जलेश्वरदेखि ईलाम सम्मको यात्रा
नागेन्द्रकुमार कर्ण ÷
योजना, तत्अनुरुपको कार्य, सामञ्जस्यता र अर्थ (रकम) सामुहिक रुपमा भ्रमण तथा यात्राको अनिवार्य आवश्यक कार्य हो । यो बिनाको भ्रमण कुनै अर्थमा लाभदायक हुँदैन् । नुन बिनाको माछा खाएसरह नै हुन्छ । समय र पैसाको वर्वादी बाहेक हामीले यसबाट केही पनि पाउँदैनौं । यो कार्य बिना हामीले सोचेको जस्तो उपलब्धि पनि हासिल गर्न सक्दैंनौं । त्यसैले कतै तपाई पनि यात्रा वा भ्रमणको लागि जाँदै हुनुहुन्छ अथवा तयारी गर्दे हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनैपर्छ । आजभोली त यसो नेटमा बस्यो भने गुगलले जाने ठाउँको दिशा, दुरी सबै पत्ता लगाइदिन सक्छ भने त्यहाँको मौसम, हावापानी, धार्मिक, साँस्कृतिक सम्पदाहरु, भ्रमण गर्नुपर्ने ठाउँहरुबारे समेत भन्न सक्ने भएकोले अलिकति मात्रै मिहिनेतले तपाईको भ्रमणलाई उद्देश्यअनुरुप मात्रै नभई लाभदायक, सुरक्षित र सहज बनाउन मद्दत पुग्दछ ।
भ्रमण (घुमफिर) गर्नु सबै हिसाबले उपयुक्त र राम्रो मानिन्छ । अनुभव बटुल्न, नौलो ठाउँको बारेमा आफै पुगेर अवलोकन गर्न, कामको बोझबाट एक दुई दिन मुक्त हुँदै मुड फ्रेस गर्न लगायत अन्य कामको लागि पनि भ्रमण गर्नु राम्रो मानिन्छ । यसै सिलसिलामा पूर्वको केही जिल्ला जाने मौंका जु¥यो । हामीले पनि सामुहिक रुपमा ड्राइभर सहितको ७ जनाको जम्बो टोली पूर्वको झापा, इलाम लगायत भारतीय दार्जलिङ सम्म जाने धोकोका साथ आइतबार (साउन ६ गते) जलेश्वरबाट प्रस्थान भयौं । टोलीमा म सहित कमलेश झा, नितेश झा, पंकज साह, नरेशकुमार साह उनका एकजना आफन्त (भारतको छपरा निवासी, नातामा नरेशको सालो) थियौं । एसी सहितको नयाँ गाडी गन्तव्य तिर हुँइकँदै गयो । हामीले सुनसरीको भान्टाबारीमा कोसीको माछा सहितको राम्रो खाना पाइन्छ भन्दै २ बजेतिर त्यहाँ खाना खायौं । त्यसपछि हाम्रो गन्तव्य झापाको लक्ष्मीपुर थियो । लक्ष्मीपुरमा कमलेशको दाईको साढुभाई बस्ने भएको र राति पनि त्यही बस्ने पूर्व योजना अनुसार हामी त्यहाँ पुगेका थियौं । त्यहाँ घरमूली नरेश झाले हामीले सोचेको भन्दा पनि बढी सत्कार गर्नुभयो । उहाँले हामीलाई यो क्षेत्रमा जानुपर्ने ठाउँहरुको बारेमा जानकारी समेत दिनुभएको थियो । उहाँले नै तपाईहरु नेपालकै ठुलो पुल कनकाई नदीको पुल पार गरेर आउनुभएको भन्दा हामी झल्याँस्स भएका थियौं । हामीलाई यो पुल बाटोमा पर्छ भन्ने हेक्का पनि थिएन । हामी त त्यो पुल काकडभिठ्ठाको नजिक होला भनेर अनुमान गरेका थियौं तर लक्ष्मीपुर आउनुभन्दा चार पाँच किलोमिटर अगाडी नै त्यो पुल हामीले क्रस गरिसकेका थियौं । त्यहाँ हामीले अफसोस जाहिर गर्दे जानेबेलामा पुल हेर्ने विचार गरेका थियौं । त्यहाँ हामीले नास्ता खाई उहाँको पुरानो घर डाँगीबारी पुग्यौं । डाँगीबारीमा उहाँहरुको बसाईको तिनपुस्त पुगिसकेको छ । पुरानो घरमा झाजीको बुबा, आमा सहित कान्छोभाई महेश झा र बुहारी बस्दैं आउनुभएको छ । क्षेत्रमैं गणमान्यमा गनिनुहुने दुवै दाजुभाईको स्वभाव मिलनसार, चाहिए भन्दा बढी नबोल्नु रहेको पायौं । त्यहाँ पनि हाम्रो स्वागत