‘गाउँमै विश्वस्तरका खेलाडी’
दर्जनौं पूजाहरू जन्माउँदै भरतपुर

काठमाडौं : पूर्व—पश्चिम राजमार्गअन्तर्गत लक्ष्मिनियाँ जंगलबाट ७ किलोमिटर घनघोर जंगल छिचोलेपछि पुगिन्छ–महोत्तरीको गौशाला(भरतपुर)। जहाँका बालिका हातमा ब्याट र बल बोकेर सुन्दर सपना पछ्याइरहेका छन्।
हातमा कँचिया(हँसिया) र टाउकोमा छिट्टी (ढाकी) छोडेर। उनीहरूका सपना केवल कोरा कागजी मात्र हुने छैनन्। किनकि, पूजा महतो सामुन्ने छिन्। पूजाजस्तै सफल हुन चाहिन्छ त– लगन, मेहनत र अठोट। त्यसैकारण उनीहरू निरन्तर संघर्षमा छन्। पूजाजस्तै घरपरिवार, समाज र देशको नाम चम्काउन।
पूजाले देशकै नाम चम्काएपछि बुवाआमा नै हातमा ब्याट र बल दिएर छोरीहरूलाई खेलमैदानमा पठाउन थालेका छन्। जहाँ २९ जना स्कुले बालिका हरेक दिन ‘पूजा बन्ने’ अठोटसहित मैदानमा क्रिकेटको अभ्यास गरिरहेका छन्। उनीहरू जनता मावि भरतपुरखोरका छात्रा हुन्।
उनीहरूलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोले विशेष कोच गर्छिन्। अरू दिनमा गाउँका क्रिकेट खेलाडी नवीन सिंहले निःशुल्क प्रशिक्षण दिन्छन्। बालिकाहरू भविष्यमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी बन्ने सपना बोकेर घरबाट मैदानमा संघर्षरत छन्।
स्थानीय फुटबल खेलाडी वरुण साह, क्रिकेट खेलाडी नवीन सिंह र शिक्षक राम बेचन सदा (मुसहर)ले गाउँमा चन्दा संकलन गरेर क्रिकेट, भलिबल, फुटबललगायत खेल संस्कृति विकास गर्न भूमिका निर्वाह गरिरहेका छन्। गाउँका बालिकालाई प्रशिक्षण दिन उपकप्तान पूजा काठमाडौंबाट गाउँमा आउजाउ गरिरहन्छिन्। उदयीमान खेलाडी पूजा गौशाला नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पनि हुन्। पूजा विश्वकप जित्ने तयारीमा छिन्।
खुट्टामा चप्पलै छैनन्, रहर छ अन्तर्राष्ट्रिय खेलाडी बन्ने
खुट्टामा जुत्ता त के चप्पल पनि छैनन्। तर, गौशाला—१० भरतपुरकी ९ वर्षीया करिणा कुमारी मण्डल खाली खुट्टा दिनहुँ क्रिकेटको अभ्यास गर्न मैदानमा पुग्छिन्। उनलाई हरेक साँझबिहान क्रिकेटर बन्ने सपनाले खेलमैदानमा पुर्याउँछ। स्कुले बालिका करिणाको यो दैनिकी तीन महिनादेखि चलिरहेको छ। कक्षा पाँचमा पढछन्। पढाइपछि क्रिकेट मैदानमा ब्याट र बलसँग रमाउँछिन्। उनी गाउँकै जनता माविमा पढछन्। ‘स्कुलमै पढ्छु, स्कुलकै मैदानमा क्रिकेट खेलको अभ्यास गर्छु। क्रिकेट खेलाडी बनेर बाँच्ने ठूलो रहर छ’, उनी भन्छिन्।
