महाभुकम्प एक सम्झना

महाभुकम्प एक सम्झना
नागेन्द्रकुमार कर्ण
महोत्तरी

पेशाले म एक संचारकर्मी हुँ । संचारकर्मी भएपछि हरेक दिन, हरेक क्षण काम गर्नुपर्ने दायित्व हुन्छ । कुनै दिन पनि विदा हुदैन् । तर मेरो लागि भने शनिबार विदाकै दिन जस्तो हुन्छ । त्यही दिन कपडा धुने लगायतका कामहरु गर्ने गरेकोले शनिबार विदा झै मनाउँछु तर त्यो भने हरेक शनिबार सम्भव पनि हुदैन् । हरेक शनिबार भने बिहानै सदरमुकाम जलेश्वर जाने र पत्रिका किनेर दिनभरी घरमा बस्ने गर्छु । शनिबार कुनै विशेष कार्यक्रम बाहेक त्यत्तिकै जलेश्वर वा फिल्डमा जाँदिन् । शनिबारको कान्तिपुर र नागरिक पत्रिका किनेर घरमै पढदै विताउने गरेको हुन्छु । अन्य दिन भने बिहान ११ बजे खाना खाएर सदरमुकाम जलेश्वर लगायत अन्य फिल्डमा जाने गरेको छु ।
नव वर्ष २०७२ को दोस्रो साता अर्थात बैशाख १२ गते शनिबार भएकोले घरमै बसेको थिएँ । गर्मी पनि त्यत्तिकै भएकोले खाना खाएर म सुतेको थिएँ । एक्कासी खाट हल्लिएको महसुस भयो । मेरो खाटसंगै भतिजाको पनि खाट जोडिएकोेले मैले उसैले हल्लाइरहेको भन्दै, यो के गरेको भन्दै उठे । तर मेरो बाहेक कोठामा कोही पनि थिएन । अनि पर्खालहरु र पंखा हल्लिरहेको पाए । त्यसपछि भुकम्प, भुकम्प भन्दै कराएर म अरुको ख्याल नै नगरी बाहिर भागे । घरको दक्षिणपट्टी महेश काकाको घरको अगाडीपट्टी अलिकति जग्ग खाली रहेको छ त्यहाँ परिवारका अरु मानिसहरु पनि जम्मा भएको थियो । त्यही दिन बिहान परेको वर्षाको जमेको पानी उत्तर, दक्षिण गर्दै हल्लिरहेको थियो भने महेश काकाको घरको छतमा रहेको फलामे छठ पनि जोड जोडले हल्लिरहेको थियो । त्यसैगरी काकाकै घरको अगाडीमा रहेको दोस्रो तल्लाको पर्खालमा लगाइएको फलामे बार पनि जोड जोडले हल्लिदै कित्र्तनमा बज्ने गरेको झयाली झै बजिरहेको थियो । सबै जना डराएको मनिस्थितीमा थिए । त्यसपछि मैले आफ्ना घरका सदस्यहरुको खोजी गरे । घरका सदस्यहरु अर्थात दुइटा भाउजु, भतिजा र भतिजीहरु म भन्दा अगाडी नै घरबाट निस्किसकेका थिए । त्यसपछि सबैजना सुरक्षित रहेको महसुस भयो । त्यसपछि पनि लगत्तै ठुलो पराकम्प गएको महसुस भयो । हाम्रा परिवारका सबैजना उभिएर चर्चा परिचर्चा गरिरहेका थियौ । त्यसपछि मैले मोबाइलमा एफएम लगाए तर जलेश्वरबाट प्रसारण हुने एउटा पनि एफएम सुन्न सकिँन सबै बन्द थियो । त्यसपछि सर्च गर्दागर्दै रेडियो नेपाल लाग्यो । रेडियो नेपाल सुनेर कास्की जिल्ला केन्द्रविन्दु रहेको थाहा पाए । केही क्षणपछि घरहरा पनि ढलेको विभिन्न समाचारदाताहरुसंग प्रत्यक्ष प्रसारण गरिरहेको रेडियो नेपालमा सुने । मोबाइलमा इन्टरनेट खोले र अपडेट आएको नआएको खोजे तर कसैले पनि अपडेट नगरेको भेटिएपछि फेसबुक खोले । फेसबुकमा थुप्रै साथीहरुले स्थितीबारे अपडेट गरिरहेका थिए । त्यसपश्चात मैले भुकम्प ठुलै गएको महसुस गदै आफ्नै दायित्व पुरा गर्न निस्किन तयारी थाले । घरका तथा परिवारका मान्छेहरुले यस्तोमा बाहिर नजाने सल्लाह दिएँ तर मैले आफ्नो सुसुचित गर्ने दायित्व पुरा गर्न भन्दै घरबाहिर निस्के । घरबाट निस्केर मैले चोकमा आए । भुकम्प पूर्व दुई दिनसम्म गाउँमा विजुलीको लाइन नआएको तर शनिबार मात्रै आएकोले पनि कसैको मोबाइल चार्ज थिएन भने कसैको फोनै लाग्दैन थियो । कसैको पनि मोबाइल सम्पर्क न भइरहेको समयमा मेरो पोष्टपेड मोबाइल भने राम्ररी काम गरिरहेको थियो । मैले धेरै जनालाई आफन्तसंग कुरा गराइदिए । चोकमा आएपछि भुकम्प आएपछि एकजना गाउँकै महिला बेहोस भएर मरेको खबर पाएँ । खबर