मधेसी सम्भ्रान्तका विवशता

मधेसी सम्भ्रान्तका विवशता
Nagarik Daily | 20.05.2016 | ७ जेष्ठ, २०७३
सबै समानार्थी शब्दका अर्थ समान हुँदैनन्। एउटै शब्दको अभिप्रायसमेत विषय, प्रसंग वा प्रयोग गरिनेबेलाको लवजका कारण फरकफरक हुन सक्छ। त्यसैले फ्रान्सेली दार्शनिक भोल्तेयर भन्ने गर्थे, 'संवाद गर्नुअगाडि कम्तीमा पारिभाषिक शब्दको तात्पर्यमा सहमति कायम गरिनुपर्छ। सम्भ्रान्त भनिने अभिव्यक्तिबारे केही भ्रान्ती छन्, तिनलाई सम्बोधन नगरी मधेसी सम्भ्रान्त कसलाई र किन भनिएको हो भन्ने कुरा स्पष्ट हुँदैन।
शासकीय कुलमा जन्मिएकालाई सामान्यतः अभिजात (नोविलिटी) भन्ने चलन छ। त्यस अर्थमा नेपालमा शाह, राणा एवं तिनका कुलसँग लामो कालदेखि वैवाहिक सम्बन्धले जोडिँदै आएका सीमित ठकुरी(क्षेत्री) परिवारबाहेककाले अभिजात भएको दाबी गर्न सहज छैन। आफ्नै ससुरालीको वंशसमेत निमिट्यान्न गर्ने गोर्खाली विजेताले अन्य कुनै समकक्षी शासकको सन्तानलाई जीवित रहन दिने कुरै भएन। केही झिनामसिना जो बाँकी बचेका थिए, तिनलाई जंगबहादुरले कोतपर्वमा कत्लेआम गरिदिए। गोर्खालीहरूकै 'जनै–जाति'मा त अभिजात थोरै छन् भने जनजाति वा मधेसीमा त्यस्तो समूह हुन सक्ने कुरै भएन।
केन्द्रिकृत एवं एकल जातीय राज्य व्यवस्थाले गर्दा नेपालमा सामन्त (फ्युडल लर्ड) अवधारणा नै वामपन्थी लफ्फाजीमात्रै हो। नेपालका रजौटा, चौतारिया, भाइभैयाद वा भारदारहरूको हैसियत कहिल्यै पनि तत्कालीन शासकको 'पाउको सेवक' भन्दा बढी हुन सकेन। झन् मधेसमा सामन्त हुन सक्ने त कुरै भएन। रामराजाप्रसाद सिंहजस्ता ठूला जमिनदारले राणा हजुरियाको जुत्तामा बिन्तीपत्र राखिदिनुपर्ने अवस्था सन् १९४० दशकको अन्त्यसम्मै कायम थियो।
कुलीन (ऐरिस्टोक्रेसी) वा खानदानीको हैसियत जाति व्यवस्थामा हिन्दु सोपानतन्त्रभित्रको स्थानसँग जोडिएको हुन्छ। सत्तासँगको निकटताले त्यस्तो हैसियतलाई बलियो बनाउँछ। नयाँ संविधानले किटान गरिदिएको खस–आर्य जातीय समूहबाहेक कुलीन भएको दाबी गर्न सक्ने परिवार नेपालमा थोरै छन्। शाह–राणा दरवारसँग निकटताले गर्दा केही नेवार परिवारले कुलीन हैसियत कायम राख्न सफल भए।
विभिन्न दरवारसँग जोडिएका गुरू–पुरोहित एवं भाइभारदारहरूको कुलीनताको दाबी पनि आधारहीन छैन। जति नै सम्पत्ति भए पनि मधेसी रैती नै रहिरहने हुँदा तिनको खानदानी रबाफ सत्ताका सामान्य बहिदार–खरदारका अगाडिसमेत फिक्का हुन जान्थ्यो। राज्याभिषेकमा हिन्दु जाति व्यवस्थाको शुद्र प्रतिनिधि भएर राजालाई तिलक लगाउने पहाडी जनजाति त कुलीन कहलिन सकेनन् भने सामान्य चौधरी, मुखिया र देवानको के कुरा भयो र!
नेपालको अर्थतन्त्र पनि लामो कालखण्डसम्म 'जिउ–धन सरकारको' मान्यतामा चलेकाले वैभवशाली पनि सामान्यतः केन्द्रिकृत एवं एकल जातीय व्यवस्थासँग जोडिएका फौजी तथा निजामती जागिरदार, निगाह बकस पाएका कुलीन बिर्तावाल एवं शासकका नातेदारमात्रै हुने गर्थे। सम्पन्नको श्रेणीमा राख्न मिल्ने केही सिंह, यादव, चौधरी, मिश्र, साह, रौनियार र शुक्ल परिवारबाहेक मधेसमा अहिलेसम्म पनि खासै धेरै छैनन्। मधेसी हुन् वा होइनन् भन्ने द्विविधाले गाँजिएका मारवाडी समुदायले गर्दा खस–आर्यबाहिरका जनै–जातिमा सम्पन्नता व्यापक भएको भ्रम सृजना भएको हो। एकल जातीय अर्थराजनीतिको हालिमुहाली बढ्दै गयो भने नाका व्यापारमा कायम रहेको मारवाडी बाहुल्यता पनि धेरै कालसम्म कायम नरहन सक्छ।
अभिजात, सामन्त, कुलीन एवं सम्पन्नभन्दा बेग्लै सम्भ्रान्तको सामाजिक–आर्थिक हैसियत जन्मसँगै कर्मसँग पनि जोडिएको हुन्छ। जाति व्यवस्थाका दंश सजिलै मेटिँदैनन्। परम्परागत धर्म र संस्कृति कायम रहेसम्म पहाडकै पनि एउटा दलित परिवारमा जन्मिएको व्यक्ति समृद्ध बन्न सक्छ, तर कुलीन त के सम्भ्रान्त पनि कहलिन सक्दैन। सम्पत्तिले केही प्रभाव र शक्ति दिएको जस्तो त हुन्छ, तर त्यो जाति व्यवस्थाको तेजका अघिल्तिर धेरैबेर टिक्न सक्दैन। मधेसका केही जनै–जातिले नश्लवादी राज्यव्यवस्थाको बहिष्करण नीतिका कारण सम्भ्रान्त हैसियत हासिल गर्न सफल भएका छन्। त्यसका पछाडि केही व्यावहारिक कारण छन्।
औलो उन्मूलन कार्यक्रम सुरू नभएसम्म मध्यपूर्वी तराईका अधिकांश बिर्तावालको जग्गाजमिन थारू, यादव किसानकै रेखदेखमा रहने गर्थ्यो। तिनमा पढाइबाहेक अगाडि बढÞ्ने अरू कुनै बाटो नै नभएको आत्मानुभूति अपेक्षाकृत छिटो भयो। पश्चिमी तराईतिर भने बिहेवारीमार्फत् राणाहरूले 'जात किन्न' आफ्ना बिर्ता विपन्न ठकुरीका जिम्मा लगाइदिएकाले त्यताका थारू शिक्षाको ज्योतिबाट वञ्चित रहिरहे। मैथिल ब्राह्मण संस्कृतका प्रकाण्ड विद्वान् हुने गर्थे। आधुनिक शिक्षा अंगिकार गर्न तिनलाई गाह्रो भएन। मुगल साम्राज्यकालदेखि नै फारसी भाषामा पोख्त कायस्थहरूमा औपचारिक शिक्षाको परम्परा राणाशासनका बेला पनि टुटेन। व्यापारबाट केही हैसियत हासिल गरेपछि सम्मानका लागि उच्च शिक्षा ग्रहण गर्ने चाहना साह–रौनियारमा पनि भयो। यस प्रकार सन् १९५० को दशकपछि सानो सम्भ्रान्त समूह मधेसमा पनि बन्न पुग्यो। तर, पढेरमात्रै नपुग्ने रहेछ।
परम्परागतरूपमा लडाका रहने गरेका मधेसका राजपूत र भूमिहारले गोर्खाली सेनामा अधिकृत हुने कुनै सम्भावना नै नदेखेपछि इन्जिनियर, डाक्टरजस्ता 'शुद्र पेशा' अँगाल्न बाध्य भए। पाण्डित्यका लागि प्रख्यात यादवका गोइत र मैथिल ब्राह्मणका सोइत शिक्षा र शोधतिर लागे। शासन–प्रशासन चलाउने परम्परा भएका कायस्थ लेखापाल, लेखापरीक्षक एवं लेखनदासजस्ता व्यवसायमा समेटिए। देश चलाउने एकाधिकार खस–आर्यमा रही नै रह्यो। सामाजिक परिवर्तन एवं राजनीतिक सशक्तिकरणमा भने नवोदित मधेसी सम्भ्रान्त प्रवर्गको भूमिका अत्यन्त सीमित रहने गरेको छ। समान्यतः मध्यमवर्ग अग्रगामी परिवर्तनको संवाहक हुने गर्छ। मधेसी सम्भ्रान्तको सम्पूर्ण ऊर्जा नेपाली मूलधारको स्वीकार्यता हासिल गर्नमै खर्च हुने गरेकाले तीमध्ये अधिकांशले यथास्थितिको जालो तोड्ने आँट कहिल्यै जुटाउन सकेका थिएनन्। त्यस्तो अवस्था सुस्तरी फेरिन थालेको छ। तर, परिवर्तनको गति र दिशा अझैसम्म पनि आशलाग्दो हुन सकेको छैन।
अदवको राजनीति
औपनिवेशिक मानसिकताको सम्भवतः सबभन्दा तार्किक व्याख्या फ्रान्ज फैननले गरेका छन्। नश्लवादी सत्ताले शासित समुदायलाई नेतृत्वविहीन तुल्याउन तिनका प्रतिभाशाली व्यक्तिहरूको सहवरण गर्छ। कसैलाई भन्छ, तिमी चिकित्सक, इन्जिनियर, वकिल वा पत्रकार छौ। त्यसैले हामीजस्तै छौ। कसैलाई फकाउँछ, प्राविधिक, कलाकार एवं व्यापारीको समुदाय संसारभरि एउटै हुन्छ। जातीय विविधता सामान्यजनका व्यसन हुन्। विशिष्ट व्यक्ति त्यस्तो प्रतिस्पर्धाभन्दा माथि हुन्छन्। मान्यता एवं स्वीकार्यताका लागि लालायित शासित समुदायका व्यक्तिहरू अनि सहर्ष अनुकारी व्यवहार गर्न थाल्छन्। तिनको भाषा, संस्कृति एवं जीवनशैली बिस्तारै शासकहरूको जस्तै हुन थाल्छ। तिनले जति नै नक्कल गरे पनि सक्कलजस्तो हुनै नसक्ने कुरा चाल पाउँदासम्म धेरै ढिलो भइसकेको हुन्छ। अनुकारी व्यक्ति (मिमिक म्यान) को नियति नै जे हो त्यो भइरहन नचाहनु र जे होइन त्यो बन्न सतत प्रयत्न गरिरहनु हो। त्यस्तै, निरर्थक उपक्रममा अनुकारी व्यक्तिको जीवन व्यतित भइरहेको हुन्छ। प्रयास निष्फल भए पनि पराजय स्वीकार गर्न जोसुकैलाई गाह्रो हुन्छ। सम्भ्रान्तले त झन् हार स्वीकार गर्ने कुरा पनि भएन। अनि ती आफ्ना कुण्ठा एवं नैराश्यतालाई बाहिर देखिने भौतिक सफलताको आवरणले छोप्ने प्रयत्न गर्छन्। अफ्रिकीमूलका अमेरिकीहरूमा देखिने यो प्रवृत्तिलाई अदवको राजनीति (रिस्पेक्टाबिलिटी पोलिटिक्स) भनिएको हो।