उनकै गाउँकी दिदी पर्ने पूजा महतोले क्रिकेट खेलाडी बनेर चर्चा पाइन्। यसले उनलाई मात्रै होइन, धेरैलाई हौस्यायो,— गर्दा त हुने रहेछ ! बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथाले गाँजिएको मधेसका छोरीहरू सामूहिक रूपमा क्रिकेट टिम नै गठन गरेर खेल जीवनमा सपना देख्नुलाई ठूलै कुरोको रूपमा लिइएको छ। छोरीलाई मुस्किलले स्कुल पठाउने मधेसका अभिभावकहरूमा उम्दा खेलाडी पूजाको प्रगतिले हौस्याएको छ। आफ्नै सामथ्र्य बुझ्न सुझाएको छ। करिणा भन्छिन्, ‘आमा बुवाले नै क्रिकेट खेल सिकेर खेलाडी बनाउन पठाउनुभयो। अब पढ्छु, क्रिकेट सिकेर ठूलो खेलाडी बन्छु, आमाबुवाको नाम राख्छुु।’
करिणाको फिल्डिङ राम्रो छ। ३ महिनामै क्रिकेट खेलको थुप्रै टेक्निक जानेकी छिन्। उनी टिमकी सबैभन्दा कम उमेरकी खेलाडी हुन्। उनी दिनको चार घण्टा खेलका लागि अभ्यास गर्छिन्।
जसले जीवनको लक्ष्य भेटाइन्...
जीवनमा के गर्ने ? कुनै लक्ष्य नै भेटाइरहेकी थिइनन्, गौशाला-११ भरतपुरखोरकी सुजिताकुमारी शर्मा। तीन महिनाअघि उनले एउटा गज्जबको सपना सजाइन्, — पढ्दै क्रिकेट सिकेर विश्वस्तरको खेलाडी बन्ने।
त्यसयतादेखि उनको दैनिकी क्रिकेट खेलको अभ्यासमा बितिरहेको छ। उनी गौशाला महिला क्रिकेट टिमकी कप्तान हुन्। गाउँकै स्कुलमा कक्षा ९ मा पढछन्। उनी ब्याटर र किपरमा सिपालु बन्दै छिन्। क्रिकेट टिममा जमेको तीन महिना भयो उनको। तर, उनको प्रयास उपलब्धिमूलक बन्दै गएको प्रशिक्षक पूजा महतोले सुनाइन्।
कप्तानको भूमिका रहेकी सुजिता भन्छिन्, ‘जीवनमा के गर्ने अत्तोपत्तो थिए। जब गाउँकी दिदी पूजा महतोले क्रिकेटबाट चर्चा कमाउनुभयो। उहाँलाई गाउँमा घुमाइयो। त्यसपछि हाम्रो गाउँमा छोरीहरूलाई अब घरमा मात्रै सीमित गर्नुहुँदैन भनेर चर्चा भयो। यसले हामीलाई मैदानमा निस्किने वातावरण तयार भयो।’ बुवाआमा, गुरुजन, समाजले पनि स्कुलमा पढ्न र खेल खेल्न प्रेरित गरिरहेको उनले बताइन्। ‘पूजा दिदी काठमाडौंबाट गाउँमा आउनुहुन्छ। स्कुलको फिल्डमै आएर क्रिकेट खेल्न सिकाउनुहुन्छ। यसले हाम्रो टिमलाई थप हौसला मिलिरहेको छ । अन्य बेला गाउँका क्रिकेट खेलाडी दाइ नवीन महतोले सिकाउनुहुन्छ’, उनले खुसी व्यक्त गरिन्।
गरिब परिवारकी सुजिताका बुवा विदेशमा रोटीरोजीका लागि पसिना बगाइरहेका छन्। आमा भने गाउँमा पढाउँछिन्। सुजिताको टिमका खेलाडीहरूको लक्ष्य छ— चर्चित अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी बन्ने। तर, उनलाई यो लक्ष्य पूरा गर्न फलाको चिउरा चपाउनुसरह नै छ। उनी भन्छिन्, ‘क्रिकेट खेल्ने मैदान छैन, ब्याटिङ गर्ने पिच पनि छैन। डे«स, ब्याट, बल पनि राम्रो छैन। तर, हामी खेल्ने र सिक्ने प्रयास गरिरहेका छौं। प्रगति उपरवालाको हातमा छोडिएको छु।’
‘टुर्नामेन्ट खेल्न थाल्यौं’
गौशाला— १० की राज कुमारी सिंह ब्याटिङ र किपिङमा पोख्त बन्दै गएकी छिन्। उनी क्रिकेटको अलराउन्डर बन्न खोजिरहेकी छिन्। उनले ब्याटिङ, किपिङ, बलिङ र फिल्डिङ सिक्न पनि थप अभ्यास गरिरहेकी छिन्।
मैदानमा भेटिएकी उनले भनिन्, ‘क्रिकेट खेलले आशा पलायो। जीवन राम्रो हुने विश्वास बढायो। गाउँमा अरू जस्तो मेरो बालविवाह हुने छैन। घर र स्कुलबाट निकै सहयोग पाइरहेकी छु।’ खेल समाग्रीको अभावमा अभ्यास गर्न कठिन बनेकोमा भने उनी दुःखी छिन्।
उनका अनुसार दया गरेर कहीँ कतैबाट दिएको खेल सामग्रीले खेलको अभ्यास चलिरहेको छ। भरपर्दो खेल मैदान, खेल सामग्री र पौष्टिक आहारको खाँचो छ। स्थानीय सरकारले खेल व्यवस्थानको जिम्मा लिइदिएको भए निकै सहज हुन्थ्यो। उनी भन्छिन्, ‘क्रिकेट खेल्न थालेपछि समाजले महत्व दिन थालेको छ। टुर्नामेन्ट खेलहरू पनि हामी खेल्छौं, जित्छौं। प्रशंसा बढिरहेको छ ।’
छुवाछुतको व्यवहार पाखा लगाउँदै कल्पना
दलित समुदायकी १७ वर्षीया कल्पना कुमारी पासमान पनि क्रिकेट खेलमा रुचि राखेकी छिन्। समाजमा हुने छुवाछुतको व्यवहारबाट उनको परिवार चेपिएको छ । तर, अब उनको परिवारले कल्पनालाई क्रिकेटर बनाएर सबै दुःख भुल्न चाहेको स्थानीय सञ्चारकर्मी दिनेश महतो सुनाउँछन्।
पूजालाई स्कुल पढ्न अवसर मिल्यो। राम्रो लाग्यो। जब मैदानमा आएर क्रिकेट सिक्न थालिन्। त्यसपछि उनलाई जीवनमा केही गर्ने आशा पलायो। उनी भन्छन्, ‘अब खेलाडी बन्ने सपना देख्दै गर्दा मन एकदमै खुसी भएर आउँछ।’
खर्चिलो र महँगो खेल खेल्न उनीजस्ता गरिब परिवारका छोरीलाई सहज कहाँ छ र ? तर, दुःखमै त पूजाले संघर्ष गरेर नेपाललाई विश्व क्रिकेटमा स्थान बनाइन्। उनी दुःख सुनाउँदै भन्छिन्, ‘खेल खेल्न निकै समस्या छ । पोसिलो खानाकै अभाव छ। खेल्ने रंगशाला छैन। ब्याटिङ गर्ने ब्याट छ न त बलिङ गर्ने राम्रो बल छ। पानी पर्दा पूरै फिल्ड हिलैहिलो भएर कैयौं दिन खेल्न नमिल्ने हुन्छ।’
‘छोरासरह छोरीलाई अवसर दिनुपर्छ’
गाउँकी छोरीचेलीलाई जम्मा पारेर क्रिकेटर पूजा महतोले अभ्यास गराउँदा गाउँमै खुसीको सञ्चार हुन्छ।
खेल हेर्ने र फोटो खिचाउनेको ताँती नै लाग्छ। पूजाकी ७० वर्षीया हजुरआमा रामसखी महतो यसबाट गौरव महसुस गर्छिन्। विश्वकपको तयारीमा रहेकी पूजा गाउँ गएपछि छिट्टै काठमाडौं फर्किहाल्नुपर्छ। चुलोचौकोमा सारा जीवन बिताएकी रामसखीका लागि पूजाको प्रगति नौलो र अनौठा लाग्दा हुन्। उनी निकै गम्भीर भएर ब्याट र बललाई नियाल्छिन् मैदानमा।
उनी भन्छिन्, ‘पहिला मेरी मात्रै नातिनी थिई। अहिले पूजा क्रिकेट खेल्छिन्। सबै नेपालीकी छोरी बन्न पुगिन्।’ पूरा नेपालीको नाम रोशन गर्नकै लागि हामीले दुःख गरेर छोरी पूजालाई खेलाडी बनाएको उनी बताउँछिन्। ‘नेपालमा बेटीहरू(छोरी) थोरै संख्यामा क्रिकेट खेल्छन्, झन् देहातमा सबै छोरीहरू अझै स्कुल जान पाएका छैनन्। पूजाका बुवाले दिल्लीमा ठेला चलाएर क्रिकेट सिकाए। हेर्नुस् भगवान्को महिमा पूरा नेपाल र नेपालीको मान बढायो,’ उनी भन्छिन्। पछिल्लो समय मधेसको मनोविज्ञान पनि फेरिँदो छ। पहिलाजस्तो अब रहेन भन्छिन् रामसखी। सुनाउँछिन्, ‘हामीले स्कुलको मुख देख्न पाएनौं। अहिले गाउँ—गाउँमा स्कुल खुले। घर—घरबाट छोरीहरू स्कुल जान्छन्, पढाइ सकिएपछि खेल खेल्छिन्।’
राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पूजासँग देशको मात्रै होइन् हजुरआमाको पनि एउटै अपेक्षा छ— विश्व महिला क्रिकेटको उपाधि पूजा र उनको टिमले जितेर ल्याओस्। हजुरआमा भन्छिन्, ‘भगवान्सँग प्रार्थना गर्छौं, छोरी पूजाले विश्व कप जितेर ल्याउन सकून्। त्यो खबरको प्रतीक्षामा छौं। ’
रामसखी कहिले स्कुल नगए पनि पढेलेखेको भन्दा कमता उनको अनुभव छैन र भन्छिन्, ‘अब सबैले मेरी नातिनी पूजाजस्तै खेलून् अनि पढून् पनि।’ जहाँ भए पनि, जे काम गरे पनि सबैले समाज र देशको नाम रोशन गर्न लाग्नुपर्छ भन्ने उनको चाहना छ । उनी थप्छिन्, ‘छोरीलाई सानैमा विवाह गर्नुहुँदैन। बेटीलाई पनि देशविदेश घुम्न, दुनियाँ बुझ्न र खुसी जिन्दगी बाँच्नका लागि अवसर दिनुपर्छ।’
खेल मैदान छैन, सपना छ खेलाडी उत्पादन गर्ने
गाउँमा एउटा राम्रो खेल्ने मैदान पनि छैन। खेल समाग्रीको उस्तै अभाव छ। कोचको अभाव छ। खेलाडीलाई पोसिला आहारकै अभाव छ। यस्तै, अभाव छ गौशालाका खेलाडीलाई। तर, अभावै अभावमा बालिकाहरूको क्रिकेट खेल्ने सपना फक्रिँदै गएको छ। गौशाला नगरपालिकाका प्रवक्ता रामप्रित महतो भन्छन्, ‘क्रिकेटर पूजा महतो हाम्रो गाउँकी छोरी मात्रै होइन्, देशको गौरव भइन्।’
क्रिकेटर पूजालाई नगरपालिकाको तर्फबाट मानार्थ खेल अधिकृतमा नियुक्त गरेर यहाँको खेल गतिविधिलाई बढावा र प्रचारप्रचारमा भूमिका खेलेको उनी सुनाउँछन्।
गौशाला नगरपालिका–११ का वडाध्यक्ष महतो थप्छन्, ‘अन्तर्राष्ट्रिय खेलाडी पूजा महतो हाम्रो खेलमैदानमा आउनु नै हाम्रा लागि सौभाग्यको कुरा हो। यसले सिक्दै गरिहेका छोरीहरूलाई ऊर्जा दिन्छ। मैदानमा अभ्यास गर्ने गाउँका सबै खेलाडीलाई एक एक गरी चिन्छु। उनीहरूको अनुहारमा भविष्यका दर्जनौंं पूजा महतोजस्तै होनाहार खेलाडीहरू देखिरहेको छु।’
- पूजाले देशकै नाम चम्काएपछि बुवाआमा नै हातमा ब्याट र बल दिएर छोरीहरूलाई खेलमैदानमा पठाउन थालेका छन्।
- २९ जना स्कुले बालिका हरेक दिन ‘पूजा बन्ने’ अठोटसहित मैदानमा क्रिकेटको अभ्यास गरिरहेका छन्।
- बालिकालाई प्रशिक्षण दिन उपकप्तान पूजा काठमाडौंबाट गाउँमा आउजाउ गरिरहन्छिन्।
- पूजा महतोले क्रिकेट खेलाडी बनेर चर्चा पाइन्। यसले उनलाई मात्रै होइन, धेरैलाई हौस्यायो, गर्दा त हुने रहेछ ! बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथाले गाँजिएको मधेसका छोरीहरू सामूहिक रूपमा क्रिकेट टिम नै गठन गरेर खेल जीवनमा सपना देख्नुलाई ठूलै कुरोको रूपमा लिइएको छ।
- ‘क्रिकेट खेल्न थालेपछि समाजले महत्व दिन थालेको छ। टुर्नामेन्ट खेलहरू पनि हामी खेल्छौं, जित्छौं। प्रशंसा बढिरहेको छ।’
- ‘नेपालमा बेटीहरू(छोरी) थोरै संख्यामा क्रिकेट खेल्छन्, झन् देहातमा सबै छोरीहरू अझै स्कुल जान पाएका छैनन्। पूजाका बुवाले दिल्लीमा ठेला चलाएर क्रिकेट सिकाए। हेर्नुस् भगवान्को महिमा पूरा नेपाल र नेपालीको मान बढायो’
- ‘अन्तर्राष्ट्रिय खेलाडी पूजा महतो हाम्रो खेलमैदानमा आउनु नै हाम्रा लागि सौभाग्यको कुरा हो। यसले सिक्दै गरिहेका छोरीहरूलाई ऊर्जा दिन्छ।’
स्थानीय सरकारले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध काम गरिरहेको प्रवक्ता महतो बताउँछन्। उनी भन्छन्, ‘जग्गा छ। खेलमैदान बनाउन धेरै पैसा लाग्छ । प्रदेश र संघ सरकारसँग सहयोग मागेका छौं।’ उनले तीन बिघामा फैलिएको स्कुलको मैदानलाई व्यवस्थित गरिने बताए। भन्छन्, ‘गर्मी महिना छ , दिनमा कडा घाम लाग्छ। खेल अभ्यास गर्न निकै कठिन छ। रातिमा खेलको अभ्यास गर्न ४ लाख खर्चेर हालै लाइटको व्यवस्था गरेका छौं। स्टेडियममा खेलेको जस्तो महसुस होस् भनेर।’ नगरसभामा वडाको तर्फबाट खेलकुद व्यवस्थानाका लागि तीन लाख विनियोजन गरिएको उनले बताए।
स्कुलकै क्यालेन्डरमा खेलकुदको कक्षामा पढाइ, चौरमा खेलाइ
क्रिकेट सिक्ने सबै बालबालिका जनता मावि भरतपुरखोरका हुन्। स्कुलले शिक्षासँग खेलकुद विधालाई जोडेर अगाडि बढाइरहेको छ। फुटबल, क्रिकेट, भलिबल, कब्बडीलगायत खेललाई क्यालेन्ड बनाएर गतिविधि सञ्चालन गरिरहेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष योग नारायण महतो बताउँछन्। शिक्षक देवी घिमिरेले कब्बडी, श्याम साह भलिबललगायत खेलको अभ्यास गराउँछन्।
क्रिकेटर पूजा महतोको प्रगतिले गाउँमा निकै ठूलो प्रभाव पारेको विद्यालयका प्रधानाध्यापक विपीन जोशी बताउँछन्। उनी भन्छन्, ‘मेहनत गरेपछि हुँदो रहेछ भन्ने आशाको सञ्चार बालबालिका, अभिभावक र समाजमा भयो। सबैको सहयोगमा हामीले शैक्षिक क्यालेन्डर बनाएरै विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउँछौं।’ प्रशिक्षणका लागि शिक्षक र गाउँका खेलाडीहरूको सहयोगले काम भइरहेको उनी सुनाउँछन्, ‘शिक्षासँग खेलकुद गतिविधि जोडेर शैक्षिक क्रियाकलाप अगाडि बढाउँदा त्यसले राम्रो प्रतिफल दिइरहको छ।’
युवाले फैलाउँदै गाउँमा खेल संस्कृति
भरतपुरमा खेल गतिविधि बढेको छ। त्यसका लागि तीनजना युवाको विशेष सक्रियाता छ। फुटबल खेलाडी वरुण साह, क्रिकेट खेलाडी नवीन सिंह र शिक्षक राम बेचन सदा (मुसहर)। पूजा महतोले क्रिकेटमा चर्चा पाएपछि बनेको माहोलले तीन महिनाअघि मात्रै महिला क्रिकेट टिम बनेको थियो।
क्रिकेट खेलाडी नवीनकुमार महतो बालिकाहरूलाई मैदानमा नियमित प्रशिक्षण दिन्छन्। विशेष प्रशिक्षण पूजा महतोले दिन्छिन्। उनी पुगेको दिन मैदानमा दर्शकको ताँती लाग्छ। नवीन भन्छन्, ‘अब त धेरै बहिनीहरू क्रिकेट सिकेर ट्यालेन्ट भइसकेका छन्। तर, विडम्बना एउटा राम्रो ग्राउन छैन। गुणस्तरीय खेल सामग्रीको किट खेलाडीले देख्न पनि पाएका छैनन्।’
खेलाडी र अभिभावकलाई जोड्ने शिक्षक हुन्, राम बेचन सदा (मुसहर)। उनको भूमिका पनि कम छैन। उनी विद्यार्थीलाई ट्युसन पढाउथे। क्रिकेटमा पूजाको चर्चा चलेपछि उनले आपूmसँग ट्युसन पढ्न आउने बालिका समेटेर क्रिकेट टिम बनाइदिए। त्यो टिमलाई क्रिकेटर पूजा महतोले प्रशिक्षण दिइरहेकी छिन्।
‘दुई वर्षदेखि भलिबल खेलाउँथ्यौं। फुटबल, कब्बडी पनि खेलाइन्छ। तर, ३ महिनादेखि क्रिकेट खेलाउन थालेका छौं,’ उनले भने,‘यसमा पूजा महतोको प्रेरणा र सफलताले ठूलो काम गरेको छ।’ सुरुमा उनले महिला टमलाई प्लास्टिकको ब्याट र बल किनिदिएका थिए।
