स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Sunday, December 14, 2014
रोकिएन् बेचविखनः बेचबिखनको उद्देश्यले सीमा कटाइँदै गरेका २८ युवतीको उद्धार
रोकिएन् बेचविखनः बेचबिखनको उद्देश्यले सीमा कटाइँदै गरेका २८ युवतीको उद्धार
महोत्तरी, २९ मंसिर । महोत्तरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध एक दर्जन भन्दा बढी संस्था कार्यरत छन् । तीमध्येको एउटाले सीमामा निगरानी केन्द्रसमेत राखेको छ । केन्द्रका कर्मचारीले शङ्कास्पदलाई सोधपुछ र प्रहरी सहयोगमा नियन्त्रणमा लिने गर्छन् । नाकामै सीमा प्रहरी कार्यालय छ । त्यसका बाबजुद सीमाबाट महिलाहरुको ओसारपसार रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चार महिनायता बेचबिखनको उद्देश्यले सीमा कटाइँदै गरेका २८ जनाको उद्धार गरिसकिएको छ । अधिकांश घटनाका आरोपित भने गिरफ्तार भएका छैनन् । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा एउटा उजुरी दर्ता गरेको छ । गत वर्षदुई थान मुद्दा दर्ता भएका थिए । अधिकांश घटनामा युवतीलाई सीमा पार गर्न लगाएर अभियुक्त पहिल्यै पारी पुगिसक्ने, पीडितले पीडकको सक्कली परिचय बताउन नसक्ने र पहिचान नखुल्ने भएकाले गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनकाअनुसार पीडित र उनीहरुका आफन्त सहयोगी नहुँदा बेचबिखन तथा ओसारपसारमा संलग्न मुख्य अभियुक्त फेला पार्न नसकिने समस्या बढिरहेको बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठकाअनुसार अहिले पनि बेचबिखन तथा ओसारपसारमा संलग्न रही फरार रहेका तीन जना आरोपितहरुको खोजबिनका लागि प्रहरी परिचालन गरिसकेको बताए । एक १५ वर्षीया युवतीलाई भारतमा बेच्न लाँदै गरेको आरोपमा मङ्सिर १० गते महोत्तरीको नैन्ही-२ का प्रदिप झा जलेश्वर नगरपालिका-१२ स्थित नेपाल भारत सीमाको भिठ्ठामोडबाट गिरफ्तार भए । त्यस्तै महोत्तरीको माइस्थान-७ ढुङ्ग्रबासका १८ वर्षीया दुई युवतीहरुलाई बिहेको प्रलोभन दिइ भारतको सीतामढीतर्फलैजाँदै गरेको आरोपमा ०७१ असार ३० मा महोत्तरी प्रहरीले भारत विहार राज्य, जिल्ला मधुवनी घर भइ जनकपुर बस्ने २२ को अभिराज भन्ने अभिनन्दन ठाकुर, २१ वर्षीय सनीकुमार ठाकुर सोही ठाउँका २३ वर्षीय सन्तोषकुमार महतोलाई नेपाल भारतको सिमा भिठामोडबाटै गिरफ्तार गरेको थियो । आरोपितहरु पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् । प्रहरीमा दर्ता भएका उजुरीअनुसार छिटो धनी र सुखी बन्ने आकांक्षा पालेका युवती, घरपरिवारबाट हिंसामा परेका, अभिभावक गुमाएका महिलाहरु ओसारपसारको उच्च जोखिममा देखिन्छन् । अपरिचित व्यक्तिले फोन गर्ने, नाता जोड्ने भेटघाट गर्ने, राम्रो जागिर लगाइदिने, प्रेम तथा बिहे गर्ने वहानामा युवतीलाई सीमा कटाउने क्रम बढेको देखिन्छ । नेपालको कानुनले मानव बेचविखन तथा ओसारपसारलाई कसैलाई पनि कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ जबरजस्ती गरी करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी हुने कार्यलाई बेचविखन तथा ओसारपसार मानिएको छ । किनबेच वा वेश्यावृत्तिको उद्योग अभियोगमा नेपालमा १० वर्षेदेखि १५ वर्षसम्मको कैद र ५ हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने कानुनमा व्यवस्था छ । त्यसैगरी बिक्री गर्न वा किन्ने र बेच्ने दुवै व्यक्तिलाई २० वर्षसम्मको कैद र २ लाख रुपियाँसम्मक जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ । (साभार ः ईन्सेक अनलाईन)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment