'हाम्रो काम एन्‍टिडिप्रेसनको डोज'

'हाम्रो काम एन्‍टिडिप्रेसनको डोज' नारायण वाग्ले | २०७१ पौष २६ शनिबार दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय नारायण वाग्लेले दुई प्रमुख दैनिक कान्तिपुर र नागरिकमा स पादकको जिम्मेवारी समालिसकेका छन्। पहिलो उपन्यास 'पल्पसा क्याफे' बाट मदन पुरस्कार हात पारेका वाग्ले दोस्रो उपन्यास 'मयुर टाइ स' पछि तेस्रो उपन्यासको तयारी गरिरहेका छन्। अहिले सेतोपाटी डट कममा आबद्ध वाग्ले शुक्रबार अन्नपूर्ण पोस्ट् न्युज रुममा पत्रकारहरूसँग गफिए (समाचार लेखन, यसका समस्या, अनलाइन तथा इलेक्ट्रोनिक पत्रकारिताको वृद्धिले छापा पत्रकारितामा परेको असर र यसका चुनौतीबारे। प्रधानमन्त्री सुशील कोइरालाले अहिले सबैभन्दा बढी प्रयोग गर्ने शब्द 'ऊ' हो। नेपाली राजनीतिमा 'ऊ' शब्दले बढी अन्योल ल्याउने गरेको छ। राजनीतिमा जस्तो अन्योल र अस्पष्ट 'ऊ' को प्रयोग समाचारमा हुनुहुँदैन। तर समाचारमा 'उ' नै हुनुपर्छ। 'उ' भनेको समाचारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। समाचारले पाठकमा गराउनुपर्ने पहिलो 'उ' उत्सुकता हो। समाचारले सबैभन्दा बढी पाउनुपर्ने पाठकको उत्सुकता हो। उत्सुकता कसरी तयार गर्ने भन्ने पनि विभिन्न आयाम हुन्छन्। उत्सुकता मात्र होइन हामीले पस्केका समाचारले पाठकमा उत्साह पनि ल्याउनुपर्छ। अलिकति नकारात्मक समाचार वा बिग्रेको-नासिएको सूचना दिँदा पाठकलाई उत्साह दिँदैन। पाठकलाई निरुत्साहित पार्ने काम हाम्रो होइन। त्यसो भए के हाम्रो काम पाठकलाई डिप्रेसनको औषधि दिने हो त? हाम्रो काम त एन्टी-डिप्रेसनको डोज दिनुपर्ने हो नि? समाचारले पाठकमा उत्सुकता कायमसँगै उसले खोजेको सूचना दिएर उत्साहित पार्ने काम हाम्रो हो। यसो भयो भने पाठक आफैंप्रति पनि उत्साहित हुन्छ, उसले बुझ्ने दृष्टिकोणमा उत्साह हुन्छ। यसरी 'उ' बाट धेरै उपक्रम जोडेर हेर्न सकिन्छ। यसमा अर्को 'उ' को शब्द ऊहापोह हो। यसको अर्थ एउटै समाचारलाई धेरै कोणबाट हेर्नु र विश्लेषण गर्न सक्नुपर्छ। त्यसको विभिन्न रूप पनि यो 'उ' हो। त्यो नगरी पाठकमा नयाँ उत्साह र उमंग आउँदैआउँदैन। अर्को 'उ' भनेको उन्नति हो। समाचारका कारण पाठक-समाजलगायत सबै क्षेत्रको उन्नति होस्। राम्रो समाचार दिएकोमा पाठकलगायत सबैतिरबाट धन्यवाद र स्यावासी आओस्। यो समाचारको आधारभूत आदर्श हो। हामीसँग चुनौती धेरै छन्। यसतर्फ नगई समाचारतर्फ मात्र केन्द्रित हुदाँ समाचारको उमंगतालाई कसरी पाठकसँग जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ। घटना नकारात्मक नै होस्, आलोचनात्मक नै होस् तर त्यसले पाठकमा उमंगताले छुनुपर्छ। नकारात्मक घटना पढ्दा पनि पाठकमा उमंग तयार गर्ने समाचार हुनुपर्छ। त्यसका लागि पत्रकारको आचरण जोडिएको हुन्छ। नकारात्मक घटना पढ्दा त्यसका विभिन्न आयाम थाहा पाएर पाठक थप उत्सुक बनोस्। पत्रकार उत्सुक नभए समाचारमा उत्सुकता आउँदैन। अनि पत्रकार आफू पनि उत्साही र जिज्ञासु हुनुपर्छ। धेरै अध्ययनशील हुनुपर्छ। विवादका कुरा लेख्न सजिलो हुन्छ, त्यसभित्रको संवाद लेख्न सक्नुप:यो। पत्रकारले समाजभित्र विवाद भएका घटकलाई संवादतिर लगेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। अर्को 'उ' उदांगो हो- लुकेर रहेका कुरा बाहिर ल्याउने। भ्रष्टाचार र विभिन्न तहतप्कामा भएका अन्यायलाई उजागर गरिदिने काम हामीले गर्नुपर्छ। समाजमा पूरै अन्यायको जालो छ। त्यसलाई बाहिर ल्याउनुपर्छ। हाम्रो काम समाजसँग एक दमै जोडिएको छ। त्यसैले मिसन नै उदांगो पार्ने हुनुपर्‍यो। समाचारमा उत्सुकता, उत्साह, उमंग, उदांगो र ऊहापोह हुनुपर्छ। पत्रिकाको प्रस्तुति अरूभन्दा फरक हुनुपर्छ। यसमा हामी एकदमै परम्परावादी, यथास्थितिवादी, अग्रगमनका विरोधी भएका छौं। हामी परम्परावादी ढाँचामा समाचार लेखिरहेका छौं। पत्रकार उत्साही र जिज्ञासु हुनुपर्छ। धेरै अध्ययनशील हुनुपर्छ। विवादका कुरा लेख्न सजिलो हुन्छ, त्यसभित्रको संवाद लेख्न सक्नुप:यो। पत्रकारले विवाद भएका घटकलाई संवादतिर लगेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। सम्पादकले सम्पादकीय नीति बनाउने, न्युज रुमको नेतृत्व गर्ने हो। वृत्ति विकाससँग जोडिएको काममा सम्पादक अभ्यस्त हुने होइन। चूडामणि भट्टराई : समाचार लेखिसकेपछि र प्रकाशित भइसकेपछि त्यसले एउटा सम्पादकलाई कस्तो प्रभाव पार्छ? उत्तर : प्रकाशित समाचारको प्रभाव बढी भयो भने व्यक्तिगत हिसाबमा खुसी हुनु स्वाभाविक हो। कुनैकुनै पत्रिका हेडलाइन हेर्नेबित्तिकै चाँडै बिक्छ। सर्कुलेसन विभागले खुसीको खबर ल्याउँछ। मार्केटिङले आज त पत्रिका हारालुछ भयो, भोलि विज्ञापन थापिन्छ कि भन्ला। पाठकहरूबाट फोन पनि आउँछ र तिमीहरूले कस्तो राम्रो समाचार लेखेछौ भन्छन्। दु:खी हुनेहरूले पनि फोन गर्लान् जसका विरुद्ध लेखिएको छ। योचाहिँ स्वाभाविक प्रक्रिया र तात्कालिक प्रतिक्रिया हो। मचाहिँ त्यो समाचार लेख्ने साथीको कतिको सीप विकास भइरहेको छ? थप के नयाँ विषयवस्तु उजागर भयो? अनि हाम्रो न्युज रुम कसरी लाभान्वित भयो? भन्नेमा जोड दिन्छु। तत्कालीन खुसीसँगै त्यसले गरेको अभ्यास, सीप विकास र अनुभव पुँजी हो भनेर त्यसको विकासमा जोड दिन्छु। चूडामणि भट्टराई : समाचारबाट समाजमा नकारात्मक र सकारात्मक प्रभाव परेको अनुभव यहाँसँग छ। त्यसबाट आउने प्रतिक्रिया कस्तो पाउनुभएको छ? उत्तर : समाचारमा गल्ती हुन्छ। थचक्कै बसिन्छ। आफ्नो असावधानी धेरै भएको हुन्छ। गल्तीबाट पाठ सिकिन्छ। मेरो निर्णय क्षमता नै पुगेन भन्ने हुन्छ। लेख्दा गृहकार्य पुगेन भन्ने हुन्छ भन्ने सम्पादकको हिसाबमा जजमेन्ट पुगेन भन्ने हुन्छ। आवेशमा आएँ, त्यहाँनेर साथीभाइसँग थप परामर्श जरुरी थियो भन्ने लाग्छ। तर म अलि अन्तरमुखी स्वभावको छु। एक्लै हिँड्ने, एकान्तमा रमाउने मानिस हँ'। मेरो स्वाभाव पत्रकारितासँग कति फिट छ थाहा छैन। नेतृत्व गर्ने विषयमा मेरा निश्चित केही कुरा मिल्दैनन्। त्यसबाट मैले धेरै कुरा सिकेको छु। मेरो जीवनशैलीमा विरोधाभास भूमिकाका कारण धेरै कुरा सिकाएको छ। अलि खुल्ने समूहमा छलफल गर्न आवश्यक देख्छु। आफूलाई अलि परिवर्तन गरेकोजस्तो महसुस गरेको छु। आशिष ज्ञावली : अहिले समाचार अनलाइनदेखि अडियो, भिजुवल तत्कालै प्रसारण हुन्छ। तर छापमा धेरै समयपछि त्यही समाचार प्रकाशित हुँदा त्यसको प्रभावकारिता कति होला? उत्तर : पहिला पत्रिकामात्र थियो, त्यसपछि रेडियो आयो। रेडियो आउँदा पत्रिकालाई गाह्रो हुन्छ भनियो। रेडियो र पत्रिका सँगै चले। टेलिभिजन आयो, ल अब त सकिने भो भने। तर पत्रिका पनि चल्यो, रेडियो पनि चल्यो र टेलिभिजन पनि चल्यो। त्यसपछि इन्टरनेट आयो। ल अबचाहिँ छापा सकिने भो भनियो। यो आएपछि प्रभावचाहिँ पर्‍यो। पत्रिकाको प्रभाव पहिलाको जस्तो छैन। रेडियोको पनि त्यस्तै छ, टेलिभिजनको पनि त्यस्तै छ। तर सकिएको त छैन। चुनौती दिएको छ, सकिएको छैन। अनलाइनमा त रेडियो छ, टेलिभिजन छ र पत्रिका पनि छ। सबैभन्दा धनी त पत्रिका नै छ नि। यसले अरू तीनवटै माध्यमलाई चुनौती दिएको छ। यी सबै माध्यमका कुरा हुन्। अहिले मोबाइलको जगजगी छ। मोबाइलले भोलि कता लैजान्छ। माध्यममा विविधता आएको छ। तर समाचार र पाठक त बढेका बढ्यै छन्। मचाहिँ समाचार लेख्ने मानिस। मलाई समाचारको खाँचो हुन्छ। तर त्यो त झन् बढेको छ। पहिला समाचारका लागि माध्यम महत्त्वपूर्ण विषय थियो भने अहिले विषयवस्तु महत्त्वपूर्ण हुँदै गएको छ। समाचार घटेको छैन, माध्यममा विविधता आयो। समाचारको पहुँच विस्तार भयो। अनलाइनमा आज लेखेको समाचार भोलिको पत्रिकामा कसरी लेख्ने भन्ने कठिनाइ हाम्रो दैनिक जीवनमा छँदैछ। यसमा दृष्टिकोण नै फरक हुन्छ। म अनलाइनमा लेख्छु मलाई भोलि बिहानको पत्रिका कुर्नै पर्दैन। तर पत्रिकाको डेडलाइन भोलि हुने भएकाले तपाईंले त्यसलाई कसरी विशेष बनाउने भन्नेमा ध्यान दिनुपर्छ। पत्रिका पढ्नका लागि बाध्य बनाउनुपर्छ। पत्रिकामा त्यही समाचार किन कसरी छाप्ने भन्ने कुरा तपाईंले गर्ने अभ्यासमा भर पर्छ। पत्रिकामा कसरी लेख्ने? समाचार त पहिल नै अनलाइनमा आइसकेको हुन्छ। तपाईंलाई न्युज रुममा समाचार कसरी प्रभावकारी बनाउने भनेर सिनियरले केही भन्नुहोला। डिटेलमा जानु, गहकिलो बनाउनु, अरू माध्यममा आएको भन्दा पृथक् बनाऊ भनेर सल्लाह दिएको हुनसक्छ। पत्रिकाको प्रस्तुति अरूभन्दा फरक हुनुपर्छ। अहिले अलिअलि फरक देखिए पनि पूर्ण रूपमा जान सकेको छैन। यसमा हामी एकदमै परम्परावादी, यथास्थितिवादी, अग्रगमनका विरोधी भएका छौं। हामी परम्परावादी ढाँचामा समाचार लेखिरहेका छौं। त्यसलाई परिवर्तन गर्न सकिरहेका छैनौ। आफूलाई परिवर्तन गर्न उत्सुक भएनौं र आवश्यक ठानेनौं भने त्यो पत्रिकामा झल्किहाल्छ। अनि म कति समाचार लेख्न जान्दछु, कति वाक्य गठन गर्न जान्ने भएँ भन्ने विषयमा गर्व गर्न सकिँदैन। अहिले यो चुनौती हो। सुवास गोतामे : तपाईं अन्नपूर्ण पोस्ट्को एउटा पाठक पनि हो, कस्तो लाग्छ? हामी पत्रिकालाई एक नम्बर बनाउने भनेर लागिरहेका छौं। यसमा तपाईंको सुझाव के छ? उत्तर : पत्रिका एक नम्ब र दुई नम्बरचाहिँ सर्कुलेसनले भन्ने कुरा हो। न्युज रुममा त्यो भाषा प्रयोग हुँदैन। हामी कति महत्त्वपूर्ण समाचार लेखिरहेका छौं भन्ने ख्याल गर्नुपर्छ। अन्नपूर्ण वैचारिक रूपमा स्पष्ट छ। म युवराज दाइसँग काम गरेर आएको हुँ। त्यसकारण पनि विचारमा स्पष्ट छ। उहाँको सम्पादकीय नीति एकदमै स्पष्ट छ। समाचार र लेखरचनाचाहिँ अरूभन्दा खासै फरक छैनन्। पत्रिकामा पुराना र प्रभावशाली साथीहरू छन भने त्यसको प्रभाव पत्रिकामा आइहाल्छ। पिताम्बर सिग्देल : कतिपय मिडिया हाउसमा सम्पादक नै पत्रकारको वृत्ति विकास गर्न चाहँदैनन् भन्ने कुरा पनि आएका छन्। वृत्ति विकास नभए क्षमता अभिवृद्धि पनि हुँदैन यो समस्याको चुरो कुराचाहिँ कहाँ छ? उत्तर : समाचारमाध्यम वा पत्रिकाहरू व्यवसायका लागि खोलिएका छन्, पत्रकारिताका लागि होइनन्। व्यवसायका लागि भएकाले त्यसमा विभिन्न स्वार्थ गाँसिएको हुन्छ। त्यसको मुख्य स्वार्थ पत्रकारितामात्र हुनुपथ्र्यो। तर पत्रकारितामात्र गरेर हाम्रो संस्था टिक्दैन भनेर त्यसको असर सम्पादकीय टिममाथि पर्छ। त्यसको असर पत्रिकामा पर्छ भन्ने बुझेको प्रकाशनगृहबाट मात्रै वृत्ति विकासको सम्भावना देख्छु। मेरा धेरै गल्ती होलान्, साथीहरूका पनि होलान्। उद्देश्य स्पष्ट नभएको, प्राथमिकता छुट्ट्याउन नसकेको, पत्रकारितामात्रै गरेर प्रकाशनगृह बलियो हुन्छ भन्ने आत्मविश्वास नभएको संस्थाबाट