भरतपुरमा खेल गतिविधिलाई चर्चामा पुर्याउने अर्का पात्र हुन्, फुटबलर वरुणकुमार साह। उनी खेल गतिविधिलाई व्यवस्थापन गर्दै नेतृत्व प्रदान गर्छन्। उनले देश तथा विदेशमा फुटवल खेलिसकेका छन्। उनले भने, ‘भरतपुरमा हजुरबुवा पुस्तादेखि नै खेल गतिविधि हुन्थे। तर, चर्चा थिएन। जब पूजा महतोले क्रिकेटमा चर्चा पाउनुभयो, त्यसपछि हाम्रो पनि हौसला मिल्यो।’ गाउँकी बहिनी पूजा महतोले दिल्लीमा बसेर क्रिकेट सिकेकी थिइन् ।
‘गाउँमै विश्वस्तरका खेलाडी’
पूजा महतो, उपकप्तान, नेपाली महिला राष्ट्रिय क्रिकेट टिम
गाउँका सानी बहिनीले क्रिकेट खेलेको देख्दा पुराना याद आउँछन्। कुनै दिन म पनि दिल्लीमा यसैगरी चर्को घाममा क्रिकेट खेल्थें। ब्याट र बलसँग संघर्ष गर्थें। क्रिकेट सिक्न धेरै कडा मेहनत गरें। खेलमा घाम हुँदैन, पानी हुँदैन। बिहान हुँदैन, राति हुँदैन। बुवाले मैदानमा लिएर जानुहुन्थ्यो, अभ्यास गराउनुहुन्थ्यो। घाम छ, डढेर काली हुन्छु कि भनेर कहिल्यै सोचिन्। जेजे समस्या आए, सबै दुःख गरेँ । खेल्दै, सिक्दै राष्ट्रको नाम विश्वमा चम्काउन सफल भएँ।
असाध्यै खुसी लागिरहेको छ। हाम्रो गाउँको महिला क्रिकेट टिममा ट्यालेन्ट खेलाडी उत्पादन हुने आशा र विश्वास छ। सिकाएअनुसारको प्रगति हुँदै छ। खेलाडी, परिवारजन, समाजबाट साथ पाउनु नै यहाँका छोरीका लागि एकदमै ठूलो कुरा हो। सबै गाउँमा यस्तो भइदिएको भए, के हुन्थ्यो, हुन्थ्यो ?
बुवाआमाले नै क्रिकेट खेल्न छोरीहरूलाई पठाइरहनुएको छ। दुई वर्षअघि म गाउँ आउँदा निकै कमले मलाई चिन्थे। अहिले सबैले चिन्छन्। फुटबल, क्रिकेट, भलिबलजस्ता खेलका धेरै खेलाडीहरू अभ्यास गरिरहेका छन्। यो राम्रो संकेत हो। खेलमा कोही पनि सानो/ठूलो हुँदैन। जसलाई टेक्निक आउँछ, ऊ अगाडि जान्छ। तर, खेलमा सामूहिक शक्ति भने पक्कै हुन्छ।
खेल खेल्दा पढाइ भने छोड्नुहुँदैन। पढाइ एकदमै महत्वपूर्ण हुन्छ। स्कुलमा जाने पढ्ने गर्नैपर्छ। त्यसबाहेकको समयमा ध्यान दिएर खेल्नुपर्छ। क्रिकेट खेल जीवनभरिका लागि हुँदैन। पढाइ त जीवनकालसम्म काम लागिरहन्छ। मैले क्रिकेट खेलिरहेकी थिएँ। तर, सँगै पढाइलाई अघि बढाउन सकिनँ। खेलसँगै पढाइ पनि आवश्यक छ। आज गाउँमा एउटा पूजा महतो छ, आउँदा दिनमा धेरै पूजा महतोहरू देख्ने चाहना छ। मलाई विश्वास छ, कुनै दिन म मात्रै होइन्, मेरो गाउँ नै खेलाडीले भरिभाउ हुनेछ ।
No comments:
Post a Comment