Thursday, July 23, 2026

सत्ता, सत्य र नैतिक वैधता

 

सत्ता, सत्य र नैतिक वैधता

आतिश तिवारी

 


प्राचीन ग्रीकका दार्शनिक प्लेटोलेआफ्नो प्रसिद्ध कृति "द  रिपब्लिक" मा लेखेका छन, जबसम्म दार्शनिकहरू सत्तामा आउदैनन वा सत्तामा बस्नेहरू दर्शन प्रेमी बन्दैनन्, तबसम्म राज्यका दुःखहरूको अन्त्य सम्भव छैन। प्लेटोको यो भनाइ शासन प्रणालीको मात्र चर्चा नभएर सत्ता र सत्यबीचको सम्बन्धबारे गहिरो दार्शनिक टिप्पणी पनि हो। उनको दृष्टिमा राजनीति केवल शक्ति प्राप्त गर्ने कला होइन, सत्य र न्यायको खोज गर्ने माध्यम हो।

तर इतिहासको कालखण्डमा जाने हो भने राजनीति सत्यको खोजभन्दा सत्ताको संरक्षणतर्फ बढी उन्मुख रहँदै आएको छ। मानव सभ्यताको राजनीतिक इतिहासलाई नियाल्दा एउटा स्थायी तनाव देखिन्छ, सत्ता र सत्यबीचको तनाव। सत्ता भनेको निर्णय गर्ने, शासन गर्ने र समाजलाई निर्देशित गर्ने क्षमता हो भने सत्य भनेको यथार्थ, तथ्य र नैतिक इमानदारीप्रतिको प्रतिबद्धता हो। आदर्श राजनीतिक व्यवस्थामा सत्ता सत्यको मार्गदर्शनमा चल्नुपर्छ। तर व्यवहारमा सत्यलाई सत्ताको आवश्यकता अनुसार व्याख्या, वा नियन्त्रण गर्ने प्रयास गरिएको पाइन्छ।

अरस्तुले राजनीतिलाई सार्वजनिक कल्याण प्राप्त गर्ने कला भनेका थिए। उनका अनुसार राज्यको उद्देश्य केवल व्यवस्था कायम राख्नु होइन, नागरिकलाई राम्रो जीवन जिउन सक्षम बनाउनु हो। यसअर्थमा राजनीति नैतिक परियोजना हो। तर आधुनिक राजनीतिक यथार्थमा शक्ति र नैतिकताको सम्बन्ध सधैं सहज देखिँदैन। यही कारणले इटालीका राजनीतिक चिन्तक निकोलो म्याकियाभेलीले राजनीतिलाई नैतिकताबाट अलग गरेर हेर्ने प्रयास गरे। "द प्रिन्स" नामक किताबमा उनले शासकको पहिलो कर्तव्य सत्ता जोगाउनु हो भन्ने तर्क प्रस्तुत गरेका छन। जनताले परिणाम हेर्छन्, प्रक्रिया हेर्दैनन्, भन्ने उनको दृष्टिकोणले आधुनिक राजनीतिक यथार्थको आधार निर्माण गर्‍यो।

म्याकियाभेली र प्लेटोका विचारबीचको भिन्नता वास्तवमा सत्ता र सत्यको राजनीतिबीचको भिन्नता हो। प्लेटोका लागि सत्य राजनीतिभन्दा माथि थियो तर म्याकियाभेलीका लागि राजनीति सत्यभन्दा बिल्कुलै अलग क्षेत्र थियो। आधुनिक विश्वकाधेरै राजनीतिक संकटहरू यही द्वन्द्वको परिणामका रूपमा बुझ्न सकिन्छ। बीसौँ शताब्दीले सत्ता र सत्यबीचको सम्बन्धलाई झन् गम्भीर रूपमा उजागर गर्‍यो। नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोएबेल्सको एउटा प्रसिद्ध भनाइ छ, एउटा झूटलाई बारम्बार दोहोर्‍याइयो भने त्यो सत्यजस्तै देखिन थाल्छ। यसले आधुनिक प्रचार राजनीतिको मनोविज्ञानलाई प्रस्ट पार्छ। जब राजनीतिक शक्ति सूचना नियन्त्रण गर्न सक्षम हुन्छ, तब सत्यलाई प्रतिस्थापन गर्ने प्रयास सम्भव हुन्छ।