नसोचेभन्दा बढी भयो । त्यहाँ रात्रि विश्राम पश्चात बिहान सोमबार महेश झा सर र उहाँको साथी सन्तोष भन्ने डिकबहादुर श्रेष्ठसंगै हामी इलामको यात्रामा निस्कयौं । महेश दाईको साथी सन्तोष पनि मिलनसार रहेको पायौं । उहाँ दुबैले हाम्रो पथप्रदर्शकको रुपमा हरेक ठाउँको बारेमा जानकारी दिनुभयो । सन्तोष दाई राम्रो चालक पनि भएको तथा त्यो बाटोको राम्रो जानकारी हुनुभएकोले बाटोमा यदि हामी चढेको गाडीको चालकलाई अप्ठयारो भयो भने बेकअपको रुपमा तथा पथप्रर्दशकको रुपमा हुनुहुन्थ्यो । बिर्तामोडबाट दुई तिन किलोमिटर पूर्व चारआली पुगेर इलामको लागि गाडी उत्तरतर्फ सोझियो । झापाको उखरमाउलो गर्मीमा गाडीमा चलेको एसीलाई हामी एक घण्टा नवित्दै विस्थापन गर्यो । बाहिरको एसीमा हामीलाई अलिअलि भएपनि चिसोको महसुस भइरहेको थियो । रात्री पानी परेकोले आकाश पुरा खुला थियो । सूर्यको प्रकाश पातमा पर्दा ऐनामा टल्किए झै सोझै आँखामा परेर लुकामारी खेलिरहेको थियो । सुपारी र नारियलको बोटहरु, मकैबारी र चियाबारी, हरेक खेतमा रोपिदै गरेको धान, नागबेली परेको बाटो, बादलको ख्यालठट्टा (कहिले पानी पर्छ कि जस्तो धुम्म कालो हुने त कहिले आकाशै देखिने गरी खुल्ने) तथा प्रकृतिको मनोरम छँदा हेर्दे हामीहरु मन्त्रमुग्ध भइरहेका थियौं । त्यसमा पनि बादलले ल्याइरहेको चिसोपनाले गर्दा त हामी एक छिन हाम्रो महोत्तरी मात्रै होइन झापाको उखरमाउलो गर्मी पनि बिर्सियौ । महेन्द्र राजमार्ग छाडेर मेची राजमार्गमा गुडिरहेका थियौं । बाटोमा कुल्बुङ स्थानमा पाथीभराको मन्दिर आयो । महेश दाई र सन्तोष दाईले ल ईलामको यो पाथीभरा मन्दिर घुम्न जाउँ भनेर भन्नुभयो । नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा देवीको तिन बहिनी मध्ये कान्छी वहिनीको रुपमा इलामको कोल्बुङमा पाथीभरा देवी रहेकी छिन् । माहिली भने इलामकै फिक्कल ३ बरबोटेमा अवस्थित रहेकी छिन् । हामी पाथीभरा देवीकी कान्छी बहिनी पाथीभराको दर्शन गर्न पुजाको सामग्री किनेर डाँडाको बाटो लाग्यौं । डाँडामा हामी शुरुमा दर्गुर्यो तर दुई मिनेट नवित्दै सबै लखतरान । ठाडो उकालो । त्यसमा पनि दर्गुनाले त सबैको हालत खराब । सन्तोष दाईले विस्तारै विस्तारै ढुँगा टेक्दै जान भन्नुभयो । होइन भने लेउले गर्दा चिप्लिने डर । विस्तारै थकाई मादैं हामी २० मिनेटमा मन्दिर परिसर पुग्यौं । त्यहाँ जुत्ता, चप्पल फुकालेर दर्शन गर्न पुग्यौं । त्यहाँ पाथीभरा देवी मन्दिरको ठयाक्कै अगाडीमा रहेको भगवान गणेशको पुजा गर्यो । पाथीभरा देवीको पुजा पूर्व गणेशको पूजा गर्नुपर्ने चलन मन्दिरमा रहेकोले हामी त्यसै गर्यो । त्यसपछि हामी पाथीभरा देवीको दर्शन गर्यो । ढुङाको आकारमा लम्पसार परेकी जस्ती देखिएकी थिइन । मन्दिर भित्रमा पुजाको लागि कपडा, घण्टी बाँध्नुपर्ने, सिन्दुर लगायतका सामग्रीहरु चढाउने गरेको र हामीले पनि त्यसो गर्यो । त्यसपछि हामी मन्दिरमा पुजापाठ गरेर तल ओर्लयौं । जुत्ता चप्पल लगाउने ठाउँमा आएर हामी सबैले जुत्ता, चप्पल लगायौं र केही साथीहरु त्यही रहेको पसलमा केही सामान किन्न लाग्नुभयो । त्यस्तैमा