वृत्तिविकासको आशा गर्न सकिन्न। गोपीकृष्ण ढुंगाना : नेगेटिभ समाचारले मात्र पत्रकारिता चल्छ भन्ने मान्यता छाडेर सकारात्मक समाचारको सम्भावना कति देख्नुहुन्छ? उत्तर : सकारात्मक, नकारात्मक, आलोचनात्मक भन्दा पत्रकारिता पत्रकारिता नै हुनुपर्छ। समाचार समाचार नै हुनुपर्छ। टिप्पणी टिप्पणी नै हुनुपर्छ। समाचारले धेरै छोपिएका विषयवस्तु उदांगो पार्छ। नकारात्मक समाचारले सकारात्मक परिवर्तन गर्ने भएकाले त्यसलाई नकारात्मक भन्न मिल्दैन। हाम्रो समाचारको प्राथमिकता पाठक हेरेर तय हुन्छ। यम विरही : पत्रकार आफैं लगानी गर्न सक्दैनन्। समाजको बेथिति उदांगो पार्नका लागि पत्रकारलाई प्रकाशनगृहको समर्थन भएन भने के गर्ने? कतिपय सञ्चारमाध्यममा लामो समय सम्म पारिश्रमिकसमेत नदिएको अवस्थामा कसरी पत्रकारमा नैतिक साहस आउन सक्छ? उत्तर : पत्रकारितामा गैरपत्रकारी आचरण भयो भने त्यो कारबाहीको भागीदार बन्नुपर्छ। त्यो पत्रकारिताका लागि हो। दस हजार भन्दा बढी पत्रकारको समस्या मेरो व्यक्तिगत भोगाइले भन्दा त्यसको सही जबाफ आउन सक्दैन। तर पत्रकारिता जागिर होइन। जागिर होइन भन्नेबित्तिकै अलिकति उमंग र जोखिम लिन सक्ने क्षमता थपिन्छ। म अलिकति जोखिम लिन सक्ने साहसी र निर्भीक भएँ भने सबै समाचार ल्याउन सक्छु। म आफैं जिज्ञासु उत्साही हुन सक्छु। सही रूपमा निर्भीक तरिकाले ल्याएको समचार छापिएन भने त्यो मलाई होइन पत्रिकालाई घाटा हुन्छ। सही समाचार छाप्दैन र नछाप्नुपर्ने कारण पनि मलाई आश्वस्त पार्न सक्दैन भने दालमा कालो छ भनेर म विकल्प खोज्न थाल्छु। यो चुनौती पनि हो विशेषता पनि हो। तर पत्रकारहरू जहाँ न्युज रुममा बसेका हुन्छन् उनीहरूको हकहितका लागि सामूहिक काम हुनुपर्छ। नत्र व्यक्तिमात्र सिकार हुन्छ। सामूहिक भावना ल्याउनु भनेको कसैलाई अन्याय पर्दा बोलिदिनु भन्ने हो। शम्भु कट्टेल : तपाईं ठूला पत्रिकामा काम गरिसक्नुभएको छ। यसरी काम गर्दा व्यवस्थापन, प्रशासन, ठूला घरानाबाट समाचार छाप्न र नछाप्न दबाब आएको अनुभव छ भने बताइदिनुहुन्छ कि? उत्तर : मैले कान्तिपुर र नागरिकमा काम गरें। ती दुवै संस्थाका प्रकाशकहरूसँग मेरो हुर्काइ, बुझाइ र पढाइ सँगसँगै भएको हो। संघर्ष पनि एकैसाथ गरेर आएका हौं। एकले अर्कालाई बुझ्ने काम बढी भएकाले काम गर्ने वातावरण अनुकूल थियो। दबाब सामान्य कुरा हो। त्यसलाई भयानक ठान्नु हुँदैन। सम्पादकले प्रकाशकसँग कस्तो सम्बन्ध राख्छ भन्ने कुरा पत्रिकामा झल्किहाल्छ। पत्रकार कस्तो भन्ने कुरा उसको पहिचानसँग झल्किहाल्छ। मैले काम गरेका प्रकाशक -सम्पादकलाई यो कुरा भन्नुहुन्छ यो