एसएसबीको कुटपिटले एक नेपाली युवक घाईते
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । महोत्तरी जिल्लाको सिमानाका मधवापुरमा सोमबार साँझ भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले जिल्लाको पर्सापतैली गाविसका एक युवकलाई कुटपिट गरी गम्भिर घाईते बनाएका छन् ।
पर्सापतैली गाविस वडानं. ४ बस्ने अमित शर्मालाई भारतको मधवापुरबाट दिदीको बिहेको लागि साडीसहितका कपडा ल्याउँदै गर्दा एसएसबीले बुट र बन्दुकको कुन्दाले कुटपिट गरी गम्भिर बनाएका हुन् । कुटपिटका कारण शर्मा पटक पटक रगत वान्ता गरिरहनुभएको छ ।
घटनाको सुचना पाएर सिमानाका मटिहानीस्थित रहेका नेपाल प्रहरीका ईन्सपेक्टरसहितको टोलीले तत्कालै उद्धार गरी शर्मालाई मधवापुरकै डाक्टर एसपी ठाकुरको क्लिनिकमा लग्नुभएको थियो ।
घाईते शर्मालाई एसएसबीले पिठयुँ, टाउकोसहितको शरिरको विभिन्न भागमा विनासित्ती कुटपिट गरेको पिडितका परिवारजनले आरोप लगाउनुभएको छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठको उत्तरमध्यमा (ईन्टर) तहमा अध्ययनरत उहाँ दिदीको विवाहका लागि भारतीय बजार मधवापुरबाट सोमबार साँझ साडीलगायतका कपडा लिएर आउँदै गर्दा मटिहानी– ७ स्थित २ नम्वर वोर्डरमा खटिएका भारतीय एसएसबीका जवानले केही नभनिकनै वुट र बन्दुकको कुन्दाले निर्घात कुटपिट गरेको जनाईएको छ ।
नेपाल प्रहरीले तत्कालै सो घटनाबारे भारतीय एसएसबीको क्याम्पमा गएर जानकारी गराएको थियो । जानकारी पाएपछि मंगलबार बिहानै भारतीय एसएसबी जयनगरका डिएसपी पियुस सिन्हा मधवापुर आउनुभएर युवक शर्माको उपचारमा लाग्ने खर्च व्यवस्था गर्ने जानकारी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुरक्षाकर्मीको टोली मधवापुर पुगेर एसएसबीसँग घटनाको कारणबारे छलफल गरेको वताउनुहुदै प्रहरी उपरिक्षक जनक भट्टराईले घटना भारतीय भूमिमा भएकोले अनुसन्धान गर्न नमिल्ने भएकोले निवेदनलाई गृहमन्त्रालयमा पठाउने जानकारी दिनुभयो ।
महोत्तरी जिल्लाको विभिन्न सिमानाका भारतीय बजारमा विवाह, मरणहरनको सामग्री ल्याउँदा भारतीय एसएसबीले ल्याउने दिने गरेपछि केही महिनादेखिको मधेश बन्दले अतिरिक्त कमाउँदै आएका उनीहरुले त्यसैको लोभमा कुटपिट गरेको हुन सक्ने स्थानीयहरुको वुझाई छ ।