कार्यकाल चिरस्मरणीय बनाउने ः प्रधानन्यायधीश शाह
महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २३ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहलाई मंगलबार पैतृक गाउँ महोत्तरी जिल्लाको मटिहानीमा नागरिक अभिनन्दन तथा स्वागत गरिएको छ ।
नागरिक अभिनन्दन तथा स्वागत समारोह समिति मटिहानीले प्रधानन्यायाधीश शाह सहित उनका धर्मपत्नी कञ्चनलता साहलाई २५ किलोको पूmलको माला र अभिनन्दनपत्र सहित सम्मान गरेको हो ।
समितिका अध्यक्ष विजयकुमार साह सहित पदाधिकारीहरु तथा विभिन्न संघसंस्था, विद्यालयले प्रधानन्यायाधीश शाहलाई सम्मानपत्र, दोसल्ला र माला सहित अभिनन्दन गरेको हो ।
सो अवसरमा अभिनन्दनपत्र स्विकार गर्नुहुदैं प्रधानन्यायाधीश शाहले आम मानिसमा रहेको न्याय प्रतिको अविश्वास हटाउन आफु लागिपरेको बताउनुभएको भयो । उहाँले भन्नुभयो, ‘छोटो कार्यकाल भएपनि न्यायपालिकालाई आधुनिकीकरण गरेर आफ्नो कार्यकाललाई सफल बनाउने तथा आम मानिसको न्यायालय प्रतिको अविश्वास जित्ने छु ।’ सानो कार्यकाल भएपनि चिरस्मरणीय हुने दावी उहाँले गर्नुभयो ।
आफ्नो कार्यकालमा न्यायपालिकालाई विश्वस्तरको बनाउने दावी गर्नुहुदै प्रधानन्यायाधीश शाहले हरेक न्यायाधिशलाई निष्ठावान, दक्ष, कर्तव्यनिष्ठ बन्न आफुले निर्देशन दिइसकेको बताउनुभयो । उहाँले यो कार्यलाई निरन्तर जारी राख्न आफु लागिपरेको जानकारी समेत गराउनुभयो ।
केही समय अगाडी मात्रै देशभरिको न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन बोलाएर आफुले यस्तो निर्देशन दिएको बताउनुहुदै साहले कुनै पनि हालतमा आचारसंहिता पालना गरेर काम गर्न सबै न्यायाधिशलाई निर्देशन दिएको स्पष्ट गर्नुभयो । उहाँले यसले यो कार्यले पनि न्यायालयप्रतिको अविश्वास हटाउन ठुलो मद्दत पुग्ने बताउनुभयो ।
अब बन्ने संविधानमा कस्तो किसिमको न्यायपालिका हुुनुपर्ने विषयमा समेत न्यायाधिशसंग छलफल गरेर संविधान मस्यौदा समितिका अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी गराइसकेको बताउनुहुदैं प्रधानन्यायधिश शाहले मटिहानीबासीको नाउँ कहिले पनि अपमानित हुन नदिने बताउनुभयो ।
न्यायपालिकामा आधुनिकीकरणको लागि सफ्टवेयर बनाएर काम शुरु भइसकेको बताउनुहुदै केही दिनपछि नै न्यायप्रतिको अनुभुति तपाईहरुले पाउनुहुने जानकारी समेत उहाँले कार्यक्रममा दिनुभयो ।
मेरो सफलताको लक्ष्य नै शिक्षा रहेको जानकारी दिनुहुदै प्रधानन्यायाधिश शाहले विद्यार्थीहरुलाई पनि शिक्षालाई एक मात्र लक्ष्य बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीले एकमात्र लक्ष्य शिक्षालाई बनाउनुपर्छ भने अभिभावकहरुलाई पनि विद्यार्थीहरुको ‘केयर’ गर्नु आवश्यक छ ।’
अभिनन्दन समारोहमा गाउँबासीहरुले विकास निर्माणमा सहयोग गर्न गरेको आग्रहमा उहाँले विकास मेरो क्षेत्र छैन् तर पनि यो मेरो जन्मभूमि, कर्मभूमि समेत रहेकोले विकासको निर्माण गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मसंग त समय हुँदैन् तर प्रपोजल लिएर आउनुस म गाउँका विकासको लागि आफ्नो पहुँचको उपयोग भने गर्छु ।’
उहाँले गाउँमा विजुली, पुस्तकालय तथा विद्यालय निर्माणमा आफुले सक्दो सहयोग गरेको स्मरण गराउनुहुदैं मटिहानीमा चाँडै नै बैंक स्थापना हुने, सडकको निर्माण हुन सक्ने जानकारी समेत गराउनुभयो । उहाँले कार्यक्रममा बाल्यकालका केही सम्झनाहरु समेत सुनाउनुभएको थियो ।
सो अभिनन्दन कार्यक्रममा पूर्व युवा तथा खेलकुद सहायक मन्त्री चन्दा चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक काँफ्ले, सहप्राध्यापक धु्रव राय, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद गुप्ता, प्रधानन्यायाधीशका बालसखा सागरमल्ल जैन, लक्ष्मीनारायण मठका मठाधिश जगन्नाथदास वैष्णव लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेपाल भारत भातृ मंचका अध्यक्ष डा.नवलकिशोर सिंह, महोत्तरीका उवासंघका अध्यक्ष मोहनप्रसाद गुप्ता, मटिहानी मठका महन्थ जगन्नाथ दास वैष्णव, राजकिय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल, राम उच्च माविका प्रधानाध्यापक गणेशप्रसाद साह, तरुणदलका अध्यक्ष उपेन्द्र चौधरी, पूर्व गाविस अध्यक्ष रामकुमार मण्डल, लचमुमाविका अध्यक्ष विनोद मण्डल, क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन सिंह लगायतका दर्जनौ संघसंस्थाले उहाँलाई अभिनन्दनपत्र, दोसल्ला र माला लगाएर अभिनन्दन तथा स्वागत गरेका थिए ।
सो अवसरमा हेल्लो मिथिला समूहका कलाकारहरुद्वारा नृत्य, गीत, संगीत समेत प्रस्तुत भएको थियो । सो कार्यक्रममा मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी, सर्वोच्चका कामु रजिष्टार श्रीकान्त पौडेल, रजिष्टार यादव घिमिरे, जिल्ला न्यायाधिश प्रकाश खरेल, धनुषाका न्यायाधिश कृष्णबहादुर थापा, सिटिइभीटिका उपनिर्देशक रेणुका साह लगायतका उपस्थितीरहेको थियो ।
कार्यक्रम पूर्व प्रधानन्यायाधिश शाहले जिल्ला अदालतका न्यायाधिश र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो भने गाउँमा आएर लक्ष्मीनारायण मन्दिर, महादेव मन्दिरमा पुजाअर्चनाका साथसाथै वृक्षारोपण तथा शहिद केशव कोइरालाको समाधीमा माल्यार्पण गर्नुभएको थियो ।