कोलकाताबाट नेपाल चियाउँदा
पश्चिम बंगालको राजनीतिक प्रयोग नवगणतान्त्रिक नेपालका निम्ति मननीय हुन सक्छ ।
चैत्र २५, २०७२- जब कुनै राजनीतिक दृष्टि, सत्ता, दल वा पात्रले निर्माण गर्दै गएको वाक्य संरचनामा यी चिन्हहरू देखापर्छन्, त्यसका बहुआयामिक अर्थहरू निस्किन थाल्छन् । यी सन्दर्भहरू छिमेकी भारतीय राज्य पश्चिम बंगालको सन्दर्भमा उल्लेख गर्न खोजिएको छ ।
पश्चिम बंगालको मुख्य केन्द्र कोलकाता भारतको औपनिवेशिक कालमा निकै समयसम्म केन्द्रीय राजधानी थियो, पछि दिल्ली सारियो । भारतीय सहरहरूमा लामो इतिहास भएको, पूर्वी र पश्चिमी संस्कृति मिसमास भएको सहरको रूपमा चिनारी पाएको कोलकातालाई भारतको प्रमुख आर्थिक सहर पनि मानिन्छ । यसलाई ‘सिटी अफ ज्वाय’को नामले पनि चिनिन्छ । नेपालसँग कोलकाताको पुरानो सम्बन्ध रहेको छ ।
जसरी कोलकाता पूर्वोत्तर भारत र पूर्वी एसियाको लागि द्वारको रूपमा चिनिन्छ, त्यसैगरी बीसौं शताब्दीको पहिलो दुई दशकसम्म कोलकाता नेपालको लागि तेस्रो मुलुकलाई चियाउने आँखीझ्याल थियो ।
अहिले पनि नेपालको लागि नजिकको आयात–निर्यात गर्ने बन्दरगाह कोलकाता नै हो ।
आज कोलकाता आफ्नै इतिहासलाई पर्खेर बसेको छ । यहाँबाट बंगलादेशको राजधानी ढाका नजिक छ, बरु दिल्ली टाढा छ । बंगला संस्कृतिको केन्द्र कोलकाता अहिले दिल्लीको उपकेन्द्र बनेको छ ।
कोलकातास्थित रविन्द्र भारती विश्वविद्यालयमा रहेको सेन्टर फर नेपाल स्टडिजका प्रमुख सव्यसाँची राय मुखर्जी भन्छन्, ‘भारत आपैंmमा एउटा महादेशजस्तै हो । त्यसैले कतिपय सवालमा त्यसको केन्द्र र उपकेन्द्रहरूको बुझाइमा समानता हुँदैन भने कतिपय सवालमा एकआपसमा सामञ्जस्यताको खोजी पनि हुन्छ । तर पनि कोलकाता ताजा सोच्छ ।’
प्रान्तीय चुनाव र ममता
सन् २००९ को पश्चिम बंगालको प्रान्तीय चुनावमा तृणमूल कांग्रेसकी ममता वनर्जीले माक्र्सवादी कम्युनिष्ट पार्टीको ३४ वर्ष पुरानो सत्ता बर्चस्वमा पूर्णविराम लगाएकी थिइन् । त्यसबारे भारतभित्रै र बाहिर निकै चर्चा भएको थियो ।
भारतको लोकतान्त्रिक संरचनाभित्र वामपन्थीहरूको लालकिल्लाको रूपमा पश्चिम बंगाल विकसित भएको थियो । तर वामपन्थीको सत्ता आफ्नै कारणले समाप्त भयो । हिंसा पश्चिम बंगालको राजनीतिका लागि सबैभन्दा चल्तीको आहान भएको थियो ।
वामपन्थीहरूले आफ्नो शासनको प्रारम्भिक समयमा भूमिसुधार र स्थानीय पञ्चायत व्यवस्थामा प्रभावकारी सुधार ल्याएका थिए । तर विस्तारै सरकारी तन्त्रमाथि पार्टी तन्त्रको पकड बलियो हुँदै गयो । तलदेखि माथिसम्म पार्टीको इसाराबिना कुनै काम नहुने भयो । प्रतिरोधको शक्तिलाई भुइँ सतहदेखि नै कुल्चिने काम भयो ।
यस पृष्ठभूमिमा ममता वनर्जीको ‘माँ, माटी–मानुष’को नारा बढी आकर्षित गर्न सफल भयो । ‘पोरिवर्तन’ (बदलाव) को प्रतीकको रूपमा ममता वनर्जीलाई आम मानिसले हेर्न थाले ।
२९४ सिट भएको पश्चिम बंगाल विधानसभा चुनावमा पछिल्लोपटक ममता वनर्जीको दल तृणमूलले १८४ सिट प्राप्त गरेको थियो । ममतालाई एउटा लडखडाउँदो राज्यको विरासत प्राप्त भएको थियो ।
कृषि र उत्पादन, श्रम उत्पादकता, आत्मविश्वास गुमाएको प्रशासन, स्वास्थ्य र शिक्षा सबै क्षेत्रमा गिरावट आएको थियो । उद्योगहरू पलायन भइरहेका थिए । तर ममताले यी चुनौतीलाई रणनीतिक तरिकाले व्यवस्थापन गर्ने सीप देखाएकी छन् ।
कोलकाताका पत्रकार प्रतिम रञ्जन बोस बताउँछन्, ‘यस पटकको निर्वाचनमार्फत ममता दी फेरि राज्यको नेतृत्वमा फर्कंदैछिन् ।’ ममताले ‘पहाडी राजनीति’को गढ दार्जिलिङमा फुट ल्याएकी छन् । त्यहाँका लेप्चा, तामाङ र गोर्खाहरूका लागि छुट्टाछुट्टै बोर्डको गठन गरिदिएर नेपालीभाषीहरू माझको एकीकृत सङ्घर्षलाई विखण्डित गरेकी छन् ।
दोस्रो, नक्सलाइटहरूको गढको रूपमा चिनिएको क्षेत्रमा दुइटा नीति लिइन् । एउटा, इंगेज गर्ने । अर्को, इन्काउन्टर गर्ने । सशस्त्र माओवादी आन्दोलनका अगुवा किशुनजी मारिए । तिनका पुरै शक्तिलाई छिन्नभिन्न पारियो । त्यसैगरी त्यस क्षेत्रमा त्यहाँका युवाहरूलाई व्यापक रोजगारी दिइयो र स्वयं ममता आपैंmले त्यस क्षेत्रमा प्रत्यक्ष पहुँच बनाउने प्रयत्न गरिन् ।
पुरै राज्यमा सडक, शिक्षा र स्वास्थ्यमा पूर्वाधार निर्माणको व्यापक सञ्जाल फैलाइएको छ । कर्मचारीतन्त्र आफैं निर्णय लिन सक्षम भएका छन् र उनीहरूले सोझै सूचना मुख्यमन्त्री कार्यालयमा दिन्छन् । यो उनको सबल पक्ष बताइँदैछ, जसले चुनावमा उनलाई सहयोग पुर्याउँछ । पछिल्लो चुनावमा उनले वामपन्थीको विपक्षमा सबै पक्षका मत पाएकी थिइन् ।
वामपन्थी सरकार हुँदा लाल रड्डले महत्त्व पाएको थियो भने ममताको समयमा हरियो रड्डले अवसर पाएको छ ।
तृणमूल कांग्रेसीहरू खुसी हुँदा पनि हरियो अबिर उडाउँछन्, सडकमा हरियो कार्पेट ओछ्याउँछन् । ममताको समस्या के छ भने अहिले पनि उनको संगठन एक व्यक्ति केन्द्रित छ । दलीय ढाँचाले संस्थागत स्वरुप ग्रहण गर्न सकिरहेको छैन । त्यसैले पार्टीका कार्यकर्ताहरू विगतको वामपन्थी संगठनको सिको गर्दै विकास निर्माणमा हस्तक्षेप गर्छन् ।
