राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । महोत्तरी जिल्लाको विद्यालय स्तरमा सञ्चालित आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको बनौटामा सम्पन्न प्रतियोगितामा जनता उच्च माध्यमिक विद्यालय हात्तिलेट २ सय २२ अंकका साथ प्रथम, भानुभक्त मेमोरियल इङलिस बोडिँङ्गग स्कुल रामनगर १ सय १८ अंकका साथ द्वितीय तथा जनहित नन्दलाल उमावि चौलीखा तृतीय स्थान ल्याउन सफल भएको जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभाष लाल कर्णले जानकारी दिनुभयो ।
सम्पन्न प्रतियोगिताको फाईनलमा खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष जितेन्द्र चौधरी तथा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा तथा बनौटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले विजयी विद्यालयका विद्यार्थी खेलाडीहरुलाई नगद, शिल्ड, प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो ।
प्रथम भएका विद्यालयलाई १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र, द्वितीय भएका विद्यालयलाई १२ हजार नगद, शिल्ड, प्रमाणपत्र तथा तृतीय भएका विद्यालयलाई ९ हजार नगद, शिल्ड र प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स, कराँते तथा तेक्वान्दो खेललाई समावेश गरिएको थियो । जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा भएको प्रतियोगिता मध्ये भलिवल खेलमा छात्र तर्फ एभरेष्ट ई.बो.स्कुल बर्दिबास प्रथम, जउमावि हात्तिलेट द्वितीय भएका थिए भने छात्रातर्फ भानुभक्त मेमोरियल इ.बो.स्कुल रामनगर प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यसैगरी कवड्डी खेलमा छात्र तर्फ जउमावि प्रथम, जनहित नन्दलाल उमावि चौलिखा द्वितीय भएका थिए भने छात्रातर्फ उमावि कान्तिबजार प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यस्तै एथलेटिक्समा जउमावि हात्तिलेट प्रथम तथा जनहित नन्दलाल उमावि चौलिखा द्वितीय स्थान ल्याउन सफल भएको खेलकुद विकास समितिका प्रमुख लालले जानकारी दिनुभयो । उहाँले निर्वाचनक्षेत्र स्तरीय प्रतियोगितामा शिल्ड र प्रमाणपत्र मात्रै दिइएको वताउनुभयो ।
जिल्लाको ६ वटै निर्वाचन क्षेत्रको ४० विद्यालयले भाग लिएकामा २३ विद्यालयका विद्यार्थीहरु फाईनलमा पुगेका थिए ।