एकाध बाहेक सबै महिला डमी उम्मेदवार
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको उम्मेदवारी दर्तामा एकदर्जन महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न पार्टीहरुले महिला उम्मेदवारलाई नपत्याएको कारणले सशक्त महिला उम्मेदवारहरुलाई ठाउँ नदिएको कतिपय महिला अधिकारकर्मीहरुको बुझाई रहेको छ ।
महिला अधिकारको क्षेत्रमा काम गदै आउनुभएकी सविता झाले प्रतिनिधिसभामा एकजना तथा प्रदेशसभामा ७ जना गरी ८ जनालाई मात्रै विभिन्न राजनीतिकदलहरुले पत्याएको बताउनुहुदै एकदर्जन महिला उम्मेदवारमा कतिपय महिला ‘डमी’को रुपमा उठाइएको बताउनुभयो ।
प्रतिनिधिसभामा क्षेत्रनं. २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी किरण यादव २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा समेत यही क्षेत्रबाट विजयी हुनुभएको थियो । नेतृ यादव पूर्व राष्ट्रपति डा.रामवरण यादवकी भतिजी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी समधिनी हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेतृ यादवले ७ हजार ३ सय ५७ मत ल्याएर शरतसिंह भण्डारी नेतृत्वको रामसपा पार्टीका जयनुल राईनलाई हराई विजयी हुनुभएको थियो । यसपाली उहाँको प्रतिद्धन्द्धीको रुपमा तत्कालिन रामसपाका अध्यक्ष तथा वर्तमानमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी स्वयम् प्रतिष्पर्धामा हुनुुहुन्छ ।
त्यसैगरी प्रदेशसभामा ११ जना महिलाले उम्मेदवारी दिनुभएकोमा विभिन्न राजनीतिकदलबाट ७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा ४ जना महिला मात्रै सशक्त रुपमा निरन्तररुपमा राजनीतिक व्यक्तित्वको रुपमा चिनिनुभएको छ भने अरु महिला उम्मेदवार चर्चित नभई डमीको रुपमा प्रयोग गरिएको देखिएको छ ।
प्रदेशसभामा राजपाले तिन महिलालाई सशक्त रुपमा उम्मेदवार बनाएको छ भने वामगठबन्धनको तर्फबाट एमालेले एकजना महिला उम्मेदवारलाई उम्मेदवारी दर्ता गराएको छ ।
जिल्लाको प्रदेशसभामा क्षेत्रनं. १ को (क) मा बाम गठबन्धनको तर्फबाट एमालेकी शारदा देवी थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ तर सोहीक्षेत्रबाट बाम गठबन्धनबाटै एमाओवादीका राजु खड्काले समेत उम्मेदवारी दर्ता गराउनुभएको देखिएको छ । त्यसैगरी राजपाले सोही क्षेत्रबाट रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ भने प्रमिला कुमारी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुपाले २०७० को संविधानसभा निर्वाचनमा क्षेत्रनं. २ बाट तत्कालिन तमलोपाबाट उम्मेदवार रहि तेस्रो स्थान ल्याएकी थिइन । उहाँले ४ हजार ४८ मतप्राप्त गरेकी थिइन । रुपा तत्कालिनसमयमा तमलोपाको जिल्ला अध्यक्षको सशक्त उम्मेदवार देखिनुभएका अरुणकुमार यादवकी पत्नी हुन् । अरुणको दुर्घटनामा मृत्यु भएपछि तमलोपाले रुपालाई राजनीतिमा ल्याउन उम्मेदवार बनाएको थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. २ को (ख) बाट राजपाले पूर्व सञ्चारराज्यमन्त्री सुरिताकुमारी साहलाई उम्मेदवार बनाएको छ । क्षेत्रनं. २ को प्रदेशसभामा दुई जना महिला उम्मेदवार मात्रै छन् । जसमा एकजना रिता देवी (क) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ खासै चर्चित हुनुहुन्न् । तर सुरिता साहले भने दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी क्षेत्रनं. ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झाबाट १ सय ३५ झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले सदभावना पार्टीबाट उम्मेदवार भई २ हजार ९ सय २७ मत पाउनुभएको थियो ।
त्यसैगरी क्षेत्रनं. ३ प्रदेशसभामा तिनजना महिलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभाको क्षेत्रनं. ३ को (ख) तर्फ राजपाले उपाध्यक्ष रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ भने दुई जना स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुहुने महिलाहरु डमी उम्मेदवारको रुपमा देखिएको छ ।
महिलाको क्षेत्रमा वकालत र काम गर्ने संघसंस्थाहरुले लैङ्गिक समावेशिताको लागि मात्रै भएपनि महिलालाई उम्मेदवार बनाएको बताउदै आएका छन् । सुशासन तथा महिलाको क्षेत्रमा काम गर्ने सशक्त महिलाहरुलाई बढी भन्दा बढी विश्वास गर्नुपर्नेमा दलहरुले गाडीको प्रयोगको लागि मात्रै डमी उम्मेदवारको रुपमा महिलाको प्रयोग गरेको देखिएको आरोप लगाउँदै आएका छन् ।
महिलाको क्षेत्रमा आफु बढी उदारता देखाउने एकिकृत माओवादी केन्द्रले भने एउटा पनि महिला उम्मेदवार उठाउन सकेको छैन् भने बामगठबन्धनले पनि प्रतिनिधिसभामा नभई प्रदेशसभामा एमालेको तर्फबाट एउटा महिला उम्मेदवारलाई मौंका भने दिएको देखिएको छ ।