एकाध बाहेक सबै महिला डमी उम्मेदवार


एकाध बाहेक सबै महिला डमी उम्मेदवार

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको उम्मेदवारी दर्तामा एकदर्जन महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न पार्टीहरुले महिला उम्मेदवारलाई नपत्याएको कारणले सशक्त महिला उम्मेदवारहरुलाई ठाउँ नदिएको कतिपय महिला अधिकारकर्मीहरुको बुझाई रहेको छ ।
महिला अधिकारको क्षेत्रमा काम गदै आउनुभएकी सविता झाले प्रतिनिधिसभामा एकजना तथा प्रदेशसभामा ७ जना गरी ८ जनालाई मात्रै विभिन्न राजनीतिकदलहरुले पत्याएको बताउनुहुदै एकदर्जन महिला उम्मेदवारमा कतिपय महिला ‘डमी’को रुपमा उठाइएको बताउनुभयो ।
प्रतिनिधिसभामा क्षेत्रनं. २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी किरण यादव २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा समेत यही क्षेत्रबाट विजयी हुनुभएको थियो । नेतृ यादव पूर्व राष्ट्रपति डा.रामवरण यादवकी भतिजी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी समधिनी हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेतृ यादवले ७ हजार ३ सय ५७ मत ल्याएर शरतसिंह भण्डारी नेतृत्वको रामसपा पार्टीका जयनुल राईनलाई हराई विजयी हुनुभएको थियो । यसपाली उहाँको प्रतिद्धन्द्धीको रुपमा तत्कालिन रामसपाका अध्यक्ष तथा वर्तमानमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी स्वयम् प्रतिष्पर्धामा हुनुुहुन्छ ।
त्यसैगरी प्रदेशसभामा ११ जना महिलाले उम्मेदवारी दिनुभएकोमा विभिन्न राजनीतिकदलबाट ७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा ४ जना महिला मात्रै सशक्त रुपमा निरन्तररुपमा राजनीतिक व्यक्तित्वको रुपमा चिनिनुभएको छ भने अरु महिला उम्मेदवार चर्चित नभई डमीको रुपमा प्रयोग गरिएको देखिएको छ ।
प्रदेशसभामा राजपाले तिन महिलालाई सशक्त रुपमा उम्मेदवार बनाएको छ भने वामगठबन्धनको तर्फबाट एमालेले एकजना महिला उम्मेदवारलाई उम्मेदवारी दर्ता गराएको छ ।
जिल्लाको प्रदेशसभामा क्षेत्रनं. १ को (क) मा बाम गठबन्धनको तर्फबाट एमालेकी शारदा देवी थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ तर सोहीक्षेत्रबाट बाम गठबन्धनबाटै एमाओवादीका राजु खड्काले समेत उम्मेदवारी दर्ता गराउनुभएको देखिएको छ । त्यसैगरी राजपाले सोही क्षेत्रबाट रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ भने प्रमिला कुमारी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुपाले २०७० को संविधानसभा निर्वाचनमा क्षेत्रनं. २ बाट तत्कालिन तमलोपाबाट उम्मेदवार रहि तेस्रो स्थान ल्याएकी थिइन । उहाँले ४ हजार ४८ मतप्राप्त गरेकी थिइन । रुपा तत्कालिनसमयमा तमलोपाको जिल्ला अध्यक्षको सशक्त उम्मेदवार देखिनुभएका अरुणकुमार यादवकी पत्नी हुन् । अरुणको दुर्घटनामा मृत्यु भएपछि तमलोपाले रुपालाई राजनीतिमा ल्याउन उम्मेदवार बनाएको थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. २ को (ख) बाट राजपाले पूर्व सञ्चारराज्यमन्त्री सुरिताकुमारी साहलाई उम्मेदवार बनाएको छ । क्षेत्रनं. २ को प्रदेशसभामा दुई जना महिला उम्मेदवार मात्रै छन् । जसमा एकजना रिता देवी (क) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ खासै चर्चित हुनुहुन्न् । तर सुरिता साहले भने दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी क्षेत्रनं. ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झाबाट १ सय ३५ झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले सदभावना पार्टीबाट उम्मेदवार भई २ हजार ९ सय २७ मत पाउनुभएको थियो ।
