नेपाली सेनाले चिसोबाट बचाउन दाउरासंगै चिया वितरण गरे

महोत्तरी समाचारदाता
जलेश्वर, पुस ७ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सुगाचोकमा मंगलबार एकाविहान चिया खान पुगेका वडानं. ५ का जिरेखन पासमानले चोकमा नेपाली सेनालाई हेरेपछि केही भएको आंशका लाग्यो । चार महिनादेखि लामो वन्दीले केही दुर्घटना भएको हुन सक्ने अड्कल काट्दै उनी डराई डराई छेउमा पुगे । छेउमा पुग्दा त नेपाली सेनाका जवानहरु सदरमुकामवासीलाई केही राहत होस् भनी दाउरा राखेर बाल्दै थिए । उनी नेपाली सेनाको यो कार्यदेखेर मनमनै प्रशंसा गर्दै चिसोबाट बच्न बालिएको दाउरा निर गएर आगो ताप्न थाले ।
महोत्तरी जिल्लामा शितलहरको कारणले जनजीवन प्रभावित बन्दै गएपछि मंगलबार सदरमुकाम जलेश्वरको परिकौलीस्थित फस्ट राइफल गणले विभिन्न ठाउँमा दाउरा बालेको छ ।



सदरमुकाम जलेश्वरको दुर्गाचोक तथा सुगाचोकमा चिसोबाट बचाउन मंगलबार बिहान दाउरा बालिएको परिकौलीस्थित फस्ट राईफल गणका प्रमुख सेनानी पवन खत्रीले बताउनुभयो ।
महोत्तरीमा शितलहरको कारणले चिसो बढदै गएपछि यसबाट सबभन्दा बढी प्रभावित मजदुर तथा दैनिक रिक्सा, टाङ्गा चलाउनेहरु परेको छ । उनीहरुलाई नै लक्षित गर्दै गणले जलेश्वरको सुगा चोक तथा दुर्गाचोकमा दाउरा बालेको हो ।
प्रमुख सेनानी खत्रीले दाउरा बाल्नुको साथै दुबै ठाउँमा चिया पनि वितरण गरेको बताउनुभयो । विहानै चोकमा पुगेका स्थानीयहरु तथा मजदुरहरुलाई लक्षित गर्दै चिया वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
बढदै गएको चिसोबाट सानो राहत भएपनि आफुहरुले यस्तो कार्य गरेको गणले जनाएको छ । नेपाली सेनाको यस्तो कार्यदेखेर त्यहाँ उभिएका मजदुर तथा स्थानीयहरुले प्रशंसा गरेका थिए ।
कुराकानीको क्रममा स्थानीय जिरेखन पासमानले चार महिनादेखिको बन्दले सुरक्षाकर्मी र स्थानीयहरुबीच बढेको दुरीलाई नेपाली सेनाको यो कार्यले सकारात्मक भूमिका खेल्ने वताउनुभयो ।