गंगामायाको गान्धारी नियति ck lal
गंगामायाको गान्धारी नियति
10 Oct 2014
शुक्रबार २४ असोज, २०७१
सीके लाल, Email cklal@hotmail.com
पुत्र वियोगमा विह्वल नन्दप्रसाद अधिकारीले अन्ततः मृत्युवरण गरे। वीर अस्पतालको वाण शैयाबाट उनको कृषकायाले मुक्ति पायो। पार्थिव शरीर भने अझैसम्म राजनीतिक कलहको दसी भएर बसिरहेको छ।
अन्तिम संस्कारविना पनि कुनै आत्माले केही समयपछि आफ्नो स्थान भेट्टाउँछ भन्ने मान्यता सही हो भने परमात्माले नन्दप्रसादको अवशेषलाई अवश्य नै स्वीकार गर्नेछन्। माता गंगामायाको मृत्यु यज्ञ भने यी पंक्तिहरू लेखिँदासम्म जारी छ। मुलुकको औपचारिक सत्ता चाहिँ सर्धँजस्तै धृतराष्ट्र निरीहताका अवस्थामा किंकर्तव्य विमूढ छ। स्थायी सत्ताको सञ्चालन र परिचालन दुर्योधन प्रवृत्तिले गर्ने गर्छन्। तिनका लागि 'जहाँ सत्य त्यहाँ विजय’को गान्धारी आग्रह एउटा आदर्श र त्यसैले अर्थहीन अभिव्यक्तिभन्दा बढी केही हुँदैन।
नेपालका पत्रपत्रिकामा छापिएका सबै कुरा पत्याउन सकिँदैन। बजारको नियमले निर्देशित एवं नियन्त्रित गर्ने मिडियाको धन्दामा सञ्जयजस्तो दिव्य दृष्टि, तटस्थता, निर्भयता एवं सत्य साधना टिक्न पनि गाह्रो नै हुन्छ। त्यसो हुँदाहुँदै पनि नन्दप्रसाद—गंगामाया प्रकरणमा उजागर भएको नेपाली मिडियाको सतहीपन उदेकलाग्दो छ। पक्षधरहरूले तर्क र भावना, आरोप र अपराध, प्रतिशोध र न्याय, हठ र अडान एवं निर्क्योल र तथ्यबीच खासै फरक नदेख्नु स्वाभाविकै हो। नेपालको सञ्चार जगत् चाहिँ भुइँमा कमिला टिप्ने अवस्थाबाट सोझै जीउको जुम्रा टिप्ने हालतमा पुगेकाले निहित स्वार्थ भएका समूहले तिनलाई आफूखुसी परिचालन गर्न पाएका हुन्। नन्दप्रसादले मृत्युवरण नै गर्नुपर्ने बाध्यात्मक अवस्थाको तत्थपरक व्याख्या नेपाली मिडियाका वृत्तान्त पढेर वा सुनेर भेट्टाउन सकिँदैन। सायद, त्यसैले सामान्यजनले सम्पूर्ण प्रकरणलाई कि त षड्यन्त्र नभए फगत दुर्घटनाका रूपमा ग्रहण गरिरहेका छन्।
कथित नागरिक अधिकारकर्मीको हल्कापन त झन् अत्याउने किसिमले उदाङि्गएको छ। र, त्यो भने तटस्थताको अभावले गर्दा होइन। पक्षधरता सबै प्रकारको जुझारुपनको अन्तर्निहित चरित्र हो। खुला, दृढ एवं स्पष्ट प्रतिबद्धताबेगर आस्थाको लडाइँ लड्न सकिँदैन। नन्दप्रसाद प्रकरणमा आस्थाका सिपाहीहरूले तिनको मूल अडान माओवादी विरोधी रहेको तथ्य स्वीकार गर्ने आँटसमेत देखाउन सकेनन्। उद्देश्यप्रति इमानदार रहन नसकेपछि प्रभावकारिता स्वतः कम हुनपुग्छ। समाजका प्रतिभाशाली व्यक्तिहरूको सार्वजनिक छवि यति धेरै स्खलित हुनु मुलुकको दीर्घकालीन हितमा हुनसत्तै्कन।