सन्तोष दाईले सबैजनाले आफ्नो खुट्टा हेर्न लगाउनुभयो । किनकी उहाँलाई जुका (जोंक, रगत चुस्ने किरा) लागेको थियो । अनि सबै जनाले हेर्यो । सबैलाई जुका लागेको थियो । म र नितेश झा बाहेक सबैको खुट्टाबाट रगत बगेको देखियो । त्यहाँ सबैले ‘जसले पाप गरेको छ, त्यो पाप भगवतीको कृपाले पखालियो’ भन्ने रुपमा लिए । त्यसपछि हामी सिँढीको बाटो तल ओर्लयौं । मन्दिरदेखि तल सम्म ओर्लन एक हजार दुई सय भन्दा बढी भ¥याङ थियो । हामीले ओर्लने बेलामा सबैले कतिवटा सिँढी छ भनेर गन्न भन्यौं । ५ सय सम्म त गनियो तर खुट्टामा अलिकति पनि चिलायो भने जुका लागेको हो कि भनेर जुत्ता फुकाल्दा फुकाल्दै हामीले गन्न भ्याएनौं तर तल सोध्दा १२०० सिढी रहेको थाहा पाएका थियौं ।
त्यसपछि हामी अगाडी बढ्यौं । सबैलाई भोक पनि लागेको थियो । हामी फिक्कल पुगेर ‘पाहुना घर’ भन्ने होटलमा खाना खायौं । साहुनीको फरासिलो व्यवहार तथा मिठो खानाको लुत्फ हामीले उठायौं । त्यसपछि हामी इलामको बाटो लाग्यौं । जता हेर्यो त्यत्तै चियाको बगान । डाँडाकाँडा, भिरपाखा, जता हेर्यो त्यत्तै चिया खेती । हामीले नेपाली फिल्म हेर्दा त्यसमा देखाइने चियाखेतको झल्को हामीले दुरुस्तै हेर्न पायौं । नजिक गएर हामीले चियाको बोट हेर्न पायौं । फोटो सेशन पनि गर्न भ्यायौं तर इलाम बाजार घुम्न भने भ्याएनौं । हामीलाई दार्जलिङ पुग्ने चाहनाले गर्दा हामी आधा घण्टा पछि ईलाममा बस्न सकेनौं । इलाम बाजार तथा चियापत्ती कसरी बनाइदो रहेछ भन्ने हेर्न पाएनौं । त्यसको लागि हामीलाई पुनः इलाम पुग्नुपर्ने वाध्यता छँदैछ ।
त्यहाँबाट पुनः हामी फिर्ता भयौं । पुनः फिक्कल आएर त्यही पाहुना घरमा पुगेर हामी चिया खायौं । त्यहाँबाट दार्जलिङ जानको लागि पशुपतिनगर आयौं । पशुपतिनगर पुगेपछि भारतीय भूभागमा प्रवेशसंगै दुई गन्तव्य शुरु हुन्छ । एउटा दार्जलिङ जाने अर्को दार्जलिङ जिल्लामा पर्ने मिरिक जाने बाटो । मिरिक पशुपतिनगरबाट करिब १५ किलोमिटरको दुरीमा छ । पहाडको घुमाउरो बाटो । त्यहाँबाट हामी दार्जलिङ जानेबाटो तथा पुग्नेबारे पत्ता लगायौं । तर अहिले दार्जलिङ जाने मौसम नभएको, बाटो पनि नागबेली तथा डरलाग्दो भएको, साँझको समय भएको तथा बाक्लो हुस्सुले गर्दा बाटो नदेखिने भएकोले त्यहाँ नगई बरु नजिकमा रहेको र दार्जलिङ जस्तै मौसम भएकोले मिरिक जाने योजना बन्यो । हामी पशुपनिगरमा भारतीय कष्टममा पुग्यौ । त्यहाँ नेपाली कष्टम र भारतीय कष्टम जोडिएर रहेको छ । त्यहाँ चेकजाँच र गाडीको सबै कागजात मिलाएर मिरिकको लागि हिड्यौं । नागबेली परेको बाटो, धुम्म परेको कुहिरो, लाइट बालेपनि नदेखिने बाटो तथा एकातर्फ पहाड र अर्को तर्फ तलसम्म नदेखिने खाल्डोले डर लागिरहेको थियो । दुई तिन किलोमिटर पुगेपछि साथीहरुले त्यहा रहेको भारतीय एसएसबीसंग सल्लाह गर्यो । एसएसबीले अगाडी यो भन्दा पनि नागबेली परेको बाटो, धना कुहिरो रहेको बताएपछि हामीहरुले त्यसपछि अगाडी बढन नसकेर फिर्ता भयौं । त्यसपछि हामी राति ८ बजे झापाको विर्तामोड पुग्यौं । गर्मी छलेर आएका हामीहरु पुनः गर्मीमै भिज्यौं । त्यो रात हामी विर्तामोडमै वितायौं । त्यसको भोलीपल्ट हामी दैनिक नित्यकर्म गरेर त्यहाँबाट हिड्यौ । बाटोमा कनकाई नदिको पुललाई नियालेर हेर्यो । झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको कनकाई नदीमा बनेको पुल नेपालकै ठुलो पुल मानिन्छ । जानेबेलामा नदेखेर दुख मनाउ गरेका हामीहरु फर्कने बेलामा राम्ररी नियालेर हेर्यो । माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको पनि सबै भन्दा ठुलो नदीको रुपमा परिचित यस कनकाई नदीको पक्की पुल ७०३ मिटरको रहेको छ ।
त्यसपछि खाना खाने उद्देश्य तथा घुमाइको दृष्टिकोणले हामी त्यहाँबाट हामी धरान पुग्यौं तर हामी मध्ये कसैलाई पनि धरानबारे जानकारी नभएको तथा जाने ठाउँको बारेमा जानकारी नभएकोले हामी त्यहाँ बाजारबाटै कोशीमा खाना खाने भन्दै फिर्ता भएका थियौं ।
कोशी ब्यारेज पुगेर कुन होटलामा खाना खाने भनेर सोध्दा मैले यो भन्दा अगाडी इटहरीमा नेपाल प्रेस युनियनको महाधिवेशनमा आउँदा राम्रो खाना खाएका होटल देखायौं । त्यहाँ होटलको काउन्टर भर्खरकी राम्री, चिटिक्क परेकी केटीले सम्हालेकी थिइन । त्यहाँ पुगेर मैले कुरा अगाडी बढाउने क्रममा झिँगे माछा बारे सोध्दा उनले आफ्नी आमालाई आवाज दिर्दै सोधिन । मलाई लाग्यो या त केटीलाई पसलमा राखिएको सामग्रीको मोल थाहा छैन् ? एक दुईदिनको लागि घर आएको बेलामा पसलमा सहयोगका लागि बसेकी छिन् ? या त हामीहरुसंग कुराकानी गर्ने मनशाय छैन् । तर जे भए पनि हामीहरु उनकै अनुहार हेरेर थपिथपि खाना खानुका साथै करिब डेढ घण्टा त्यहाँ बिताएका थियौं । क्या स्वादिष्ट माछा थियो । सबैले थपिथपि मनले नअघाए सम्म खायौं ।
खाना पश्चात घरमा कोसेली स्वरुप बरमझियाको पेडा किनेर हामी बर्दिवास आयौं । बर्दिवासमा नरेशजीको काम परेकोले हामी पुगेका थियौं । त्यहाँ करिब एक घण्टा विताएर हामी रामगोपालपुरमा चिया खाएर जाने सल्लाह भयो । त्यही अनुरुप रामगोपालपुरमा चिया खाएर मंगलबार राति ८ बजे घर पुग्यौं । जलेश्वरमा हामीले हाम्रो गाडीको चालक जलेश्वरकै राजुजीलाई धन्यवाद दिएका थियौ । इलाम र मिरिक जाने त्यत्तो बाटोमा पनि राम्ररी र सहजरुपमा गाडी गुडाउने क्षमता बोकेका राजुले हामीलाई सकुशलरुपमा गनतव्यका साथै घरमा पुर्याएकोले धन्यवाद दिएका थियौं । हेर्दा पुड्को लाग्ने राजुको गाडी चलाउने क्षमता भने लामो देखियो । यसरी हामीले केही थकथकी र केही असहजता भएपनि समग्रमा पुर्वको इलामको यात्रा गरेका थियौं ।
घुम्नु भनेको केही नौलो ज्ञान प्राप्त गर्नु हो । हामीले नदेखेको भन्दा फरक स्वाद र अनुभव गर्नु हो । यस्तो अवस्थामा हामीले सहभागी मध्ये सबैको रुची, व्यवहार पनि जान्नु नितान्त जरुरी हुन्छ । यात्राको क्रममा हामीले केही औषधी लगायतका केही जरुरी सामग्री बोक्नुपर्छ भने सहभागीको रुचीलाई पनि ध्यान दिनुपर्छ । त्यसैगरी पूर्व योजनावद्ध ढंगले जाने हो भने अझ यस्ता यात्रामा रोमाञ्चकता थप्ने हुन्छ । यात्राको क्रममा महेश झा, नरेश झा र उनको आतिथ्य सत्कारलाई विर्सन सकिन्न् । उहाँको हार्दिकताप्रति नतमस्तक हुँदै हामीले फिर्ता हुनेबेलामा उहाँसंग विदावारी भएका थियौं ।