चाँदी सहित एक पक्राउ, जिल्लामा सुरक्षानिकायकै मिलेमतोमा तस्करी

महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २० गते । महोत्तरी जिल्लाको सिमानाका भिठामोडबाट प्रहरीले चाँदी सहित एकजनालाई पक्राउ गरेको छ । यसरी पक्राउ हुनेमा बिहार राज्यको सितामढी जिल्लाको सुरसण्ड–१ बस्ने अमितकुमार सोनी रहेको प्रहरीले जनाएको छ । रिक्सामा बसेर भारत तर्फ जाँदै गर्दा शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट प्रहरीले ३३ तोला २७ ग्राम चाँदी वरामद गरेका थिए । उनलाई अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । एकहप्ता अगाडी मात्रै एकजनालाई जिल्लाको मटिहानीबाट प्रहरीले चाँदी सहित पक्राउ गरेका थिए । यसैबीच महोत्तरी जिल्लाको मुख्य भन्सार मार्ग तथा सहायक मार्गहरुबाट सुरक्षानिकायकै मिलेमतोमा ब्यापक तस्करी हुन थालेको सुरक्षा स्रोतले जनाएको छ । महोत्तरी जिल्लाको १० वटा सहायक तथा एउटा मुख्य मार्गबाट यस्तो तस्करी भइरहेको हो । तस्करहरुले सबैभन्दा बढी समसी, मटिहानी, पोखरभिण्डा, रधुनाथपुर, सिस्वाकटैया, खैरबन्नी, गैढाभेंटपुर तथा जलेश्वर नाका प्रयोग गर्ने गरेका छन् । यस मार्गहरुबाट सुनचाँदी, सुपारी, खाधान्न, इलेक्टोनिक्स पार्टस, कपडा, दैनिक उपभोगका अन्य सामग्रीहरु साइकल, टायगाडा, ठेला, ट्याक्टर तथा ट्रकबाट तस्करी हुने गरेको हो । नेपालबाट सुनचाँदी, सुपारी भारतीय क्षेत्रमा तथा भारतबाट अन्य सामग्रीहरु नेपालमा अबैध तरीकाले भित्र्याउने गरिएको छ । नेपाल प्रहरीले खोलेको तस्करी ‘लाइन’ मा सशस्त्र प्रहरीलाई ४० प्रतिशत तथा सशस्त्र प्रहरीले ‘लाइन’ खोल्दा सोही बमोजिम लेनदेन गनुपर्ने आन्तरिक समझौता भएको सुरक्षा स्रोतले दावी गरेको छ । जलेश्वर भन्सार कार्यालयबाट कम परिणामको राजश्व तिरेर हुने अबैध ओसारपसारमा स्थानीय प्रशासनको समेत संलग्नता रहेको बताइएको छ । भन्सार नाका भएको मुख्य मार्ग तथा सहायक मार्गहरुमा जवानदेखि अधिृकतसम्मले असुल गरेको पैसा जिल्लामा नआए तत्कालै मालसामान पक्राउ गरिने तथा केही छिनमै ती सामानहरु छोडिने गरिएको समाचारहरु विभिन्न पत्रपत्रिकामा आइरहेका छन् । जिल्लाका सुरक्षा प्रमुखहरुबीच कमिशनकै कारण पहिलाजस्तो बिवादहरु अहिले नदेखिएको स्रोतले जनाएको छ । नाम नछाप्ने शर्तमा एक तस्करले भने ‘लाइन मिलाउँदा सुरक्षानिकायका प्रमुखहरुलाई किटान गरेकै रकम दिनुपर्छ ।’ तस्करीबाट आउने कमिशन दैनिक दुई लाख रुपैयासम्म हुने गरेको पाइन्छ । स्रोतका अनुसार सामान हेरेर तस्करीको ‘लाइन’ मिलाउनेले एकदेखि १० प्रतिशतसम्म रकम लिइने गरिन्छ । सुरक्षा निकायले देखाउनको लागि साना साना परिणामका मालसमान पक्राउ गरेपनि ठुलो परिणामको सामग्री पक्राउ नगरेकोबाट पुष्टि हुने गरेको सो तस्करको दावी थियो ।