Thursday, September 19, 2019

सूचनाको लागि संघर्ष गर्दै दलित समुदाय


सूचनाको लागि संघर्ष गर्दै दलित समुदाय

नविनकुमार नवल
महोत्तरी

महोत्तरी जिल्लामा बसोबास गर्ने दलित समुदायहरु आफुले पाउने सेवा सुविधाको बारेमा सूचना लिन अहिले पनि अग्रसर नभएको देखिएको छ । त्यही सार्वजनिक निकायले स्वस्फूर्त निकाल्नुपर्ने सूचना समेत गोप्य राख्ने गरेका छन् । 
सूचनाको हक सम्बन्धि जानकारी अभावको कारणले धेरै दलित समुदायहरु चाहँदाचाहँदै पनि सूचना माँग गर्न नगरेको देखिएको छ । जलेश्वर नगरपालिका वडानं. १ बस्ने ३५ वर्षिय शिवकुमार रामले कानुन धेरै बनेको सुनेको तर कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो । उहाँले आफुले जिताएको दलित सदस्यलाई सूचनामा पहुँच छैन भने आफुहरुको कहाँबाट पहुँच हुन्छ प्रतिप्रश्न गर्नुभयो । कुनै पनि निकायमा आफुलाई चाहिएको सूचना माँग गर्नुभएको छ  भन्ने प्रश्नमा उहाँले मेहनत मजदुरी गरेर घर चलाउनुपर्ने वाध्यताले आफुहरुलाई कुनै सूचनासंग मतलव नभएको बताउनुभयो ।  
सोही वडाका ४२ वर्षिय किसुन पासमानले वडामा आएको विभिन्न योजनाहरुको बारेमा मौखिक जानकारी पटक पटक माँग्ने गरेको बताउनुभयो । सुचना माँग गरेपनि कहिल्यै पनि आफुहरुलाई राम्रोसंग जानकारी नदिने गरेको गुनासो गर्नुहुदै भन्नुभयो,‘मौखिक जानकारी माँग्न लाग्छ उनीहरुको सम्पत्ति लिन हामीहरु आएका छौं ।’
आफुहरुलाई अधिकारबारे धेरथोर थाहा भएपनि दलितको नाउँमा दलितकै केही टाठावाठाहरुले सूचना माँग गरी त्यसको प्रयोग÷उपयोग र दुरुपयोग गर्ने गरेको बताउनुहुदै जलेश्वर नगरपालिका वडानं. २ का युवा विनोद पासीले भन्नुभयो, ‘सूचनाको हक र त्यसको शक्तिको बारेमा जबसम्म दलित समुदायका सबैलाई थाहा हुदैन् तवसम्म जति कानुनहरु ल्याएपनि कागजको खोस्टो मात्रै हुन्छ ।’
दलित समुदायमा आज कमाउने र आजै खाने परिपाटी रहेको देखिन्छ । कमाएको पैसा माँस, मदिरामा नै उनीहरु खर्च गर्छन् । उनीहरुलाई भविष्यको कुनै योजना नभएको हुनाले पनि ति समुदायमा कुनै पनि सूचनाको आवश्यकता नभएको देखिएको साझा आवाज परियोजनाका फिल्ड अधिकृत सुरेश दासले वताउनुभयो । उहाँले भन्नुभयो, ‘दलित समुदायहरुको आत्मवल कमजोर भएको कारणले पनि उनीहरु न त सूचनाको माँग गर्ने गरेको छ न त उनीहरुलाई यसको आवश्यकता नै रहेको देखिन्छ ।’
गरिबी, अशिक्षाको कारणले दलित समुदायहरु आफुलाई कमजोर वर्ग मान्ने गर्छन् । सोही मानसिकताले ग्रसित हुदै आत्मवल कमजोर बनाएको तर्क गर्नुहुदै दासले जबसम्म उनीहरुमा पढनुपर्छ, केही गर्नुपर्छ भन्ने भावनाको विकास हुदैन् तवसम्म सूचनाको पहुँचमा शुन्यता नै रहने दावी गर्नुभयो । उनीहरुको जब शिक्षामा पहुँच हुन्छ त्यसपछि आफै उनीहरुमा सुचनाको हकको जानकारी भई सूचनाको पहुँच बढने साझा आवाजका कार्यकर्ता दासको स्विकारोक्ति रहेको थियो । 
जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष वरुण दाहालले आफुहरुको वडामा आउने सम्पूर्ण योजना, परियोजना र कार्यक्रमहरुको बारेमा सबैलाई जानकारी गराउने गरेको बताउनुभयो । उहाँले यसक्षेत्रमा कुनै पनि समुदाय र वर्गबाट लिखित सूचना माँग गर्ने अभ्यास नरहेको बताउनुहुदै दलित समुदायबाट लिखित सूचना माँग्नेको अवस्था शुन्य रहेको जानकारी दिनुभयो । 
महोत्तरी गाउँपालिका वडानं. २ अनैठाका ५५ वर्षिय पल्टु सदासंग आफ्नो टोलमा भइरहेको विकाससहित अन्य कामहरुको जानकारी चाहिएको खण्डमा कसरी जानुहुन्छ भन्ने सोध्दा उहाँले यसको लागि नेता तथा ठुलावडा मान्छेसंग सम्पर्क गर्ने गरेको बताउनुभयो । आफुहरुलाई कुनै जानकारी चाहियो भने नेताकहाँ पुग्छौ उनीहरुले नै भनेपछि आफुहरुलाई विकास निर्माणदेखि लिएर अन्य जानकारीहरु प्राप्त हुने गरेको उहाँको भनाई थियो । 
सूचनाको हकको बारेमा स्थानीयहरुलाई जानकारी नभएपनि स्थानीयतहका पदाधिकारीहरु कर्मचारीहरु भने जानकार छन् । उनीहरुले मौखिक वा लिखित रुपमा सूचना माँग गर्ने सूचनादाताहरुलाई कुनै योजना दिएर आफ्नो वशमा पार्ने गरेको स्थिती समेत महोत्तरीमा देखिएको छ ।
महोत्तरी गाउँपालिका वडानं. २ चमारवस्तीका ३० वर्षिय युवा इन्द्रजित चमारले वडा कार्यालयमा पटक पटक सामुदायिक भवन, दलित उत्थान कार्यक्रमबारे मौखिक जानकारी माँग गरेपछि उनलाई चुप गराउन एउटा कार्यक्रम दिएको देखिएको छ । उनलाई गाउँपालिकाको सहयोगमा वडा कार्यालयले दलितवस्तीमा रहेको महारानी स्थानको मरम्मत सम्भारको लागि बजेट दिएपछि अहिले उनी चुप लागेको स्थानीयहरुको भनाई रहेको छ । तर युवा इन्द्रजितले त्यस्तो नभई आफुले काम गर्ने भनेपछि काम दिएको बताउनुहुदै आफुले पटक पटक मौखिक रुपमा विभिन्न योजनाहरुको सूचना माँग गरेको स्विकार्नुभयो । 
दलित समुदायमा व्याप्त गरिबीले गर्दा उनीहरुलाई कार्यालय जानुपर्ने समय नै हुदैन् । उनीहरु नगई नहुने अवस्था आएपछि मात्रै कामकाजको लागि कार्यालय जाने गरेको महोत्तरी गाउँपालिकाका ४० वर्षिय वैद्यनाथ रामले बताउनुभयो । उनीहरु आ–आफ्नै रोजगार र काममा व्यस्त हुने गरेको कारणले सूचना माँग्न नसकिएको बताउनुहुदै वैद्यनाथले भन्नुभयो, ‘हाम्रा समुदायका मान्छेहरु बढी मौखिक रुपमा सूचना माँग्ने गरेको देखिएको छ । तर मौखिक रुपमा पनि सबैको सूचनामा पहुँच पुगेको अवस्था छैन् ।’
दलित समुदायमा व्याप्त गरिबी, अशिक्षा, जनचेतना अभावको कारणले पनि सूचनाको पहुँच नभएको देखिएको छ । संविधानले धारा २७ मा सूचनाको हकलाई मौलिक हककै रुपमा समावेश गरेपनि दलित समुदाय त के अन्य समुदायहरुको पनि उचित पहुँच नभएको देखिएको छ ।
पहुँच पुगेपनि सूचना अधिकारी तथा कार्यालय प्रमुखहरुले सूचना लुकाउने परिपाटीको कारणले समयमा सूचना समेत नदिने गरेको देखिएको छ । महोत्तरी गाउँपालिकाका सूचना अधिकारी मो.जयनुद्दिन अन्सारीले मौखिक रुपमा सूचना माँग गरिएपनि दलित समुदायबाट लिखित रुपमा अहिलेसम्म आफुसंग कुनै सूचना माँग नगरिएको बताउनुभयो । दलित समुदायभन्दा बढी राजनीतिकरुपमा सक्रिय अन्य समुदायका मान्छेहरु लिखित रुपमा सूचना माँग गरिरहेको वताउनुहुदै सो संख्या पनि औलामा गन्न सकिने रहेको बताउनुभयो । उहाँले राजनीतिक रुपमा दुईजनाले लिखित रुपमा गाउँपालिकाको योजनाहरुको बारेमा जानकारी माँग्नुभएको थियो र हामीले सो दिएको जानकारी दिनुभयो । 