जर्मन–अमेरिकी राजनीतिक दार्शनिक हाना आरेन्टले आफ्नो निबन्ध Truth and Politics मा लेखेकी छन्, सत्यको सबैभन्दा ठूलो शत्रु झूट होइन, सत्यप्रतिको उदासीनता पनि हो। उनका अनुसार अधिनायकवादी शासनहरू केवल असत्य मात्र फैलाएर टिक्दैनन्, उनीहरू नागरिकलाई सत्य र असत्यबीचको भिन्नता प्रति नै उदासीन बनाइदिन्छन्। जब समाजले तथ्यभन्दा भावनालाई, प्रमाणभन्दा विश्वासलाई र तर्कभन्दा पहिचानलाई प्राथमिकता दिन थाल्छ, तब सत्य कमजोर हुँदै जान्छ। आजको डिजिटलयुगमा यो चेतावनी अझ सान्दर्भिक बनेको छ। सामाजिक सञ्जालको एल्गोरिदम र सूचनाको तीव्र प्रवाहले सत्य र असत्यबीचको सीमालाई धुमिल बनाइदिएको छ।

अहिलेको युगलाई धेरै विद्वानहरूले पोस्ट–ट्रुथ युग भनेर व्याख्या गर्छन्। यसयुगमा तथ्यभन्दा भावनाले राजनीतिक व्यवहारलाई बढी प्रभावित गर्छ। मानिसहरूले कुनैकुरा सत्यको आधारमा नगरी, आफूले विश्वास गर्न चाहेकाले स्वीकार गर्ने प्रवृत्ति बढेको छ। यद्यपि इतिहासलाइ अलि मात्र केलाउने हो भने सत्यलाई लामो समयसम्म दबाउन सकिँदैन भन्ने बुझिन्छ। सोभियत लेखक अलेक्जेन्डर सोल्झे नित्सिनले भनेका थिए, एक शब्दको सत्यले सम्पूर्ण संसारलाई जित्न सक्छ। सोभियतसंघको पतन आर्थिक असफलता मात्र थिएन, त्यो यथार्थ र प्रचारबीचको बढ्दो दूरीको परिणाम थियो। जब राज्यको कथन र नागरिकको अनुभवबीचको अन्तर असहनीय बन्छ, तब राजनीतिक वैधता कमजोर हुनथाल्छ।

चेक गणतन्त्रका पूर्व राष्ट्रपति तथा चिन्तक भ्याक्लाभ हाभेलले आफ्नो प्रसिद्ध निबन्ध The Power of the Powerless मा सत्यमा बाँच्ने (Living in Truth) अवधारणा प्रस्तुत गरेका थिए। उनका अनुसार राजनीतिक परिवर्तनको सुरुवात कुनै ठुलो आन्दोलनबाट होइन, व्यक्तिहरूले झूट स्वीकार गर्न अस्वीकार गर्ने साहसबाट हुन्छ। हाभेलको विचार अनुसार सत्य केवल दार्शनिक अवधारणा होइन, राजनीतिक प्रतिरोधको शक्तिशाली साधन पनि हो। नेपालको वर्तमान राजनीतिक सन्दर्भमा सत्ता र सत्यको प्रश्न अत्यन्त महत्त्वपूर्ण देखिन्छ। लोकतान्त्रिक आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणपछि पनि राजनीतिक प्रणाली प्रतिनागरिकको विश्वास पूर्ण रूपमा स्थापित हुनसकेको छैन। यसको एउटा प्रमुख कारण सत्ता र सार्वजनिक वचनबीचको दूरी हो। चुनाव अघि गरिएका प्रतिबद्धता र चुनावपछिका व्यवहारबीचको अन्तरले राजनीतिक विश्वसनीयतामा प्रश्न उठाईरहेको छ।

राजनीतिक दलहरू प्रायः सिद्धान्तभन्दा बाहिर गएर समीकरणमा र दीर्घकालीन दृष्टिभन्दा तत्कालीन सत्तामा केन्द्रित देखिन्छन्। यस्तो अवस्थामा "सत्य" राजनीतिक बहसको केन्द्रबाट बाहिर धकेलिन्छ। सामाजिक सञ्जालमापनि तथ्यपरक छलफलभन्दा भावनात्मक ध्रुवीकरण बढ्दो छ। कुनै विचारको मूल्य त्यसको सत्यताले होइन, त्यसले कसको पक्ष वा विपक्ष गर्छभन्ने आधारमा निर्धारण हुनथालेको छ। महात्मा गान्धीले भनेकाथिए, सत्य नै ईश्वर हो। अरस्तुले भनेझैं गान्धीकालागि राजनीति नैतिकताको विस्तार थियो। उनले सत्य र अहिंसालाई राजनीतिक संघर्षको आधार बनाए। आधुनिक लोकतन्त्रकालागि पनि यो दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण छ। यदि राजनीति केवल शक्ति प्राप्त गर्नेखेलमा सीमित भयो भने लोकतन्त्रको आत्मा कमजोर बन्नजान्छ।

नेपालको राजनीतिक इतिहासमा सत्ता र सत्यकोसम्बन्धबारे चर्चा गर्दा विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालालाई सम्झनु अपरिहार्य हुन्छ। बी.पी. केवल एक राजनीतिक नेता मात्र थिएनन्, उनी लोकतन्त्र, नैतिकता र मानवीय स्वतन्त्रताका दार्शनिक व्याख्याता पनि थिए। उनका लागि राजनीति सत्ता प्राप्त गर्ने साधन मात्र नभई समाजलाई न्यायपूर्ण, स्वतन्त्र र मानवीय बनाउने माध्यम थियो। यही कारणले उनले लोकतन्त्रलाई मानिसको आत्मसम्मान र स्वतन्त्रताको प्रश्नका रूपमा व्याख्या गरेका थिए।

बी.पी. कोइरालाको राजनीतिक यात्राले सत्ता र नैतिकताबीचको सम्बन्धलाई विशेष रूपमा उजागर गर्छ। २०१५ सालको निर्वाचनपछि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बी.पी.सँग सत्ता थियो, तर २०१७ सालमा राजा महेन्द्रले लोकतान्त्रिक सरकार विघटन गरी उनलाई जेल हाल्दा उनले लोकतान्त्रिक मूल्य र सत्यप्रतिको आफ्नो प्रतिबद्धता त्यागेनन्। लामो कारावास, निर्वासन र राजनीतिक दमनका बीच पनि उनले सत्ता प्राप्तिका लागि सिद्धान्तसँग सम्झौतागर्ने बाटो रोजेनन् । योदृष्टिले हेर्दा बी.पी.को जीवन भ्याक्लाभ हाभेलले भनेको Living in Truth” अर्थात् सत्यमा बाँच्ने अवधारणाको नेपाली उदाहरण जस्तै देखिन्छ।

बी.पी.को राष्ट्रियता, लोकतन्त्र र समाजवाद को त्रयी नैतिक दर्शनका आधार स्तम्भ थिए। उनले समाजवादलाई सामाजिक न्यायको माध्यमका रूपमा बुझे। लोकतन्त्रलाई उनले बहुमतको शासनभन्दा पनि विचारको स्वतन्त्रता, असहमतिको सम्मान र नागरिक अधिकारको संरक्षणसँग जोडे। उनका लागि राष्ट्रियता पनि संकीर्ण राष्ट्रवाद होइन, नागरिकको स्वतन्त्रता र राष्ट्रियस्वाभिमानको संयोजन थियो। यसरी बी.पी.ले सत्ता र नैतिकतालाई परिपूरकतत्वका रूपमा व्याख्या गरे।

