महेशकुमार
दास/नयाँ पत्रिका
महोत्तरी, २१ चैत जलेश्वर कारागारबाट अपराधका योजना बन्ने गरेको खुलेको छ । केही समयअघि अपहरण गरी फिरौती लिएर हत्या गरिएका विद्यार्थी पंकज यादव र धनुषा रमैदया भवाडीका किशोरी यादव हत्याको योजना जलेश्वर कारागारबाट बनेको खुलेको छ । दुवै हत्या र अपहरणका घटनामा जलेश्वर कारागारमा कर्तव्य ज्यानको सजाय भोगिरहेका भारतीय अपराधीको हात रहेको प्रहरीको दाबी छ । विहारको सितामढी जिल्लाअन्तर्गत पर्ने हनुमान गाउँ घर भएका भारतीय नागरिक शशीनाथ झा दुवै हत्याकाण्डका मुख्य योजनाकार रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जनाएका छन् । झाले फिरौती रकम संकलन गरी संगठित अपराधलाई मजबुत पार्न हत्या गराएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । पंकज हत्याको अनुसन्धान गर्न धनुषा प्रहरीले गठन गरेको टोलीका अनुसार पछिल्लो तीन महिनामा दुईजनाको अपहरणपश्चात हत्या गरिएको घटनासम्बन्धी योजना जलेश्वर कारागारबाट बनेको हो । झाकै योजनामा महोत्तरीको सुन्दरपुर-१ मगरथानाका विद्यार्थी पंकज यादवको अपहरणपछि हत्या भएको थियो । त्यस्तै धनुषाको रमदैया भवाडी घर भएका किशोरी यादवलाई ट्रकसहित अपहरणपछि हत्या गरिएको जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछानेले बताए । झा १६ पुस ०६२ मा एक बालकको हत्या गरेपछि जलेश्वर कारागारमा सजाय काटिरहेका छन् । पक्राउ परेका अभियुक्त यसअघि कर्तव्य ज्यान, अपहरण र डाँकाको मुद्दामा कारागार सजाय भोगेर मुक्त भएका थिए । प्रहरी उपरीक्षक वसन्त पन्तले भने, 'कारागारमा रहेका झाले ललित मिश्रासित सम्पर्क गरी आपराधिक गतिविधिका योजना बाँड्दै आएका थिए । मिश्राले भने, 'स्वामी भनिने उमेश यादवमार्फत् गणेशकुमार सिंह र कृष्ण पूर्वेलाई हत्याका सहयोगीको रूपमा परिचालन गर्दै आएको भेटियो ।' झाले एक लाख ३४ हजार दिएर अपहरण गरी फिरौती उठाएर पंकजको हत्या गर्न लगाएको प्रहरीको भनाइ छ । त्यस्तै किशोरीलाई भने १३ पुसमा ना.३ख ५५८७ नम्बरको मालबाहक ट्रकसहित अपहरण गरेका थिए । उनको भक्तिपुर-६ स्थित जंगलमा घाँटी रेटेर हत्या गरिएको थियो । शव झन्डै एक महिनापछि १० माघमा मात्र फेलापरेको थियो । प्रहरीले अपहरणमा परेको ट्रक चलाइरहेको अवस्थामा भारतीय नागरिक ऐनुल राइनलाई आइतबार भिट्टामोडबाट पक्राउ गरेको छ । यादवको हत्यापछि रौतहटको बरगिनिया नाकाबाट ट्रकलाई भारतको सितामढीमा स्वामिजी भनिने उमेश यादव, ललित मिश्रा र ऐलुन राइनको जिम्मा लगाइएको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले बताए । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले गणेशकुमारसिंह महतो र कुशेश्वर ठाकुरलाई पनि पक्राउ गरेको छ । किशोरी हत्यामा संलग्न गिरोहले नै पत्रकार उमा सिंहको समेत हत्या गरेको प्रहरीको भनाइ छ । पत्रकार सिंह हत्याकाण्डका प्रमुख योजनाकार भने स्वामिजी भनिने उमेश यादव भएको प्रहरीले जनाएको छ । जनकपुरबाट अपहरणमा परेका महोत्तरी सुन्दरपुर-१ का २२ वषर्ीय पंकज यादवको शव महोत्तरीको अड्ढार-४ स्थित रातो खोलानजिक चार फिट खाल्डो खनी गाडेको अवस्थामा फेलापरेको थियो । पंकजलाई गणेश महतोसहितका पाँच-सातजनाको समूहले लागुऔषध सेवन गराई अपहरण गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । |