श्रीपंचमीको अवसरमा परम्परागत हलो–गोरु पुजा
श्रीपंचमीको अवसरमा परम्परागत हलो–गोरु पुजा
राकेश चौधरी
महोत्तरी, ११ माघ ।sr1
महोत्तरीका किसानहरु आज श्रीपंचमीको अवसरमा परम्परागत हलो–गोरु पुजा गर्दै कृषि नवबर्ष मनाएका छन् ।
किसानहरुको सीप राम्रो हुनुका साथै धेरै अन्नवाली फलोस भन्ने कामनाका साथ हलो तथा गोरुको पुजा गरिएको छ । खेतमा लगिएको गोरुले गोबर नदिएसम्म जोतिराख्ने परम्परा रहेको छ । खेतमा गोरुले दिएको गोबर राखेर हलो तथा गोरुको पुजा गरिन्छ ।
खेतबाट फर्केको हलोलाई आँगनमा बनाइएको अरिपनमा राखेर हलोमा धान चढाउने तथा हरबाहालाई दक्षिणा दिई चामलको पिठोले बनाइएको घोल लगाइदिने गरिन्छ । बेला गाउँका किसान देवेन्द्र सिहंले खेत जोत्न ट्रयाक्टरको प्रचलन बढेसंगै हलो–गोरु नै हराउने थालेको बताए । यो परम्परा मिथिलाञ्चल क्षेत्र भरिकै हो तर फाटफुट रुपमा मनाउने गरिएको छ ।
खेतमा हलो लानु अगावै किसानहरुले लोहार कहाँ गई कृषि औजारहरु मर्मत गराएका थिए । लोहारले लगाएको भातीमा कृषि औजार तताई त्यसमा धानको लाव फोर्ने चलन पनि छ । आधुनिकतासंगै हलो–गोरु पुजा हराउनुका साथै आफ्नो पेशा पनि संकटमा परेको बद्री ठाकुर लोहारले बताए ।
श्रीपंचमीकै अवसरमा जलेश्वरनाथ मन्दिरमा मेला लागेको छ । किसानहरु आजको दिन मन्दिरमा धानकोे वाला, भान्टाको भार, दुधसहितका सामग्री चढाउने गरेका छन । त्यही राजदेवीमा रहेको सरस्वती मन्दिरमा निकै भीड देखिएको छ । यस क्षेत्रमा माटोको प्रतिमा राखेर शैक्षिक संस्था, बजार तथा गाउँघरमा सरस्वती पुजा गरिएको छ ।

हन्थले सशस्त्र समूहको आडमा बेचिखाए जानकी मन्दिरका ५ हजार बिगाह जमिन
हन्थले सशस्त्र समूहको आडमा बेचिखाए जानकी मन्दिरका ५ हजार बिगाह जमिन
नवीन झा
जनकपुरधामको संरक्षण र संवर्द्धन निम्ति अनेकन दाताले दान गरेका ६ हजार बिगाहा गुठी जमिनमध्ये ५ हजार बिगाहा जमिन स्थानीय सशस्त्र समूहको आड लिएर मठ मन्दिरकै महन्थहरुले बेचेर सिध्याएका छन्। सम्पति जोड्ने होडबाजीमा लागेका यहाँका महन्थ तथा मानमहन्थहरूले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पोखरी र मठ मन्दिरको जग र जमिन समेत मासेर अर्बौको निजी सम्पति जोडेका छन्। पूर्व सचिव भोजराज घिमिरेको संयोजकत्वमा गठित एक सरकारी आयोगले ३ महिना लगाएर तयार पारेको, तर अझैसम्म गोप्य राखिएको छानविन प्रतिवेदनले प्रष्ट पारेको छ—जनकपुरधामका विभिन्न गुठीको जमिनमा ६५० भन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गरिरहेका छन्। यसरी देवभूमि अतिक्रमण गर्नेहरुमा राष्ट्रिय तथा स्थानीय तहका राजनीतिक नेतादेखि ठूला व्यापारिक घरानाका परिवार र आपराधिक समूहका सदस्य समेत संलग्न छन्।
यसवर्ष विवाह पञ्चमीमा, भारत उत्तर प्रदेशको अयोध्याबाट पुरुषोत्तम रामको जन्ती बनेर ठूलो संख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आए। उनीहरु जानकीको माइतीदेशमा बनेकोे वैदिककालीन रामजानकी विवाह मण्डपमा सजिन पाएनन्। किनभने पवित्र मणिमण्डपको विस्तृत क्षेत्र भूमाफियाको कब्जामा परिसकेको थियो। जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर, राम जानकी विवाह मण्डपको विशाल भूमिमा आज मांस—मदिराका व्यापारीहरुको पञ्जामा परेको छ। रानीबजार क्षेत्रमा रहेको पवित्र मणिमण्डप भूमिमा राम र उनका भाइहरुको एकैचोटी स्वयंवर भएको विश्वास गरिन्छ। यो स्वयंवर हेर्न यहाँ लाखौं श्रद्धालु आउँछन्। तर अहिले भने उनीहरु यहाँ उभिन पनि पाउँदैनन्। यस पवित्र भूमिको २५ विगाहा जति जमिन त जानकी मन्दिरका पूर्व महन्थ रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए। त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बास पाउँदैनन्।
महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनवोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी चाहिँ ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पति महन्थको विर्ता सरह हुन पुग्यो। यस भूमिको बेचबिखन यतिसम्म हुन पुग्यो कि आज जनकपुरधामका धार्मिक र सांस्कृतिक प्रतीकहरु छिन्नभिन्न हुन थाले।
देवभूमिको जमिनमा जथाभावी अतिक्रमण हुँदा जनकपुर शहर नै नरकपुर हुन लागिसकेको छ। यहाँको अतिक्रमण हटाउन लाग्दा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले नै पहल फिर्ता लिनु परेको छ। मन्त्री विमलेन्द्र निधिका प्रियपात्र जीवनाथ चौधरी र देवभूमिको जमिन बेचेर संकट थपिदिने धनकुबेर महन्थहरु तथा भूमाफियाहरुले भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधिको शक्ति प्रयोग गरेर हाललाई अतिक्रमण हटाउने काम रोकिदिएका छन्। जसका कारण जनकपुरधामलाई आधुनिक शहरको स्तरमा पुर्याउन एशियाली विकास बैंकले १ अर्ब ९० करोड रुपैया लगाएर वृहत्तर जनकपुर विकास परिषद मार्फत गर्न लागेको काम पनि रोकिन पुगेको छ। तर मन्त्री निधिले हालै जनकपुरमा आयोजना गरिएको एक कार्यक्रममा भने, म यो विकास कार्यक्रमलाई लागु गराएरै छाड्छु।
गुठी खाने धमिरा
जनकपुर नगरपालिका भित्र मात्र १४ वटा राजगुठीहरु छन्। जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठीमा राखिएका छन्। यहाँका सवै गुठीहरु अतिक्रमणमा परेका छन् तर जानकी मन्दिरको जमिनमा सबैभन्दा बढी अतिक्रमण भएको छ।
नगरपालिका क्षेत्रको गुठीको जमिनमा कति सम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २८६७ विगाहामध्ये २५ सय विगाहा अतिक्रमणमा परेको छ। जानकी मन्दिरको साविक ६०० विगाहा ५३० विगाहा, लक्ष्मण मन्दिरको साविक ४१० विगाहा मध्ये ३९० विगाहा, रत्नसागरको साविक ६५ विगाहा मध्ये ४२ विगाहा, कुवा मठको ४८५ विगाहामध्ये ४६० विगाहा, हनुमान मठको १४३ विगाहा मध्ये १३० विगाहा जमिन अतिक्रमणमा परेको छ। गुठीकोे शरणमा आएका महन्थहरुले गुठी श्री सम्पति नै विनाश गर्ने खेलको अगुवाइ गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ। यसमा गुठी संस्थान, मालपोत, नापी र महन्थ मात्र होइनन्,अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन्।
जनकपुरधामका ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको रेकर्ड छ। तर ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन्। रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमिन समेत भूमाफियाको हातबाट बेचिई सकेको छ, वैष्णव सन्त रामानन्दको नाममा अहिले सार्वजनिक चोकमात्र बाँकी छ। जानकी माताको लागि बनेको पवित्रतम्् पयश्विनी सर (पोखरी) मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन्। पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराई सकेका छन्। अमृतकुण्ड, बलदेवसर र गोपालसर लगायतको जमिनमा व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन्। तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली—सर, पादप्रक्षालन (गोडधोई)सर, पुरन्दर—सर, पाकवती—सर, दीर्घिका—सर, लक्ष्मण—सर, सेवामन्तक—सर, धूतपाप—सर, सीताकुण्ड, पापमोचनीसर आदिले निरन्तर अतिक्रमण झेल्दैछन्।
भारत टिकमगढकी महारानी वृषभानु कुँवरले जानकीको जन्म क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन सन् १९९८ मा जानकी मन्दिर बनाई दिएकी थिईन्। यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भै ६ हजार विगाहा भन्दा बढी जमिनको देवगुठी स्थापित भएको थियो। यस गुठीको ५ हजार बिगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ।
महन्थलाई लुटको लाइसेन्स
जानकी मन्दिरको जमिन राजगुठी भए पनि छुटगुठी राखेर महन्थको जिम्मा लगाएदेखि जानकीभूमि हरणको खेल सुरु भएको देखिन्छ। यस गुठीको रेखदेख संस्थान आफैंले गर्नु पर्नेमा सो नगरी मन्दिरको कुनै पनि सम्पति कुनै पनि तवरले बेचबिखन, दान दातव्य वा मनखपद्वारा कसैलाई पनि दिन नपाउने शर्तमा गुठी संस्थानले सम्पूर्ण जिम्मेवारी महन्थलाई सुम्पिएपछि गुठीको जमिनमा महन्थको मनोमानी चल्न थाल्यो। गुठी संस्थान भने लुटको साक्षी बस्यो।
गुठी संस्थान जनकपुर कार्यालयले जानकी मन्दिरको पुरानो श्रेस्ता, अर्थात् सम्वत १९८३ को लागत गायव बनाई दिएपछि यस देवभूमिमा भूमाफियाले कब्जा जमाए। गुठीको पुरानो श्रेस्ता नभेटिएपछि २०२९ सालमा जनकपुर अञ्चलाधीश कार्यालयले तत्कालीन महन्थ रामशरणदास वैष्णवबाट गुठीको जग्गाको फाँटवारी माग्यो। महन्थ रामशरणदास वैष्णवले फाँटवारी दिँदा धेरै जमिन लुकाए। तर गुठी संस्थानले यसै फाँटवारीलाई जानकी मन्दिरको आधिकारिक दस्तावेज मानिदियो।
रामशरणदासले अञ्चाधीश कार्यालयलाई साविक बेल्ही विर्ताको किशोरनगर, रजौली र पिडारी वरपरको ९७ बिगाहा ८ कठ्ठा ८ धुर जतिको लगत दिएका थिए। धेरै जमिन लगतमा नपारिएपछि देवगुठी सम्पति वेवारिसे हुन गयो। स्थानीयले गुठी संस्थानलाई हारगुहार लगाएपछि, गुठी संस्थानले छुटगुठी बनाएर रेखदेखको सम्पूर्ण जिम्मेवारी महन्थ रामशरणदास वैष्णवलाई नै सुम्पिदियो।
यसपछि महन्थले मनोमानी गर्ने आधिकारिकता पाए जस्तो गरेर गुठी जमिन बेचविखन गर्न थाले। रामशरणदासले वेंगा शिवपुर गाविसमा रहेको जानकी मन्दिरको जमिन स्थानीय नेता तथा व्यापारीहरुलाई प्रति कठ्ठा २५ हजार देखि ५० हजारसम्ममा बेचबिखन गरेर देवभूमि विनाश शुरु गरेका थिए।
महन्थको मनखप (खाईपाई तलव), दोकानी (खुद्रा खर्च) तथा पूजा (खर्च) चलाउने वहानामा रामशरण दासले देवभूमिको जमिन २०४४ देखि बेच्न थालेका थिए। २०४६ सालमा व्यवस्था परिवर्तन भएको ५ वर्षे लुटको अवधिमा महन्थको दरबारमा गुठी जमिन किनबेचको ठूलो धन्धा सुरु भयो।
महन्थले मनखप वापत आफूले गुठीको जमिन लिएर सो जमिन व्यक्तिलाई बेचिदिएको दिएको लिखत बनाई दिन्थे। यसै लिखतको आधारमा २०५१ सालको नापीको मौका छोपेर व्यक्तिहरुले गुठीको जमिन आआफ्नो नाममा गराए। ०५१ सालमा नापी गरिएको जमिन गुठी संस्थान ऐन २०३३ को संसोधन सहितको दफा २५(३) लगाएर रैतानी दर्ता गरिएको थियो। महन्थको जालसाजपूर्ण लिखतलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्थले स्थानीय भूमाफियासंग मिलेर गुठी जमिनको खुला कारोबार नै चलाए। मनगढन्ते मनखपको आधारमा जानकी मन्दिरको जमिनमा अहिले ४५० भन्दा बढी परिवारले घर—बजार बनाएका छन्।
घिमिरे आयोगको प्रतिवेदनको २४६औं नम्बरमा जानकीभूमि अतिक्रमणकारी भनेर एमालेका वरिष्ठ नेता रघुवीर महासेठको नाम दिएको छ। दशरथ तलाउको पूर्वको जानकी मन्दिरको जमिनमा रघुवीर महासेठ सहित अशोक महासेठ, रामबाबु महासेठ, विजय महासेठ र मुकेश महासेठहरुको समूहले ६० कित्ता जमिन कब्जा गरेका छन्। पिडारी चोकको गोडधोई पोखरी, अरगजा पोखरी र तेलहा पोखरीको जमिन स्थानीय ३७ परिवारले कब्जा गरेका छन्। मराह पोखरीको २४ कित्ता जमिनमा डा.रामवृक्ष साह समेतले अतिक्रमण गरेका छन्। लक्ष्मण मन्दिरको जमिनमा भने २९ ठूला घरानाले कब्जा जमाएका छन्।
जाली मनखप
रामशरणदास वैष्णवको ०५३ सालको असारमा रहस्यमय मृत्यु भएपछि उनका चेला रामतपेश्वर दास जानकी मन्दिरका हर्ताकर्ता बने। यिनले २०५३ सालपछि पनि पुरानै मितिका रामदास वैष्णवका हस्ताक्षरमा नक्कली मनखप लिखत तयार पारेर गुठीको जमिन बेच्ने उद्योग सुरु गरे। घिमिरे आयोगले भनेको छ¬– ‘२०५३ सालमा नापी हुँदा सर्वे नक्शामा घर नरहेको र मन्दिरका खाली रहेको जमिनमा पनि मन्दिरका महन्थद्वारा नापी पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाए।’
यसपछि अरगजा तलाउ, मराहा पोखरी, तेलाहा पोखरी, पाकवती पोखरी, रामानन्दचोक पूर्वको खाली जग्गा,जनस्वास्थ्य कार्यालय पूर्वको जग्गा, देवी चोकको जमिन, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वरले बिक्री गरिदिए। घिमिरे प्रतिवेदनले किटेरै भनेको छ— ‘महन्थ रामतपेश्वरदास स्वयंले अनधिकृत रुपमा जानकी मन्दिरको पोखरी, त्यसको डीलको जग्गामा घर, सटर आदि बनाउन लगाए। सर्वे नापी पछि खाली रहेको जग्गालाई पुरानो मितिको कवुलियतको कागज लेखी आफ्ना स्वर्गीय गुरु रामशरणदासको नक्कली हस्ताक्षर गरी छाप लगाई आफूले हालसम्मको मनखप बुझेको भरपाई दिई बिक्री गरेको छ।”
यसैगरि रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ विगाहा जमिन पनि बिक्री हुन गयो। रानीपाटी (तोत्रादी मठ)को ५ विगाहा जमिन अतिक्रमण गरेर रैकर दर्ता गराई बिक्री गरिसकेका छन्।
पृथ्वीमै वैकुण्ठपुरी
२०२६ सालको सर्वे नापीमा ८० बिगाहा देखिएको रत्नसागर गुठीको जमिन मध्ये महन्थ बैकुण्ठदास वैष्णवले ५५ विगाहा जति बिक्री गरिसकेका छन्। यस गुठीको १० विगाहा जमिन त राजाका नातेदार कुमार खड्ग विक्रमले हडपेका थिए। उसैबेला ५ विगाहा जमिन रैतान गरे तापनि ५ बिगाहा जमिन भने रैतानी हुन पाएको थिएन। तर यो जमिन पनि बिक्री भैसकेको छ। जनकपुरमा छोटो समय बसेका एसपी विश्व जबरा, स्थानीय नेता वृषेशलाल र ब्रम्हचारी रामबाबुले समेत रत्नसागर गुठीको जमिन लिन भ्याए। रत्नसागर गुठीको १७ बिगाहा जमिन वर्षको ७० हजार भाडा दिने गरी मणिपाल अस्पतालले लिएको छ। रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवले मनोमानी मनखप बनाई यहाँको जमिन बेचविखन गरी आफ्नो नाममा वैकुण्ठपुरी नामको एक बस्ती बसाएका छन्।
पृथ्वीको वैकुण्ठपुरी
रामानन्दचोकको पश्चिम—उत्तरतिरको रत्नसागर मठको खेतमा भूमाफिया लगाएर प्लटिंग गराएपछि सो जमिन विभिन्न व्यक्तिलाई बेचियो। महन्थ वैकुण्ठदास वैष्णवले बेचेको गुठीको जमिनमा नयाँ बस्ती बसेको हुनाले यस बस्तीको नाम वैकुण्ठपुरी रहनगयो। यो बस्ती रामानन्दचोक देखि पश्चिमतिर परिक्रमा सडकसम्म फैलिएको छ। यसको उत्तरमा पिडारी गाउँ छ भने दक्षिणमा महोत्तरीको भमरपुरा। महन्थ वैकुण्ठदास वैष्णव भन्छन्—मैले आफ्नो गुरुको सम्मानकालागि यो गाउँको नाम राखिदिएको हो।
दशरथ मन्दिरका महन्थ जगरनाथदासले चाहिँ गुठीको जमिन आफ्नो नाममा दर्ता गराएर निजी नम्बरी बनाएर बेचबिखन गरे। लक्ष्मण मन्दिरको ३० कित्ता जमिन पनि भूमाफियाको कब्जामा परिसकेको छ। राम जानकी दुलाहा भगवान बेलाकोटीको जमिनमा जीवनाथ चौधरीको सीता प्यालेस नामको भव्य होटल खडा गरेका छन्। रामजानकी दुलहा भगवान बेलाकुटीको विन्धी गाउँको १०३ कित्ता जमिनमा हीरादेवी ठाकुर, ललन झा, कृष्णकुमार झा, विनोद चौधरी, उदय चौधरी आदिले अतिक्रमण गरेका छन्। ललन झा, मन्त्री विमलेन्द्र निधिको सिफारिसमा संविधानसभा पुगेकी नेपाली कांग्रेस सभासद मिनाक्षी झाका पति हुन्।
हाल कुवामन्दिरको २० विगाहा जमिनमा बेचबिखन र अतिक्रमण चलिरहेको छ। कुवा फूलबारीको जमिनमा दिगम्बर झा समेत सयभन्दा बढी परिवारले अतिक्रमण गरेका छन्। कुवा फूलबारी गुठीको ६३ कित्ता जमिन चाहिँ राजकिशोर यादव, महेन्द्र चौधरी आदिले लिएका छन्। सीताकुण्डको जमिन चाहिँ महालक्ष्मी देवी, महानन्द सिंह आदिले ओगटेका छन्। यहाँ सीताकुण्ड नै विलोप गराएर व्यापारीले घर ठड्याएका छन्।
रामसागर पोखरीको जमिनमा २६ परिवार र धनुषसागरको जमिनमा १३ परिवारले घर बनाएका छन्। राम मन्दिरको गिरिनारी कुटीदेखि उत्तरतिरको गोडधोई पोखरीको जग्गामा जगदीश महासेठ, गणेश महासेठ, अरुण महासेठ, महेश महासेठ र सुरेश महासेठ आदिले कब्जा गरेका छन्। राममन्दिरकै पुरण घरसर पोखरीको जमिनमा विश्वनाथ साह, विजय साह, महेश साह, रमेश साह आदि ३४ परिवारले र वडा नं ७ को लवकी पोखरीको जमिनमा ४ परिवारले घर बनाएका छन्। मध्यमासर पोखरीको जमिन धोवीले ओगटेका छन् भनेे चन्द्रकूप भन्ने देवान पोखरीको जमिन प्रकाशलाल कर्ण आदिले ओगटेका छन्। विषहरा पोखरीको जमिनमा १८ परिवारको घर सहित महेन्द्र नारायण निधि प्रतिष्ठान बनेको छ। कदमचोक, विद्युत कार्यालय पूर्वको जमिनमा मिश्र परिवारले भोगचलन गरेका छन्। पिपरिया माईको जमिनमा सञ्जय साह सहित १३ परिवारले कब्जा जमाएका छन् भने यसै जमिनमा नेपाली कांग्रेसले पार्टी कार्यालय बनाएको छ। हनुमान सिनेमा हलदेखि दक्षिणको राममन्दिरको जमिनमा जालान परिवार बसेका छन्। कपालमोचनी पोखरीको जमिनमा १९ परिवार बसिसकेका छन्। यहाँ बेचबिखन चलिरहेको छ। लक्ष्मण मन्दिरको रजौल बगैचामा महेन्द्र श्रीवास्तव र कृष्णसिंह आदिले ५५ कित्ता हडपेका छन् भने रजौल पूर्वको ३० कित्ता जमिनमा रामसागर यादव आदिले कब्जा गरेका छन्। प्रो पब्लिकले ०५९ सालमा अनुसन्धान रिपोर्ट प्रकाशित गरेर जनकपुरका नेताहरु विमलेन्द्र निधि, रामचन्द्र झा, वृषेशचन्द्र लाल, रघुवीर महासेठ लगायतका सबैले मन्दिरको जग्गा लिएको तथ्यांक दिएको थियो।
घिमिरे आयोगको रिपोर्टमा भनिएको छ—मन्दिरको नामवाट महन्थ तथा पुजारीले प्राप्त गरेको ठूलो धनराशी पनि मन्दिरको नाममा नभएर महन्थले निजी आर्जनमा लिएको देखिन्छ। अतिक्रमणमा परेका ऐतिहासिक पोखरीहरु तथा तिनको डिलमा महन्थले आफना भाइभतिजा, नातेदारहरुलाई राखेका छन्। जानकी मन्दिर वरिपरिका धार्मिक एवं संवेदनशील स्थानमा महन्थज्यूले आफैं वा आफना व्यक्तिद्वारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गर्नुभएको छ।
केही महिना अघि जनकपुरमा बृहतर विकास परिषदको अतिक्रमण गर्ने घर टहराहरु भत्काउन लाग्दा महन्थहरुले राजनीतिक शक्ति लगाएर त्यो काम रोकिदिएका छन्।
बक्स
तेलहा मडाहा पोखरी
जानकी मन्दिरको ठीक अगाडि पटि्टको उत्तरतिर तेलहा मडहा पोखरी थियो। महन्थ रामतपेश्वर दासले यसको डिलमा आफ्ना मानिसहरु बसाएर अतिक्रमण गराएपछि स्थानीयहरुलाई बेचिदिए। वृहत्तर जनकपुर विकास परिषदले यहाँ अतिक्रमण गर्ने घरहरु भत्काएर पोखरी पुनर्स्थापना गर्न खोजेका छन्। तर सकेका छैनन्।
अपराधको मञ्चन
धनुषाका पूर्वप्रहरी प्रमुख उत्तम सुवेदी भन्छन्—“मध्य र पूर्वी तराईमा अपराधकर्ममा संलग्न रहेका सशस्त्र समूहका अधिकांश सदस्यहरुको सम्बन्ध जनकपुरधामको जग्गाको बेचबिखन र दलालीबाट आएको अवैध कमाईसँग गाँसिएको पाइएको छ। देवभूमिको जमिन बेच्ने महन्थहरुबीच आपसी रञ्जिस हुँदा सशस्त्र समूहहरु परिचालित भएर अपहरण गर्ने, फिरौती असुल्ने र हत्या गर्नेसम्मको अपराध भएको तथ्य प्रहरी अनुसन्धानबाट देखिएको छ।”
२०४६ सालपछि जनकपुर क्षेत्रमा जीवनाथ—सञ्जय साहको जोडी ठूलो कारोवारीको रुपमा देखा पर्न गयो। यिनले नेता, महन्थ, मानमहन्थ गुठी कर्मचारी र प्रहरी प्रशासनका हाकिमहरुलाई समेत संयोजन गरेर जनकपुरधामको धार्मिक गुठीको जमिन बेचविखन गर्न थाले। जम्माजम्मी १० वर्षको अवधिमा यी दुई भूलालहरु कौडी कवाडीबाट अरबपति बन्न पुगे।
२०६२/६३मा मधेश आन्दोलन उठेर तराई—मधेशमा सय भन्दा बढी भूमिगत सशस्त्र समूह स्थापना भए। यी सशस्त्र समूह राजनीतिक उद्देश्यले नभएर आर्थिक अपराध गर्नकोे लागि भूमाफियाहरुबाट गठन भएको अवैध शक्ति थियो भन्ने कुरा राजन मुक्ति समूहका प्रमुख रंजित झा पक्राउ परेपछि मात्र खुल्न गयो। जीवनाथ चौधरी र सञ्जय साह टक्लाको जोडीले अनेकौं सशस्त्र समूहको निर्माण र सञ्चालन गरेको कुरा जनकपुरको रामानन्दचोक विष्फोट काण्डमा पक्राउ परेका मुकेश चौधरीले अदालतमा बयान दिएर पुष्टि गरे। जीवनाथ उपर बम प्रहार गर्न गएका मुकेशले प्रहरीलाई बयान दिँदै भने, सञ्जय टक्लाको आदेशमा काम गरे तापनि जीवनाथसँग कारोबारी सम्बन्ध रहेकोले उनलाई बचाउन भूमिका खेलें।
धेरैवर्ष सँगै काम गरेका चौधरी—साहको जोडीलाई महन्थहरुबीचको रञ्जिसले फुटाई दिएको थियो। फुट भएपछि राजनीतिक समूह पनि फरक हुन गयो। संजय साह टक्ला, सद्भावना पार्टीतिर लागे भने जीवनाथ चौधरी विमलेन्द्र निधिको संरक्षणमा गए। यसैबीच सञ्जय साहले जीवनाथ चौधरीको हत्या गर्ने योजना बनाएर रामानन्दचौकमा बम विष्फोट गराउँदा नागरिक समाजका निर्दोष मानिस मारिए। अहिले साह यसै अपराधमा सिराहा जेलमा छन्। जीवनाथ चौधरी भने जिल्ला विकास समितिका भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार धाउँदैछन्।
महन्थबीच सुपारी युद्ध
वैकुण्ठदास र रामतपेश्वरदास दुवै अरबपति महन्थ हुन्। वैकुण्ठदासलाई भारतीय भगौडा अपराधी भएको र वतन ढाँटेर नेपाली नागरिकता लिएको तथा गुठीको श्रीसम्पति हिनामिना गरेको आरोप लागेको छ। रामतपेश्वर गरिबका सन्तान हुन्, तर धन कमाउनाका लागि उनीमाथि गुठी मासेको, चोरी गरेको र आपराधिक समूह सञ्चालन गरेको आरोप लागेको छ। यी दुईवीच एकले अर्कालाई सिध्याउने खेल चलिरहेको छ। यस्ता खेललाई जनकपुरवासीले …महन्थहरुबीचको सुपारी युद्ध' भनेर चर्चा गर्ने गरेका छन्।
रामानन्दचोक बम विष्फोट काण्डमा पक्राउ गरेका सशस्त्र समूहका राजनमुक्ति (रंजीत झा), पृथ्वी सिंह (श्याम यादव), स्वामीजी (उमेश यादव), अजयमुक्ति (दीपक सिंह) र अर्जुन सिंह (मुकेश चौधरी) जस्ता अपराधीहरु गुठी जग्गाको कारोबार गर्ने माफिया समूहसँग सम्बद्ध थिए। रत्नसागर मठका महन्थ वैकुण्ठदास र जानकी मन्दिरका महन्थ रामतपेश्वरदासवीच शीतयुद्ध परेपछि …महन्थहरुवबीचको सुपारी युद्ध'मा उनीहरु प्रयोगमा आए।
राजन मुक्ति (रंजित झा)ले अदालतलाई वयान दिँद गुठीका महन्थहरु नै अपराधको केन्द्रमा रहेको खुलासा गरे। उनले वयानमा भनेका छन्—“रत्नसागर मठका महन्थ वैठकुण्ठदासको निर्देशनमा ०६७ कार्तिक ११ गते (मैले) लालकिशोर झाको हत्या गरेको हुँ। लालकिशोर झा मटियानी मठका मानमहन्थ जगरनाथदासका भतिजा थिए। (रामतपेश्वर दासको संरक्षणमा रहेका) जगरनाथदासको कारोबार लालकिशोर झाले हेर्थे। (लालकिशोर)झा र रत्नसागरमठका महन्थ बैकुण्ठदासबीच गुठीको जग्गा बेचबिखनमा मनमुटाव भयो। सोही रिसइबीका कारण बैकुण्ठदासले (लालकिशोर) झालाई मार्न म (राजन मुक्ति) र भाष्करमुक्ति भन्ने दीपक सिंहलाई सम्पर्क गरी, तपाईहरुलाई चन्दा (सुपारी) दिन्छु मेरो काम गरिदिनु भनेर प्रस्ताव गरे। ...बैकुण्ठदाससँग भारतको सीतामढीमा बैठक गरेर १० लाखमा डिल भयो.....सहमति बमोजिम दासले मलाई ७ लाख रुपैया दिए, बाँकी रकम मेरा कार्यकर्ताहरु सुनिल कुमार, राकेश पाण्डे, शिवकुमार ठाकुरलाई दिए।'
तर रत्नसागर मठका महन्थ बैकुण्ठदास भन्छन्,—“मलाई फसाउन जानकी मन्दिरका महन्थ रामतपेश्वरदास सहित केही महन्थहरु लागेका छन्। तिनले यस्तो अफवाह फैलाएका छन्। तर तिनको केही चल्दैन।”
धनुषाको गंगुली गाउँस्थित श्री मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पतालका मालिक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास हुन्। अत्यन्त गरिब परिवारका सन्तान रामतपेश्वर दास अहिले साढे ६ बिगाहा जमिनमा बनाइएको यस भव्य अस्पतालको ६० प्रतिशत शेयरको धनी छन्। यसको बाँकी ४० प्रतिशत शेयर पनि उनकै हो तर नातेदार निर्मला ठाकुरको नाममा राखिएको छ। अस्पतालको जग्गा र भवनको सम्पति मात्रै ३९ करोडको छ। कलेजका निर्देशक राकेश झा पनि महन्थ रामतपेश्वर दासका आफ्नै भतिजा छन्। आयुर्वेद चिकित्सा शिक्षण हुने यस कलेजका विद्यार्थीको शुल्क १० देखि १६ लाख सम्म लिइन्छ। जानकी मन्दिरबाट बार्षिक २ करोड भन्दा वढी उठ्ने भेटी र चढौना समेत रामतपेश्वरले निजी तवरले खर्च गर्छन्। भगवान वेलाकुटीबाट राधाकृष्णको बहुमुल्य मूर्ति चोरी भएपछि केन्द्रिय प्रहरी अनुसन्धान व्युरोले एकवर्ष लगाएर खोजी गर्दा सो मूर्ति रामतपेश्वर दासकै कुटीमा फेला पर्यो। तर प्रहरीले कारवाही चलाउन सकेन। यसबारेमा पत्रकार मनोज साहले पत्रपत्रिका मार्फत खुलासा गरेपछि ०६४ माघ ३ गते पत्रकार साहमाथि प्राणघातक आक्रमण भयो।
मनोज साहमाथि संघातिक हमला गर्ने तीनजना आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्यो। ती अभियुक्तहरुले अदालत समक्ष बयान दिएर आफूहरुलाई महन्थ रामतपेश्वर दासले (सुपारी दिएर) अपराधकर्म गर्न लगाएको खुलासा गरे।
मनोज साह जानकी मन्दिरको गुठीको वारेमा लेख्ने जनकपुरका पत्रकार थिए। पहिलो संविद्यानसभाको निर्वाचन पश्चात माओवादी सरकारमा आउदा उनी गुठी संस्थानको केन्द्रीय सदस्य समेत भए। साह भन्छन, जनकपुरको गुठीको सम्पति विनासमा मन्दिरका महन्थहरुको मूख्य भूमिका छ। यही विषयमा कलम चलाउँदा जानकी मन्दिरका महन्थबाट म माथि संघातिक हमला भयो।
राज्यलाई चुनौती
जनकपुरधामका मन्दिर र जमिन गुठी संस्थान अर्न्तगतका भए पनि प्रत्येक ५ बर्षमा महन्थहरुको नियुक्ति गर्छ। तर कुनै पनि महन्थले गुठी संस्थानलाई टेर्दैनन्। गतवर्ष गुठी संस्थानले जानकी मन्दिरमा नयाँ महन्थ नियुक्त गर्ने प्रक्रिया अघि बढाउँदा महन्थहरुले आन्दोलन गरेर संस्थानको प्रयास विफल पारिदिए। नाम उल्लेख नगर्ने शर्तमा गुठी संस्थानका एक अधिकारी भन्छन्—महन्थ रामतपेश्वर दासलाई जीवनाथ चौधरी मार्फत विमलेन्द्र निधिको संरक्षण प्राप्त छ। महन्थ बैकुण्ठ दासको पक्षमा सञ्जय साह थिए, उनी जेल परेपछि महासेठ र रामचन्द्र झाहरुले संरक्षण दिएका छन्। किनभने गतसाल मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जानकी मन्दिरका महन्थले विमलेन्द्र निधिलाई र रत्नसागर मठका बैकुण्ठ दासले भने सञ्जय साह टक्लालाई चुनावी खर्चमा सघाएका थिए। यस्ता अपराधीहरूलाई परिचालन गरेर बसेका महन्थहरु कानुनी दायरामा आएनन् भने राज्यलाई अझ ठूलो चुनौती थपिने छ।
महन्थको अपराधै अपराध
-जनकपुरको वेलाकुटीमा शोभायमान राधाकृष्णको बहुमुल्य मूर्ति चोरी भयो। यस सम्बन्धमा केन्द्रिय प्रहरी अनुसन्धान व्युरोले १ बर्ष अगाडि अनुसन्धान र छानविन गर्दा उक्त मूर्ति जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले लुकाई राखेको फेला पारे।
-०६४माघ ३ गते मनोज साहमाथि संघातिक हमला भयो। यस काण्डमा प्रहरीले पक्राउ गरेका तीन जनाले अदालत समक्ष बयान दिँदै आफूहरुले जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको योजना बमोजिम, पैसा लिएर हमला गरेको बताए।
-अख्तियारले गुठी संस्थानलाई हालै मात्र अत्यन्त जरुरी सूचना सहितको एक पत्र लेखेर जनकपुरको जानकी मन्दिरको नाममा रहेको हजारौं बिगाहा जग्गा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले गैरकानुनी रुपमा बेचबिखन गरेको र केही जमिन आफना नातागोताको नाउमा राखेको भन्दै त्यस सम्बन्धी तथ्यसत्य जानकारी दिन आग्रह ग¥यो।
-जनकपुरको अर्को महत्वपूर्ण मठ रत्नसागरका महन्थ बैकुण्ठ दासलाई सशस्त्र समुहका नाइके राजन मुक्तिले हालै अदालतमा बयान दिएर महन्थ बैकुण्ठ दाससँग भएको रु. १० लाखको डिलमा आफूले महोतरीको शिक्षा कार्यलयका अधिकृत लालकिशोर झाको हत्या गरेको स्वीकार गरे।
-बैकुण्ठ दास भारतीय नागरिक भएर पनि गैरकानुनी रुपमा जनकपुरवाट नेपाली नागरिकता लिएको भनेर अख्तियारले उनी विरुद्ध पक्राउ पूर्जी नै जारी गरिसकेको छ।
-महन्थ बैकुण्ठ दासले पनि गैर कानुनी तवरले जनकपुरको रत्नसागरका अर्बौं मूल्य पर्ने जग्गा बेचबिखन गरेको भनेर अख्तियारले गुठी संस्थानलाई त्यस सम्बन्धी छानविन गरी तत्काल जानकारी गराउन पत्र लेखेको छ।
खोज पत्रकारिता केन्द्र
समावेशीकरणको परिचय
समावेशीकरणको परिचय
================
- राष्ट्रको मूलधारमा समावेश हुन नसकेका विभिन्न समूह ,वर्ग ,सम्प्रदाय ,जात ,जाति ,धर्म ,लिँग र भाषाका व्यक्तिहरुलाई राष्ट्रको मूलधारमा समावेश गरी शक्ति ,साधान र स्रोत र अवसर मा न्यायोचित साझेदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ ।
- समावेशीकरण एउटा त्यस्तो प्रकृया हो जहाँ राज्यको शासकिय क्रियाकलापहरुबाट बाध्यतावस अलग हुन पुगेका वा पुर्याईएका विभिन्न वर्ग ,समुदाय ,धर्म ,वर्ण र लिंगका व्याक्तिहरुलाई राज्यको शासन सञ्चालन ,कानुन निर्माण तथा सार्वजनिक नितिहरुको तर्जुमा कार्यान्वयन एवं मूल्यांकन प्रकृयामा सहभागी हुने अवसर प्रदान गर्ने कुरामा जोड दिन्छ ।
- समावेशीकरण बहिष्करण विरुद्ध लड्ने एउटा रणनिती हो ।यो सबै मानिस जन्मजात रुपमा समान छन् तसर्थ सबै मिलेर बाँचौ ,संगै मिलेर बसौ ,संगै मिलेर खाँऔ ,सबै मिलेर रमाऔ र कसैलाई पनि एक्लै बिचल्लीमा नपारौ एवं राष्ट्रले सबैलाई बिना भेदभाव समान व्याबहार गर्नुपर्छ भन्ने मानविय मुल्य ,मान्यता र आदर्शमा अडेको छ ।समावेशीकरणलाई साझा भाग्यको बन्धन भनेर पनि भनिन्छ ।
- राज्यका सबै तहमा सबै जातजाती वर्ग समुदायको अर्थपूर्ण सहभागिता गराई शासन प्रणालीप्रति अपनत्व बोध गराउने प्रकृया हो समाबेशीकरण ।
- राज्यशक्तिमा समान पहुँच र लाभका वितरणमा समान सहभागिता नै यसको प्रमुख उदेश्य हो ।
- समावेशीकरण शब्दको प्रयोग सर्वप्रथम Takis Fotopaulous ले गरेका हुन ।उनले यो शब्दलाई प्रजातन्त्र संग जोडेर प्रयोग गरेका थिए ।
'हाम्रो काम एन्टिडिप्रेसनको डोज'
'हाम्रो काम एन्टिडिप्रेसनको डोज'
नारायण वाग्ले |
२०७१ पौष २६ शनिबार
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय नारायण वाग्लेले दुई प्रमुख दैनिक कान्तिपुर र नागरिकमा स पादकको जिम्मेवारी समालिसकेका छन्। पहिलो उपन्यास 'पल्पसा क्याफे' बाट मदन पुरस्कार हात पारेका वाग्ले दोस्रो उपन्यास 'मयुर टाइ स' पछि तेस्रो उपन्यासको तयारी गरिरहेका छन्।
अहिले सेतोपाटी डट कममा आबद्ध वाग्ले शुक्रबार अन्नपूर्ण पोस्ट् न्युज रुममा पत्रकारहरूसँग गफिए (समाचार लेखन, यसका समस्या, अनलाइन तथा इलेक्ट्रोनिक पत्रकारिताको वृद्धिले छापा पत्रकारितामा परेको असर र यसका चुनौतीबारे।
प्रधानमन्त्री सुशील कोइरालाले अहिले सबैभन्दा बढी प्रयोग गर्ने शब्द 'ऊ' हो। नेपाली राजनीतिमा 'ऊ' शब्दले बढी अन्योल ल्याउने गरेको छ।
राजनीतिमा जस्तो अन्योल र अस्पष्ट 'ऊ' को प्रयोग समाचारमा हुनुहुँदैन। तर समाचारमा 'उ' नै हुनुपर्छ। 'उ' भनेको समाचारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
समाचारले पाठकमा गराउनुपर्ने पहिलो 'उ' उत्सुकता हो। समाचारले सबैभन्दा बढी पाउनुपर्ने पाठकको उत्सुकता हो।
उत्सुकता कसरी तयार गर्ने भन्ने पनि विभिन्न आयाम हुन्छन्। उत्सुकता मात्र होइन हामीले पस्केका समाचारले पाठकमा उत्साह पनि ल्याउनुपर्छ।
अलिकति नकारात्मक समाचार वा बिग्रेको-नासिएको सूचना दिँदा पाठकलाई उत्साह दिँदैन। पाठकलाई निरुत्साहित पार्ने काम हाम्रो होइन।
त्यसो भए के हाम्रो काम पाठकलाई डिप्रेसनको औषधि दिने हो त? हाम्रो काम त एन्टी-डिप्रेसनको डोज दिनुपर्ने हो नि?
समाचारले पाठकमा उत्सुकता कायमसँगै उसले खोजेको सूचना दिएर उत्साहित पार्ने काम हाम्रो हो। यसो भयो भने पाठक आफैंप्रति पनि उत्साहित हुन्छ, उसले बुझ्ने दृष्टिकोणमा उत्साह हुन्छ। य
सरी 'उ' बाट धेरै उपक्रम जोडेर हेर्न सकिन्छ।
यसमा अर्को 'उ' को शब्द ऊहापोह हो। यसको अर्थ एउटै समाचारलाई धेरै कोणबाट हेर्नु र विश्लेषण गर्न सक्नुपर्छ। त्यसको विभिन्न रूप पनि यो 'उ' हो।
त्यो नगरी पाठकमा नयाँ उत्साह र उमंग आउँदैआउँदैन। अर्को 'उ' भनेको उन्नति हो।
समाचारका कारण पाठक-समाजलगायत सबै क्षेत्रको उन्नति होस्। राम्रो समाचार दिएकोमा पाठकलगायत सबैतिरबाट धन्यवाद र स्यावासी आओस्। यो समाचारको आधारभूत आदर्श हो।
हामीसँग चुनौती धेरै छन्। यसतर्फ नगई समाचारतर्फ मात्र केन्द्रित हुदाँ समाचारको उमंगतालाई कसरी पाठकसँग जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ। घटना नकारात्मक नै होस्, आलोचनात्मक नै होस् तर त्यसले पाठकमा उमंगताले छुनुपर्छ।
नकारात्मक घटना पढ्दा पनि पाठकमा उमंग तयार गर्ने समाचार हुनुपर्छ। त्यसका लागि पत्रकारको आचरण जोडिएको हुन्छ। नकारात्मक घटना पढ्दा त्यसका विभिन्न आयाम थाहा पाएर पाठक थप उत्सुक बनोस्।
पत्रकार उत्सुक नभए समाचारमा उत्सुकता आउँदैन। अनि पत्रकार आफू पनि उत्साही र जिज्ञासु हुनुपर्छ। धेरै अध्ययनशील हुनुपर्छ। विवादका कुरा लेख्न सजिलो हुन्छ, त्यसभित्रको संवाद लेख्न सक्नुप:यो। पत्रकारले समाजभित्र विवाद भएका घटकलाई संवादतिर लगेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।
अर्को 'उ' उदांगो हो- लुकेर रहेका कुरा बाहिर ल्याउने। भ्रष्टाचार र विभिन्न तहतप्कामा भएका अन्यायलाई उजागर गरिदिने काम हामीले गर्नुपर्छ।
समाजमा पूरै अन्यायको जालो छ। त्यसलाई बाहिर ल्याउनुपर्छ। हाम्रो काम समाजसँग एक दमै जोडिएको छ। त्यसैले मिसन नै उदांगो पार्ने हुनुपर्यो।
समाचारमा उत्सुकता, उत्साह, उमंग, उदांगो र ऊहापोह हुनुपर्छ।
पत्रिकाको प्रस्तुति अरूभन्दा फरक हुनुपर्छ। यसमा हामी एकदमै परम्परावादी, यथास्थितिवादी, अग्रगमनका विरोधी भएका छौं। हामी परम्परावादी ढाँचामा समाचार लेखिरहेका छौं।
पत्रकार उत्साही र जिज्ञासु हुनुपर्छ। धेरै अध्ययनशील हुनुपर्छ। विवादका कुरा लेख्न सजिलो हुन्छ, त्यसभित्रको संवाद लेख्न सक्नुप:यो। पत्रकारले विवाद भएका घटकलाई संवादतिर लगेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।
सम्पादकले सम्पादकीय नीति बनाउने, न्युज रुमको नेतृत्व गर्ने हो। वृत्ति विकाससँग जोडिएको काममा सम्पादक अभ्यस्त हुने होइन।
चूडामणि भट्टराई : समाचार लेखिसकेपछि र प्रकाशित भइसकेपछि त्यसले एउटा सम्पादकलाई कस्तो प्रभाव पार्छ?
उत्तर : प्रकाशित समाचारको प्रभाव बढी भयो भने व्यक्तिगत हिसाबमा खुसी हुनु स्वाभाविक हो। कुनैकुनै पत्रिका हेडलाइन हेर्नेबित्तिकै चाँडै बिक्छ। सर्कुलेसन विभागले खुसीको खबर ल्याउँछ।
मार्केटिङले आज त पत्रिका हारालुछ भयो, भोलि विज्ञापन थापिन्छ कि भन्ला। पाठकहरूबाट फोन पनि आउँछ र तिमीहरूले कस्तो राम्रो समाचार लेखेछौ भन्छन्।
दु:खी हुनेहरूले पनि फोन गर्लान् जसका विरुद्ध लेखिएको छ। योचाहिँ स्वाभाविक प्रक्रिया र तात्कालिक प्रतिक्रिया हो।
मचाहिँ त्यो समाचार लेख्ने साथीको कतिको सीप विकास भइरहेको छ? थप के नयाँ विषयवस्तु उजागर भयो?
अनि हाम्रो न्युज रुम कसरी लाभान्वित भयो? भन्नेमा जोड दिन्छु। तत्कालीन खुसीसँगै त्यसले गरेको अभ्यास, सीप विकास र अनुभव पुँजी हो भनेर त्यसको विकासमा जोड दिन्छु।
चूडामणि भट्टराई : समाचारबाट समाजमा नकारात्मक र सकारात्मक प्रभाव परेको अनुभव यहाँसँग छ। त्यसबाट आउने प्रतिक्रिया कस्तो पाउनुभएको छ?
उत्तर : समाचारमा गल्ती हुन्छ। थचक्कै बसिन्छ। आफ्नो असावधानी धेरै भएको हुन्छ। गल्तीबाट पाठ सिकिन्छ। मेरो निर्णय क्षमता नै पुगेन भन्ने हुन्छ। लेख्दा गृहकार्य पुगेन भन्ने हुन्छ भन्ने सम्पादकको हिसाबमा जजमेन्ट पुगेन भन्ने हुन्छ।
आवेशमा आएँ, त्यहाँनेर साथीभाइसँग थप परामर्श जरुरी थियो भन्ने लाग्छ। तर म अलि अन्तरमुखी स्वभावको छु। एक्लै हिँड्ने, एकान्तमा रमाउने मानिस हँ'। मेरो स्वाभाव पत्रकारितासँग कति फिट छ थाहा छैन। नेतृत्व गर्ने विषयमा मेरा निश्चित केही कुरा मिल्दैनन्। त्यसबाट मैले धेरै कुरा सिकेको छु।
मेरो जीवनशैलीमा विरोधाभास भूमिकाका कारण धेरै कुरा सिकाएको छ। अलि खुल्ने समूहमा छलफल गर्न आवश्यक देख्छु। आफूलाई अलि परिवर्तन गरेकोजस्तो महसुस गरेको छु।
आशिष ज्ञावली : अहिले समाचार अनलाइनदेखि अडियो, भिजुवल तत्कालै प्रसारण हुन्छ। तर छापमा धेरै समयपछि त्यही समाचार प्रकाशित हुँदा त्यसको प्रभावकारिता कति होला?
उत्तर : पहिला पत्रिकामात्र थियो, त्यसपछि रेडियो आयो। रेडियो आउँदा पत्रिकालाई गाह्रो हुन्छ भनियो। रेडियो र पत्रिका सँगै चले।
टेलिभिजन आयो, ल अब त सकिने भो भने। तर पत्रिका पनि चल्यो, रेडियो पनि चल्यो र टेलिभिजन पनि चल्यो। त्यसपछि इन्टरनेट आयो। ल अबचाहिँ छापा सकिने भो भनियो।
यो आएपछि प्रभावचाहिँ पर्यो। पत्रिकाको प्रभाव पहिलाको जस्तो छैन। रेडियोको पनि त्यस्तै छ, टेलिभिजनको पनि त्यस्तै छ। तर सकिएको त छैन। चुनौती दिएको छ, सकिएको छैन।
अनलाइनमा त रेडियो छ, टेलिभिजन छ र पत्रिका पनि छ। सबैभन्दा धनी त पत्रिका नै छ नि। यसले अरू तीनवटै माध्यमलाई चुनौती दिएको छ। यी सबै माध्यमका कुरा हुन्।
अहिले मोबाइलको जगजगी छ। मोबाइलले भोलि कता लैजान्छ। माध्यममा विविधता आएको छ। तर समाचार र पाठक त बढेका बढ्यै छन्। मचाहिँ समाचार लेख्ने मानिस।
मलाई समाचारको खाँचो हुन्छ। तर त्यो त झन् बढेको छ। पहिला समाचारका लागि माध्यम महत्त्वपूर्ण विषय थियो भने अहिले विषयवस्तु महत्त्वपूर्ण हुँदै गएको छ। समाचार घटेको छैन, माध्यममा विविधता आयो।
समाचारको पहुँच विस्तार भयो। अनलाइनमा आज लेखेको समाचार भोलिको पत्रिकामा कसरी लेख्ने भन्ने कठिनाइ हाम्रो दैनिक जीवनमा छँदैछ। यसमा दृष्टिकोण नै फरक हुन्छ।
म अनलाइनमा लेख्छु मलाई भोलि बिहानको पत्रिका कुर्नै पर्दैन। तर पत्रिकाको डेडलाइन भोलि हुने भएकाले तपाईंले त्यसलाई कसरी विशेष बनाउने भन्नेमा ध्यान दिनुपर्छ।
पत्रिका पढ्नका लागि बाध्य बनाउनुपर्छ। पत्रिकामा त्यही समाचार किन कसरी छाप्ने भन्ने कुरा तपाईंले गर्ने अभ्यासमा भर पर्छ। पत्रिकामा कसरी लेख्ने? समाचार त पहिल नै अनलाइनमा आइसकेको हुन्छ।
तपाईंलाई न्युज रुममा समाचार कसरी प्रभावकारी बनाउने भनेर सिनियरले केही भन्नुहोला। डिटेलमा जानु, गहकिलो बनाउनु, अरू माध्यममा आएको भन्दा पृथक् बनाऊ भनेर सल्लाह दिएको हुनसक्छ।
पत्रिकाको प्रस्तुति अरूभन्दा फरक हुनुपर्छ। अहिले अलिअलि फरक देखिए पनि पूर्ण रूपमा जान सकेको छैन। यसमा हामी एकदमै परम्परावादी, यथास्थितिवादी, अग्रगमनका विरोधी भएका छौं।
हामी परम्परावादी ढाँचामा समाचार लेखिरहेका छौं। त्यसलाई परिवर्तन गर्न सकिरहेका छैनौ। आफूलाई परिवर्तन गर्न उत्सुक भएनौं र आवश्यक ठानेनौं भने त्यो पत्रिकामा झल्किहाल्छ।
अनि म कति समाचार लेख्न जान्दछु, कति वाक्य गठन गर्न जान्ने भएँ भन्ने विषयमा गर्व गर्न सकिँदैन। अहिले यो चुनौती हो।
सुवास गोतामे : तपाईं अन्नपूर्ण पोस्ट्को एउटा पाठक पनि हो, कस्तो लाग्छ? हामी पत्रिकालाई एक नम्बर बनाउने भनेर लागिरहेका छौं। यसमा तपाईंको सुझाव के छ?
उत्तर : पत्रिका एक नम्ब र दुई नम्बरचाहिँ सर्कुलेसनले भन्ने कुरा हो। न्युज रुममा त्यो भाषा प्रयोग हुँदैन।
हामी कति महत्त्वपूर्ण समाचार लेखिरहेका छौं भन्ने ख्याल गर्नुपर्छ। अन्नपूर्ण वैचारिक रूपमा स्पष्ट छ। म युवराज दाइसँग काम गरेर आएको हुँ।
त्यसकारण पनि विचारमा स्पष्ट छ।
उहाँको सम्पादकीय नीति एकदमै स्पष्ट छ। समाचार र लेखरचनाचाहिँ अरूभन्दा खासै फरक छैनन्। पत्रिकामा पुराना र प्रभावशाली साथीहरू छन भने त्यसको प्रभाव पत्रिकामा आइहाल्छ।
पिताम्बर सिग्देल : कतिपय मिडिया हाउसमा सम्पादक नै पत्रकारको वृत्ति विकास गर्न चाहँदैनन् भन्ने कुरा पनि आएका छन्। वृत्ति विकास नभए क्षमता अभिवृद्धि पनि हुँदैन यो समस्याको चुरो कुराचाहिँ कहाँ छ?
उत्तर : समाचारमाध्यम वा पत्रिकाहरू व्यवसायका लागि खोलिएका छन्, पत्रकारिताका लागि होइनन्। व्यवसायका लागि भएकाले त्यसमा विभिन्न स्वार्थ गाँसिएको हुन्छ।
त्यसको मुख्य स्वार्थ पत्रकारितामात्र हुनुपथ्र्यो। तर पत्रकारितामात्र गरेर हाम्रो संस्था टिक्दैन भनेर त्यसको असर सम्पादकीय टिममाथि पर्छ। त्यसको असर पत्रिकामा पर्छ भन्ने बुझेको प्रकाशनगृहबाट मात्रै वृत्ति विकासको सम्भावना देख्छु।
मेरा धेरै गल्ती होलान्, साथीहरूका पनि होलान्। उद्देश्य स्पष्ट नभएको, प्राथमिकता छुट्ट्याउन नसकेको, पत्रकारितामात्रै गरेर प्रकाशनगृह बलियो हुन्छ भन्ने आत्मविश्वास नभएको संस्थाबाट वृत्तिविकासको आशा गर्न सकिन्न।
गोपीकृष्ण ढुंगाना : नेगेटिभ समाचारले मात्र पत्रकारिता चल्छ भन्ने मान्यता छाडेर सकारात्मक समाचारको सम्भावना कति देख्नुहुन्छ?
उत्तर : सकारात्मक, नकारात्मक, आलोचनात्मक भन्दा पत्रकारिता पत्रकारिता नै हुनुपर्छ। समाचार समाचार नै हुनुपर्छ। टिप्पणी टिप्पणी नै हुनुपर्छ। समाचारले धेरै छोपिएका विषयवस्तु उदांगो पार्छ।
नकारात्मक समाचारले सकारात्मक परिवर्तन गर्ने भएकाले त्यसलाई नकारात्मक भन्न मिल्दैन। हाम्रो समाचारको प्राथमिकता पाठक हेरेर तय हुन्छ।
यम विरही : पत्रकार आफैं लगानी गर्न सक्दैनन्। समाजको बेथिति उदांगो पार्नका लागि पत्रकारलाई प्रकाशनगृहको समर्थन भएन भने के गर्ने? कतिपय सञ्चारमाध्यममा लामो समय सम्म पारिश्रमिकसमेत नदिएको अवस्थामा कसरी पत्रकारमा नैतिक साहस आउन सक्छ?
उत्तर : पत्रकारितामा गैरपत्रकारी आचरण भयो भने त्यो कारबाहीको भागीदार बन्नुपर्छ। त्यो पत्रकारिताका लागि हो।
दस हजार भन्दा बढी पत्रकारको समस्या मेरो व्यक्तिगत भोगाइले भन्दा त्यसको सही जबाफ आउन सक्दैन। तर पत्रकारिता जागिर होइन।
जागिर होइन भन्नेबित्तिकै अलिकति उमंग र जोखिम लिन सक्ने क्षमता थपिन्छ। म अलिकति जोखिम लिन सक्ने साहसी र निर्भीक भएँ भने सबै समाचार ल्याउन सक्छु।
म आफैं जिज्ञासु उत्साही हुन सक्छु। सही रूपमा निर्भीक तरिकाले ल्याएको समचार छापिएन भने त्यो मलाई होइन पत्रिकालाई घाटा हुन्छ। सही समाचार छाप्दैन र नछाप्नुपर्ने कारण पनि मलाई आश्वस्त पार्न सक्दैन भने दालमा कालो छ भनेर म विकल्प खोज्न थाल्छु।
यो चुनौती पनि हो विशेषता पनि हो। तर पत्रकारहरू जहाँ न्युज रुममा बसेका हुन्छन् उनीहरूको हकहितका लागि सामूहिक काम हुनुपर्छ। नत्र व्यक्तिमात्र सिकार हुन्छ। सामूहिक भावना ल्याउनु भनेको कसैलाई अन्याय पर्दा बोलिदिनु भन्ने हो।
शम्भु कट्टेल : तपाईं ठूला पत्रिकामा काम गरिसक्नुभएको छ। यसरी काम गर्दा व्यवस्थापन, प्रशासन, ठूला घरानाबाट समाचार छाप्न र नछाप्न दबाब आएको अनुभव छ भने बताइदिनुहुन्छ कि?
उत्तर : मैले कान्तिपुर र नागरिकमा काम गरें। ती दुवै संस्थाका प्रकाशकहरूसँग मेरो हुर्काइ, बुझाइ र पढाइ सँगसँगै भएको हो।
संघर्ष पनि एकैसाथ गरेर आएका हौं। एकले अर्कालाई बुझ्ने काम बढी भएकाले काम गर्ने वातावरण अनुकूल थियो। दबाब सामान्य कुरा हो। त्यसलाई भयानक ठान्नु हुँदैन। सम्पादकले प्रकाशकसँग कस्तो सम्बन्ध राख्छ भन्ने कुरा पत्रिकामा झल्किहाल्छ।
पत्रकार कस्तो भन्ने कुरा उसको पहिचानसँग झल्किहाल्छ। मैले काम गरेका प्रकाशक -सम्पादकलाई यो कुरा भन्नुहुन्छ यो भन्नु हुँदैन भन्ने बुझाइ भएकाले त्यस्तो कुनै महसुस भएन।
मैले सम्पादकीय निर्णयबाहेक अरू निर्णय गर्नुपर्ने अवस्था झेल्नुपरेन। यस अर्थमा पनि म आफूलाई धन्य ठान्छु।
म सम्पादक भएको समयमा माओवादी जनयुद्ध उत्कर्षमा थियो, दरबार हत्याकाण्ड थियो। अलिकति चुनौतीपूर्ण अवस्था थियो। धरपकड भयो, आन्दोलन भयो। त्यसमा म रमाइलो महसुस गर्छु।
यम विरही : सम्पादकहरू श्रमजीवी पत्रकारका पक्षमा भन्दा बढी नै मालिक परस्त हुन्छन् किन होला?
उत्तर : सम्पादकले प्रकाशकसँग पुलको काम गर्ने हो। तर हाम्रोचाहिँ सम्पादकलाई बढी भार दिइएको छ। त्यो गर्नुहुन्न भन्ने मान्यता छ मेरो। सम्पादकले सम्पादकीय नीति बनाउने, न्युज रुमको नेतृत्व गर्ने हो। वृत्ति विकाससग जोडिएको काममा सम्पादक त्यसरी अभ्यस्त हुने होइन।
ट्रेड युनियन र प्रकाशनगृहको कमजोर अवस्था, वृत्ति विकासको परम्परा नभएको, देशमा कानुनी शासन नभएको अवस्थाका कारण सम्पादकको आधा टाउको दुखाइचाहिँ त्यसैमा बित्छ। हरेक संस्थामा युनियन हुनुपर्छ र वृत्ति विकासको नेतृत्व त्यसैले गर्नुपर्छ।
रामकला खड्का : महिलाका समाचारले प्राथमिकता नपाएको गुनासो बढेको छ। तपाईंले महिलाका समाचार कति लेख्नुभयो?
उत्तर : समाचार कुन महिलाको हो म छुट्याउँदिनँ। समाजसँग जोडिएको विषय समाचार हो। समाजको सबै विषय महिलासँग जोडिएको हुन्छ।
मनोज दाहाल : अनलाइन, टेलिभिजन, र रेडियोले केही घटना भए तुरुन्तै समाचार दिन्छ। तर त्यही सूचना हामी भोलि बिहान पत्रिकामा दिन्छौं। यसबाट पाठकलाई अन्याय गर्ने कि त्यसको गहिराइमा पुगेर कसरी समाचार दिने?
उत्तर : हामीले कान्तिपुर छाड्नेबित्तिकै अनलाइन सुरु गर्यौं। अनलाइन सुरु गर्न नै कान्तिपुर छाडेका हौं। नागरिकबाट निस्कनेबित्तिकै सेतो पाटीमा हामी लाग्यौं। अनलाइनमा धेरै लगानी चाहिँदैन।
अब प्रकाशकको भूमिका कम र विचार प्रविधि तथा आइडिया बढी चाहिन्छ। म पत्रकारिताप्रति हिजोभन्दा आज झन् आशावादी भएको छु।
तर अब समाचार कसरी लेख्ने भन्ने प्रश्न आइरहेको छ। अनलाइनको विकासले पत्रिकामा कस्तो भाषा प्रयोग गर्ने भन्ने प्रश्न छ। त्यो भाषा कतै न कतै छ। तर हामीले भेटेका छैनौं। यसका लागि साधना चाहिन्छ। साधना नगर्नेले केही गर्न सक्दैन।
दीपा दाहाल : सकारात्मक पत्रकारिताबारे के भन्नुहुन्छ?
उत्तर : समाचारमा सकारात्मक वा नकारात्मक म भन्दिनँ। तर समाचार नकारात्मक भयो भने पनि त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउँछ।
गाडी दुर्घटना भएर ५० जना मान्छे मरेको समाचारले समाजमा उत्साह ल्याउँछ र? तर तपाईं पत्रकार भएर दुर्घटना भएका ठाउँमा गएर रुँदै हिँड्न मिल्छ?
म त हवाई दुर्घटना हुँदा लासमाथि टेक्दै हिँडेको छु। बिरामीको घाउ देखेर डाक्टर डराएर त हुँदैन नि। तर त्यसको समाचार सबै पक्ष आउनेगरी लेख्नुपर्छ जसले भोलिदेखि यस्तो दुर्घटना नहोस् भन्ने सन्देश दिन सकोस्।
गोविन्द रेग्मी : नेपालमा खुलेका मिडियाले आर्थिक भारत थेग्न सकेका छैनन् भनेर मर्जका कुरा पनि आएका छन् नि?
उत्तर : मर्ज हुनु स्वाभाविकै हो। यो हुनु पनि पर्छ। यसले गतिचाहिँ लिन्छ। तर कसरी त्यो म भन्न सक्दिनँ।
नवराज ढकाल : पत्रकार बिरामी परे भने व्यक्तिगत रूपमा पैसा उठाएर उपचार गर्नुपर्छ। पत्रकार नेताहरूले नहेरेर यस्तो भएको हो। सम्पादकहरूले यस विषयमा विचार पुर्याउनुपर्ने हो कि?
उत्तर : फेरि म दोहोर्याउँछु- सम्पादकलाई अनावश्यक भार नदिनुस्। त्यो भारको जिम्मा नेपाल पत्रकार महासंघलाई दिनुस्। पत्रकार महासंघका शाखा निर्वाचन गर्दा हामीले थपडी बजाएर फोटो राख्छौं। तर उनीहरूलाई दायित्व काहिल्यै दिँदैनौं।
कृष्ण किसी : एउटै घटनालाई हामी फरक तरिकाले दिन्छौं। यस विषयमा के भन्नुहुन्छ?
उत्तर : नेपालमा अन्योलग्रस्त कोही छन् भने ती पत्रकार हुन्। तर हामीलाई फुर्सद छ, अनेक कुरा देख्छौं।
पाठकलाई हेर्ने फुर्सद छैन। फेरि पेसाका कारण हामी एउटामात्र सूचनामा भर पर्दैनौं। एउटा पत्रिकाले के लेख्यो अर्काले के लेख्यो भनेर हामी चासो पनि दिन्छौं। तर हामी सूचानाको भीडले पाठकलाई हामीले कन्फ्युज त पारिरहेका छैनौं भन्ने प्रश्न पनि उत्तिकै छ। तपाईंले काम सही गर्नुस्, पाठक आफैंले विश्लेषण गर्छ।
राजेश बर्मा : सूचना माग्दा कुनै निकायले सीधा दिएन भन्ने त्यसलाई बाहिर ल्याउन अन्य उपाय अपनाउनु हुन्छ कि हुँदैन?
उत्तर : तपाईंले सूचना लिँदा फौजदारी कसुर लाग्नु भएन। अर्काको चरित्रहत्या हुनु भएन। अर्कालाई अन्याय पर्ने कसुर गर्नु भएन। अर्कालाई हानि नपुर्याई सूचना लिन मिल्छ। यो गर्नु पनि पर्छ।
माधव ढुंगेल : सम्पादक हुनु भनेको पत्रकारिताको अन्त्य हो कि जस्तो लाग्छ। नेपालमा सम्पादक भएपछि फेरि संवाददाता हुने चलन छैन। उमेरअनुसार सबै कुरा कमी भएर आएको हो कि ?
उत्तर : मानिसको रचनात्मकता सकिन्छ। उमेरअनुसार रुचि पनि फरक भएरजान्छ। यो व्यक्तिगत चाहनामा पनि भरपर्छ।
मचाहिँ सम्पादक होइन। खोजी हिँड्ने मौलिक चारित्रको संवाददाता हुँ। म लठ्ठी टेक्दै पनि संवाददाता नै हुने हो।
मलाई त्यसले नै सबैभन्दा बढी सन्तुष्टि दिन्छ। सम्पादक पद हो त्यो अक्षुण्ण हुँदैन।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/5534#sthash.iTXfeC63.sWsufF7E.dpuf

संविधानको सकस
संविधानको सकस
थोरबहुत कर्मकाण्ड सबै धर्ममा हुन्छ। त्यसैले कुनै पनि धर्म पुरेततन्त्रबाट मुक्त हुँदैन। हिन्दु वर्णाश्रम व्यवस्थामा जस्तो पुरेतवादको पकड भने संसारका अरू कुनै धर्ममा छैन। ब्राह्मण कुलमा जन्मिएकाबाहेकले अरूले जे काम गरे पनि पुरेत बन्न सत्तै्कन।
सीके लाल
Email cklal@hotmail.com
सबै सवर्ण पुरुष कर्मसिद्धिद्वारा क्षत्रप वा ठकुराइको घुमाउरो बाटोबाट ‘क्षत्रीय' स्तर हासिल गर्न सक्छन्। ब्राह्मण भने बन्न सत्तै्कनन्। सिद्ध ऋषि विश्वामित्र कठोर तपस्याबाट राजर्षि कहलिए। देवर्षि भए। महर्षि हुनसमेत उनलाई गाह्रो भएन। तर, वशिष्टका समकक्षी ब्रह्मर्षि उनी कहिल्यै हुन सकेनन्।
सिद्धि, विद्या एवं तपोबलद्वारा समानान्तर स्वर्ग सिर्जना गरे पनि वा शेष नागको टाउकोबाट समस्त पृथ्वीको भार ग्रहण गरे पनि विश्वामित्रको स्थान ब्रह्मर्षि वशिष्टपछि मात्र आउँछ। सायद, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई विश्वामित्रको हविगतबारे बेलैमा हेक्का भएन। उनी ब्रह्मर्षि बन्न तम्सिए र पछुताउँदैछन्।
सभाध्यक्ष नेम्बाङ कुलिन जनजाति परिवारमा जन्मिएका हुन्। पुस्तौँ पहिले पूर्ण गोर्खालीकरण गरिसकिएको परिवारसँग सम्बद्ध भएकाले होला नेपाली उनको प्राथमिक भाषा हो। कनुनका ज्ञाता छन्। ब्राह्मण बहुल जातीय दलको सामाजिकीकरणले गर्दा हो कि उनको बोल्ने शैली पूर्णतः उपदेशात्मक छ। उनले केमात्र बिर्सिदिए भने जिम्मेवारी कर्मकाण्ड चलाउन दिइएको भए पनि उनी पुरोहित होइनन्। हुन पनि सत्तै्कनन्।
राष्ट्रपति रामवरण यादवलाई मधेसी हुनुका सीमा राम्ररी थाहा छ। त्यसैले नेपालको स्थायी सत्तासँग उनी सकेसम्म विवादमा उत्रिँदैनन्। स्थायी सत्तालाई सामान्य भाषिक चुनौती दिँदा उपराष्ट्रपति परमानन्द झालाई पुनर्जन्म (दोहोर्यााएर शपथ) लिनुपरेको थियो। जनजाति भएकाले सभाध्यक्ष नेम्बाङले सायद केही छुट पाउलान्। तर, कर्मकाण्ड सम्पन्न गर्ने पुरोहितहरूको एकाधिकारलाई चुनौती दिएर उनले संविधान सभाको मूल चरित्रलाई भने राम्ररी नै उजागर गरिदिएका छन्। मुलुकको स्थायी सत्ताका सञ्चालकहरूका लागि सार्वभौमिकता त्यसभन्दा पहिले नै सर्वोच्च अदालतबाट हरण भइसकेको संविधान सभा एउटा बाध्यात्मक विधिभन्दा बढी केही होइन। स्थायी सत्तालाई चुनौती दिने प्रकारको संविधान बनाउन संविधान सभा स्वतन्त्र छैन।
जंगबहादुरले कालापानी तरेको पतिया गोबर, गोमूत्र पान एवं गोदान गरेर पाएका थिए। चन्द्रशमशेरले हो कि गोत्रहत्याको पाप पखाल्न काशीमा ठूलै यज्ञ गराएका थिए। राजा महेन्द्रका लागि रानी रत्न पूजापाठ गराउँथिन्। राजा वीरेन्द्र त झन् रामनामी ओढेर भारतका तीर्थहरूमा कर्मकाण्डमा सहभागी हुन्थे। वैधानिक रूपले राज्यारोहण गरे पनि धार्मिक राज्याभिषेक नहँदै गद्दीच्युत गरिएका ज्ञानेन्द्र शाह परम्परागत ‘हिन्दु राजन' कहलिन पाएनन्। तर कामरूप कामाख्यामा पञ्चबलि दिनेदेखि नेपालका सबैजसा तीर्थस्थलमा पुग्ने धार्मिक कर्मकाण्ड उनले कुनै बाँकी राखेका थिएनन्। नयाँ हवाईजहाज ल्याउँदादेखि गगनचुम्वी भवनको जग खन्नसमेत पुरोहित नभई नहुने संस्कारमा उनले बिराएका् चाहिँ ब्राह्मणहरूको राजपाठ चलाउने प्रबल इच्छालाई बेलैमा ठम्याउन नसक्नु नै हो। फलतः राजतन्त्रको संवैधानिक अभ्यास हुनुअगावै त्यो सधैँका लागि समाप्त भयो।
आफैँ लागेर राजतन्त्र समाप्त गरेको भए पनि नेपालको स्थायी सत्तामा केही अपराधबोध अझै पनि छ। पहिलो संविधान सभाले राजतन्त्र उन्मूलनको पाप मोचन त दियो तर समावेशी तथा संघीयताजस्ता ‘विधर्मी' अवधारणा स्वीकार गर्नुपरेको दोषले स्थायी सत्तालाई पिरोल्न छाडेको छैन। झन् राज्यको धर्मनिरपेक्ष घोषणालाई स्वीकार गर्नुपरेको पाप त तत्कालीन उन्मादलाई दोष दिएरसमेत पखालिने ठाउँ छैन। धर्म परिवर्तनलाई गोबध वा ब्रह्महत्या सरहको पापाचार मानिने संस्कारसँग धार्मिक स्वतन्त्रता पटक्कै मेल खाँदैन। मुलुकको स्थायी सत्ता दोस्रो संविधान सभालाई सन् २००६ को जनआन्दोलन तथा मधेस विद्रोह ‘गुराँस क्रान्ति)का उपलब्धिहरू उल्ट्याउन प्रयोग गर्न चाहन्छ। र, त्यो यज्ञ सम्पन्न गर्नसक्ने सभाध्यक्ष नेम्बाङको क्षमतामा कुनै शंका नभए पनि उनको पात्रतालाई उनकै मातृदलले समेत स्वीकार गर्न सत्तै्कन।
आवश्यक योग्यता पूरा गरे जो पनि पादरी वा मौलवी हुनसक्छ। पुरोहित हुन भने थर, कुल र गोत्र जति सबै शुद्ध हुनुपर्छ भन्ने आधारभूत मान्यतालाई अस्वीकार गरेर जातीय राज्य व्यवस्था चल्न सत्तै्कन। जाति च्युत हुनसक्छ। जति नै भैँसी पूजा गरे पनि पुष्पकमल दाहाल अब दलितमा दरिई सके। उनी कहिल्यै ब्राह्मण पुरोहित हुनसक्ने छैनन्। तर, चारै वेद कण्ठ गरे पनि मन्त्री लालबाबु पण्डित यस जुनीमा द्विवेदीसमेत कहलिन पाउनेछैनन्। पुरेततन्त्रको यो वास्तविकता नबुझी संविधानको सकस ठम्याउन सकिँदैन।
सांस्कृतिक संघर्ष :
आवरण राजनीतिक भए पनि नेपालमा कम्तीमा एक दशकदेखि चलिरहेको वैचारिक द्वन्द्वको मूल प्रकृति सांस्कृतिक रहेको छ। त्यसैले होला वर्गीय द्वन्द्वका व्याख्याहरूलाई न त तिनका भाष्यकारले सहजरूपमा अर्थ्याउन सक्छन् न त्यस ‘नयाँ धर्म'का अनुयायीले बुझ्न नै चाहन्छन्। मार्क्सवाद–लेनिनवाद होस् वा माओवाद हिन्दु धर्मका साइराम, रामदेव, ओशो वा रविशंकरजस्ता पन्थ प्रदर्शकहरूको जस्तो सम्प्रदायमा सीमित हुन पुगेको छ। नेपाल पुरेत तन्त्रको साङ्लोबाट उम्किन छटपटाइरहेको छ।
उत्पीडनका विभिन्न आयाम हुन्छन्। अपृश्यता पीडित दलित समुदायका व्याख्या झन्डै ५ हजार वर्षदेखि बल्भि्कएर बसेका छन्। नारी चित्कारको इतिहास त्यसभन्दा कम छैन। जनजातिहरूको हिन्दुकरण बौद्ध धर्मको गंगा मैदानमा पतनपछि नै सुरुभइसकेको भए पनि ती बढीमा शक्ति पीठको पुजारी हुनसक्ने भए। पुरोहित वा गुरुको हैसियत तिनलाई कहिल्यै प्राप्त भएन। त्यस्ता सबै शोषणका संयन्त्रभन्दा भिन्न मधेसीको मुद्दा मूलतः बहिष्करणको हो।
राज्य संरचनाद्वारा प्रवर्धित सामाजिक मूल्य एवं मान्यताहरूको मूलधारभित्र मधेसी कतै अटाउँदैनन्। कानुनका किताबमा जे सुकै लेखिए पनि कम्तीमा तीन पुस्ताअधिदेखि नै सघन गोर्खालीकरण भइसकेका विमलेन्द्र निधिजस्तालाई समेत गुल्मी वा म्याग्दीका विपन्न ब्राह्मणले आफूसरहको ‘नेपाली' मान्दैनन्। नस्लवादसरहको त्यस्तो जातिवादी भेदभावका कारण मधेसी धार्मिक अल्पसंख्यक, जनजाति, दलित एवं महिला आफ्ना मध्यपहाडका समकक्षीभन्दा दोब्बर उत्पीडनमा छन्। नयाँ संविधानको मूल चुनौती मधेसी भएका छन्।
संसदीय प्रजातन्त्रका स्तम्भहरू बेलायतको धर्मराज्य एवं सामन्तवादका विरुद्ध गरिएका संघर्षहरूबाट झन्डै १ हजार वर्ष लगाएर ठड्याइएका हुन्। आउँदो जुन महिनामा मानव अधिकारको आधार मानिने ‘म्याग्नाकार्टा' घोषणाको ८ सय वर्ष पुग्नेछ। अमेरिकी गणतन्त्र मूलतः कर तथा स्वशासनसँग तारतम्य मिलाउन स्थापित भएको थियो। फ्रान्सेली प्रयोगहरू अभिजात–सर्वहारा संघर्षबाट उब्जिएका हुन्। रुसी क्रान्ति मार्क्सवादभन्दा पनि तीव्र औद्योगीकरणका मध्यमवर्गीय चाहनाबाट अभिप्रेरित थियो। माओवाद एसियाली बाघलाई ब्युँताउन जन्मिएको थियो। त्यसअर्थमा देङ पथ नयाँ अवधारणा हैन माओवादकै भूराजनीतिक एवं रणनीतिक निरन्तरता हो भन्न सकिन्छ। स्थापित कुनै पनि राजनीतिक प्रारूप नेपालको भूराजनीति, समाज, संस्कृति एवं आर्थिक सम्बन्धका आयामहरूसँग मेल खाँदैनन्।
सभासद्हरू निस्त्रि्कय वा राजनीतिक नेतृत्व बेकामे भएर संविधान बन्न नसकेको होइन। सतहमा जेसुकै देखिए पनि नेपालको राजनीतिक वृत्त मूलभूत विरोधाभाषहरूलाई समायोजन गर्ने असम्भवप्रायः काममा लागेको छ। राज्य मातृभूमि हुने कि पितृभूमि? सार्वभौमिकता अविभाज्य हुन्छ वा साझा? शासन विधिको हुन्छ कि प्रतिनिधिको? प्राथमिक समूह दल हो वा समुदाय? नागरिकता, संघीयता, शासन व्यवस्था एवं निर्वाचन प्रणालीसँग सम्बद्ध यस्ता सबै प्रश्न शाश्वत प्रकृतिका हुन्। भारतका संविधान निर्माताहरूलाई अपेक्षा सहज के भइदियो भने देश विभाजनको आघातले गर्दा त्यहाँको नेतृत्वलाई आधारभूत प्रश्नहरूसँग साक्षत्कार नै गर्नुपरेन। समसामयिक विश्वमा त्यसरी सहजताका साथ विरोधाभाषहरूको दमन बाह्य शक्तिको सहयोग नभई सम्भव छैन।
नेपालको स्थायी सत्ता दिल्लीका देउता गुहारेर भए पनि आफ्नो सर्वाधिकारलाई वैधानिकता दिलाउन उद्यत देखिन्छ। त्यस्तो प्रयोग तत्कालका लागि सफल भए पनि परिणाम दिगो रहने सम्भावना कमै छ। बाह्र वर्षमा खोलाको धार फर्किए पनि पानी बग्ने दिशा उल्टिन सत्तै्कन। त्यस्तै, अर्काथरी स्वघोषित क्रान्तिकारी एकै झमटमा राज्य समाजका सबै विसंगति समापत गर्न सकिने भ्रममा बाँची रहेका छन्।
झन्डै, एक हजार वर्षपछि पनि बेलायतको आन्तरिक उपनिवेशवादका समस्या यथावत् छन्। बाराक ओबामा अश्वेत भए पनि उनी केन्याका अभिजात कुलका सन्तान हुन्। अमेरिकाका पूर्व दासदासीका सन्तान समान नागरिक भएको कैयौँ दशक बितिसक्ता पनि सम्मानका लागि अझै संघर्षरत छन्। रुसमा जारशाहीलाई पार्टीशाहीले प्रतिस्थापन गरेको थियो। त्यो ठाउँ अहिले गिरोहतन्त्रले हत्याएको छ। सम्मान र समानताको संघर्ष हस्तान्तरण दौड (रिले रेस) जस्तो हो जस्मा एउटा पुस्ताले संघर्षको मसाल अर्को पुस्तालाई सुम्पेर किनारा लागिदिनु पर्छ। दौड भने कहिल्यै समाप्त हुँदैन।
वर्गीय द्वन्द्वमा माओवादीहरूले उहिल्यै आत्मसमर्पण गरिसकेका हुन्। सामाजिक विद्वेष कायम नै रहे पनि तिनको सैद्धान्तिक छिनोफानो भइसकेको छ। जातीय पूर्वाग्रहका जराहरू जति नै गहिरा भए पनि त्यस विष वृक्षमा पात लागन दिने आँट कुनै कुलिनमा छैन। नेपालमा चलिरहेको मुख्य द्वन्द्व सांस्कृतिक हो। क्षेत्रीहरू त बिचरा खत्रीहरूले गर्दा घानमा परेका मात्र हुन्। खाइपाई आएको सुकोसम्म नछाड्ने बाहुन वर्चस्वको राज्य व्यवस्थाले गर्दा संविधान लेखन संकटमा पर्न पुगेको हो। त्यस चुनौतीलाई सामाना गर्नसक्ने नेतृत्व वा संस्था अग्रसर नभएसम्म जारी गतिरोध यथावत रहने देखिँदै छ। थप आशंका संगठित शक्तिको अर्थपूर्ण मौनले बढाएको छ।
संगठित हस्तक्षेप :
सन् १९९० पछि राजनीतिक व्यवस्थापकहरूको दबदबा ह्वात्तै बढेकाले नेतृत्व विकसित हुन पाएन। गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा हुर्केकाले गर्दा प्रधानमन्त्री सुशील कोइरालाको जोखिम उठाउने क्षमता शून्य प्रायः छ। उनी नेता होइनन् भन्ने प्रमाण देशको त के नेपाली कांग्रेसको आन्तरिक अवस्थाले समेत देखाउँछ। अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले कुरा ठूल्ठूला गरे पनि उनको स्वतन्त्र निर्णय गर्ने क्षमता छँदैछैन भन्दा हुन्छ। उनका गफ टोले गुन्डाका धमासभन्दा बढी महत्व राख्दैनन्। उखानटुक्का भने छट्टु पुराणवाचक पाराका झिक्छन्। पुष्पकमल दाहालको क्षमता जेजस्तो भए पनि उनको प्रभावकारिता भूराजनीतिक परिस्थितिका कारण स्वात्तै घटेको छ।
नेता प्रभावहीन भएपछि निर्णायक हस्तक्षेप संगठित संस्थाले गर्ने हो। लाग्छ, सभाध्यक्ष नेम्वाङले भाषा आफ्नो प्रयोग गरे पनि बोली भने नेपाली सेनाको मुखर गरेका हुन्। दोस्रो संविधान सभा निर्वाचन ‘सफलतापूर्वक' सञ्चालन गरेको श्रेय अदालतले लिएको भए पनि राजनीतिक वृत्तले उपलब्धिको पालोपैँचो नेपाली सेनालाई तिर्न अझ बाँकी नै छ। प्रतिपक्षभन्दा पनि कांग्रेस–एमालेमाथि दबाब बढाउन अध्यक्ष नेम्बाङको अभिव्यक्ति आएको हुनसक्ने एकथरीको अडकलबाजी आधारहीन नहुनसक्छ। स्वाभाविक हो, प्रतिरोध पनि लक्षित समूहबाट नै भएको छ। बन्दुकको छायाँमा लेखिएको संविधानले सबैभन्दा बढी क्षति कसलाई गर्नेछ भन्ने कुरा प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा वा माधव नेपाललाई अध्यक्ष एवं पूर्व प्रम दाहालले सम्झाइरहनु पर्दैन। उनी स्वयं त उसै पनि सडकमा छन्। एकथान संविधानको सबैभन्दा बढी हतार नेपाली सेनालाई छ। घन, फलाम तात्तिएकै बेला हान्नुपर्ने हतारो उसलाई हुनु अस्वाभाविक पनि होइन।
राजनीतिक संस्कृति सुदृढ हुँदो हो त सभाध्यक्ष नेम्बाङले उनको कार्ययोजना विफल भइसकेपछि नैतिकताका आधारमा राजीनामा गरिसकेका हुन्थे। त्यस्तो कदमले यथास्थितीवादीको मनोबल झन् बढ्ने थियो। त्यसैले जे भइरहेका त्यो बेठीक होइन। सभामुख नेम्बाङले बिर्सिनै नहुने के हो भने जारी सत्यनारायण कथामा उनको भूमिका ‘कलशाघिष्ठित गणेश'को मात्रै हो। उनले हलचल गरे जल पोखिन्छ, त्यत्ति हो। कर्मसाक्षी दीपनारायण भएर बलिरहनु पर्ने राष्ट्रपति यादव ‘कटुवाल काण्ड’ ताका चल्न खोजेर झन्डै प्रजातन्त्रमा आगो लागेको थियो। तत्कालीन प्रधामनन्त्री दाहालले हतारहतार राजीनामा दिएर बल्लतल्ल ज्वालालाई फैलिनबाट रोकेका थिए। अहिले पदासीन राजनीतिकर्मी प्रयोग भइदिने हो भने परिस्थिति तिनको नियन्त्रणबाहिर जान बेर लाग्ने छैन। हस्तक्षेपको वातावरण बनाउन त सीके राउत देखि नेत्रविक्रम चन्दसम्म मैदान छँदैछन्।
राजनीतिमा जोखिमरहित विकल्प कुनै पनि हुँदैन। अड्कल के सम्म गर्न सकिन्छ भने पुरेततन्त्रकै बाहुल्य रहेको राजनीतिक वृत्तले समेत आफ्नै हितका लागि स्थायी सत्ताको वर्चस्व निरन्तर रहने प्रकृतिको नयाँ संविधान सहजै स्वीकार गर्ने छैनन्। मधेसी, जनजाति, महिला एवं युवा सभासद् कांग्रेस र एमालेमा पनि छन्। तिनले आफ्नै खुट्टामा बञ्चरो हान्ने गरी धर्म निरपेक्षता, संघीयता एवं समावेशितालाई तिलाञ्जली दिन गाह्रो छ। मधेसीलाई त सडकबाहेक अरू कुनै विकल्प क्षितिजमा देखिँदैन। बहिष्करण अन्त्यको संघर्ष स्वभावतः लामो नै हुने गर्छ।
कर्मकाण्डबाट जायजन्मको विम्ब तिरमिर गर्ने खालको लाग्न सक्छ। तर संविधानको प्रसव पीडा हुन्छ नै अनौठो। स्त्रीरोग विशेषज्ञहरु गर्भाशय संकुचनको भ्रामक क्लेश (फल्स पेन) लाई सुत्केरी व्यथासँग छुट्याएर हेर्छन्। संविधानको जन्ममा त जति समय लाग्नुपर्ने हो, त्यति त लाग्छ नै। ‘प्रोजेक्ट’ जस्तो समय सीमाभित्र रहेर राज्य समाज चल्दैन। माघ ८ सँग आत्तिनुको साटो प्रधानमन्त्री कोइरालाले शासन व्यवस्था संचालनतिर ध्यान दिए हुन्छ। प्रलय पूर्व सूचना दिएर आउने गर्दैन।
- See more at: http://www.nagariknews.com/opinion/story/31074.html#sthash.iW8GGtt3.dpuf
मुसहर टोलमा न्यानो कपडा वितरण
मुसहर टोलमा न्यानो कपडा वितरण
महोत्तरी समाचारदाता
जलेश्वर, पुस २१ गते । महोत्तरी जिल्लाको सिमरदही गाउँ विकास समितिको मुसहरवस्तीमा चिसोबाट बचाउन सोमबार मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले न्यानो कपडा वितरण गरेको छ ।
थर्ड एलायन्सले काठमाण्डौंमा संकलन गरेका न्यानो कपडा महोत्तरीको सिमरदही गाविस वडानं. ४ को ठाँडी पोखरीस्थित मुसहरवस्तीमा सोमबार वितरण गरेको हो ।
थर्ड एलायन्स महोत्तरीका प्रतिनिधि नागेन्द्रकुमार कर्ण सहित पत्रकारद्धय राकेश चौधरी, रंजन भण्डारी, समग्र जनउत्थान केन्द्रका जिल्ला संयोजक अकबर अंसारी, एकिकृत माओवादीका नेता सत्येन्द्रकुमार यादव, सिमरदहीका समाजसेवी श्याम चौधरी लगायतकाले सो टोलमा पुगेर कपडा वितरण गर्नुभएको थियो ।
न्यानो कपडा पाएर सो वस्तीका बुढापाका, महिला, तथा बालबालिकाहरु रमाएका थिए । उनीहरुले आफै छानीछानी आफु अनुकुलका कपडा पाएपछि हौसिएका थिए ।
सो वस्तीका ६० वर्षिय फुलगेन सदाले सुटप्यान्ट आफुलाई ठिक्क परेको भन्नुहुदै यो वर्षको जाडो कटने भन्दै थर्ड एलायन्सलाई धन्यवाद दिनुभएको थियो ।
त्यसैगरी सोही वडाकी करिब १४ वर्षिया मालती कुमारी सदाले ज्याकेट पाएर फुरुङ्ग भएकी थिइन ।
े
जिविसको योजना तर्जुमा गोष्ठी कर्मकाण्डी रहेको गुनासो
जिविसको योजना तर्जुमा गोष्ठी कर्मकाण्डी रहेको गुनासो
महोत्तरी समाचारदाता
जलेश्वर, पुस १९ गते । जिल्ला विकास समिति महोत्तरीले कर्मकाण्डीरुपमा आवद्यिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको आरोप स्थानीय युवा तथा महिलाहरुको रहेको छ ।
युनिसेफको आयोजनामा जिल्ला विकास समितिले आयोजना गरेको पाँच दिने आवद्यिक योजना तर्जुमा कार्यशालामा महिला र युवाहरुको उपस्थिती नगण्य देखिएपछि युवा तथा महिलाहरुले सो आरोप लगाएका हुन् ।
जिल्ला विकास समितिले आयोजना गरेको कार्यशालामा विभिन्न कार्यालय, राजनीतिक दल, संघसंस्थासहितका सय भन्दा प्रतिनीधि उपस्थित भएकोमा महिलाको सहभागिता दश प्रतिशत र युवाको पनि सोही अनुपातमा उपस्थिती रहेको संचारकर्मी राकेशप्रसाद चौधरीले बताउनुभयो ।
संचारकर्मी चौधरीले युनिसेफको आर्थिक सहयोगमा आयोजित कार्यशालामा बाल क्लव तथा युवा प्रतिनिधिका रुपमा बालिका तथा युवतीहरुको उपस्थिति देखिएपनि अन्यक्षेत्रबाट भने नगण्यमात्रामा उपस्थिती देखिएको जानकारी दिनुभयो ।
महिला तथा बालबालिका कार्यालय तथा महिला अधिकारकर्मीहरुले बिभिन्न संघसंस्थाहरुलाई महिलाको अनिवार्य उपस्थितीबारे पत्राचार नै नगरिएको आरोप लगाउँदै यसले कार्ययोजनाले अपेक्षित सफलता नपाउने दावी समेत गर्नुभयो ।
नेतृत्वमा युवाको संलग्नता सञ्जालका अकवर अंसारीले महिला, युवा तथा लक्षित वर्गको संलग्नता न्यून हुँदा पनि युनिसेफ र जिविसले बढाउनेबारे केही नगरेको वताउनुहुदै महिला र युवाको संलग्नताबिना कस्तो योजना बन्ला जिकिर गर्नुभयो ।
यसैबीच जिल्ला बिकास समिति महोत्तरीको आयोजनामा सम्पन्न पाँच दिने पंचबर्षीय आवधिक जिल्ला बिकास योजना तर्जुमा कार्याशालाका सहभागीलाई मुख हेरेर भत्ता बाँडिएको छ । सोही कार्यक्रममा एउटा ल्यापटाँप तथा एउटा मोबाइल चोरी भएको छ ।
युनिसेफको आर्थिक सहयोगमा हुने अधिकांश कार्यक्रममा जिल्ला बिकास समितिले आफ्ना समर्थकहरुलाई बोलाएर पटक पटक आर्थिक अनियमितता गरेपनि कसैले कारबाही गर्न नसकेको सहभागीहरुले बताए ।
कार्यशालामा उपस्थित हुनुभएका युगपुकार साप्ताहिकका प्रकाशक सम्पादक तथा प्रेस स्वतन्त्रा सेनानी कुवरकान्त झाले आफुँ पाँच दिन सहभागी भएपनि आफुलाई भत्ताबाट बञ्चित गरिएको बताउनभयो । त्यस्तै कार्यशालामा सबै राजनीतिक दलका जिल्ला प्रतिनिधिलाई आमन्त्रित गरिएपनि बदनियतापूर्वक आफ्नो पार्टीलाई नबोलाएकोमा तराई मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डेयले असन्तुष्टि ब्यक्त गर्नुभयो ।
स्थानीय विकास अधिकारी रामुराज कडरियालाई यससम्बन्धमा केही पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले पत्रकारहरुले कराउने काम मात्रै गर्ने गरेको बताउनुभएको थियो ।
Subscribe to:
Posts (Atom)