त्यसैगरी क्षेत्रनं. ३ प्रदेशसभामा तिनजना महिलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभाको क्षेत्रनं. ३ को (ख) तर्फ राजपाले उपाध्यक्ष रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ भने दुई जना स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुहुने महिलाहरु डमी उम्मेदवारको रुपमा देखिएको छ ।
महिलाको क्षेत्रमा वकालत र काम गर्ने संघसंस्थाहरुले लैङ्गिक समावेशिताको लागि मात्रै भएपनि महिलालाई उम्मेदवार बनाएको बताउदै आएका छन् । सुशासन तथा महिलाको क्षेत्रमा काम गर्ने सशक्त महिलाहरुलाई बढी भन्दा बढी विश्वास गर्नुपर्नेमा दलहरुले गाडीको प्रयोगको लागि मात्रै डमी उम्मेदवारको रुपमा महिलाको प्रयोग गरेको देखिएको आरोप लगाउँदै आएका छन् ।
महिलाको क्षेत्रमा आफु बढी उदारता देखाउने एकिकृत माओवादी केन्द्रले भने एउटा पनि महिला उम्मेदवार उठाउन सकेको छैन् भने बामगठबन्धनले पनि प्रतिनिधिसभामा नभई प्रदेशसभामा एमालेको तर्फबाट एउटा महिला उम्मेदवारलाई मौंका भने दिएको देखिएको छ ।

डेंगुको नियन्त्रण जारी, विरामी बढदै

डेंगुको नियन्त्रण जारी, विरामी बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरीमा असोजको पहिलो सातादेखि देखिएको डेंगु नियन्त्रणको प्रयास जारी राखिएपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । पाँचजनाबाट फैलिएको यो रोग कात्तिक १६ गते बिहीबारसम्ममा ४ सय ६४ जनामा देखिएको डेंगु रोग नियन्त्रणको कार्यमा खटिनुभएका जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरवर्ती बर्दिबास, गौशालासहितका नगरपालिकामा देखिएको डेंगु रोगका विरामीहरुको संख्या हवात्तै बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा असोज १८ गतेबाट सर्च एण्ड डिस्ट्रोय कार्यक्रम शुरु गरेको थियो ।
बर्दिबास निर्वतमान स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलको गृहनगर हो । यहीबाट उहाँले दुईदुईपल्ट संविधानसभाको निर्वाचनमा विजयी भइसक्नुभएको छ भने तेस्रो चरणको लागि पनि बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभामा बिहीबार उहाँले मनोनयन दर्ता गराउनुभएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र सर्च एण्ड डिस्ट्रोय टिमको निरन्तरको प्रयासका कारणले डेंगु रोग नियन्त्रणमा आउन लागेको बताउनुहुदै फोकल पर्सन ठाकुरले भन्नुभयो,‘विरामीको संख्या बढेको लागेपनि डेंगु नियन्त्रणको प्रयास स्वरुप यी विरामीहरु अगाडी आएको छ ।’ अहिले अस्पतालहरुमा यो रोगीको संख्यामा कमी देखिएको उहाँको कथन थियो ।
उहाँले दुईदिनदेखि हामीले डेंगु रोग नियन्त्रण जनचेतना अभिवृद्धि तथा उपचार व्यवस्थापनका लागि डेंगु हेल्प डेस्क स्थापना गरेको बताउनुहुदै केही विरामी बढन सक्ने देखिएपनि यो थप विरामी नभई पहिला नै लागेको हुनसक्ने बताउनुभयो । डेंगुको विरामी बढन नदिनेको लागि सम्पूर्ण प्रयासहरु जारी राखिएको जानकारी दिनुहुदै नियन्त्रणमा आइरहेको स्पष्ट गर्नुभयो ।
जनस्वास्थ्य निरिक्षक ठाकुरले डेंगुको लामखुट्टेको आयु २१ दिनदेखि एक महिनासम्म हुने र यो सबभन्दा बढी थुपारिएको टायर, जमेको पानीहरुमा हुनेभएकोले हामीले उनीहरुको बासस्थानलाई खोजी खोजी डिस्ट्रोय गरेको बताउनुहुदै बर्दिबासमा विभिन्न सर्च एण्ड डिस्ट्रोय टिम निरन्तर डेंगुको लार्भा र प्युपा नष्ट गर्ने अभियानमा लागेको बताउनुभयो ।
डेंगु रोगको विरामीहरुको अवस्था देखेर रेफर गर्नेदेखि लिएर प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपरिरहेको जानकारी दिनुहुदै उहाँले अहिलेसम्म १० जना विरामीलाई रेफर गरिएको र अरुको उपचार स्थानीयस्तरमै भएको वताउनुभयो ।
डेंगुको विरामी बढेसंगै बर्दिबास अस्पतालमा किटको अभाव समेत देखिएको छ । सरुवा रोग नियन्त्रण महाशाखाले आवश्यक मात्रामा किट उपलब्ध नगराएको कारणले पनि किट अभाव भएको र यसको कारणले कतिपय विरामीलाई महँगो शुल्क तिरेर जाँच गराउनुपरिरहेको छ ।
सरकारी अस्पतालमा यो सुविधा निःशुल्क रहेपनि अन्य अस्पतालहरुमा भने हजारदेखि डेढ हजारसम्म जाँच शुल्क लाग्ने गरेको देखिएको छ ।
जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले डेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने ,जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिने गरेको बताउनुहुदै यस्तो लक्षण देखिए तत्कालै अस्पतालमा पुग्नुपर्ने बताउनुभयो ।
एकजना स्वस्थ्य मानिसलाई डेंगु भाइरस भएको लामखुटटेले टोके त्यो मानिसमा डेंगु हुने र त्यही मानिसलाई अर्को स्वस्थ्य लामखुटटेले टोके त्यो लामखुटटेमा समेत डेंगु सर्ने गरेको डा.झाले बताउनुभयो । प्राय सफा र जमेको पानीमा यस्ता डेंगुको लामखुटटे हुर्कने हुनाले त्यसतो ठाउहरुमा डिस्ट्रोय टोली परिचालन गरिएको छ ।
त्यसैगरी डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको छ ।
डिस्ट्रोय टिमले लामोसमय देखि थुपारिएर राखिएको ग्यारेजमा रहेको टायरहरुमा औषधी छर्केर लार्भा र प्युपा नष्ट गर्ने अभियान पनि जारी राखेका छन् भने अस्पतालले पनि त्यस्ता टायरहरु तत्काल हटाउन आग्रह गरेको छ ।
डेंगु अरुक्षेत्रमा पनि फैलिनसक्ने भएकोले पनि यसमा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न अस्पतालको सहयोगमा निरन्तरको प्रयास जारी राखेको जनाएको छ ।
बर्दिबासको वडानं. १, २, ३, ४ र १४ वडामा बढी डेंगु रोगीहरु देखिएको छ भने कतिपय स्वास्थ्यकर्मीहरु समेत यसको चपेटमा आएको स्वास्थ्य निरिक्षक ठाकुरले बताउनुभयो ।

प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता

प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १७ गते । मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बिहीबार महोत्तरी जिल्लामा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभा तर्फ ७४ जना तथा प्रदेशसभामा १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा रहेको ४ निर्वाचन क्षेत्रमा ४ जना प्रतिनिधिसभामा छनौट हुने भएपनि त्यसको लागि दुई महिलासहित ७४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको महोत्तरीका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्रनं. १ मा प्रतिनिधिसभा तर्फ ११ पुरुष र १ महिला गरी १२ जना, क्षेत्रनं. २ मा १९ पुरुष र १ महिला गरी २० जना, क्षेत्रनं. ३ मा २२ पुरुष तथा क्षेत्रनं. ४ मा २० जना पुरुषले उम्मेदवारी दर्ता गराउनुभएको हो । जसमा क्षेत्र नम्बर १ मा ७ जना विभिन्न राजनीतिकदलबाट र ५ जना स्वतन्त्र, क्षेत्रनं. २ मा ९ जना विभिन्न राजनीतिकदलबाट तथा ११ जना स्वतन्त्र, क्षेत्रनं ३ मा ८ जना विभिन्न राजनैतिकदलबाट र १४ जनाले स्वतन्त्र तथा क्षेत्रनं. ४ मा १० जना विभिन्न पार्टीबाट तथा १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यसैगरी प्रदेशसभाको लागि १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा १० जना महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो । प्रदेशसभाको (क) र (ख) मा गरी ४–४ जना गरी ८ जनामा क्रमशः ५४ र ९५ जना गरी १ सय ४९ जनाले उम्मेदवारी दिनुभएको छ ।
प्रदेशसभाको (क) मा ४ जना महिला र (ख) ६ जना महिलाको उम्मेदवारी परेको छ ।
प्रदेश सभाको क्षेत्रनं. १ को (क) मा ७ जना राजनीतिकदलबाट तथा ४ जना स्वतन्त्र र (ख) मा ५ जना राजनीतिकदलबाट तथा १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्रनं. २ को (क) मा ५ जनाले राजनीतिकदलबाट र ३ जनाले स्वतन्त्र तथा (ख) मा ८ जनाले राजनीतिकदलबाट १३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यस्तै प्रदेशसभाको क्षेत्रनं. ३ को (क) ६ जनाले राजनीतिकदलबाट तथा ११ जनाले स्वतन्त्र र (ख)बाट ११ जनाले विभिन्न राजनीतिकदलबाट र २४ जनाले स्वतन्त्र रुपमा तथा क्षेत्रनं. ४ को (क) मा १० जनाले विभिन्न राजनीतिकदलबाट तथा ८ जनाले स्वतन्त्र तथा (ख) बाट ९ जनाले राजनीतिकदलबाट तथा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा ३ लाख १७ हजार ६ सय ९२ मतदाताले मतदान गर्ने जनाइएको छ । मतदाताहरुलाई सहजताको लागि ११ मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो ।
अधिकारी रायले स्थानीय तहको निर्वाचनमा २ सय ५८ मतदानस्थल र ४ सय १५ मतदान केन्द्र रहेकोमा प्रतिनिधिसभा र प्रदेशसभामा ११ मतदानकेन्द्र थप गरी ४ सय २६ पु¥याइएको बताउनुभयो । मतदानस्थलको संख्या भने हेरफेर नगरिएको अधिकारी रायले स्पष्ट गर्नुभयो ।
थप गरिएको मतदान केन्द्रहरुमा मटिहानी नगरपालिकामा धिरापुर प्रावि, रामगोपालपुर नगरपालिकामा दोलाढी निमावि, लोहारपट्टी नगरपालिकामा प्रावि फुलबरिया, सितापुरभंगहा नगरपालिकामा सिंग्याही मावि, भगवतीपुर निमावि, विपीस्मारक ज्ञानकुञ्ज अजगेवा रहेका छन् ।
त्यसैगरी एकडारा गाउँपालिकाको नेराप्रावि बेला, बर्दिबास नगरपालिकाको बरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँ बजार र गौशाला नगरपालिकाको पूर्व स्वास्थ्य चौकीमा समेत मतदान केन्द्र थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता


मनोनयन दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १६ गते । आगामी मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि बिहीबार महोत्तरीमा उम्मेदवारी मनोनयन गरिएको छ । समाचार लेख्दासम्म मनोनयन जारी रहेको देखिएको छ ।
