २९ मा शोषण विरुद्धको हकको व्यवस्था गरिएको छ तर अहिले पनि हरुवा, चरुवा, हलिया, बालिघरे आदि नाममा दलितमाथि शोषण हुने गरेको जानकारी गराउनुहुदै धारा १६ ले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ को स्वतन्त्रता सम्बन्धी हक तथा धारा १८ को सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने उल्लेख गरिएपनि दलितहरुले यी अधिकार सहजै उपयोग गर्न नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष विक्रम पासमानको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, राजपा नेपाल महोत्तरीको संयोजक मण्डलका सदस्य श्याम यादव, नेकपाका जिल्ला सदस्य अरविन्द साह, महिला अधिकारकर्मी गिता दासलगायतकाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।