लाखौं रुपैया खर्च गरी रात्रिमा गरियो फाईनल खेल

लाखौं रुपैया खर्च गरी रात्रिमा गरियो फाईनल खेल
महोत्तरी समाचारदाता
जलेश्वर, जेठ १० गते । कुनै पनि प्रतियोगिताका आयोजकहरुले फाईनल खेललाई भव्य र रोमाञ्चक बनाउन चाहन्छन् र त्यसको लागि कुनै पनि कसर बाँकी राख्दैनन् । यही क्रममा महोत्तरी जिल्लाका खोपी गाउँ विकास समितिका युवाहरुले पनि ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेललाई भव्य र रोमाञ्चक बनाउन सफल भएँ ।
जिल्लामा पहिलोपल्ट त्यहाँका युवाहरुले लगन र मेहनतका साथ लाखौं रुपैया खर्च गरेर रातमा फाईनल खेल खेलाएर यो प्रतियोगितालाई नै भव्य र रोमाञ्चक बनाउन सफल भएको प्रतियोगिताका संयोजक विरेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले फाईनल खेलको लागि मात्रै भारतको मुजफ्फरपुरबाट ५० हजार भारतीय रुपैया खर्च गरेर ६० वटा फेपर लाईट (हेलोजिन लाईट) मँगाएको तथा रातभरी विजुलीको लागि तिनवटा जेनरेटर समेत लगाइएको बताउनुभयो ।
संयोजक यादवले जिल्लामै पहिलोपल्ट आफुहरुले रात्रीकालिन फाईनल खेल खेलाएको बताउनुहुदैं यो खेल हेर्न मात्रै जिल्लाका ३० हजार भन्दा बढी दर्शकको सहभागिता रहेको तथा विभिन्न एफएम÷रेडियोहरुले प्रत्यक्ष प्रसारण गरेको बताउनुभयो ।
उहाँले भारतीय सिमावर्ती क्षेत्रहरुमा रात्रीकालिन खेलहरु हुने गरेपनि यसक्षेत्रमा रात्रीकालिन खेल नहुने गरेकोेले आफुहरुले यो प्रतियोगितालाई रोमाञ्चक बनाउन रात्रीकालिन फाईनल खेल गरेको वताउनुहुदै भन्नुभयो, ‘फाईनल खेलमा मात्रै दुई लाख भन्दा बढी खर्च भयो ।’ करिब एक महिनादेखि चलेको प्रतियोगितामा अन्य खेल भने दिनमा नै आयोजना गरिएको थियो ।
रात्रीकालिन फाईनल खेलमा दर्शकहरुलाई व्यवस्थापन गर्न विभिन्न गाविसका पाँचसय भन्दा बढी युवालाई स्वयंसेवकको रुपमा परिचालन गरिएको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सुरक्षा दिएको वताउनुहुदै संयोजक यादवले भन्नुभयो,‘हामीले सोचे भन्दा बढी दर्शकको उपस्थिती भएँपनि हामीहरुले सफलतापूर्वक फाईनल खेल सम्पन्न गर्यों ।’
राति ११ बजेदेखि बिहान ४ बजेसम्म भएको फाईनल खेलमा पर्सा क्रिकेट क्लवले रतौली युवा क्लवलाई हराँउदै प्रतियोगिताको उपाधी जित्न सफल भएका थिए ।
टस जितेर पहिलो व्याटिँग रोजेको पर्सा क्लवले निर्धारीत ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएका थिए । प्रतिउत्तरमा उत्रेका रतौली युवा क्लवलाई ७५ रनमै अलआउट गरी पर्सा क्लवले उपाधि हात पार्न सफल भएका थिए ।
विजयी भएका टिमलाई १८ इन्चको एलईडी टिभी, १२ किलोको एउटा खसी, पाँचहजार नगद तथा शिल्ड प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई शिल्ड, प्रमाणपत्र संयोजक यादवले वितरण गर्नुभएको थियो ।