बहिष्कृत समुदायका व्यक्तिहरूमा तीव्र सफलताको अदम्य इच्छा हुन्छ। त्यसैले ती दोब्बर मेहनत गर्छन्। फलको आशा अपेक्षाकृत कम हुने भएकाले सानो उपलब्धिमै सन्तुष्ट हुन्छन्। र, एउटा मुकाममा पुगेपछि आफ्नै समुदायका व्यक्तिलाई होच्याउँछन्। कहाँ छ संरचनागत विभेद? यी हेर, म जहाँ पुगेको छु, आफ्नो सामर्थ्यले गर्दा नै हो। मालिकहरूको इलाज गर्छु, तिनका महल बनाउँछु, मुद्दा लड्छु र कुममा कुम जोडेर सँगै हिँड्छु। मेहनत गरे जे पनि सम्भव छ। औरंगजेब बादशाहका कैयन् सेनापति हिन्दु थिए। सम्राट अकबरका दरवारमा बीरबल एवं टोडरमलजस्ता मन्त्री भए। अध्यक्ष ज्ञानेन्द्र शाहले बद्रीप्रसाद मण्डललाई उपप्रधानमन्त्री बनाए। क्षमताले अवसर स्वयं खोज्ने त्यस्तो तर्क उपलब्धिको गौरवभन्दा पनि प्रभावको सीमितताबाट जन्मिएको हुन्छ। पूर्वराष्ट्रपति रामवरण यादवमा यही तŒवबोध उनको पद जेसुकै भए पनि हैसियत 'सुइ लगाउने' भन्दा बढी नभएको जानकारी गराइएपछि मात्रै भयो।
अदवको राजनीतिमा बहिष्कृत एवं तिरष्कृतलाई सेवक हुन पाएकोमा नै सन्तुष्टि हुन्छ। डाक्टरले रोगीको सेवा गर्छन्। इन्जिनियर आफ्ना यजमानका लागि काम गर्छन्। वकिलको जिम्मेवारी झगडियालाई कानुनी परामर्श एवं सेवाद्वारा सन्तुष्ट तुल्याउनु हो। त्यस्ता कुनै पनि कामले वर्चस्वशाली समुदायको आधिपत्यलाई चुनौती दिँदैन। शान्तिसुरक्षा एवं जनप्रशासन भने राज्य सञ्चालनका संरचना हुन्। त्यो एकाधिकारलाई प्रश्नको घेराभित्र तान्ने प्रयत्न भयो भने यथास्थितिवादीलाई सह्य हुँदैन। आफ्नो सफलताका सीमितता राम्ररी ठम्याएका मधेसी सम्भ्रान्त सकेसम्म प्रभावको अदृश्य परिसीमा नाघ्ने हिम्मत कहिल्यै गर्दैनन्। बरू 'हामी सबै नेपाली' जस्तो कर्णप्रिय राग अलापेर बस्छन्। तिरष्कारको भय एवं स्वीकार्यताको लोभले मधेसी पेशाकर्मीलाई आफ्नो व्यवसायको घेराबाट बाहिर निस्केर व्यापक जनहितप्रति समर्पित पेशाधर्मी बन्न दिँदैन।
राजनीतिक चेतनालाई दबाएको कुण्ठा भौतिक सफलता हात पारेका पेशाकर्मीले आफ्नै समुदायका राजनीतिकर्मीलाई होच्याएर व्यक्त गर्छन्। त्यस्तो सार्वजनिक मुखरताले एकसाथ दुईवटा काम गर्छ। वर्चस्वशाली समुदाय खुसी हुन्छ। वहिष्कृतजतिलाई तिरष्कृत समुदाय लगाएर होच्याउनुजतिको प्रभावशाली रणनीति अरू हुन पनि सक्दैन। मधेसी र जनजातिलाई त्यस्तै कार्यनीतिले अलमलाइएको हो। दोस्रो फाइदा भने बिनाकुनै प्रयत्न नैतिकवान् भएको सार्वजनिक छविका रूपमा देखिन्छ।
