पंजी व्यवस्था र मिथिलाञ्चलका प्रसिद्ध स्थल ‘सौराठसभा’
नागेन्द्रकुमार कर्ण
महोत्तरी
मिथिलाञ्चलका प्रमुख धरोहरको रुपमा चिनिने ‘पंजि व्यवस्था’ र त्यससंगै अस्तित्वमा आएको ‘सौराठसभा’ अहिले आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको छ ।
सरोकारबाला निकायहरुको अदुरदर्शिता तथा ब्राम्हणजातिहरुको उदासिनताको कारणले ‘पंजी व्यवस्था’ सहित ‘सौराठसभा’ अहिले अस्तित्वविहिन बन्ने स्थितीमा पुगेको हो ।
तत्कालिन मिथिलाका प्रसिद्ध राजा हरिसिंहदेव (जसको राजधानी सिमरौनगढ थियो) ले पंजि व्यवस्थाको शुरुवात गर्नुभएको पाइन्छ । उहाँले नै मैथिल ब्राम्हण तथा मैथिल कायस्थ (कर्ण कायस्थ)मा पंजी व्यवस्थाको शुरुवात गर्नुभएको थियो । पंजी प्रबंधको व्यवस्था शाके संवत १२३२ अर्थात सन् १३१० मा राजा हरिसिंह देवले लिखित रुपमा गर्न लगाउनुभएको थियो । उहाँ भन्दा अगाडी नै नान्यदेवले यसको शुरुवात गर्नुभएको पाइए पनि यो अलिखित रुपमा रहेको थियो । पंजी व्यवस्था शुरु कसरी भयो सन्दर्भमा एउटा कथा प्रचलित छ । कथानुसार मिथिलाराज्यमा (त्यत्तिबेला) एउटी ब्राम्हणीको रगत सम्बन्धमा विवाह भएको र उनले पाएको दुःख कष्टको विचार गर्दे जाँदा यस्तो भएको थाहा पाएपछि पतिले पत्नीलाई त्यागिएको घटनाले पंजीव्यवस्थालाई जोडिएको पाइन्छ । राजा हरिसिंह देव कहाँ यस्तो फिराद पुुगेपछि राजाले विभिन्न पण्डित, विद्धानहरुलाई बोलाएर यसको समाधानको उपाय निकाल्न लगाउँदा यस्तो पंजीकरणको व्यवस्था गरिएको जनाइएको छ । महिलालाई यज्ञादि गरी चोख्यादै रगत सम्बन्धमा विवाह नहोस्भन्ने हेतुले पंजिव्यवस्था कायम गरिएको हो । यसमा प्रत्येक ब्राम्हण, राजपुत, तेरघरिया वैश्य र कायस्थ जातिमा पंजिकाधिकारी नियुक्त गरि यसको शुरुवात गरिएको हो । यसमा प्रत्येक परिवारको लगत लिई वंशावली तयार गरी मूलग्राम डेरा, गोत्र आदिको उल्लेख गरि राखिएको छ । यस किसिमको लिखित अभिलेख राखि विवाहपूर्व वर र कन्यापक्षका सात पुस्ता छुटयाई विवाह योग्य भएपछि मात्र पंजिकारले स्वजनपत्र लेखी स्वीकृति दिएपछि सिद्धान्त र विवाहको कुरा छिनिन्थ्यो । मातृपक्षको ५ तथा पितृकुलको ७ पक्षको रगत सम्बन्ध यसमा हेरिन्छ र नमिलेपछि सिंद्धान्त (स्वजनपत्र) को माध्यमद्वारा पंजीकारले विवाहको स्वीकृति दिन्छ । अहिले पनि मिथिलाका ब्राम्हण, कायस्थ र देव जातिमा यो प्रचलन कायमै छ । अद्यापि विना पंजीकरण र सिद्धान्त बिना विवाह यस जातिमा हुँदैन् ।
सर्वप्रथम पंजिकरण भारत समौल मधुवनी जिलाको धारे झाद्वारा शुरु गरिएको र त्यही समयदेखि नै सौराठसभाको शुरुवात भएको बताइन्छ । अहिले धारे झाकै छोरीपट्टीका पंजिकारहरुले यो कार्यलाई विडोंको रुपमा थामेको छ ।
त्यही पंजीकरण व्यवस्थालाई बचाउन मुख्य ध्येय बोकेको तथा सामूहिक विवाहको लागि प्रख्यात मानिएको ‘सौराठसभा’ स्थल भारतको मधुवनी जिल्लाको रहिका प्रखण्ड अन्तर्गत पर्दछ । रहिका बाजारबाट अढाई किलोमिटर पूर्वोत्तर कुनामा तथा मधुवनीबाट ६ किलोमिटर उत्तरमा पर्ने सौराठसभा आषाढ महिनाको अन्तिम शुद्ध लगनमा शुरु हुन्छ भने यो सौराठ सभा ५ दिन देखि एकहप्ता सम्मको हुने गरेको छ ।
