तीन टिकट महाविकट
नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ ७ गते । महोत्तरी जिल्लामा माघ ६ गते मंगलबार उत्साहपूर्वक प्रतिनिधिसभा निर्वाचन २०८२ को मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि महोत्तरीमा रहेको चारवटै क्षेत्रमा १४३ जनाले मनोनयन गराएका छन् । जसमा २० जना महिला तथा १२३ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ ।
जिल्लामा क्षेत्र नं. १ मा पाँच महिला तथा २२ पुरुष गरि २७ जना, क्षेत्रनं. २ मा पाँच महिला र ३२ पुरुष गरि ३७ जना, क्षेत्रनं. ३ मा तिन महिला तथा ३९ पुरुष गरि ४२ जना तथा क्षेत्रनं. ४ मा सात जना महिला र ३० पुरुष गरि ३७ जनाले उम्मेदवारी दिएको देखिएको छ ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा विगतदेखि नै दोहोरिएका तथा निर्वाचनमा विजयी भएका उम्मेदवारदेखि लिएर नयाँ नयाँ अनुहार भएका पनि उम्मेदवारी दिएका छन् । कतिपय उम्मेदवारहरुले तेस्रोपल्ट पनि लगातार आफ्नो विजयी पताका लहराउन चुनावी मैदानमा आएका छन् ।
जलेश्वर नगरपालिका वडानं. ४ बस्ने पूर्व जिल्ला शिक्षा अधिकारी वयोवृद्ध कृष्णचन्द्र झाले यसवर्ष महोत्तरीको प्रतिनिधिसभाको निर्वाचन रोचक तथा युवा तथा वृद्ध पुस्ताबीचको लडाईको रुपमा रहेको रहेको बताउनुभयो । जेनजी आन्दोलनपछि दुई–दुईपटक जित र हारको अनुभव बोकेका नेताहरू फेरि तेस्रोपटक जनताको ढोका ढकढकयाउनुले उनीहरुको राजनैतिक भविष्य निर्धारण गरिने बताउनुभयो । मैथिलीमा “तीन टिकट महाविकट” उखान रहेको बताउनुहुदै जनताले उनीहरुलाई विगतमा गरेको काम र प्रतिवद्धता अनुसारको व्यवहार हेरेर मत दिने वयोवृद्ध झाको कथन छ ।
ह्याट्रिक गर्न खोज्नेहरुलाई सम्मानजनक जित वा लज्जास्पद हार व्योहोर्नुपर्ने हो त्यो त मतगणनापश्चात नै थाहा होला तर उनीहरुलाई भने सानो तिनो अन्तरको जितले राम्रो भन्न नसकिने देखिन्छ ।
उहाँले उम्मेदवारी दिँदा पहिलो पटक उत्साह, दोश्रोपटक अनुभव भएपनि तेस्रो पटक जनताको भरोसा र अपेक्षाको कडा परिक्षा हुने भएकोले पुरानो नेताहरुलाई सहज नहुने बताउनुभयो । यसवर्षको प्रतिनिधिसभा निर्वाचनमा जेनजी र युवा पुस्ताहरुको लहर देखिएकोले पटक पटक उम्मेदवारी दिने राजनीतिकदलका नेताहरुको लागि विजयी अभियान भने सहज नहुने दावी उहाँको थियो ।
मटिहानी नगरपालिका धिरापुरका युवा सुमन ठाकुरले महोत्तरीमा पटक पटक एउटै उम्मेदवार दोहोरिने गर्दा समस्या देखिएको बताउनुहुदै एउटै व्यक्ति दोहोरिए भने अन्यले कहिल्यै मौका पाउने भन्दै यसमा राजनीतिकदलहरु चुकेको बताउनुभयो । दुई÷दुई पल्ट र सोभन्दा पनि अधिक पटक लडेपनि उम्मेदवारी नछाडने भोक राम्रो नभएको वताउनुहुदै यसमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाको क्षेत्रनं. १ मा नेकपा एमालेको तर्फबाट लक्ष्मी महतो तथा नेकपाको तर्फबाट गिरिराजमणी पोखरेल मनोनयन दर्ता गराउनु भएको छ । २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेर पोखरेलले ह्याट्रिक गर्नुभएको थियो । लक्ष्मी महतो तेस्रोपल्ट जनताको भरोसा आफु जित्नेमा ढुक्क हुदै उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीको तर्फबाट गिरिराजमणी पोखरेलले लक्ष्मी महतोलाई हराउँदै विजयी हुनुभएको थियो भने २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लक्ष्मी महतोले गिरिराजमणी पोरखेलसँग हारको वदला लिदैं विजयी हुनुभएको थियो । क्षेत्रनं. १ मा पुनः दुवै जना आफुले गरेको विकास, जनताको चाहनाले उम्मेदवारी दिएको भएपनि यसवर्ष भने दुवैको लागि विजयी अभियान सहज छैन ।
जिल्लाको क्षेत्रनं. २ मा पटक पटक शरतसिंह भण्डारी विजयी हुदै आउनुभएको छ । नेपाली काँग्रेसका किरण यादव पहिलो संविधानसभामा समानुपातिक तर्फकी उम्मेदवार थिइन भने दोश्रो संविधानसभामा प्रत्यक्षतर्फ विजयी भएकी थिइन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी शरतसिंह भण्डारीसँग पराजय भएकी थिइन । यसपाली भने उनी भण्डारीको विजयी रथलाई रोक्दै आफु विजयी हुने दाउँमा छिन् ।
क्षेत्रनं.३ मा प्रतिनिधिसभा निर्वाचनमा दुई÷दुईपल्ट विजयी हुनुभएका महन्थ ठाकुर यसपालि भने आफ्नो पुत्री मिनाक्षी ठाकुरलाई जसपाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई पल्ट महन्थ ठाकुरको लागि नेपाली काँग्रेसबाट बलिप्रदान (काँग्रेसले उम्मेदवारी दिए पनि फिर्ता लिने) हुनुभएका बजरंग नेपाली तेस्रोपल्ट पुनः काँग्रेसबाट उम्मेदवारी दिनुभएको छ । ठाकुरमाथि वंशवादको आरोप लागेपनि उहाँले समाजको लागि आफु जेलनेल भोग्दा कोही नआएको बरु छोरी र छोरीज्वाँईले नै साथ दिएकोले आरोप लागेपनि आफु अडिग रहेको बताउनुभएको थियो । त्यसैगरी एमालेका प्रत्यासी रहनुभएका रामआधार कापर अन्तिम समयमा टिकट नपाएर पुनः तेस्रोपल्ट स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा प्रदेशसभामा उम्मेदवारी, २०७९ सालमा प्रतिनिधिसभामा उम्मेदवारी दिएर हार व्योहोर्नुभएका कापर यसपालि आफु जित्ने भन्दै पुनः उम्मेदवारी दिनुभएको छ । त्यसैगरी पूर्वकृषि मन्त्री हरिनारायण यादव समेत तेस्रोपल्ट जसपाबाट बागी भएर स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएको छ ।
क्षेत्रनं. ४ मा नेपाली काँग्रेसका महेन्द्रकुमार राय र जसपाका डा.सुरेन्द्रकुमार यादव तेस्रोपल्ट चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा डा.सुरेन्द्रले महेन्द्रलाई पराजित गर्नुभएको थियो भने २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महेन्द्रले डा.सुरेन्द्रलाई पराजित गरि हारको वदला लिनुभएको थियो । यसवर्षको नतिजा के हुने हो ? मतदाताहरुको मतदानपछि नै थाहा हुनेछ ।
जेनजी आन्दोलनपछि राजनीतिककर्मीहरुलाई अवसर मात्रै होइन चुनौती समेत थपिएको पिपरा गाउँपालिका वडानं. ४ का दिनेश चौधरीले बताउनुभयो । उहाँले जेनजी आन्दोलनपछि युवापुस्ताहरु अनुभवलाई नभई नयाँलाई (युवा) ठाउँ दिनुपर्ने पक्षमा देखिएकोले पनि यसवर्षको नतिजा रोचक तथा अचम्भित हुने दावी गर्नुभयो ।
जनताको मूल्याँकनको आधार यसवर्ष तिन टिकट लिने हुने हो कि उनीहरुको महाविकट युवा पुस्ता हुने हो ? त्यसको उत्तर भने नतिजाबाट मात्रै पाउन सकिने चौधरीको कथन छ ।
.jpg)
No comments:
Post a Comment