सत्ता, सञ्चार जगत् एवं सार्वजनिक व्यक्तित्वहरूले छुट्टाछुट्टै र समूहगतरूपमै एउटा मानवीय त्रासदीलाई फगत राजनीतिक खेलको गोटीका रूपमा हेर्न थालेपछि पात्रहरूको वेदना जनमानससम्म पुग्न पाउँदैन। प्रत्येक दाबी तथा प्रतिदाबी सत्ताका खेलाडीहरूको चालबाजीजस्ता लाग्न थाल्छन्। अनि कोही पनि उद्वेलित हुँदैनन्। निरपेक्ष नेपाली मानसिकता वा सशस्त्र द्वन्द्वले गर्दा जडवत् हुन पुगेको सार्वजनिक संवेदनशीलतालाई दोष दिएर उम्न सकिँदैन। कुनै न कुनै पक्षमा नउभिईकन परिघटनासमेत अर्थ्याउन नसक्ने अवस्था युद्धको निरन्तरताको परिचायक हो। सायद, पुष्पकमल दाहाल सही छन्। संघर्षका रूपहरू फेरिएका छन् युद्धका विभिन्न मोर्चामा बन्दुकको साटो विचार चल्दैछन्। त्यसैले हताहत तत्काल देखिँदैनन्। तर, विजय पराजय केही नभएकाले नेपालको एक्काइसौं शताब्दीको महाभारत टुङि्गने छाँटकाँट अझै देखापरेको छैन।
कृष्णको प्रतीक्षा
अफगानिस्तानका नवनिर्वाचित राष्ट्रपति असरफ घानी पश्चिमाहरूले रुचाएका पेसाकर्मी हुन्। अन्तर्राष्ट्रिय विज्ञका रूपमा नेपालको द्वन्द्व सल्टाउन पनि उनी बारम्बार आइरहन्थे। नेतृत्वको अभावले गर्दा नेपालको द्वन्द्व गुजुल्टिएको उनको निष्कर्ष पक्का परामर्शदाता पाराको छ। त्यस्तै निर्क्योल नेपालका जान्नेसुन्नेले पनि बेलाकुबेला फलाक्ने गर्छन्। तर, नेतृत्व सामान्य अवस्थाको आवश्यकता हो। संक्रमणकालमा नेतृत्व जन्मिने हो भने त्यो हिटलर वा स्टालिनजस्तो बन्न पुग्ने जोखिम धेरै हुन्छ। समसामयिक समस्या नेतृत्वभन्दा पनि प्रक्रियाको हो। र प्रक्रियाले अविश्वासको स्थगन खोज्छ। स्यामुएल कलरिजका शब्दमा- 'सस्पेन्सन अझ डिस्बिलिफ’।
गंगामाया- नन्दप्रसाद प्रकरणको सुरु तिनका पुत्र कृष्णप्रसादको अपहरण एवं हत्याबाट हुन्छ। सशस्त्र द्वन्द्वताकाका हजारौं घटनामध्येको त्यो पनि एउटा हो। माओवादीद्वारा बेपत्ता पारिएका भनिएकाहरूको लेखाजोखा देखिन थालिए पनि सुरक्षा फौजले गायब गरेकाहरूको पूर्ण वृत्तान्त सायद कथा र कवितामा मात्र भेट्टाइनेछ। अरूका लागि यो तथ्यांकमात्र भए पनि प्रभावित परिवारका लागि आफन्त बेपत्ता पारिनुजस्तो ठूलो अन्य त्रासदीको कल्पना पनि गर्न सकिँदैन। जनकपुरका जयकिशोर लाभ छोराको लास वा सास खोज्दाखोज्दै सहिद भए। अन्ततः तिनको अवशेष फेला त पर्योद तर त्यसबेलासम्म आरोपितहरू पुरस्कृत र सम्मानित भइसकेका थिए। अधिकारी प्रकरणका आरोपित पुरस्कृत हुनसकेका छैनन्। त्यसकारण तिनलाई दण्डभागी बनाउन सकिने सम्भावनाले अधिकारी प्रकरणलाई एकथरीले उपभोग गर्न पाएका हुन्।
ऐन, नियम, कानुन एवं नैतिकताजस्ता विषयमा आमसहमति हुन नसकेपछि समाजमा द्वन्द्व हुन्छ। नभए त नीतिविपरीतको व्यवहार सामान्यतः अपराध नै हो। समाज द्वन्द्वमा प्रवेश गरेपछि नैतिकता एवं मर्यादाजस्ता मान्यताहरूको नयाँ परिभाषा खोजिन थाल्छ। नेपालमा नयाँ परिभाषाको खोजी अझै जारी छ। संविधान लेखनमा कठिनाइ त्यसै देखिएको होइन।
