मधेसी धर्तीको यथार्थ

विचार/विश्‍लेषण [विचार] 
Kishor Nepal
Sabhar : Kantipur
 कार्तिक १६, २०७२- नेपाली मधेसका नागरिकहरुको अधिकारका बारेमा केही लेख्नु वा टिप्पणी गर्नु निकै खतरनाक विषय हुन थालेको छ । मधेसका जनताको आन्दोलनप्रति सहानूभूति राख्ने कसैको पनि देशप्रेम र राष्ट्रवाद थाहै नपाइ शंकाको दायरामा पारिन्छ । मधेस तराई घुमेर समाचार टिप्पणी लेख्नेहरु विभिन्न वक्रोक्तिका शिकार बनाइन्छन् । मधेसी अधिकारको खिल्ली उडाएर आफूलाई सबभन्दा ठूलो राष्ट्रवादी प्रमाणित गर्ने होड चलेको छ । राज्यको केन्द्रका रुपमा रहेका काठमाडौंका अधिकांश संचार–माध्यम र सामाजिक संजाल मधेसप्रति हदैसम्म असहिष्णु देखिन थालेका छन् । नेपाली मधेसको चर्चा गर्नु, नेपाली मधेसीका अधिकारप्रति सचेत दृष्टिकोण राख्नु र नेपाली मधेसलाई नेपालको बाँकी भू–भागसँग अलग पार्न नहुने विचार अभिव्यक्त गर्नुलाई नेपाली राष्ट्रवादविरोधी गतिविधि ठानिन थालेको छ । तर, यथार्थ अभिव्यक्तिको वेगलाई कसैले रोक्न सक्दैन । भारतसँग जोडिएका सीमानाका प्रमुख नाकाहरुमा भएका नाकाबन्दीले अभाव सिर्जना गरेपछि एकाएक शुरु भएको यो कथित राष्ट्रवादले राजनीतिक अन्योलको सिर्जना गरेको छ । मधेसीहरुले काठमाडौंका लागि उपभोग्य सामग्रीहरुको आपूर्तिमा अवरोध गरेकोमा कुनै शंका छैन । यो नाकाबन्दीमा भारतको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेकोमा पनि शंका गरिरहने आवश्यकता छैन । नाकाबन्दी भएको असत्य होइन । तर, जेका लागि नाकाबन्दी भएको हो त्यो पनि असत्य होइन । संविधान निर्माणका क्रममा राज्यको केन्द्रमा निर्णायक तहमा बसेका दलका नेताहरुले नै मधेसका नेपालीहरुलाई घचेटेर नाकाबन्दीसम्म पुर्‍याएका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि जानी–जानी गरेका गल्तीहरुको सुधार पनि अब उनीहरुबाटै हुनुपर्दछ । राज्य पुनर्संरचनाका क्रममा आफ्नै देशका जनतासँग अधिकारका मामिलामा दोहोरो मापदण्ड अख्तियार गर्न मिल्दैन । नाकाबन्दीमा भारतको संलग्नता घोषित भए पनि र नभए पनि मधेसको आन्दोलन नाकाबन्दीबाट निकैपर जनताको भित्रि तहसम्म पुगिसकेको छ । नाकाबन्दीको प्रभाव राजधानीमा मात्र होइन, मधेस पहाड जताततै समान रुपले परेको छ । यो सत्यलाई कसैले इन्कार गर्न सक्दैन । देशका नीति–निर्माता र बुध्दिजीवीहरु भारतीय प्रवृत्तिको विरोधमा विश्लेषण प्रस्तुत गर्न स्वतन्त्र छन् । तर, मधेसको अहिलेको आन्दोलन मधेसका स्थापित नेताहरुको उत्प्रेरणाले मात्र भएको होइन । संविधान निर्माणको क्रममा मधेसप्रति देखाइएको उपेक्षा भावले सामान्य नेपाली मधेसीको चित्त दुखाएको छ । त्यो नहुँदो हो त मधेसको आन्दोलन यति उर्जाशील हुने थिएन । सिराहा जिल्लाको माडर एउटा सानो नाका हो । भारतको जयनगर नजिकको यो भूभाग कमला नदीको भारततिर निर्गम विन्दू पनि हो । यहाँको छोटी भन्सारबाट संकलन हुने राजस्व दश पन्ध्र लाख पनि नाघ्दैन । तैपनि, यो नाका सक्रिय रुपले बन्द छ । मधेसवादी दलका नेताहरु भन्दा पनि सिराहका जनता आन्दोलनमा भिडेर लागेका छन् । प्रधानमन्त्री नबन्दै केपी ओलीले जोडेका आँप र माखे सांग्लोका दुइटा तुक्काले यहाँका जनताको चित्त दुखाएको छ । विजय यादवका विचारमा राजनीतिक दलहरुले लत्तो छाडे भने पनि मधेसका युवाहरु आन्दोलनबाट पछि हट्नेवाला छैनन् । जनताको