मधेशमा हिंसा, स्वरुप मात्रै फरक Barel suga

मधेशमा हिंसा, स्वरुप मात्रै फरक नागेन्द्रकुमार कर्ण÷महोत्तरी एमाओवादीको १० वर्षे जनयुद्धको त्रासदी मधेशमा अद्यापी छँदैछ । त्यसको स्वरुपमा मात्रै केही परिवर्तन आएको छ । १० वर्षे जनयुद्धमा नै मधेश आन्दोलनको विजारोपण भइसकेको कारणले पनि त्यसको असर हुनुपर्दछ । सो जनयुद्धमा नै मधेशका सपुतहरुले नेपालमा मधेशको भूभाग रहेको अवगत गराएकै हुन्, तर त्यो कुरा खसशासकहरुले नबुझेकै कारण जनयुद्धको विभिषिकाबाट मधेशले पार पाउन नसकेको हो । जनयुद्ध अगाडी नै नेपालका सपुतहरुले सदभावना पार्टीको नाममा त्यस्को हुँकार गराएकै हुन् । त्यो भन्दा पहिलाको स्थित के थियो, कस्तो थियो, त्यो भन्नै पर्देन् सबैले बुझेकै कुरा हुन् । १०४ वर्षे जहाँनिया राणाशासन होउन वा १२० वर्षे शाहीशासन होउन सबैमा मधेशको उपेक्षा गरिएको सबैलाई अवगत नै छ । मधेशलाई भारतको एक भूभाग ठान्ने मानसिकताबाट ग्रस्त तत्कालिन शासकहरुलाई १० वर्षे जनयुद्धका बाछिटाबाट निस्केका मधेश आन्दोलन र त्यसपछिको अवस्थाले मधेशको स्थितीलाई छर्लङ्ग पारेको छ । यदि त्यस्तो नभएको भए मधेश आन्दोलनको जरुरत हुन्थ्यो जस्तो लाग्दैन् । तर असह्य भए पछि वा मान्छे पौडिन नजाने पनि डुब्न थालेपछि हातखुट्टा चलाए झै मधेश अब चलायमान भएको छ । तर अहिले पनि यसलाई लक्ष्यमा पुग्न थुप्रै घुम्ती र मोडहरु पार गरेर जानुपर्ने वाध्यता रहेको छ र त्यो कुनै जादुको छडीबाट तुरुन्तै हुन्छ भन्ने सम्भव पनि छैन । तर अब यो एक न एक दिन लक्ष्यमा पुग्छ भन्ने कुरामा अब कुनै शंका छैन् । मात्रै आफ्नो लक्ष्यलाई स्पष्ट र अगाडी बढनुपर्ने युवा जमातको आवश्यकता छ । मधेश आन्दोलन पश्चात भएको संविधानसभा चुनावले मधेशवादीदलहरुलाई नेपालको चौथौ शक्तिको रुपमा उदय गराएको यर्थातता यसैको परिणाम हो भन्ने कुरा कसैबाट लुकेको छैन् । तर त्यो यर्थाततालाई पचाउन नसकेका हाम्रा मधेशका मसिहाहरु अहिले पनि आफ्नै ढोल र पिपही (डम्फा) बजाउन मस्त छन् । अहिले नै ति मधेशका मसिहाहरुले नचेत्ने हो भने एक हुँकारमै राजतन्त्र फालिए झै उनीहरुको पनि दशा तय हुने निश्चित छ । १० वर्षे जनयुद्ध र मधेश आन्दोलन पश्चात मधेशमा आफ्नो अधिकारको लागि थुप्रैको हत्या गरियो, अपहरण गरियो, अंगभंग गरियो । मधेशको अधिकार दिलाउन झण्डै दश दर्जन भन्दा बढी समूह त्यो पनि सशस्त्र बने, निशस्त्रको त कुनै लेखाजोखा नै छैन् । सबैले आफुलाई राजनीतिक अधिकारको लागि लडाई लडिरहेको बताउँदै आएको छ तर त्यसको आडमा दशवर्षे जनयुद्धमा आफ्नो शत्रुलाई सुराकीको आधारमा, शत्रुलाई सहयोग गरेको आरोपमा मुला काटे झै मार्ने प्रवृत्ति भने कायमै छ । तराईका सोझासाझा युवाहरु अहिले आफ्नो आवश्यकता पूर्ति गर्न, आफुलाई फेसनेवल देखाउन यस्ता अपराधमा बढी लिप्त भएको देखिएको छ । बढदो बेरोजगारी, अशिक्षा, ओरालो लाग्दो कृषिकेन्द्रित अर्थतन्त्र, प्रविधिले सामाजिक जीवनमा भित्रयाएको शान, सौकत र त्यसको सिको गर्ने युवा जमात, आर्थिक, राजनीतिकदलहरुको उपस्थिती कमजोर, बढदो बेरोजगारी समस्या, खुला सिमाना लगायतका कारणहरुले गर्दा अहिले