तस्करीका लागि बालबालिकाको प्रयोग
२३ चैत, गौशाला । महोत्तरीका विभिन्न सीमा नाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।
जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड
तथा सहायक सीमा नाकाहरु मटिहानी, सम्सी, कट्टीकटैया, ईटहर्वा, पोखरभिण्डा,
रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका
सरसामानहरु नेपाल-भारत ओसारपसारमा लागेका स्थानीय बासिन्दाले बताएका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले
भारतबाट सरसामान ल्याउन कडाइका साथ रोक लगाएको कारणले गर्दा नेपाली
व्यापारीहरु भारतीय सामानहरु ल्याउन सीमा नजिक बसोवास गर्ने बालबालिकालाई
सामान ओसारपसारमा लगाएको मटिहानी निवासी बैजु मण्डलले बताएका छन् ।
उनले मटिहानी सीमा नाकामा मात्रै दैनिक ५ सयको हाराहारीमा बालबालिका भारतीय सरसामानहरु नेपाल ल्याउने काममा संलग्न रहेकोे दाबी गरे ।
उनले बालबालिका सीमा नाका वा मानिस
हिँडडुल गर्ने ठाउँबाट नभएर गाई बाख्रा चराउने बहानामा अवैध तरिकाले वनको
बाटो भएर भारतीय सामानहरु नेपाल ल्याउने गरेको बताए ।
नेपाली व्यापारीहरु एउटा एसएसबीको कारण र
अर्को भन्सार शुल्कको कारण पनि भारतीय सरसामान नेपाल ल्याउनका लागि सीमा
नाका नजिकै बसोवास गर्ने बालबालिकालाई प्रयोग गर्ने गरेका छन् ।
त्यस्तै जिल्लाका पोखरभिण्डा र
रघुनाथपुरबाट पनि सयौँ बालबालिका दैनिक नजिकैको वनमा घाँस, पगार र दाउराको
बहाना बनाउँदै भारतीय सरसामानहरु नेपाल ल्याउने गरेको स्थानीय विजय यादवले
बताए ।
त्यस्तै सीमा नाका सम्सी, बथनाहा,
कट्टीकटैया र ईटहर्वाका बालबालिका दशगजा क्षेत्रमा क्रिकेट, फुटबललगायतका
खेल खेलिरहेकै क्रममा भारतको बजारहरुबाट सामानहरु नेपाल छिराउने गरेको
स्थानीयहरु बताउँछन् ।
बालबालिका ठूलठूला व्यापारीहरु जस्तो
साइकल, मोटरसाइकल, जिप, ट्रयाक्टर, टायरगाडा वा अन्य ढुवानीको माध्यमबाट
ठूलो माात्रामा नभई ससाना पोका बनाई हातमा वा टाउको बोकेर ल्याउने गर्दछन् ।
जसले गर्दा भारतीय एसएसबीले चालसम्म पाउन
सक्दैन भने एकदिनमा एउटा बच्चाले दुईदेखि पाँच पटकसम्म थोरैथोरै गरी धेरै
सरसामान ल्याउने गरेका छन् ।
नेपाली व्यापारीहरुको भरपर्दो र सस्तो
ढुवानीका माध्यम बनेका बालबालिकालाई उनीहरुले एउटा पोका ल्याएबापत १०
रुपैयाँदेखि ५० रुपैयाँसम्म बालबालिकाको उमेर हेरेर पैसा दिने गर्दछन् ।
जिल्लाका सीमा नाकाहरुमा बसोवास गर्ने
धेरैजसोका बालबालिका त अहिले पढाइ लेखाइ छोडेर पनि नेपाल-भारत सरसामान
तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
बालबालिका पढाइ लेखाइ छोडी कामकाजमा
लागेकोबारे अभिभावकलाई भन्दा अभिभावकहरुले बालबालिकालाई कामकाज छोडाई पढाइ
लेखाइमा लगाउनुका साटो भनसुन गर्न जानेसँग नै झैझगडा गर्ने गरेको बथनाहाका
सतेन्द्र यादवले बताए ।
यता जिल्ला महिला तथा बालबालिका कार्यालय र
बाल अधिकारकर्मी सङ्घसंस्थाहरु पटकपटक गरिब, विपन्न तथा पिछडिएका
बालबालिकालाई पढाइ लेखाइका लागि आवश्यक कापी, किताब, पोसाक, छात्रवृति र
विद्यालयसम्म जाने वातावरण बनाइदिए पनि केही दिन पढ्ने तर फेरि यस्तै
प्रकारका काममा लाग्ने गरेको समेत देखिएको छ ।
जिल्लाका सीमा नाकामा बस्ने हुनेखानेका
बालबालिका गाउँ बस्तीमा बस्दै बस्दैन भने आर्थिक रुपले कमजोर रहेका
प्रायःसबै घरका अभिभावकहरु पनि पढाइ लेखाइका महत्व नबुझेर पढाइ लेखाइ गरेर
के हुन्छ भन्दै आफ्ना बालबालिकाले बिनाकाम विद्यालय जानुका साटो नेपाल-भारत
सरसामान वारपार गरेर दुई चार पैसा ल्याउने गरेकोलाई राम्रो मानेका छन् ।
त्यस्तै बालबालिकालाई काममा लगाउने
अभिभावकहरुलाई बालबालिकाको अधिकारको कुरा गर्दा कुरा गर्नेलाई नै मेरो घर
चलाइदिनु र हाम्रो बालबालिकाले गर्ने कामकाज गरिदिनु हामी तपाईंले भने
जस्तै गर्छु भनेर पनि जवाफ दिने गरेको मानवअधिकारकर्मी ईश्वरी काफ्लेले
बताउनुभयो । रासस