काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का

काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २४ गते । नेपाली काँग्रेस महोत्तरीको आन्तरिक विवादको कारणले माघ २५ गते सोमबार हुने भनिएको १३ औं जिल्ला अधिवेशन नहुने भएको छ ।

नेपाली काँग्रेस महोत्तरीका सहायक निर्वाचन अधिकृत सुशिल यादवले पार्टी भित्रको आन्तरिक विवादको कारणले क्षेत्रिय अधिवेशन नै नभएको हुँदा जिल्ला अधिवेशन सोमबार नहुने बताउनुभयो ।

उहाँले विभिन्न गाविसमा देखिएको विवादले जिल्लाको ६ वटा क्षेत्र मध्ये ५ वटा क्षेत्रमा क्षेत्रिय अधिवेशन नभएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन नै नभएपछि जिल्ला अधिवेशन कसरी गर्ने ? वताउनुभयो । उहाँले जिल्ला अधिवेशनको मिति भने अहिले नतोकिएको जानकारी दिनुहुदै समस्या समाधान भएपछि सबैलाई जानकारी हुने गरी जिल्ला अधिवेशन गरिने बताउनुभयो ।

जिल्लाको क्षेत्रनं. १,२,३,४ र ६ मा क्षेत्रिय अधिवेशन हुन सकेको छैनन् । क्षेत्र नं. ५ मा उत्तिम यादवलाई सर्वसम्मतीले क्षेत्रिय सभापति बनाईएको छ । जिल्लाको ६८ गाविस र तिन नगरपालिकामध्ये दुईवटा नगरपालिकामा सर्वसम्मतीले समिति चयन गरिएपनि बर्दिबास नगरपालिकामा हुन सकेको छैन् ।

सहायक निर्वाचन अधिकृत यादवले बर्दिबास नगरपालिकामा सम्भवतः आज (आईतबार) साँझ सम्म परिणाम आउने वताउनुहुदै जलेश्वर नगरपालिकामा अशोक साह तथा गौशाला नगरपालिकामा विरेन्द्र चौधरी सर्वसम्मतीले चयन गरिसकिएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस महोत्तरीका सुचना अधिकारी जयकुमार चौधरीले क्षेत्रनं. ३ को सुगा, बनौली, एकरहिया, पिगौना, परिकौलीमा विवाद देखिएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन चाँडै गर्नमा नेताहरु लागिपरेको बताउनुभयो ।

उहाँले विवादित रहेका क्षेत्रहरुमा नेताहरुले सहमतीको प्रयास गरिरहेको जानकारी दिनुहुदै केही दिनभित्रै क्षेत्रिय अधिवेशन गरी जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्रनं. २ का नेपाली काँग्रेसका सभासद किरण यादवले हामीले क्षेत्रिय अधिवेशनमा प्रवेश गरिसकेको जानकारी दिनुहुदैं सहमतिको प्रयास भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आकाँक्षी धेरै छन्, कुनै साथी नछुटोस् भन्ने हेतुले सहमतिको कारण लम्बिएको हो, सोमबार सम्ममा नतिजा आउन सक्छ ।’ उहाँले सोमबार सम्म पनि सहमति नभए हामीले त्यसपछि निर्वाचन प्रक्रियामा जाने जानकारी दिनुहुदै क्षेत्रनं. २ को गाउँ ईकाईमा कुनै विवाद नरहेको बताउनुभयो ।

जिल्लाको कतिपय गाउँमा संयुक्त मधेशी मोर्चाको डरले अधिवेशन हुन सकेको छैन् भने कतिपय गाउँमा भने कागजमैं अधिवेशन गरेपछि विवाद उत्पन्न भएको हो । मोर्चाले अधिवेशन विथोल्ने निर्णय गरेपछि केही सक्रिय कार्यकर्ताहरुले मिलेमतोमा अरुलाई खबर नै नगरी कागजमैं अधिवेशन गरेपछि गाउँहरुमा विवाद उत्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत यादवले अधिवेशनसम्बन्धी आएको उजुरीको छानविन भईरहेको जानकारी दिनहुदैं आईतबार साँझसम्म ति गाविसहरुमा पुनः निर्वाचन गर्ने कि नगर्ने विषयमा निर्णय गरिने बताउनुभयो ।

उहाँले जिल्ला अधिवेशन पनि मोर्चाको निर्णयको कारणले सदरमुकाममा गर्ने कि राजमार्गमा रहेको बर्दिबास नगरपालिकामा गर्ने अहिले निर्णय भई नसकेको बताउनुभयो । उहाँले प्रशासनले सुरक्षाको प्रत्याभूति दिए सदरमुकाममा गर्ने अन्यथा बर्दिबासमा गर्ने दावी गर्नुभयो ।