तराई अपराधभूमिको रुपमा परिणत भएको छ । हिंसामा दिन प्रतिदिन बढोत्तरी हुदै गएको देखिन्छ । केही दिन सम्म शान्त हुने हिंसा केही दिन पछि हवात्तै बढने प्रवृत्ति छ । हिंसाका कारण जे सुकै भएपनि यसलाई कुनै पनि बहानामा क्षमादान गर्नु नितान्त गलत हो र यसलाई क्षमादान गर्नुभनेको पुनः विपत्तिलाई निम्त्याउनु हो । तसर्थ यसतर्फ ध्यान दिइनु नितान्त आवश्यक छ । लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डिफ्री)ले २०६८ जेठमा सार्वजनिक गरेको तराईमा व्याप्त हत्याको शृङ्खला अद्यावधिक प्रतिवेदनले संविधानसभा निर्वाचनपश्चात २०६४ चैत देखि २०६७ साल जेठ सम्ममा तराईमा २ सय ८१ जना व्यक्तिको गैरन्यायिक हत्या भएको देखाएको छ । यो तथ्याँकले पनि हामीलाई मधेशको स्थिती र मधेशको हिंसा बारे बुझन काफी छ । दिनहुँ छापा माध्यम लगायत विभिन्न संचारमाध्यमहरुमा हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुको फेहरिस्त पढन सकिन्छ । त्यत्तिकै मात्र होइन अहिले तराईमा त मानवीयता समेत हराउदै गएको देख्न सकिन्छ । पैसाकै लागि आफन्तको अपहरण गर्ने, मार्ने, घाँटी छिनालेर शव नै गायब बनाउने जस्ता आश्चर्यचकित पार्ने खालका कृकृत्यहरु भइरहेको छ । यसले त तराई मुक्ति र मधेश मुक्तिका नाममा आफुलाई उभ्याएका समुहहरुलाई समेत ओझेलमा पारिदिएको छ । समूहहरु त फगतः पैसाको लोभमा परि अपहरण गर्ने, वार्गेनिङ गर्ने र छाडने गरेका छन् । अन्तिम अवस्थामा आएर मात्रै ज्यान लिने परिपाटी उनीहरुमा छ तर अहिलेको अवस्थालाई हेर्ने हो भने कसमाथि विश्वास गर्ने, कल्लाई आफ्नो संरक्षक ठान्ने ? प्रश्न समेत खडा भएको छ । जसको छायाँमा हुर्कुर्ने पर्ने हो , जसबाट आफुलाई सुरक्षित ठान्ने हो, तिनीहरुबाट नै कुन बेला कहाँ पासोमा पारिन्छ थाहै हुँदैन् । अहिले त के दाई, के भाई, के वुवा, के आमा, के इष्टमित्र, के आफन्त, के लोग्ने, के स्वास्नी सबै त्यस्तै देखिन्छ ? वर्षो आफ्नो पसिना र खुन चुसाएर हुर्काएकालाइ एक निमेषमै आफ्नो अलिकति स्वार्थको कारण मानवीयता विर्सेर मारिनु आम भै सकेको छ । जन्मनुपूर्व देखि नै गर्भमै रहेको अवस्थादेखि मानवअधिकार लागु हुन्छ भनिन्छ तर जन्मदैं त्यसलाई कुनै इनारमा फालिन्छ त कुनै उखुवारीमा । यहाँ कुनै पनि मानवअधिकारले काम गरेको भेटिदैन् । यस्तो अवस्थाको दोषी को हो त ? अब गम्भीर हुनुपर्ने बेला आएको छ । लोकतन्त्रको नाउँमा छाडातन्त्रको विगविगी भएको कारण र कानुनको कार्यान्वयन नहुने गरेका कारणले पनि यो भूमि अपराधिकरणको लागि मौलाएको हो । मार्नु जस्तो सस्तो यहाँ केही छैन् । यहाँ कसैको जिवनको मुल्य पाँच सय भन्दा माथि छैन् । भाग्य बलियो छ भने एक दुई पटक बच्न सकिएला तर अन्ततः कथा त्यही पाँच सयमा आएर टुङिन्छ । राज्यको नीति बनाउन गएका हाम्रा राजनीतिकदलका नेताहरु तथा मसिहाहरु आफै यस्मा लिप्त छन् भने आम मान्छेको के भरोसा गर्नु ? तसर्थ अब पनि यसप्रति गम्भीर नहुने हो भने मधेशको अस्तित्व खतरामा पर्ने निश्चित छ । सबै जागौं, सोचौं र गम्भिरपूर्वक यो समस्याको समाधान गरौं र अपराधीलाई कानुनको दायरामा ल्याऔं ।