कडा सुरक्षाबीच थुनछेक वहस शुरु

कडा सुरक्षाबीच थुनछेक वहस शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्या तथा एम्बुलेन्समा आगजनी घटनामा संलग्न भएको भन्दै २८ जना माथि दिइएको मुद्दामा कडा सुरक्षाका बीच महोत्तरी अदालतमा थुनछेक वहस शुरु भएको छ ।
महोत्तरी र धनुषाका ५६ जना अधिवक्ताहरुले सो मुद्दामा निशुल्क वहस गर्ने जनाइएको छ । सो वहसलाई लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसरसहित सो एरियामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अदालतमा सेवाग्राही बाहेकका अन्यलाई मूलगेटमै प्रवेशमा निषेध गरिएको छ भने सेवाग्राहीलाई पनि कडा चेकजाँच पछि भित्र जान दिइएको छ । अधिवक्ताहरु, सेवाग्राहीहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुलाई सहज गरिएपनि अन्यलाई भित्र जान दिइएको छैन् ।
अदालत बाहिर भने मोर्चासम्बद्ध नेता, कार्यकर्ताहरु तथा स्थानीय महिलाको भिड रहेको छ । उनीहरुले आफुहरुलाई प्रहरी, प्रशासनले भित्र जान नदिएको जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश रायले प्रहरी प्रशासनले निरंकुश शैली अपनाएको वताउनुहुदै अदालत प्रवेशमा रोक लगाउने कार्यको भत्सर्ना गर्नुभयो । उहाँले अदालतमा भईरहेको वहस आफुहरुले पनि सुन्न पाउनुपर्ने वताउनुभएको छ ।
वहस जिल्ला अदालतका १ नं. ईजलासमा न्यायाधिश किरणकुमार पोखरेलले हेरिरहनुभएको छ । अदालतमा वहस सुन्न तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लाल लगायतकाहरुको उपस्थिती रहेको छ ।
महोत्तरीमा गत भाद्र २५ गते सशस्त्रका असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले जलेश्वर न.पा.वार्ड नं. ३ बस्ने वर्ष २५ को संजयकुमार साह, जलेश्वर नपा वडानं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी र फुल्हटा प्रकौली वार्ड नं. ३ घर भई हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुरलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी सोही घटनामा संलग्न रहेका २५ जना अहिले पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर फसाएको आरोपमा सोमबार जलेश्वर बजार बन्द गराएका छन् । त्यसैगरी मोर्चाले अदालतले पनि एकपक्षिय फैसला गर्न नहुने भन्दै जलेश्वरको ठाउँ ठाउँमा व्यानर झुण्डयाएका छन् ।