महोत्तरी जिल्लाको सिमामा बसोबास गर्ने मनरासिश्वा नगरपालिका वडानं. १० मधवा मुसहरवस्तीका कसैले पनि अहिलेसम्म कुनै सूचना माँग गरेको देखिएको छैन । लिखित त टाढाको कुरा हो, उनीहरुले आफ्नो समस्या समाधानको बारेमा भन्न समेत हिच्किचाउँछन् । समय समयमा नेपाली र भारतीय दुवै सुरक्षा निकायबाट प्रताडित रहँदै आएका सो वस्तीका ३८ वर्षिया कलसिया देवीले हामीहरुको आवाज कसैले सुन्ने नगरेको बताइन । वडा कार्यालयमा केही कुराको लागि गयो भने कुरै नसुनी आफुहरुलाई भगाइदिने गरेको गुनासो गर्नुहुदै उहाँले भन्नुभयो, ‘जति अधिकार आएको भनिए पनि आफुहरुको लागि भने केही छैन् सधै सिमामा बसेर भारतीय र नेपाली सुरक्षाकर्मीको गाली खानु नै हाम्रो नियती बनेको छ ।’
सोही ठाउँका ४५ वर्षिय जोगिन्द्र सदाले लिखित रुपमा सूचनाको बारेमा जानकारी लिँदा मौखिक रुपमा केही सोध्दा पनि जवाफ नदिने हाम्रा जनप्रतिनिधिहरुले लिखित रुपमा कसरी जवाफ दिन्छन् गुनासो गरे । एक त आफुहरु पढेका पनि छैनौ कसरी लिखित रुपमा सूचना माँग्नु सदाको गुनासो थियो । 
जलेश्वर नगरपालिका वडानं. १ का वडाध्यक्ष अनिलकुमार झाले जिल्लाको सदरमुकाम भएकोले जलेश्वर नगरपालिकाका दलितहरु अन्य ठाउँको तुलनामा केही जानकार भएको बताउनुहुदै वडाका योजनाहरुको बारेमा सोधपुछ गर्दा आफुले पनि जानकारी दिने गरेको बताउनुभयो । संविधानले नै सूचनाको हकलाई मौलिक हकको रुपमा समावेश गरेपनि लिखित सूचना माँगको परम्परा भने नबसेको तर्क गर्नुहुदै उहाँले मौखिक सूचना माँग भने बढी गरिएको बताउनुभयो । 
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले नगरपालिकामा सूचना माँग गर्नेहरुको संख्या बढेपनि दलितहरुको संख्या भने नबढेको बताउनुभयो । दलितहरु अहिले पनि मौखिक रुपमै सूचना माँग्ने गरेको बताउनुहुदै आगामी वर्षदेखि आफुहरुले दलित युवाहरुलाई लक्षित गर्दै सूचनाको हक र त्यसको प्रयोगबारे तालिमहरु सञ्चालन गर्ने सोचमा रहेको जानकारी दिनुभयो । यसवर्ष पनि सूचनाको प्रयोगको बारेमा कार्यक्रमहरु भए तर दलित समुदायलाई नै लक्षित गरी कार्यक्रम नगरिएको उहाँको भनाई थियो । खास गरेर दलित र मुस्लिम समुदायहरुलाई वालश्रम, सीपमूलक तालिम तथा विभिन्न ठाउँहरुमा सार्वजनिक सुनुवाई समेत गरिएको उहाँले जानकारी दिनुभयो ।  
दलित समुदायहरुको चेतनास्तरमा वृद्धि नभएसम्म र उनीहरुको शिक्षामा पहुँच नभएसम्म लिखित रुपमा सूचनाको माँग गर्ने कागजमा मात्रै सिमित रहने देखिन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ ले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भन्ने उल्लेख गरिएको छ । त्यसैले धेरै कार्यालयहरुले नामको लागि मात्रै सूचना अधिकारी राखेको देखिन्छ । कारण सोही दफाको उपदफा २ मा सुचना प्रवाह गर्ने प्रयोजनको लागि प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रुपमा सूचना अधिकारीलाई उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ तर सुचना अधिकारीले सम्पूर्ण कार्यालयको गतिविधिबारे जानकारी नै हुदैनन् ।
हरेक कार्यालयहरुले आफ्ना गतिविधिहरु सार्वजनिक गर्नुपर्ने कानुन रहेपनि उनीहरु कानुनको पालना नै नगरेको देखिएको छ । उनीहरुलाई पनि समग्र सूचनाको अभाव रहेको अवस्थामा स्थानीयबासीहरुले सूचना पाउन सास्ती रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष नागेन्द्रकुमार कर्णले बताउनुभयो । कर्णले भन्नुभयो,‘स्थानीय पालिकाहरुले कुनै वडाध्यक्षलाई सूचना अधिकारी बनाएको हुन्छ तर उनीहरुलाई सबै सूचना समेत हुदैन् यस्तो अवस्थामा सूचना सहज रुपमा प्राप्त गर्न कठिनाई हुन्छ ।’
जलेश्वर नगरपालिका वडानं. २ का युवा जितेन्द्र पासमानले तत्कालिन जिल्ला विकास समिति, जलेश्वर अस्पतालसहितका कार्यालयहरुबाट लिखित रुपमै सुचनाको हकको प्रयोग गर्दै सुचना माँग गरेको र प्राप्त पनि गरेको जानकारी दिनुहुदै तिनजनालाई सुचनाको हकको प्रयोग गर्दै सुचना माँगमा सहयोग समेत गरेको बताउनुभयो । कतिपय अवस्थामा सुचना दिन अधिकारीहरुले आलटाल गर्ने गरेकोले झण्झटिला लाग्ने हुँदा धेरैले यसको प्रयोग नगर्ने गरेको बताउनुहुदै युवा पासमानले भन्नुभयो,‘शुरुमा झण्झटिला लागेपनि प्रयोग गर्दै जाने हो भने सहज पनि छ ।’ 
अहिले विभिन्न सामाजिक सञ्जालहरु मार्फत पनि सूचना सम्प्रेषण गरेर सूचनाको हक प्रयोग गर्न सकिएपनि पालिकाहरुको वेवसाइट महिनौसम्म अपडेट नहुने, सूचनाहरु लुकाउने परिपाटीको कारणले पनि सूचनाको पहुँचमा दलित समुदायहरुलाई मात्रै नभई अन्य समुदायको पनि पहुँच नभएको स्थिती विद्यमान रहेको छ । 
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्रीले सुचना नै शक्ति हो वताउनुहुदै सूचनाको हक नागरिकको जीवनशैलीसंग आवद्ध भएकोले यसलाई उपयोग गर्नुपर्ने वताउनुभयो । उहाँले यो हकको बढी प्रयोग मिडियाकर्मीहरुले गरेपनि अरुलाई पनि यसको बारेमा सुुसुचित गर्न आफुले भुमिका खेल्ने जानकारी दिनुभयो । उहाँले आपूmले यसको लागि जिल्ला समन्वय समितिको संयोजनमा सम्पूर्ण पालिकाका पदाधिकारीहरुलाई बोलाएर सूचनाको हकलाई सहज गर्न आग्रह गरेको वताउनुभयो ।
जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले पालिकाहरुमा सूचना अधिकारी भएपनि उनीहरुलाई धेरै काम गर्नुपर्ने वाध्यताले गर्दा सुचनाको हकमा असहजता भएको स्विकार्नुभयो । उहाँले यसको लागि जवसम्म छुट्टै सूचना अधिकारी हुदैन् तवसम्म समस्या रहने वताउनुहुदै सुचनामा सबैको पहुँचको लागि पहल गरिरहेको जानकारी दिनुभयो । 
#Suchna ko haq#Mahottari#Dalit#Navin Nabal#Mag#Felloship

No comments:

Post a Comment