Monday, March 9, 2026

पच्चीस वर्षपछि महोत्तरीमा क्लिन स्वीप








महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, फागुन २५ गते । महोत्तरी जिल्लामा पच्चीस वर्षपछि कुनै पार्टीले क्लिन स्वीप गरेको देखिएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको चारवटै क्षेत्रमा क्लिन स्वीप गरेर राजनीतिकवृत्तमा चर्चाको विषय पाएकोे छ । 

राजनीतिकमा लामो समयदेखि लाग्नुभएका जलेश्वर नगरपालिका वडानं. ४ का भोला तिवारीले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको देशभरि मात्रै नभई जिल्लामा पनि देखिएको क्लिन स्वीपले चर्चा पाएको बताउनुभयो । उहाँले पच्चीस वर्ष अगाडी २०५६ सालमा नेपाली काँग्रेसले जिल्लाको चारवटै क्षेत्रमा क्लिन स्वीप गरेपनि अहिले जस्तो मतान्तर तथा नचिताएको नतिजा नल्याएको बताउनुहुदै नयाँ अनुहार तथा मधेशी प्रधानमन्त्रीको चर्चाले जिल्लामा क्लिन स्वीप भएको अनुमान गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई २२ हजारको मतान्तरले हराउनुभएको थियो । पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका दीपककुमार साह ३२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पूर्वमन्त्री शरतसिंह भण्डारीलाई २२ हजार ५२४ मतले पछार्नुभएको थियो । भण्डारीले  १० हजार १९८ मत ल्याउनुभएको थियो । 

जिल्लाको क्षेत्रनं. ३ मा रास्वपाका उज्ज्वलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी हुनुभयो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल संघीय समाजवादी फोरमका अध्यक्ष मोहम्मद रिजवानलाई २६ हजार ४८२ मतले हराउनुभयो । मोहम्मद रिजवानले ५ हजार ९६९ मत ल्याउनुभएको थियो । महोत्तरीमा हजुरवुवा र नाती दुवै साँसद बन्नुभएको यो पहिलोपटक हो । झाका हजुरवुवा कुलानन्द झा पनि पञ्चायतकालमा चर्चित साँसद रहनुभएको थियो । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाकी गौरी यादव ३० हजार १३२ मतसहित विजयी भएकी छन् । उहाँले निकटतम प्रतिद्वन्द्वी पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई २१ हजार ३९० मतान्तरले हराउनुभएको थियो । पूर्वस्वास्थ्य मन्त्री यादवले ८ हजार ७४२ मत ल्याउनुभएको थियो । 

वि.सं. २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले पनि जिल्लाको चारवटै क्षेत्रमा क्लिन स्वीप गरेपनि मतान्तर थोरै देखिएको बताउनुहुदै नेता भोला तिवारीले यसपालिको लहरले पुरानो पार्टीलाई सिध्याएको नभई सचेत गराएको बताउनुभयो । 

वि.सं. २०५६ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा महोत्तरी क्षेत्रनं. १ मा महेन्द्र यादवले एमालेका राजकिशोर साहलाई १५२९ मतले पछार्नुभएको थियो । यादवले १८ हजार ४०८ तथा राजकिशोर साहले १६ हजार ८७९ मत ल्याउनुभएको थियो । त्यसैगरी क्षेत्रनं. २ मा काँग्रेसका रामचन्द्र तिवारीले एमालेका रामदयाल मण्डललाई २३०८ मतले हराउनुभएको थियो । तिवारीले १७ हजार ७०५ तथा मण्डलले १५ हजार ३९७ मत ल्याउनुभएको थियो ।

त्यसैगरी क्षेत्रनं. ३ मा नेपाली काँग्रेसबाट शरतसिंह भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका रामविलास यादवलाई ८ हजार ३३२ मतान्तरले हराएर विजय हात पार्नुभएको थियो । भण्डारीले २० हजार ४८६ मत ल्याउँदा यादवले १२ हजार १५४ मत मात्रै ल्याउनुभएको थियो । 

त्यसैगरी क्षेत्रनं. ४ मा नेपाली काँग्रेसबाट महेन्द्र रायले राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजराज घिमिरेलाई ८ हजार ४ सय ७० मतले हराउनुभएको थियो । रायले १९ हजार ६४७ मत ल्याउनुभएको थियो भने घिमिरेले ११ हजार १७७ मत ल्याउनुभएको थियो । 

जलेश्वर नगरपालिकाका युवा भरत पाण्डेयले वर्षोवर्षमा निर्वाचनमा यस्तो लहर आउने गरेको बताउनुहुदै घण्टी चिन्ह भएका पार्टी जित्नेमा ढुक्क रहेपनि यति धेरै मतान्तरले हारजित हुनेमा धेरैको आशंका रहेको बताउनुभयो । उहाँले यसपालि जिल्लामा भएको क्लिन स्वीप वर्षोसम्म पनि नहुने चर्चा गर्नुहुदै नेपाली जनता सुशासनको पक्षमा रहेको यो नतीजाले स्पष्ट गरेको बताउनुभयो । 

नेता तिवारीले नेपालको राजनीतिक इतिहासमा स्पष्ट वहुमत आउने पार्टी केही वर्षपछि छिन्नभिन्न हुने तथा काम नगर्ने परिपाटी देखिएको बताउनुहुदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई इतिहास नदोहो¥याउन आग्रह गर्नुभयो । उहाँले विगतमा नेपाली काँग्रेस मात्रै नभई माओवादी र एमालेसहितको सरकारलाई समेत स्पष्ट वहुमत आएपनि जनताको अपेक्षा अनुसारको काम नगर्दा यस्तो हविगत भएको चर्चा गर्नुहुदै जनताको अपेक्षा अनुसार काम गर्न राजनीतिकदलहरुलाई आग्रह गर्नुभयो । 


No comments:

Post a Comment