भन्नु हुँदैन भन्ने बुझाइ भएकाले त्यस्तो कुनै महसुस भएन। मैले सम्पादकीय निर्णयबाहेक अरू निर्णय गर्नुपर्ने अवस्था झेल्नुपरेन। यस अर्थमा पनि म आफूलाई धन्य ठान्छु। म सम्पादक भएको समयमा माओवादी जनयुद्ध उत्कर्षमा थियो, दरबार हत्याकाण्ड थियो। अलिकति चुनौतीपूर्ण अवस्था थियो। धरपकड भयो, आन्दोलन भयो। त्यसमा म रमाइलो महसुस गर्छु। यम विरही : सम्पादकहरू श्रमजीवी पत्रकारका पक्षमा भन्दा बढी नै मालिक परस्त हुन्छन् किन होला? उत्तर : सम्पादकले प्रकाशकसँग पुलको काम गर्ने हो। तर हाम्रोचाहिँ सम्पादकलाई बढी भार दिइएको छ। त्यो गर्नुहुन्न भन्ने मान्यता छ मेरो। सम्पादकले सम्पादकीय नीति बनाउने, न्युज रुमको नेतृत्व गर्ने हो। वृत्ति विकाससग जोडिएको काममा सम्पादक त्यसरी अभ्यस्त हुने होइन। ट्रेड युनियन र प्रकाशनगृहको कमजोर अवस्था, वृत्ति विकासको परम्परा नभएको, देशमा कानुनी शासन नभएको अवस्थाका कारण सम्पादकको आधा टाउको दुखाइचाहिँ त्यसैमा बित्छ। हरेक संस्थामा युनियन हुनुपर्छ र वृत्ति विकासको नेतृत्व त्यसैले गर्नुपर्छ। रामकला खड्का : महिलाका समाचारले प्राथमिकता नपाएको गुनासो बढेको छ। तपाईंले महिलाका समाचार कति लेख्नुभयो? उत्तर : समाचार कुन महिलाको हो म छुट्याउँदिनँ। समाजसँग जोडिएको विषय समाचार हो। समाजको सबै विषय महिलासँग जोडिएको हुन्छ। मनोज दाहाल : अनलाइन, टेलिभिजन, र रेडियोले केही घटना भए तुरुन्तै समाचार दिन्छ। तर त्यही सूचना हामी भोलि बिहान पत्रिकामा दिन्छौं। यसबाट पाठकलाई अन्याय गर्ने कि त्यसको गहिराइमा पुगेर कसरी समाचार दिने? उत्तर : हामीले कान्तिपुर छाड्नेबित्तिकै अनलाइन सुरु गर्‍यौं। अनलाइन सुरु गर्न नै कान्तिपुर छाडेका हौं। नागरिकबाट निस्कनेबित्तिकै सेतो पाटीमा हामी लाग्यौं। अनलाइनमा धेरै लगानी चाहिँदैन। अब प्रकाशकको भूमिका कम र विचार प्रविधि तथा आइडिया बढी चाहिन्छ। म पत्रकारिताप्रति हिजोभन्दा आज झन् आशावादी भएको छु। तर अब समाचार कसरी लेख्ने भन्ने प्रश्न आइरहेको छ। अनलाइनको विकासले पत्रिकामा कस्तो भाषा प्रयोग गर्ने भन्ने प्रश्न छ। त्यो भाषा कतै न कतै छ। तर हामीले भेटेका छैनौं। यसका लागि साधना चाहिन्छ। साधना नगर्नेले केही गर्न सक्दैन। दीपा दाहाल : सकारात्मक पत्रकारिताबारे के भन्नुहुन्छ? उत्तर : समाचारमा सकारात्मक वा नकारात्मक म भन्दिनँ। तर समाचार नकारात्मक भयो भने पनि त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउँछ। गाडी दुर्घटना भएर ५० जना मान्छे मरेको समाचारले समाजमा उत्साह ल्याउँछ र? तर तपाईं पत्रकार भएर दुर्घटना भएका