उनको जीवनको अर्को महत्त्वपूर्ण पक्ष ‘मेलमिलापको नीति’ थियो। निर्वासनबाट फर्किएपछि उनले प्रतिशोधको राजनीति होइन, राष्ट्रिय सहमति र लोकतान्त्रिक पुनर्स्थापनाको मार्ग रोजे। त्यो निर्णय तत्कालीन राजनीतिक हिसाबले उनको लागि लाभदायक थिएन, तर नैतिक दृष्टिले अत्यन्त साहसी निर्णय थियो। उनले बारम्बार जोडदिएका थिए कि राष्ट्रको दीर्घकालीन हित कुनै व्यक्तिको सत्ता वा दलगत स्वार्थभन्दा ठूलो हुन्छ। यही कारणले बी.पी. नेपाली राजनीतिमा नैतिक साहसका प्रतीकका रूपमा स्मरण गरिन्छन्।

आज नेपालको लोकतन्त्रले सामना गरिरहेको विश्वासको संकट, राजनीतिक अवसरवाद र सार्वजनिक उत्तरदायित्वको कमजोरीलाई हेर्दा बी.पी.को विचार झन सान्दर्भिक देखिन्छ। उनले एकपटक भनेका थिए, लोकतन्त्र केवल शासन पद्धति होइन, यो जीवन पद्धति हो। यो भनाइले लोकतन्त्रलाई निर्वाचनको प्रक्रियाभन्दा माथि उठाएर सत्य, नैतिकता र नागरिक चेतनासँग जोड्छ। यस अर्थमा बी.पी. कोइराला प्लेटोको सत्यप्रतिको आग्रह, अरस्तुको सार्वजनिक कल्याणको अवधारणा र गान्धीको नैतिक राजनीतिका बीचको एउटा नेपाली सेतु जस्तै देखिन्छन्।

लोकतन्त्रको वास्तविक सार निर्वाचन मात्र नभईसत्यको खोज, सार्वजनिक उत्तरदायित्व र नैतिक वैधता पनि हो । यस सन्दर्भमा सञ्चारमाध्यम, विश्वविद्यालय, नागरिक समाज र बौद्धिक समुदायको भूमिका निर्णायक हुन्छ। उनीहरूको मुल काम सत्ताको सेवा गर्नु होइन, सत्यको रक्षा गर्नु हो। फ्रान्सेली चिन्तक अल्बेयर कामूले भनेका थिए, स्वतन्त्र प्रेस राम्रो वा नराम्रो हुनसक्छ, तर प्रेस स्वतन्त्रन भए त्यो निश्चित रूपमा नराम्रो हुन्छ। सत्यको राजनीति स्वतन्त्रसंस्थाहरू बिना सम्भव हुँदैन। अन्ततः प्रश्न सत्ता आवश्यक छ कि छैन भन्ने होइन। कुनैपनि संगठित समाजकालागि सत्ता अपरिहार्य छ। तर निर्णायक प्रश्न यो हो कि सत्ता सत्यप्रति उत्तरदायी छ कि छैन। जब सत्ता सत्यको अधीनमा रहन्छ, तब लोकतन्त्र बलियो हुन्छ, संस्थाहरू विश्वसनीय बन्छन् र नागरिक स्वतन्त्र रहन्छन्। तर जब सत्यलाई सत्ताको सुविधाअनुसार मोडिन्छ, तब लोकतन्त्रको क्षय सुरु हुन्छ।

दार्शनिक बर्ट्रान्डर सेलले भनेका थिए, लोकप्रिय विचारभन्दा सत्यलाई प्राथमिकता दिने साहस नै बौद्धिक इमानदारी हो। आजको विश्व र नेपालको राजनीतिक सन्दर्भमा यही बौद्धिक इमानदारी सबैभन्दा आवश्यक देखिन्छ। किनभने सत्ता अस्थायी नै हुन्छ, तर सत्यप्रतिको निष्ठाले मात्र राजनीतिक व्यवस्थालाई दीर्घकालीन वैधता र नैतिक आधार प्रदान गर्नसक्छ। लोकतन्त्रको भविष्य अन्ततः सत्ता कसले चलाउँछभन्नेमा होइन, सत्ता सत्यप्रति कति उत्तरदायी छ भन्नेमा निर्भर गर्छ।

No comments:

Post a Comment