तर जहाँ वामपन्थीको संस्थागत आधारमा नियन्त्रणको प्रयत्न हुन्थ्यो भने यतिखेर एकै ठाउँमा अनेक तृणमूल नेताहरू आ–आफ्ना स्वार्थहरू लिएर देखापर्छन् । यसले अनेकौं अवरोध र अलमल देखिएको छ ।
पूर्वाधार निर्माण भए पनि भुइँ सतहमा सेवा सहज भएको छैन । त्यसैगरी युवापंक्तिलाई आफूसँग जोड्न र प्रतिस्पर्धीसँग भिड्न सरकारद्वारा स्थानीय क्लबहरूलाई प्रशस्त रकम उपलब्ध गराइएको छ ।
यसलाई कोलकातावासी ‘दिदी के दमाल’ (ममताको जड्डली भाइहरू जो कुनै पनि नियम, परम्पराहरूलाई तोड्ने लाइसेन्स पाएका छन्) भनी उल्लेख गर्छन् । पश्चिम बंगालमा पछिल्ला केही दशकमा दलीय प्रतिस्पर्धाका नाममा जेजस्ता प्रयोग भएका छन्, ती भारतीय लोकतन्त्रका लागि चिन्ताको विषय हो ।
समाजको पार्टीकरणको घृणित प्रयोगशाला पश्चिम बंगाल भयो, जसको पीडा अहिले पनि त्यहाँका आम मानिस भोग्दैछन् ।
यस पटक कांग्रेस–वामपन्थी दलहरूको गठबन्धनमा चुनाव लड्दैछ । पछिल्लो विधानसभाको चुनावमा भारतीय जनता पार्टीको उपस्थिति देखिएको थिएन । त्यसैले यसपटक सबैले गर्ने प्रश्न एउटै हो, के भाजपाले पश्चिम बंगालमा खाता खोल्छ ?
एक महिनासम्म चल्ने चुनाव प्रक्रियामा प्रधानमन्त्री नरेन्द्र मोदी कैयौंपटक आउने योजना छ । यस अर्थमा मोदीको पनि प्रभावको परीक्षण पश्चिम बंगालको प्रान्तीय चुनावमा हुनेछ ।
सामीप्यतादेखि सहजतासम्म
नेपाल राणाकालसम्म आन्तरिक रूपमा स्वतन्त्र थियो । तर वैदेशिक सम्बन्ध ब्रिटिस भारत सरकारसँगको सम्बन्धमा मात्र सीमित थियो । त्यही सन्दर्भमा काठमाडौंको लागि कोलकाता साइनो विकसित भएको थियो ।
अहिले कोलकाता आफ्नै अस्तित्वका लागि सङ्घर्ष गरिरहेको छ भने काठमाडांै दिल्लीसँगको सम्बन्धमा एकले अर्काबाट के चाहन्छन् भन्ने परिभाषित गर्ने ध्याउन्नमा छन् ।
कोलकातामै सुनियो, ‘नेपाल–भारतको सम्बन्ध हरेक दस वर्षमा कम्तीमा एकपटक गम्भीर संकटमा पर्ने गरेको छ ।’ यी दुई मुलुक बीचको सम्बन्धको अवधारणामा समय–समयमा परिवर्तन आइरहन्छ ।
दिल्लीको एउटा वृत्त काठमाडौंको पाइलालाई मसिनो तरिकाले गम्दैछन् । त्यहाँ नेपालमा ‘धर्मनिरपेक्षता’ रातारात भित्र्याइएको व्याख्या छ । त्यसैले दिल्लीको त्यो पक्ष नेपालमा हिन्दु राष्ट्र कसरी फिर्ता गराउने भन्ने चिन्ता राख्छन् । दिल्लीको ‘हिन्दुत्व चासो’ काठमाडौंका लागि गलपासो भएजस्तै टिप्पणी कतिपयले गर्छन् ।