लोभ र डर त जे छ छँदैछ, यथास्थितिको अभ्यस्तताले पनि मधेसी सम्भ्रान्तलाई वर्चस्वको जालो तोड्नबाट रोक्छ। दोयम दर्जामा समानता छ। खस–आर्यका लागि मधेसका अगडा–पिछडा जातिहरूजति जम्मै एकै हुन्। आफ्नो जिम्मेवारी आफै सम्हाल्न तम्सिने हो भने त चुनावी संख्याको जातीय जोड–घटाउले गर्दा अवसरको प्रतिस्पर्धामा पछाडि परिने जोखिम पनि उठाउनुपर्ने हुन्छ। त्योभन्दा त बरू भइरहेकै संरचनाभित्र मोलमोलाइ गरेर मौका छोप्नु आकर्षक ठहरिन सक्छ। तथाकथित मूलधारका दलहरूको गणेश परिक्रमा गर्ने मधेसी सम्भ्रान्तले सैद्धान्तिक नभएर सजिलो बाटो रोजेका हुन्। गणतन्त्रको आवरणमा संस्थागत गर्न खोजिएको भागबण्डातन्त्रले गर्दा त्यस तरिकाको प्रभावकारिता कम हुँदै गइरहेको छ। नचाहँदानचाहँदै पनि मधेसी सम्भ्रान्तलाई अब आफ्नो नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न हुन सक्छ।
साँघुरिँदो विकल्प
शंकाको लाभ दिनेहरूले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई विदुषकको उपाधि दिन्छन्। तर, कालजयी रंग परम्परामा विदुषक सत्यको उपासक हुन्छ। साँचो कुरा सुन्ने आँट नभएका दर्शकलाई ऐना देखाउन उसले कहिले अतिशयोक्तिको सहारा लिन्छ त कहिले उटपट्याङ अभिव्यक्तिमार्फत् व्यंग्य गर्छ। दर्शक हाँस्छन्, तर हँसाउनु विदुषकको अभीष्टचाहिँ होइन। हाँस्यपात्र(जोकर) भने नाटककारले हँसाउनैका लागि सृजना गरेको हुन्छ। हाँस्यपात्र नैतिक जिम्मेवारीबाट मुक्त हुन्छ। ऊ ठट्टामै रमाउँछ। देशको कार्यकारी प्रमुख हाँस्यपात्रजस्तो देखिनु खतरनाक संकेत हो। प्रम ओली त जे छन्, छँदैछन्। त्यसभन्दा अत्यास लाग्दो उनका समर्थकहरूको बढ्दो जमात हो। हाँस्यपात्रलाई रूचाउनेहरू मूलतः वर्तमानमा बाँच्न रमाउने हुन्छन्। र, त्यस्तो जमातको भविष्य चेतना स्वभावतः कमजोर हुन्छ। क्षुद्र प्रवृत्ति (बेस इन्स्टिंक्ट) सबभन्दा पहिले यही समूहमा देखिन्छ। र, यस प्रवृत्तिको तार्किक परिणति अधिनायकवादको सामाजिक स्वीकार्यतामै गएर टुंगिने गर्छ। प्रख्यात अमेरिकी गायक बब डायलनको गीतको एउटा पंक्तिले भन्छ– रात अझै परी नै सकेको त छैन, तर अँध्यारोले छोप्दै लगिरहेको छ।
आश्रयदाताको ओत संकटका बेला काम लाग्दैन। राजनीतिक सक्षमताबेगरको सम्पन्नता ध्रुवीकरण एवं द्वन्द्वमा हुरीबतासमा उडाइएका सुकेका पातजस्ता बन्न पुग्छन्। सार्वजनिक हितका लागि नभए पनि आफ्नै स्वार्थ रक्षार्थ पनि अब मधेसी सम्भ्रान्तले राजनीतिक अग्रसरता नदेखाई सुखै छैन।
http://nagariknews.com/opinion/story/73153.html