महोत्तरी जिल्लामा राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर क्षेत्रनं. ३ बाट प्रतिनिधिसभामा, राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी क्षेत्रनं. २ बाट, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले क्षेत्रनं. १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेपाली काँग्रेसबाट राष्ट्रपति विद्यादेवी भण्डारीकी समधिनी किरण यादवले क्षेत्रनं. २ बाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको छ ।
राजपाका संयोजक ठाकुरले प्रतिनिधि मार्फत तथा राजपाका नेता भण्डारी, पोखरेल तथा यादवले आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउनुभएको छ ।त्यसैगरी मनोनयन दर्ताको क्रममा पार्टीले टिकट नदिएको कारणले राजपाका महामन्त्री देवेन्द्र यादव क्षेत्रनं. ४ बाट, राजपाका नेता चन्देश्वर झा क्षेत्रनं. ३ बाट तथा एमाओवादीका युवा नेता सत्येन्द्र यादव क्षेत्रनं. ३ को (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । राजपाका नेता झा यसअघि महोत्तरीको क्षेत्रनं. ४ बाट स्वतन्त्र उम्मेदवारको रुपमा विजयी हुनुभएको थियो भने एकमहिना अगाडी मात्रै राजपामा प्रवेश गर्नुभएको थियो ।
महोत्तरी जिल्लामा रहेको ४ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसबाट क्रमशः सीताराम भण्डारी, किरण यादव, बजरंग नेपाली र महेन्द्र यादव, वामगठबन्धनबाट गीरिराजमणी पोखरेल, कासिम बैठा, विजय चौधरी र रजी हैदरले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यसैगरी राजपा फोरम गठबन्धनबाट प्रतिनिधिसभामा लक्ष्मी महतो, शरतसिंह भण्डारी, महन्थ ठाकुर र डा.सुरेन्द्र यादवले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सभातर्फ चारवटै क्षेत्रमा (क) र (ख) गरी क्रमशः दुई दुईवटा क्षेत्र रहेका छन् । जसमा नेपाली काँग्रेसबाट क्रमशः प्रहलाद क्षेत्री, रामश्रेष्ठ महतो, सुशिल यादव, राजकरण साह, शम्भु नारायण पाठक, पवनकुमार साह, गोकुल यादव र दिप्ताँशुकुमार सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ भने वामगठबन्धनबाट प्रदेशको (क) मा दुई जना राजु खडका र  शारदा थापा तथा (ख) मा भरत साह, राजकिशोर यादव, अजय यादव, रामआधार कापर, विजयलाल कर्ण, रामबाबु चौधरी र सरोज यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी राजपा फोरमबाट क्षेत्रनं. २ को (क) मा जैनुल राईन र (ख)मा सुरिता साह, क्षेत्रनं. ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा, क्षेत्रनं. ४ को (क) मा कौशल किशोर यादव र (ख) मा सरोजसिंह कुशवाहाले मनोनयन दर्ता गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले अहिलेसम्म मनोनयन जारीरहेकोले कतिजनाले मनोनयन ग¥यो भने भन्न नसकिने बताउनुहुदै क्षेत्रनं. ३ मा प्रतिनिधिसभा तर्फ समाचारलेख्ने बेलासम्म १० जनाले तथा प्रदेशसभा तर्फ (क)मा ९ तथा (ख) मा २७ जनाले मनोनयन दर्ता गराउनुभएको जानकारी दिनुभयो ।


(फोटो ः मनोनयनपत्र दर्ता गराउन लाममा स्वास्थ्थमन्त्री पोखरेल तथा उम्मेदवारी गर्न आउनुहुदै भण्डारी) नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता