कुनै पनि हालतमा चुनाव गराउनुपर्ने पूर्वमन्त्री पोखरेलको भनाई
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं १ गते । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले कुनै पनि हालतमा मंसीरमै चुनाव गराउनुपर्ने वताउनुभएको छ ।
महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा शनिबारदेखि प्रकाशनमा आएको ‘बर्दिबास खबर’ दैनिक पत्रिकाको विमोचन गर्नुहुदै पोखरेलले मंसिर महिनामा तोकिएको चुनावलाई पनि पछि सार्ने षडयन्त्र भइरहेको बताउनुहुदै यसप्रति सबैजना सचेत हुनुपर्ने आग्रह समेत गर्नुभयो । उहाँले सहमतिको नाउँमा दुई चारदिन समय बढाउन मिल्छ तर मंसीर महिना भन्दा पछि लगिने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुहुदै यसप्रति सबैले दवाव सृजना गर्नुपर्ने बताउनुभयो ।
उहाँले चुनाव भएन भने देश पुनः प्रतिगमनको खतरामा पर्ने दावी गर्नुहुदै देशलाई संक्रमणकालिन अवस्थाबाट जोगाउन चुनाव अपरिहार्य रहेको र त्यो चुनाव कुनै पनि हालतमा मंसिरमै हुनुपर्ने जिकिर गर्नुभयो ।
कुनै पनि निर्वाचन प्रयोजनको लागि पाँच शक्ति जरुरी भएको र ति शक्तिले चाहने हो भने चुनाव जुनसुकै अवस्थामा हुन सक्ने उहाँको भनाई थियो । उहाँले पाँच शक्तिमा सरकार, निर्वाचन आयोग, राजनीतिकदलहरु, जनता र अन्तराष्ट्रिय शक्ति प्रमुख रहेको र उनीहरुको तयारी र उनीहरुको सहकार्यले नै चुनाव हुन सक्ने बताउनुहुदै त्यो सहकार्य अहिले भइरहेको स्पष्ट गर्नुभयो । उहाँले अब छिट्टै नै चुनावको वातावरण बन्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
शनिबारदेखि प्रकाशनमा आएको चार पेजको राष्ट्रिय दैनिक ‘बर्दिवास खबर’ को प्रकाशकमा तुलसीरमण काँफ्ले र सम्पादक सन्तोष पोखरेल रहेका छन् भने कार्यकारी सम्पादकमा विक्रम प्रसाद रौनियार रहेको जनाइएको छ ।
पत्रिका विमोचन कार्यक्रमको अध्यक्षता पत्रिकाका प्रकाशक तुलसीरमण काँफ्लेले गर्नुभएको थियो भने सो कार्यक्रममा नेपाल पत्रकार महोत्तरी शाखाका सभापति हरिप्रसाद मण्डल, प्रेस स्वतन्त्रतता सेनानी कुँवरकान्त झा, रेडियो सुनगाभाका अध्यक्ष शशिकला दाहाल सहित स्थानीय राजनीतिकदलहरुले पत्रिका निरन्तरताको शुभकामना दिनुभएको थियो ।
पत्रिकामा तत्कालको लागि ६ लाखको पूँजी लगाइएको प्रकाशक काँफ्लेले सो विमोचन कार्यक्रममा जानकारी दिनुहुदै श्रमजीवी ऐनको पालना गर्न आफु कटिवद्ध भएको बताउनुभयो ।