ठाउँमा गएर रुँदै हिँड्न मिल्छ? म त हवाई दुर्घटना हुँदा लासमाथि टेक्दै हिँडेको छु। बिरामीको घाउ देखेर डाक्टर डराएर त हुँदैन नि। तर त्यसको समाचार सबै पक्ष आउनेगरी लेख्नुपर्छ जसले भोलिदेखि यस्तो दुर्घटना नहोस् भन्ने सन्देश दिन सकोस्। गोविन्द रेग्मी : नेपालमा खुलेका मिडियाले आर्थिक भारत थेग्न सकेका छैनन् भनेर मर्जका कुरा पनि आएका छन् नि? उत्तर : मर्ज हुनु स्वाभाविकै हो। यो हुनु पनि पर्छ। यसले गतिचाहिँ लिन्छ। तर कसरी त्यो म भन्न सक्दिनँ। नवराज ढकाल : पत्रकार बिरामी परे भने व्यक्तिगत रूपमा पैसा उठाएर उपचार गर्नुपर्छ। पत्रकार नेताहरूले नहेरेर यस्तो भएको हो। सम्पादकहरूले यस विषयमा विचार पुर्‍याउनुपर्ने हो कि? उत्तर : फेरि म दोहोर्‍याउँछु- सम्पादकलाई अनावश्यक भार नदिनुस्। त्यो भारको जिम्मा नेपाल पत्रकार महासंघलाई दिनुस्। पत्रकार महासंघका शाखा निर्वाचन गर्दा हामीले थपडी बजाएर फोटो राख्छौं। तर उनीहरूलाई दायित्व काहिल्यै दिँदैनौं। कृष्ण किसी : एउटै घटनालाई हामी फरक तरिकाले दिन्छौं। यस विषयमा के भन्नुहुन्छ? उत्तर : नेपालमा अन्योलग्रस्त कोही छन् भने ती पत्रकार हुन्। तर हामीलाई फुर्सद छ, अनेक कुरा देख्छौं। पाठकलाई हेर्ने फुर्सद छैन। फेरि पेसाका कारण हामी एउटामात्र सूचनामा भर पर्दैनौं। एउटा पत्रिकाले के लेख्यो अर्काले के लेख्यो भनेर हामी चासो पनि दिन्छौं। तर हामी सूचानाको भीडले पाठकलाई हामीले कन्फ्युज त पारिरहेका छैनौं भन्ने प्रश्न पनि उत्तिकै छ। तपाईंले काम सही गर्नुस्, पाठक आफैंले विश्लेषण गर्छ। राजेश बर्मा : सूचना माग्दा कुनै निकायले सीधा दिएन भन्ने त्यसलाई बाहिर ल्याउन अन्य उपाय अपनाउनु हुन्छ कि हुँदैन? उत्तर : तपाईंले सूचना लिँदा फौजदारी कसुर लाग्नु भएन। अर्काको चरित्रहत्या हुनु भएन। अर्कालाई अन्याय पर्ने कसुर गर्नु भएन। अर्कालाई हानि नपुर्‍याई सूचना लिन मिल्छ। यो गर्नु पनि पर्छ। माधव ढुंगेल : सम्पादक हुनु भनेको पत्रकारिताको अन्त्य हो कि जस्तो लाग्छ। नेपालमा सम्पादक भएपछि फेरि संवाददाता हुने चलन छैन। उमेरअनुसार सबै कुरा कमी भएर आएको हो कि ? उत्तर : मानिसको रचनात्मकता सकिन्छ। उमेरअनुसार रुचि पनि फरक भएरजान्छ। यो व्यक्तिगत चाहनामा पनि भरपर्छ। मचाहिँ सम्पादक होइन। खोजी हिँड्ने मौलिक चारित्रको संवाददाता हुँ। म लठ्ठी टेक्दै पनि संवाददाता नै हुने हो। मलाई त्यसले नै सबैभन्दा बढी सन्तुष्टि दिन्छ। सम्पादक पद हो त्यो अक्षुण्ण हुँदैन। - See more at: http://www.annapurnapost.com/News.aspx/story/5534#sthash.iTXfeC63.sWsufF7E.dpuf