सिरहामा बोेक्सी आरोपमा दण्डित हुने महिलाको संख्या बढी
सिरहामा बोेक्सी आरोपमा दण्डित हुने महिलाको संख्या बढी
मधेश खबर
लहान, २१ असोज । आर्थिक रुपले विपन्न, असहाय र एकल महिलालाई कथित बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने, मानव मलमूत्र कोच्याउने र आर्थिक जरिवाना गर्ने क्रम यहाा बढ्दै गएको छ । घरमा पालेको गाईभैंसीले कम दूध दिँदा, रुख विरुवा सुक्दा मात्र होइन, कथित बोक्सीको आरोप लगाइएका महिलाका छोराछोरीले पढाइ राम्रो गर्दासमेत बोक्सी मन्त्र प्रयोग गरेको भन्दै दुव्र्यवहार गर्ने क्रम बढ्दै गएको हो ।
सिरहाको मिर्चैया क्षेत्रकी ५५ वर्षीया पतसिया देवीले त्यस्तै नियति भोग्नुपरेको छ । ‘मेरो जेठो छोरो एमविविएस र कान्छो आइएससी पढ्दैछ, मैले छोराहरूलाई बोक्सीको मन्त्र प्रयोग गरेर पढाएँ भन्दै कैयौंपल्ट गाउँलेहरूले कुटपिट र दुव्र्यवहार गरे’ पतसियाले भन्नुभयो– ‘प्रहरीकामा उजुरी गर्न जाँदा गाउँघरमै मिलाउनुस् भन्दै फर्काइदिन्छ ।’
बोक्सी र महिला हिंसासम्बन्धी घटनाको उजुरी लिएर जाँदा राजनीतिक दलका स्थानीय नेताहरूले प्रहरी प्रशासनलाई प्रभावमा पारेर घटनालाई मिलाउने गरेको गुनासो उहाँको छ । त्यस्तै सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाविसकी ४५ वर्षीया रामपरी यादवले आफूलाई गाउँमा कथित बोक्सीको आरोपमा पटकपटक दुव्र्यवहार गरिरहेको गुनासो गर्नुभयो ।
‘विवाह गर्ने उमेरको छोराको विवाहसमेत गर्न सकेको छैन’ उहाँले भन्नुभयो ‘बोक्सीको छोरालाई छोरी दिनु हुँदैन भन्दै केटीको कुरा गरेको घरमा पुगेरै भाँँडिदिन्छन् ।’ गाउँमा उल्टै कुटपिट गरेपछि बसेको छलफलले आफूलाई गङ्गास्नान गरेर आएपछि भोज गर्न भन्दै तीन हजार रुपैयाँ जरिवानासमेत तिराए ।’
जिल्लामा कथित बोक्सीको आरोपमा महिलामाथिको दुव्र्यवहार बढ्दै गएपछि तीन वर्षअघि लहानमा तत्कालीन गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले पीडित महिलाहरूलाई सम्मान गर्नुभएको थियो । ‘नीति निर्माण तहमा बसेका व्यक्तित्वकै उपस्थितिमा बोक्सीको अरोपमा प्रताडित महिलाहरूको सम्मान गर्दा त्यसको प्रभाव त प¥यो तर स्थानीय प्रहरीको असहयोगले बोक्सीको आरोपमा प्रताडित महिला त्यसपछि त खुलेर बोल्न पनि चाहँदैनन्’ महिला अधिकारकर्मी भन्छन् ।
सिरहाको मुक्सार–२ की रासोदेवी यादव, कर्जन्हा–८ प्रयागपुरकी रीतादेवी साह, चनरदेवी साह, रधियादेवी साह, अर्नमा प्र.पि.८ की सीतादेवी महतो, लहानकी आशादेवी राय, राजोदेवी राय, भदैया–९ वैरबोनाकी नुरजहान खातुन, दुर्गापुर–४ की गङ्गीयादेवी महतो, अमिन कुमारी महतो, सिरहा–६ बसबिट्टाकी चन्द्रकलादेवी साह त्यस्ता महिला हुन्, उनीहरूले आफूहरू बोक्सीको आरोपमा भएको दुव्र्यवहारविरुद्ध प्रहरीले कडा कदम नचालेको गुनासो गरेका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बोक्सीको आरोपमा हिंसाका घटना भएमा दोषीलाई हदैसम्मको कारबाही गरिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामकृपाल साह प्रहरीले महिलाको सवालमा शून्य सहनशीलताको नीति लिएकाले मातहतका प्रहरी युनिटहरूमा आउने महिला हिंसाका घटनालाई कानुनी प्रक्रियामा लगिएको दाबी गर्नुहुन्छ ।
जिल्लामा सन् २०१४ को पछिल्लो नौ महिनामा पाँच वटा बोक्सीको घटना घटेको भएपनि स्थानीयस्तरमा छलफल गरी मिलापत्र गरिएको पाइएको छ ।