जिविसको योजना तर्जुमा गोष्ठी कर्मकाण्डी रहेको गुनासो
जिविसको योजना तर्जुमा गोष्ठी कर्मकाण्डी रहेको गुनासो
महोत्तरी समाचारदाता
जलेश्वर, पुस १९ गते । जिल्ला विकास समिति महोत्तरीले कर्मकाण्डीरुपमा आवद्यिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको आरोप स्थानीय युवा तथा महिलाहरुको रहेको छ ।
युनिसेफको आयोजनामा जिल्ला विकास समितिले आयोजना गरेको पाँच दिने आवद्यिक योजना तर्जुमा कार्यशालामा महिला र युवाहरुको उपस्थिती नगण्य देखिएपछि युवा तथा महिलाहरुले सो आरोप लगाएका हुन् ।
जिल्ला विकास समितिले आयोजना गरेको कार्यशालामा विभिन्न कार्यालय, राजनीतिक दल, संघसंस्थासहितका सय भन्दा प्रतिनीधि उपस्थित भएकोमा महिलाको सहभागिता दश प्रतिशत र युवाको पनि सोही अनुपातमा उपस्थिती रहेको संचारकर्मी राकेशप्रसाद चौधरीले बताउनुभयो ।
संचारकर्मी चौधरीले युनिसेफको आर्थिक सहयोगमा आयोजित कार्यशालामा बाल क्लव तथा युवा प्रतिनिधिका रुपमा बालिका तथा युवतीहरुको उपस्थिति देखिएपनि अन्यक्षेत्रबाट भने नगण्यमात्रामा उपस्थिती देखिएको जानकारी दिनुभयो ।
महिला तथा बालबालिका कार्यालय तथा महिला अधिकारकर्मीहरुले बिभिन्न संघसंस्थाहरुलाई महिलाको अनिवार्य उपस्थितीबारे पत्राचार नै नगरिएको आरोप लगाउँदै यसले कार्ययोजनाले अपेक्षित सफलता नपाउने दावी समेत गर्नुभयो ।
नेतृत्वमा युवाको संलग्नता सञ्जालका अकवर अंसारीले महिला, युवा तथा लक्षित वर्गको संलग्नता न्यून हुँदा पनि युनिसेफ र जिविसले बढाउनेबारे केही नगरेको वताउनुहुदै महिला र युवाको संलग्नताबिना कस्तो योजना बन्ला जिकिर गर्नुभयो ।
यसैबीच जिल्ला बिकास समिति महोत्तरीको आयोजनामा सम्पन्न पाँच दिने पंचबर्षीय आवधिक जिल्ला बिकास योजना तर्जुमा कार्याशालाका सहभागीलाई मुख हेरेर भत्ता बाँडिएको छ । सोही कार्यक्रममा एउटा ल्यापटाँप तथा एउटा मोबाइल चोरी भएको छ ।
युनिसेफको आर्थिक सहयोगमा हुने अधिकांश कार्यक्रममा जिल्ला बिकास समितिले आफ्ना समर्थकहरुलाई बोलाएर पटक पटक आर्थिक अनियमितता गरेपनि कसैले कारबाही गर्न नसकेको सहभागीहरुले बताए ।
कार्यशालामा उपस्थित हुनुभएका युगपुकार साप्ताहिकका प्रकाशक सम्पादक तथा प्रेस स्वतन्त्रा सेनानी कुवरकान्त झाले आफुँ पाँच दिन सहभागी भएपनि आफुलाई भत्ताबाट बञ्चित गरिएको बताउनभयो । त्यस्तै कार्यशालामा सबै राजनीतिक दलका जिल्ला प्रतिनिधिलाई आमन्त्रित गरिएपनि बदनियतापूर्वक आफ्नो पार्टीलाई नबोलाएकोमा तराई मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डेयले असन्तुष्टि ब्यक्त गर्नुभयो ।
स्थानीय विकास अधिकारी रामुराज कडरियालाई यससम्बन्धमा केही पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले पत्रकारहरुले कराउने काम मात्रै गर्ने गरेको बताउनुभएको थियो ।