सौराठ सभामा वरपक्ष (केटापक्ष) र कन्यागतपक्ष (केटीपक्ष)बीच शास्तार्थ हुन्थ्यो । त्यहाँ केटाको ज्ञान, क्षमता हेरिन्थ्यो । केटा घरबाट नै रातो धोती, कुर्ता, रातो पाग धारण गरेर सभागाछीमा निर्धारित स्थानमा ओछयानमा बसेको हुन्थ्यो र त्यही शास्त्रार्थ हुने गरिन्थ्यो । त्यहाँ सवा लाख ब्राम्हणहरुको उपस्थिती भएपछि पाखरको बोट आफै मौलाउने गरेको बताइन्छ । यद्यपी अहिले त्यहाँ त्यो रुख छैन् । मिथिलाको यी जातिहरुमा ‘चट्ट मंगनी पट्ट वियाह’ भन्ने कहावत अनुसार नै कुरा छिनिएपछि विवाहको तयारी भई एकहप्तामैं हुन्थ्यो ।
पहिला यो सभा सौराठ सहित ४२ स्थानमा हुने गर्दथ्यो । यसमा सहरसाको बनगाँव, पूर्णियाको सुखसैना, सीतामढीको ससौला, मधेपुरको समुआर, अररियाको खामगारर, झंझारपुरको प्रतापपुर प्रसिद्ध रहेको छ । तर अहिले सौराठ र सितामढीको ससौला बाहेक प्रायः सबै लुप्त अवस्थामा छ । र दुइटैको अवस्था पनि दिनप्रतिदिन लुप्तकै अवस्थामा गइरहेको छ । बढदो दहेज, समयाभाव, बढदो आधुनिकता र सम्पर्क माध्यमको पहुँचको कारण यसमा कमी आएको सौराठसभामा पंजिव्यवस्थालाई कायम राख्न लाग्नुभएका पंजिकार प्रमोदकुमार मिश्रको भनाई छ ।
सौराठसभा पुग्दा भारतको उत्तरप्रदेशको नासिरगंजबाट आउनुभएका यदुनारायण पाठक लगायत करिब एक दर्जन व्यक्तिहरु, तिनवटा पंजिकारहरुको आश्रयस्थल तथा केही पसलमा रहेका मान्छे मात्रै भेटिएको थियो । पहिला पहिला अषाढ महिनाको अन्तिम शुद्ध लग्नमा लाखौंको ब्राम्हणहरु पुग्ने सो सभामा सो समयमा अहिले मुस्किलले सय जना पुग्ने गरेको ठम्याई पंजिकार प्रमोदले गर्नुभएको थियो ।
पहिला पहिला सौराठसभामा विवाहको कुरा छिनिएर सिद्धान्त भई विवाह हुनु भनेको शान, मान र विद्धानको प्रतिक थियो तर अहिले ति क्रमशः हराउदै गएको छ । सोही गाउँमा अहिले पनि ५ हजार भन्दा बढी ब्राम्हण समुदायको वस्ती रहेको छ तर विवाहको लागि लग्न जुराउनुबाहेक उनीहरु पंजिकारसंग खासै मतलव नराख्ने गरेको छ ।
सम्पूर्ण सुविधाले युक्त भएपनि सरोकारबाला निकाय तथा स्वयं ब्राम्हण समुदायहरुकै कारणले सौराठसभा आजको पुस्ताले विर्सदै गएको छ । अहिले पनि २२ एकड जग्गामा फैलिएको सो सभामा माधवेश्वरनाथ ट्रष्टको अधिनमा दरभंगा महाराजद्वारा प्रदान गरिएको ठुलो दुई वटा पोखरी, पूर्व केन्द्रीय रेल मन्त्री ललित नारायण मिश्रको सतप्रयासमा बनाइएको दुइवटा ठुलो धर्मशाला, भारतीय स्टेट बैंक, हुलाक, दुईवटा खानेपानी, स्वास्थय चौंकी, यज्ञमण्डप, माधवेश्वरनाथको पुरानो मन्दिर, ठुलो इनार लगायत रुखहरु पर्याप्त रहेका छन् । तर, सभामा ब्राम्हण समुदायहरु नपुग्दा एउटा धर्मशालामा नीजि विद्यालय चलिरहेको छ भने अर्को धर्मशाला पूर्णत बन्द भई जिर्ण बन्दै गएको छ । त्यसैगरी खानेपानी समेत त्यस्तै अवस्थामा छ भने पोखरीहरु अवस्था समेत दिन दिनै घटदै गइरहको छ ।
सौराठसभामा पंजिकारको माध्यमबाट वर र कन्यागतको मिलान हुने गरेको छ । पंजी व्यवस्थालाई आधुनिकतासंग समेत वैज्ञानिकहरुले जोडेका छन् । विपरित डिएनए भएको व्यक्तिसंग विवाह भएपछि उनीहरुबाट हुने छोराछोरी बढी स्वस्थकर र मानसिक, शारीरिक रुपमा स्वस्थकर हुने वैज्ञानिकहरुले पुष्टि गरिसकेको छ । अहिले कम्प्युटरको युग भएकोले पंजीकरणको व्यवस्था कम्प्युटरबाट हुनु जरुरी छ । पंजीकरणलाई डाटा प्रोसेसिँगको माध्यमबाट अलग्गै वेव बनाई त्यही अनुसार आधुनिकरण गर्ने हो भने राम्रो तथा पुनः सुधार गर्न सकिने बुझिन्छ ।
यसलाई बचाउन अहिले पनि सौराठसभा विकास समिति र दहेजमुक्त मिथिला काम गरिरहेको छ । तर पनि उल्लेख्य सफलता भने हात परेको देखिदैंन् । त्यसैले सामुहिक विवाहको लागि प्रख्यात मानिएको यो सभालाई ब्राम्हण समुदायले पुर्खाको विरासतको रुपमा बचाउनु नितान्त जरुरी छ ।