अधिकारलाई संस्थागत गर्ने अभियानमा मधेसका तन्नेरीहरु जुटेका छन् । मधेसका जनताको भावना अधिकारउन्मुख छ । मधेसी जनताका अधिकारको उपेक्षा गरेर राज्य आफैले द्वन्द्व निम्त्याएको निष्कर्षमा पुगेका छन् यहाँका जनता । ‘राज्यले मधेसका नेपालीहरुको उपेक्षा गरेर उग्रवादी जन्माइरहेको छ,’ यादव भन्छन्, ‘सिरहामा मधेशी पहाडीको विभाजन छैन । नाकाबन्दीमा पहाडीको पनि समर्थन र सहानूभूति छ । तर, किन हो राज्य यो सद्भाव विथोल्न खोजीरहेको छ ।’ राज्य निर्माणका क्रममा हिजो असफल सावित भएको नेतृत्व नै अहिले पनि अग्रसर छ । नयाँ मान्यता स्थापित गर्नेभन्दा पनि पुरानै पाराले सरकार चलाउने हतारमा रहेको छ नेतृत्व । रमोलका मोहम्मद खालिद आन्दोलनमा सक्रिय छन् । इस्लाम धर्मका अगुवाका रुपमा चिनिएका खालिदको भनाइ छ– ‘हामी नेपाली हौं । नेपालका दसनामी समुदायले जति अधिकार पाएका छन् त्यति नै अधिकारी सबैले पाउनु पर्छ । नेपाली नेपालीका बीच विभेद कायम रहने हो भने गणतन्त्र नै किन चाहियो ? हामी कोही पनि विखण्डन चाहँदैनौ । हाम्रो यो आन्दोलन विखण्डनका विरुध्द हो । सबै मिलेर देश बनाउने चाहना त आखिर सबै नेपालीको एउटै हो । अहिलेका हाम्रा जे जति माग छन् ती राज्यले नै उठाउन बाध्य पारेका माग हुन् । धेरै पहिलेदेखि राज्य संचालकहरुले मधेसका गरिब जनताको मजाक उडाउने काम गरिरहेका छन् । जबसम्म मधेसका जनता अधिकार सम्पन्न हुँदैनन् तबसम्म यो अवस्था कायम रहन्छ ।’ मधेसको आन्दोलन भारतले चलाएको आरोपले आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । ‘रोटी र बेटीको सम्बन्ध आफनो ठाउँमा छ । अन्यथा भारतसँग हाम्रो राजनीतिक सम्बन्ध छैन,’ सिराहका किशोरी यादव भन्छन्, ‘अहिलेको अवस्था र २०३६ को अवस्थामा धेरै परिवर्तन आएको छ । उतिबेला मधेसी र पहाडीका बीच मनमुटावको राजनीति थियो । यतिबेला दुवैका बीच सौहाद्र्रपूर्ण सम्बन्ध छ । सिराहबाट हामीले प्रचण्डलाई चुन्यौं । अब रुकुम–रोल्पाबाट मधेसको नेताले पनि त जित्नुपर्छ । त्यो नभई कसरी बलियो हुन्छ नेपाल ?’ किशोरी यादवको विचारमा कतै पनि अतिशयोक्ति छैन । उनले राजनीतिलाई समग्रमा र सही परिवेशमा बुझेका छन् । नेपाली समाज समावेशी र अधिकारसम्पन्न नभएसम्म नेपालको विकास सम्भव छैन । राज्य माथि कुनै एक जातिको वर्चस्व रहिरहने हो भने भारत वा अरु कसैको हस्तक्षेप जारी रहन्छ । नेपाली मधेसका नागरिकलाई भारतीय भनेर शंका गर्ने संकीर्ण मानसिकताले देशको हित गर्दैन । हामी संघीय गणतन्त्रको युगमा आइपुगेका छौं र पनि एकात्मक राज्य व्यवस्थाको शैलीमा काम गरिरहेका छौं । यसले पक्कै पनि हाम्रो समाजलाई उन्नतिशील बनाउँदैन । अहिले सरकारी संयन्त्रहरु कुन नाकाबाट कति ट्यांकर तेल आयो र कति बुलेट ग्यास आयो भन्ने गन्तिमा सक्रिय छन् । शीर्षमा रहेका नेताहरु देशको समस्यामा भन्दा सत्ताको खुशीमा रमाएका छन् । मधेशी मोर्चासँगको वार्तामा सरकारले चाहिँदो तत्परता देखाउन सकेको छैन । संविधान संकटमा परेको परेकै छ । नेतृत्वमा बसेकाहरुको विवेकको परखको समय हो यो । हाम्रो समस्या हामी आफैं हौं । अहिले प्रतिविम्वमा देखिएका मोदी र भारत दुवै उस्तै हुन् । हाम्रा सबै ठूला नेताहरुको स्पष्ट तस्वीर त्यही प्रतिविम्वमा एकपटक मात्रै होइन, पटक पटक देखिएको छ । प्रकाशित: कार्तिक १६, २०७२

http://bit.ly/1WqRSrX