युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै

युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३ गते । वैदेशिक रोजगारबाट आएका युवाहरु अहिले आफ्नै गाउँ ठाउँमै आएर स्वरोजगार गर्न तर्फ आकर्षित हुन थालेका छन् । यी युवाहरुलाई स्वरोजगारको गतिलो माध्यम अहिले ई रिक्सा (विद्युतिय रिक्सा) बन्न थालेको छ ।
वैदेशिक रोजगारमा गएर हाड घोटेर मेहनत गर्नुभन्दा यही घर परिवारसंगै बसेर आरामका साथ स्वरोजगार गर्न युवाहरु अगाडी बढेका  हुन् ।
करिब ६ महिना लामो वन्दी र नाकावन्दीको क्रममा मात्रै एकदर्जन भन्दा बढी वैदेशिक रोजगारबाट फर्केका युवाहरुले ई रिक्सा किनेर वन्दमा स्थानीयहरुलाई सहज गरेका थिए । वन्दको क्रममा ई रिक्सालाई भने आवतजावतमा केही सहज गरिएको थियो ।
जिल्लाको सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो वैदेशिक रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेर फिर्नु भएको हो । रात दिन मेहनत गरेपनि सोचे अनुसारको सफलता नमिलेपछि उहाँले अब फेरी तत्कालको लागि विदेश नजाने निर्णय गर्नुहुदै स्वरोजगारको लागि ई रिक्सा किनेर अहिले चलाई रहनुभएको छ ।
सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो
त्यसैगरी जलेश्वर नगरपालिका वडानं. ५ का २५ वर्षिय युवा मुन्ना पासमान पनि कतारमा अढाई वर्ष काम गरेर फिर्ता हुनुभएको हो । कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गरेका उहाँले त्यहाँको कमाई र घरपरिवारदेखि टाढा हुँदा पाएको दुःखलाई विर्सने कोशिश गर्नुहुदै ई रिक्सा किनेर यसमै रमाउन थाल्नुभएको छ ।
यी दुई जना बाहेक अहिले सदरमुकाम जलेश्वरमा डेढ दर्जन युवाहरुले ई रिक्सा किनेर यसमै रमाईरहनु भएको छ ।
ई रिक्सामै रमाईरहनुभएका पवनले भन्नुभयो, ‘विदेशमा दिनरात मेहनत गरेर पनि ऋण चुकाउन सकिएन्, त्यही भएर पुनः विदेश नजाने निर्णय गरेर यही आफ्नै काम गरिरहेको छु ।’
विदेश गएपछि घर, परिवारमा केही भएपनि आउन नसकिने, विरामी भईयो भने कसैले पनि हेरचाह गर्न नसक्ने, दिनरात मेहनत गर्नुपर्ने वताउनुहुदै उहाँले त्यहाँ (विदेश) भन्दा यहाँ नै हजार गुणा राम्रो भएको बताउनुभयो । यहाँ दैनिक सिजन अनुसार हजारदेखि माथि कमाउन सकिने र घर परिवारसंगै हुनाले धेरै राम्रो भएको वताउनुभयो ।
कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गर्नुभएका मुन्ना पासमान अहिले स्वदेशमै ३० हजारको हाराहारीमा मासिक कमाई रहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘जसमध्ये करिब २० हजार मासिक ऋण तिर्ने काममा खर्च हुन्छ भने बाँकीले घरपरिवार चलाउछु, यहाँ आनन्दै आनन्द छ ।’
ई रिक्सामा कमाई राम्रो भएपनि ई रिक्साको महंगो मुल्य, साहुको चर्को व्याज र खराव सडकले भने वचत चाहिए जति हुन नसकेको युवा पवनको गुनासो छ । एकपल्ट पुरा चार्ज गरेपछि यो सडकमा ४० किलोमिटरसम्म गुडाउन सकिने बताउनुहुदै उहाँले सडक राम्रो भईदिई ८० किलोमिटरसम्म जान सकिने र कमाई पनि राम्रो हुने जानकारी दिनुभयो ।
त्यसैगरी सुगाभवानीपट्टी वडानं. ५ बस्ने भोला ठाकुरले कतार पुगेको केही दिनमै स्वास्थ्यको समस्या देखाउदै आफुलाई फिर्ता पठाएको जानकारी दिनुहुदै अहिले पनि यही ई रिक्सा चलाएर परिवारसंग खुशी साथ रहेको बताउनुभयो ।
उहाँले विदेश यहाँ सोचेभन्दा बढी फरक रहेको बताउनुहुदै विदेशमा गर्ने श्रम भन्दा यहाँ आधा मात्रै गर्ने हो भने राम्रो कमाउन सक्ने बताउनुहुदै यहाँ वन्द, हडताल तथा आफुहरुको स्वरोजगारमा प्रशासनले दुःख नदिए यही राम्रो भएको बताउनुभयो ।
नेपालमै सवैभन्दा वढी विदेसिने युवाहरुको दोस्रो जिल्लाको रुपमा परिचित महोत्तरीका युवाहरुले वन्द, हडतालबाट देशलाई सदाकोलागि वन्द गर्नुपर्ने बताउनुहुदै स्वरोजगार गरे विदेश जानुनपर्ने सन्देश सबैलाई दिने गरेको बताउनुहुन्छ ।