यथास्थितिका पृष्टपोषकहरू स्थापित मूल्य एवं मान्यतालाई नै पुनर्स्थापित गर्न चाहन्छन्। दोस्रो संविधान सभाबाट मतादेशको वैधानिकता प्राप्त गरेपछि माले—मण्डले बाहुल्यको स्थायी संस्थापनको मनोबल बढ्नु स्वाभाविक थियो। द्वन्द्वको तार्किक निरुपण भइसकेको भए मतादेशको अर्थ अस्वाभाविक लाग्ने थिएन। तर, मुलुक त अझै सुषुप्त संघर्षकै अवस्थामा छ। अधिकारी दम्पतीले बेलैमा सायद ठम्याउन सकेनन्। र, द्वन्द्वरतमध्ये तत्काल प्रभुत्वशाली देखिएको पक्षको गोटीका रूपमा तिनका वेदनाको निर्मम प्रयोग भयो। स्थायी सत्ताका लागि उपयोगिताविहीन बन्न पुगेका नन्दप्रसाद अन्तिम समयमा तिरस्कारका पात्र बनिसकेका थिए। गंगामायाको अवस्थाले लज्जाबोध त सायद अधिकारी दम्पतीलाई परिचालन गरेकाहरूलाई पनि भइरहेको हुनुपर्छ। एउटा सीमा पार गरिसकेपछि सम्भवतः सरम पनि स्वाभाविक लाग्न थाल्दो हो। नेपाललाई नेताभन्दा पनि सामूहिक मनोचिकित्सक चाहिएको हुनुपर्छ। पूरै राज, समाज बिरामीसरह जो छ।
महाभारतमा कृष्णको भूमिका सम्मोहक एवं दिग्दर्शकको जस्तो देखिन्छ। उनी युद्धको आवश्यकता स्थापित गर्छन्। हत्या र बध बीचको सीमारेखा प्रस्ट्याउँछन्। युद्धभूमिका नीति र मर्यादालाई पुनर्परिभाषित गर्छन्। र, कसैले रोक्न नसक्ने युद्ध सबैलाई हराउँदै टुंगिन्छ। भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धी कृष्णबाट अभिप्रेरित देखिन्छन् भन्ने मुहम्मद अली जिन्ना र भीमराव अम्बेडकरजस्ताका वृत्तान्तबाट स्पष्ट हुन्छ। तर, अपाच्य परिणाम स्वीकार गर्न समर्थ तुल्याउने उनको असफलताले विभाजनपछिको त्रासदी जन्मायो। हरेक जटिल युद्धमा सेनापतिभन्दा सञ्चालकको भूमिका महत्वपूर्ण हुन्छ। अनाशक्त व्यक्तिले ग्रह र नक्षत्रको दिशा बदल्न सक्छन्। तर, त्यस्तो व्यक्ति कृष्णमात्र हुनसक्छन्। अर्जुन र कर्णको नियति त लड्नु हो। भीम र दुर्योधन महाबली हुन्। जित र हार जे भए पनि हर्षित हुननसक्ने अभिशाप त कुन्ती र गान्धारीले न सहनुपर्छ।
गान्धारी मार्ग
भन्नलाई भगवान कृष्ण घोषणा गर्छन्- 'सम्भवामि युगे युगे ’ उनको पुनरागमनले सृष्टिलाई केही कालसम्म धर्ममय पनि बनाउँदो हो। तर 'सम्भवामि युगे युगे’ को उद्घोषले नै अधर्मको अपरिहार्य अस्तित्व पनि दर्शाउँछ। रावण भएकैले राम छन्। कंस र कृष्ण पनि त्यस्तै होलान्। त्यस्ता विपरीत प्रवृत्तिहरूबीच पनि बाँच्ने बाटो खोज्नुपर्ने रहेछ। विभीषण र विदुर 'सहने तर सत्यका प्रति दृढ रहने’ बाटो देखाउँछन्। समय स्वयं बहुलाएको बेलामा भने गान्धारीजसरी आँखामा पट्टी नबाँधे बाँच्नसमेत सजायतुल्य बन्न पुग्नेरहेछ।
अधिकारी दम्पतीसँग जेजस्तो व्यवहार गरियो त्यो कुनै पनि सभ्य भनिने समाजमा क्षम्य मानिन सत्तै्कन। पुत्र वियोगमा विह्वल मातापिताले सायद सुरुमा सुनवाइ र निर्क्योल चाहेका थिए। क्रमशः त्यो आरोपित व्यक्तिको सजायतिर उन्मुख हुँदै राजनीतिक वितण्डामा रूपान्तरित भयो। सत्याग्रह सामूहिक उद्देश्यका लागि गर्ने गरिन्छ। व्यक्तिगत उपवास तपस्या हो। त्यसको परिणाम ईश्वरीय न्यायको क्षेत्रमा पर्छ। एकथरी माओवादीले कोहोलो मच्चाएजस्तो दोष कथित मानव अधिकारकर्मीको पनि होइन। ती पनि सत्ता खेलको बिसातमा गोटीसरह प्रयोग भएका हुन्। माले- मण्डले संस्थापनले निर्वाचनको वैधता पाएपछि तिनको पनि उपयोगिता समाप्त भएकोमात्रै हो। आफ्नो अनुष्ठानको निरर्थकता अनुभूत गर्ने बेलासम्म स्थिति तिनको पनि नियन्त्रणबाहिर पुगिसकेको थियो। चाहेर पनि अनशनकारीको ज्यान जोगाउन नसक्नेको नैतिक बल कायम रहने कुरा पनि भएन।
तथ्य निरुपण एवं बेपत्ता व्यक्ति खोजी आयोगजस्ता शान्ति प्रक्रियाका थाती काम जति ढिलो हुन्छ व्यक्तिगत तथा पारिवारिक आक्रोश उति नै गहिरो हुँदै जानेछन्। अधिकारी दम्पतीको नियतिले शान्तिपूर्ण द्वन्द्व निर्क्योलको सीमिततालाई पुनः उजागर गरेको छ। नेपालको राज्य, समाज एवं सञ्चार क्षेत्रका संस्था अझै पनि आलाकाँचा नै छन्। तर्कभन्दा भावबाट उद्वेलित हुने प्रशासन, तथ्यको साटो अवधारणाका आधारमा फैसला सुनाउने अदालत एवं भिडको मानसिकता पछ्याउने सञ्चार क्षेत्रले आसन्न द्वन्द्वको पदचाप ठम्याउन सत्तै्कनन्। अग्रसरता राजनीतिकर्मीले नै लिनुपर्ने अवस्था कायम छ।
थपनाका प्रधानमन्त्रीको भूमिकामा सीमित नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका बाध्यता दुनियाँलाई थाहै छ। आफ्नै दलभित्र उनको स्वीकार्यता घट्दै गएको छ। स्थायी सत्ताले उनको निरीहतालाई रोजेको हो। सरकारमा प्रभुत्व जमाउने माले-मण्डले तत्वले जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्री कोइरालाको असफलतालाई नै आफ्नो सफलता मान्ने स्वतः स्पष्ट छ। तर, इतिहासको कठघरामा उभिने बेलामा प्रधानमन्त्री कोइरालाका कुनै कुनै बहाना काम लाग्नेछैनन्। धृतराष्ट्रका बिलौना महाभारतभर छरिएका छन्। भाग्यवश, प्रधानमन्त्री कोइरालाको शासकीय दृष्टिहीनता धृतराष्ट्रको जस्तो नभएर गान्धारीको आँखामा स्वेच्छाले बाँधिएको कालोपट्टीजस्तो मात्र छ।
सिंहदरबारमा तस्बिर, नयाँ दिल्लीमा रातो कार्पेट एवं वासिङ्टनमा न्यानोपन भेट्टाई सकेपछि प्रधानमन्त्री कोइरालाले हासिल गर्न बाँकी उपलब्धि भनेको द्वन्द्वरत नेपाली राज्य समाजको चहर्या इरहेको घाउमा मलम लगाउनुमात्र हो। आँखामा बाँधेको पट्टी फुकालेपछि मात्र उनले गंगामायाका विरक्ति वा चन्द्रकान्त राउतको प्रत्युत्पादक अभियोजनका त्रासद असरहरू स्पष्टसँग ठम्याउन सक्नेछन्। समयको गति भने न कसैका लागि रोकिएको छ न त रोकिने नै छ।
- See more at: http://www.nagariknews.com/opinion/story/25963.html#sthash.lG6SPyw2.dpuf