पाएर खोजतलाश गरे तर ति महिला बेहोस मात्रै भएको भेटियो । त्यसपछि म र साथी अर्पण कर्ण सदरमुकाम जलेश्वर आयौं । जलेश्वरमा पनि सबै सडकमै थिँए । पराकम्पहरु पटक पटक गइरहेको थियो । त्यसैले पनि सबैजना डराएर बसेका थिँए । जलेश्वर पुगेर एकदुई जना पत्रकारसाथीहरुलाई बोलाए । केही खबर प्राप्त भएको बारे जानकारी लिएँ । भटौलिया लगायतका केही ठाउँमा केही भत्किएको खबर पाँए । त्यसपछि मैले थप जानकारी र पुष्टिको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी लोकेन्द्र श्रेष्ठलाई मोबाइल सम्पर्क गर्दा उहाँले केही ठाउँमा घरहरु भत्किएको तर मानवीय क्षति नभएको जानकारी दिनुभयो । केही क्षण बसेपछि समाचार लेख्नको लागि कम्प्युटरको पसलमा गए तर त्यो बन्द थियो । अन्य पनि पसल बन्द रहेको र पराकम्पहरु पटक पटक आइरहेकोले साथीहरुले घर जान सल्लाह दिए । सो दिन समाचार नै नगरी साँझ घर आए । राति सबेरै खा सो दिन समाचार नै नगरी साँझ घर आए । टिभी, रेडियो नेपाल तथा फेसबुक निरन्तर हेरिरहे र स्थितीबारे अपडेट भइरहे ।  राति सबेरै खाना खाएर घरका सबैसदस्यहरु बाहिर नै खाट लगाएर सुते तर मैले भने आफ्नै कोठामा सुते । राति पनि एकदुईपल्ट आयो तर मैले महसुस नै गर्न सकिँन् । घरका सदस्यहरु उठाउन आउँदा मात्रै चाल पाउँथे । त्यसपछि पनि निरन्तर पराकम्प आइरहयो । अहिले पनि आउने क्रम जारी छ । तर मैले कहिल्ये पनि घर बाहिर भने सुँतिन । किनकी, घर मेरो एकतले मात्रै छ भने घर अगाडी पनि खुला ठाउँ छ त्यस्तै मैले जलेश्वरमा रहेको रेडियो रुद्राक्ष एफएममा एनसेटको भुकम्प सम्बन्धी कार्यक्रम पनि चलाउने गरेकोले मलाई यसबारे थाहा पनि थियो ।
जानकारहरु र वैज्ञानिकहरुले पटक पटक भुकम्प आयो भने काठमाण्डौ उपत्यकामा धेरै क्षति हुने बताउदै आएका थिए । दुई वर्ष अगाडी मात्रै एनसेटले इटहरीमा आयोजना गरेको एक कार्यक्रममा एनसेटका अध्यक्षले सन् २०१५ सम्ममा नेपालमा ठुलो भुइचालो जान सक्ने संकेत गर्नुभएको थियो । उहाँको भनाई सहि सावित भएको छ । तर भुइचालो शनिबार आएकोले पनि धेरै क्षति हुन पाएन भन्न सकिन्छ । सरकारलाई अहिले पनि समय छ । राजधानीमै सबै सुविधा केन्द्रीत गरेर मानिसको ओइरो लगाएर समस्या निम्त्यिाउनुभन्दा केन्द्रीकृत गरेर अन्य ठाउँहरुमा पनि सुविधाहरु उपलब्ध गराउनु जरुरी छ । किनकी, जहाँ विकास हुन्छ, जहाँ अवसर हुन्छ, जहाँ रोजगारी हुन्छ, जहाँ सुविधा हुन्छ मानिस त्यही नै बढी जान्छ । काठमाण्डौ उपत्यका त्यसै पनि जोखिममा छन् । नेपालमा भुइचालोको जोखिममा ११ औं स्थानमा आउँछ । त्यसले पनि बढी रेक्टरस्केलको भुकम्प गयो भने नेपालमा बढी क्षति हुन सक्ने देखिन्छ । यसैले पनि अहिलेदेखि नै पुर्वतयारी गर्नु जरुरी छ ताकि यस्ता विपद्हरुबाट बच्न सकियोस् । किनकी विपद् न त बाजा बजाएर आउँछ न त कसैले भनेर रोकिन्छ । जप, यज्ञ, पुजा, हवन गर्दैमा संकट हट्ने भए नेपालमा कहिल्ये पनि कुनै घटना हुदैन्थ्यो । किनकी यहाँ हरेक दिन पुजा,पाठ, यज्ञ र हवन हुने गरेका छन् । हामीले ति यज्ञ हवन गर्नुभन्दा विपद्बाट बच्ने उपायको खोजी र तत्अनुरुप कार्य गर्नु जरुरी छ । विपद्मा मान्छेले बनाएको भौतिक संरचनाले नै मान्छेलाई मार्ने भएकोले यस किसिमका भौतिक संरचना बनाउनु भन्दा अघि सोच्नु जरुरी छ । सरकारले ल्याएको विभिन्न भवन निर्माण आचारसंहिता लगायतका नीतिको कार्यान्वयन पनि जरुरी छ । त्यसैले पनि सरकार र जनताले यसमा गम्भीर हुनु जरुरी छ । होइन भने विपद्ले यसरी नै विपत्ति न निम्त्याउला भन्न सकिन्न् ।