भनिन्छ नि सुर्काउनी पारेको डोरीभित्र जति छट्पटायो, पासो उत्तिनै बढी कसिन्छ । नेपाल–भारत सम्बन्धमा उत्पन्न साना–ठूला समस्याहरूको सूची जति लम्ब्यायो, त्यति लम्बिने खालको भइसकेको छ ।
यी समस्याहरूको कारण खोतल्दा निकै अल्मलिन पनि सकिन्छ वा बडो विस्तारपूर्वक अथ्र्याउन पनि सकिन्छ । मूलभूत कुरा के हो भने नेपाल र भारतबीच उत्पन्न समस्याको जरो राजनीतिक सम्बन्ध नै हो । यतिखेर दुई देश बीचको कूटनीतिक सम्बन्धमा व्यक्तिगत र दलगत अनुभूतिहरूको प्रभावसमेत देखिएको छ ।
कोलकाताले नेपालको आर्थिक–सामाजिक–सांस्कृतिक गतिविधिबारे चासो राख्न थालेको छ । नेपालसँग सीमा जोडिएको तथा ऐतिहासिक साइनोको विरासत भएको हुनाले मात्र कोलकाताले यतिखेर नेपालप्रति चाख देखाएको होइन ।
कोलकातालाई आफ्नै सहरको वर्तमान र भविष्यप्रति गम्भीर चासो भएर त्यसो भएको हो । त्यसैले त्यहाँका बौद्धिक वर्ग नेपाली जनमानसमा भारत सरकारले नेपाललाई भुटान बनाउँछ भन्ने डरलाई सधैंका लागि निमिट्यान्न बनाउनुपर्ने अभिमत राख्छन् ।
कोलकाता नेपालसँगको भौगोलिक सामिप्यताले मात्र भएन, सहजता वृद्धि पनि हुनुपर्यो भन्ने पक्षमा रहेको छ । यसका निम्ति त्यहाँका थिंकट्यांकहरूले ‘प्रोक्सिमिटी टु कनेक्टिभिटी’ (सामिप्यतादेखि सहजतासम्म) बारे मन्थन गर्न थालेका छन् ।
भुटान, बंगलादेश, नेपाल र भारत बीचको सहकार्यको साझा केन्द्रका रूपमा कोलकाताले आफूलाई उभ्याउने सोच बनाएको छ । भारतको पूर्वोत्तर राज्यहरूसँग जोड्ने दिल्लीका लागि मुख्यद्वार कोलकाता त हुँदै हो, सँगसँगै उसले सम्वाद र सहकार्यको केन्द्रको रूपमा पनि आफूलाई विकसित गर्दैछ ।
कोलकाताको नेपालसँग जोडिएका यी चाहनाहरू दिल्ली र काठमाडौं बीचको सम्बन्धको धरातलमा निर्माण हुनेछ । पश्चिम बंगालको राजनीतिक प्रयोग नवगणतान्त्रिक नेपालका निम्ति मननीय हुनसक्छ ।
कसरी प्रगतिशील धारणा राख्ने दलहरूले समाजलाई बन्धक बनाउँछन् र आफ्नै रोजाइले पतन हुनपुग्छन्, त्यो पनि पश्चिम बंगालको अनुभवबाट सिक्न सकिन्छ । त्यसैगरी छिमेकी बंगलादेशसँगको सम्बन्धमा दिल्लीले कोलकाताको अभिप्राय: बुझ्ने गरेको छ ।
यो भावी प्रादेशिक संरचनामा अन्तर्राष्ट्रिय सम्बन्धका निम्ति काठमाडौंले सीमान्त क्षेत्रका अभिप्राय: लाई महत्त्व दिनुपर्छ भन्ने सन्देश पनि हो ।